कांग्रेसलाई एक बनाउने पहिलो प्रयत्न हनुपर्छः वरिष्ठ नेता कोइराला
नेपालबहस संवाददाता
फागुन १०, २०८० बिहिबार १७:४१:४६
१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीमा एकताको विकल्प नभएको बताएका छन् । आफ्नो पहिलो प्रयत्न कांग्रेस एक बनाउनु रहेको भन्दै उनले महासमिति बैठकको समापन सत्रमा पार्टीभित्र एकताको आवश्यकता रहेको औंल्याए । कांग्रेस रूपान्तरणको आफ्नो अविचलित यात्रा जारी रहेको बताउँदै उनले महासमिति बैठकले भविष्यको कांग्रेस कस्तो हुने र बनाउने ठोस छलफल भएको बताए । यसले पार्टीमा नयाँ ऊर्जा सञ्चार गर्ने उनको विश्वास छ ।
महासमिति बैठकको समापन कार्यक्रममा पहिलो सम्बोधन गर्दै कोइरालाले पार्टीभित्र एकताका आधारहरू निर्माण गर्नुपर्ने दायित्व सबैमा रहेको बताए । एकताको आधारहरू निर्माण गर्नुपर्ने दायित्व सबैको काँधमा छ, मेरो सारा प्रयत्न यसैमा रहनेछ, उनले भने ।
उनले महासमितिको बैठकपछि नेता कार्यकर्ता उर्जा लिएर कर्म भूमिमा फर्कने अपेक्षा आफूले राखेको बताए । निर्वाचन प्रणाली परिवर्तनका आवश्यकता रहेको बताउँदै कोइरालाले त्यसको पहलकर्ता कांग्रेस हुनुपर्ने बताए । यो देशमा केही हुँदैन भन्ने भाष्य निर्माण भएको र त्यसलाई चिर्न राज्य संयन्त्र मात्रै पर्याप्त नहुने भएकाले पार्टी संगठन व्यापक रुपमा परिचालन हुनुपर्ने उनले बताए ।
(नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले महासमिति बैठकको समापन सत्रमा राख्नुभएको मन्तव्यको सम्पादित अंश)
नेपाली कांग्रेसका सभापति ज्यू,
पदाधिकारीहरु, केन्द्रीय सदस्यहरू,
महासमिति सदस्यहरू,
प्रदेश सभापतिहरू,
र उपस्थित अन्य सहभागी साथीहरू
नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न गरेर हामी सबै आफ्नो कार्यक्षेत्रमा फर्कँदै छौं । बैठकमा उठेका राजनीतिक, आर्थिक, सामाजिक लगायत सुशासनका विषयहरूमाथि साथीहरू जुन गम्भीर तरिकाले मौखिक र लिखितरूपमा प्रस्तुत हुनु भयो त्यसले कांग्रेसमा उर्जा र उत्साह थप्ने छ भन्ने मैले विश्वास लिएको छु ।
आज हामी यसरी भेला भएर आफ्नो कर्म क्षेत्रमा फर्कन थाल्दा म केही भावुक भएको छु । आज हामी सबैले यस पुनीत घडीमा बिर्सन नहुने कांग्रेस इतिहासलाई स्मरण गर्नुपरेको छ ।
१. देश विदेशबाट उर्जा, उत्साह र नयाँ कांग्रेसको सम्भावना बोकेर आउनु भएका महासमिति सदस्यहरूलाई न्यानो जय नेपालको अभिवादन गर्दै भविष्यको कांग्रेस कस्तो र कसरी निर्माण गर्ने भन्ने सन्दर्भमा यो बैठकले एउटा ठोस दिशा प्राप्त गरोस् भनी वृहत् छलफल, बहस र विवादले कांग्रेसको आन्तरिक जीवनमा जीवन्तता प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।
र लोकतान्त्रिक आन्दोलनमा लागेर अनेकन् दुःख कष्ट, बलिदान, प्रवासको कठोर जीवन, जेलनेलको यातना र आन्दोलनको क्रममा अविचलित भएका साथीहरूप्रति श्रद्धा, सम्मान र गौरव गर्दछु ।
२. महासमितिको यो बैठक समापन भईरहदा आन्दोलनमा लागेर यथोचित सम्मान पाउन नसकेकाको खोजी गरेर तिनको उचित मूल्यांकन गर्ने कार्य र त्यस्ता व्यक्ति, घटना र मोडहरुको खोजी, अनुसन्धान गरी लिपिबद्ध गरेर राख्ने कामको थालनी होस् ।
३. इतिहासका ती गौरवशाली क्षण र त्यसलाई दिशा निर्देश गर्ने नेताहरूको स्मरण गर्दै हाम्रा अग्रजहरूले राष्ट्र निर्माणको लागि हामीलाई सुम्पिएका अभिभारा सफलतापूर्वक सम्पन्न गर्न सकौँ भनी हामी सबै आफ्नो कर्म क्षेत्रमा संकल्पका साथ फर्कँदै छौँ ।
४. मलाई विश्वास छ महासमितिको बैठकपछि हामी नयाँ कांग्रेसको भावना सहित उर्जावान भएर आफ्नो राजनीतिक कर्म भूमिमा फर्कने छौँ र कांग्रेसको आदर्श, मूल्य र मान्यतालाई आम नागरिकबीच स्थापित गराउन कुनै कसर बाँकी राख्ने छैनौं । यो अठोट गर्दा हामी कहाँ चुक्यौँ र किन हामीले राष्ट्रको अपेक्षा अनुसार हाम्रो देश नेपाललाई बस्न योग्य बनाउन सकिरहेका छैनौँ भनी चिन्ता मात्र होइन चिन्तन गर्न यो महासमितिबाट हामीलाई प्रेरणा मिलेको छ ।
५. कांग्रेस पार्टी आफ्नो इतिहासप्रति गौरव गर्दै वर्तमानलाई आकार दिएर भविष्य उन्मूख भएरै अगाडि बढ्ने सन्देश महासमितिबाट प्राप्त भएको छ । एकातिर इतिहास प्रतिको जिम्मेवारी अर्कोतिर वर्तमान पुस्ताको समस्या सम्बोधन गर्दै भावी पुस्तालाई पार्टी विचार, मूल्य र आदर्शसँग अवगत गराउने सोच नै कांग्रेस भावना हो, वीपी विचार हो भनी म बुझ्दैछु । तसर्थ पार्टीको गुमेको मूल्य, पद्धति, विचार र आदर्शलाई पुर्नस्थापित गर्दै पार्टीको आन्तरिक जीवनमा कसरी पुनर्जागरण प्रवाह गर्ने भन्ने चिन्तालाई सम्पूर्ण कांग्रेसजनको सामूहिक चिन्ता मात्र होइन चिन्तन बनाएर लैजानुपर्ने आजको चुनौती छ । यसको लागि एकताबद्ध हुँदै अब अगाडि बढ्नुको विकल्प छैन । एकताका आधारहरू निर्माण गर्नुपर्ने दायित्व अझै हामी सबैको काँधमा छ । मेरो सारा प्रयत्न यसैमा छ र म चाहन्छु एकपटक इतिहासतर्फ फर्केर हाम्रा दिवंगत नेताहरूलाई साक्षी राखेर संकल्पका साथ अगाडि बढ्दा हामी एकताबद्ध भएर ठिक बाटो पहिल्याउन सक्छौँ ।
६. देशभित्र उठेका मुद्दाहरू र पार्टीलाई सुधार गर्ने विषयहरू माथि हामीले गम्भीर बहस र विचार राख्यौँ । कांग्रेसको गौरवशाली इतिहासलाई अक्षुण्ण राख्न साथीहरूबाट अनेकन् सुझावहरु पनि आए । भविष्यको कांग्रेस कस्तो हुने र कसरी अगाडि बढ्ने भन्नेबारे पनि सकारात्मक सुझावहरु आए ।
७. मैले धेरै पहिलेदेखि भन्दै आइरहेको छु । कांग्रेस आफ्नो मौलिक पहिचानबाट पर जान हुँदैन । त्यो भनेको कांग्रेसले आफ्नो मूल्य मान्यता र आदर्शप्रति अविचलित रहेर देश र देशवासीको रुपान्तरण गर्ने हो । कांग्रेसको समर्थन क्षेत्रलाई विस्तार गर्ने हो । कांग्रेस खुम्चिनु भनेको देशमा लोकतन्त्रको बिस्तार अवरुद्ध हुनु हो । म ती साथीहरूको भावना र विचारसँग सहमत हुँदै कांग्रेस देशव्यापी रुपमा सशक्त भएर आफ्नै विचार, संगठन र कार्यकर्ताको विश्वास र भरोसामा लोकप्रिय रुपमा स्थापित गर्न सकिन्छ भन्ने विचार राख्दछु । अर्थात् मुख्य कुरा आम नागरिकलाई लोकतन्त्रको माध्यमबाट देशमा सुख, समृद्धि र सुशासन हुन्छ भन्ने प्रत्याभूति दिलाउनु रहेको छ । लोकतन्त्रको पर्यायवाची कांग्रेस भएकोले स्वभाविक रुपमा यो कार्यभार कांग्रेसको काँधमा आएको छ ।
यो बैठकमा ४ वटै समूहमा व्यापक छलफल भएको छ । महासमिति साथीहरूको भावनालाई प्रतिबिम्बित हुने गरी केन्द्रीय कार्यसमितिबाट परिमार्जन गरिने छ । यसै सन्दर्भमा हालको निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सबै राजनीतिक दलहरूसँग संवादको लागी नेपाली कांग्रेसले पहल गर्ने छ ।
८. आम नागरिक आर्थिक कठिनाइ, महंगी, बेरोजगारी, दण्डहिनता, भ्रष्टाचार, र कुशासनले आक्रान्त छन । निश्चय नै यस्तो कोलाहलपूर्ण अवस्थाले हामीलाई सुध्रिने र सच्चिने दबाब दिइरहेको छ भनी मैले बारम्बार भन्ने गरेको छु । कांग्रेसले इतिहासमा कैयन् पटक आफूलाई नागरिक भाव अनुसार परिमार्जन र सुधार गर्दै मुलुकको आर्थिक र सामाजिक चेतनालाई सम्बोधन गरेको छ र यो पटक पनि कांग्रेसले आफू भित्रको लोकतान्त्रिक चरित्रलाई नेपाली जनतामाझ प्रस्तुत गरेको छ ।
९. तर मैले यसो भनिरहँदा विगत साढे तीन दशकको लोकतान्त्रिक समय हामीले पूर्णरुपमा खेर फालेका छौँ भनी शिर झुकाउनु पर्ने कुनै कारण छैन । यस विचमा लोकतान्त्रिक समाजवाद निर्माणको यात्रामा हामीले केही सफलता प्राप्त गरेका छौँ भनेर भन्ने आधार छन । खासगरी सामाजिक पूर्वाधारको क्षेत्रमा र नागरिकको सचेतनाको वृद्धिलाई लिएर दक्षिण एसियामा हामी खराब अवस्थामा छैनौँ ।
१०. पार्टीमा निष्ठावान, निःस्वार्थ र संघर्षशील साथीहरू ओझेलमा परे भन्ने आम गुनासो छ । पार्टीमा अवसरको न्यायोचित वितरण हाम्रो सामु चुनौतीको रुपमा खडा भएको छ । यसलाई उचित ढंगले सम्बोधन गर्दा पार्टीमा उर्जा प्रस्फुटन हुन्छ भन्ने कुरा मैले बुझेको छु ।
११. पार्टी संगठन मेशिन हो, मेशिन चलाउने कार्यकर्ताहरू पार्टीको रडका हड्डी हुन । नेताहरु पार्टीका मूल्य, मान्यता, विचार र आदर्श बोक्ने सन्देश प्रवाह गर्ने संवाहक हुन । यि पक्षहरुको संयोजन र व्यवस्थापन गरेर अगाडि बढ्दा पार्टीको चक्का अगाडि बढ्छ । हामी जो नेतृत्व तहमा छौँ । हाम्रा विचार, व्यवहार र जीवनशैलीबाट कार्यकर्ताहरूले उर्जा र उमंग प्राप्त गर्छन् । महासमितिको यो बैठकमा यसबारे साथीहरूले गम्भिरतापूर्वक आफ्नो विचारहरु प्रकट गर्नुभयो ।
अन्तमा,
आम जनतामा गम्भीर रुपमा “यो देशमा केही हुँदैन” भन्ने न्यारेटिभ निर्माण भएको छ । यो निराशाको न्यारेटिभलाई चिर्न राज्य संयन्त्रमात्र पर्याप्त छैन, पार्टी संगठन व्यापकरूपमा परिचालित भई यो देशवासीको सुन्दर भविष्य निर्माण गर्ने कांग्रेस हो भन्ने अभियानमा हामी सबै आजैबाट जुटौँ ।
महासमिति बैठकमा उपस्थित भएर आफ्नो अमूल्य मत र सहभागिता जनाउनु भएका सबैलाई म ह्दय देखी आभार व्यक्त गर्दछु, साथै कांग्रेस रुपान्तरणको मेरो अविचलित यात्रा जारी छ भन्ने प्रण पनि तपाईहरु समक्ष गर्दछु । जय नेपाल ।
डा. शेखर कोइराला, २०८० फागुन १०, गोदावरी, ललितपुर ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार