दन्तकाली मन्दिरमा दर्शनार्थीको संख्या बढ्यो
नेपालबहस संवाददाता
फागुन १०, २०८० बिहिबार १४:३२:१
१० फागुन, धरान (सुनसरी) । धरानको विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली मन्दिरमा हिजोआज बिहानैदेखि दर्शनार्थीको भीडभाड बढ्न थालेको छ । स्वस्थानी व्रतका कारण मन्दिरमा भीड बढेको हो ।
पौष शुक्ल पूर्णिमादेखि एक महिनासम्म चल्ने स्वस्थानी व्रत कथामा दन्तकालीको कथा उल्लेख छ । मन्दिरका मूल पुजारी विश्वराज खनाल स्वस्थानीको समयमा व्रत लिने र नलिने पनि मन्दिरमा दर्शनका लागि आउने गरेको बताउँछन् । उनी भन्छन्, ‘‘स्वस्थानी सुरु भएपछि बिहानैदेखि मन्दिर आउनेको संख्या बढेको छ । अब अन्तिम अन्तिम समयमा झनै भीडभाड हुन्छ ।’’
स्वस्थानी व्रत कथाअनुसार दक्ष प्रजापतिकी छोरी सतीदेवीले पति महादेवको निन्दा गरेको सहन नसकी यज्ञकुण्डमा हामफालेर प्राण त्याग गरेपछि शोकमा पर्नु भएका महादेव सतीदेवीको मृत शरीर आफ्नो काँधमा बोकेर भौतारिंदै हिंड्ने क्रममा सतीदेवीको शरिरका अङ्ग खसेका ठाउँमा शक्ति पीठ स्थापना भए । यही क्रममा विजयपुरको पर्वत खण्डमा सतीदेवीको दाँत पतन भएको स्वस्थानी व्रतकथामा उल्लेख छ । यसरी दाँत पतन भएको स्थानलाई दन्तकालीका रुपमा परापूर्वकालदेखि पूजा गर्न थालिएको धार्मिक इतिहास पाइन्छ ।
स्वस्थानी व्रत कथामा उल्लेखित स्थल भएकाले पनि शक्तिपीठको रुपमा दन्तकालीको विशेष महत्व रहेको छ । यो शक्तिपीठको कथा सुनेका र महत्व बुझेकाहरु टाढाटाढादेखि दर्शनका लागि यहाँसम्म आउने गरेको पुजारी खनाल बताउनुहुन्छ । मन्दिरमा आठ जना पुजारी रहेका छन् । पुजारी कमल भट्टराईका अनुसार मन्दिरमा दर्शन गर्न सामान्यतः दैनिक दुई सय हाराहारीमा दर्शनार्थी आउने गरेका छन् । तर शनिबार भने ४ सय देखि ७ सय जनासम्म आउने गरेको उनको भनाइ छ ।
दन्तकाली मन्दिरमा प्रत्येक वर्ष चार वटा नवरात्र असोज, माघ, चैत र असार महिनामा विधिवत् पूजाअर्चना गरिन्छ । त्यसमध्ये पनि विजया दशमीको नवरात्रिमा मन्दिरमा दर्शनार्थीको ठूलो भीड लाग्छ । घटस्थापनाका अष्टमी, नवमी र दशमीका दिन मन्दिरमा पूजा गर्नेहरुको विशेष भीड हुन्छ । दर्शनार्थीहरु यो बेला दन्तकालीमा पूजा आराधना गर्दा मनोकामना पूरा हुने, निरोगी रहने, दुःख हट्ने, शत्रु नास हुने जस्ता विश्वास रहेको छ । यस मन्दिरमा बोका र राँगाको बलि दिनुको साथै फूल अक्षता, धुप बत्तीले पूजा गर्ने गरिन्छ ।
धरान उपमहानगरपालिका १६ बाट विजयपुर घुम्न आउनु भएका डिल्लीप्रसाद लुइटेल आफू दैनिकजसो दन्तकालीको दर्शन गर्न विजयपुर आउने गरेको बताउँछन् । मन्दिरमा दर्शन गर्दै भेटिएका भएका धरानकै कृष्ण भट्टराईको पनि दन्तकालीप्रति अगाध आस्था र विश्वास रहेको छ । आफूले मागेका र चिताएका कुराहरू पूरा हुँदै आएकाले आफू फुसर्द हुँदा मन्दिर आउने गरेको उनकोे भनाइ छ ।
दन्तकाली मन्दिर कहिले स्थापना भयो, कहिलेबाट पूजा गर्न थालियो भन्ने तिथि मिति त पाईंदैन तर स्वस्थानी ब्रतकथा र पुराणहरुमा उल्लेख भएकाले यो निक्कै पुरानो मन्दिर भएकोमा द्विमत छैन । पुराणमा समेत उल्लेख भएकाले यसलाई पौराणिक धार्मिक स्थलका रुपमा चिनिन्छ । दन्तकाली शक्तिपीठको चर्चा शिव पुराण र रुद्राक्षारण्य महात्म्यमा पनि रहेको पाइन्छ । इतिहासमा विजयपुरमा कुनै बेला सेन वंशको राज्य रहेको पाइन्छ । सेन र त्यसपछिका राजाहरुले पनि दन्तकालीलाई शक्तिपीठका रुपमा दर्शन गर्ने र मन्दिरमा घन्ट, त्रिशूल चढाउने गरेको पाइन्छ ।
यस मन्दिरमा सयौं वर्षदेखि खनाल थरका पुजारीले पूजा गर्दै आएका छन् । यहाँका खनालहरूसँग १८६८ सालमा राजा गिर्वाणयुद्ध विक्रम शाहले दिएका ताम्रपत्र, लालमोहर रहेका छन् । हाल दन्तकालीका मुल पुजारी विश्वराज खनाल आफू आठौं पुस्ताको पुजारी भएको बताउँछन् । उनका अनुसार दन्तकाली मन्दिरका पुजारीका रुपमा खनालहरू १५०२ सालतिर आएका थिए । अहिले यहाँ तिनै खनालका सन्तानका दशौं पुस्ता भइसकेका छन् ।
दन्तकाली मन्दिर नजिकबाट धरान बजारको रमणीय दृश्यावलोकन गर्न सकिन्छ । त्यसैले पनि धरान घुम्न आउने पर्यटकहरू विजयपुर उक्लिएर दन्तकालीको दर्शन गर्दै रमणीय स्थलहरूको अवलोकन गर्ने गरेका छन् । धरानको शिरका रुपमा रहेको विजयपुर धार्मिक तथा ऐतिहासिक स्थलकै रुपमा परिचित छ । दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर लगायतका मन्दिरहरू रहेको विजयपुरलाई धरान उपमहानगरपालिकाले पनि धार्मिक स्थलका रुपमा विकास गर्ने नीति लिएको छ ।
विजयपुर क्षेत्रमा धार्मिक पर्यटक आउने भएकाले यसलाई अझै व्यवस्थित बनाएर विकास गर्न सकिने धरान उपमहानगरपालिका १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको भनाइ छ । उनी भन्छन्, “विजयपुर सिङ्गो धरानको शिर हो, यहाँ धार्मिकस्थल र मठमन्दिरहरु प्रशस्त रहेकाले यसको एकीकृतरुपमा विकास गर्न सके नेपाल र भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या अझै बढ्ने निश्चित छ । त्यसका लागि सबैले आफ्नो ठाउँबाट प्रयास गर्नुपर्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार