एमाले नेताहरूको चरित्र र आचरणमा प्रश्न, सुधार नभए निर्मम कारवाही हुने संकेत
नेपालबहस संवाददाता
फागुन ११, २०८० शुक्रबार ११:५४:५८
११ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी शुद्धीकरण अभियान चलाउने निर्णयसहित विभिन्न २२ वटा प्रस्ताव पारित गरेर केन्द्रीय कमिटी बैठक सम्पन्न गरेको छ । एमाले नेतृत्वले केन्द्रीय सदस्य र कार्यकर्ताहरूको ‘आचरण’ सुधारको विषयमा प्रश्न गरेपछि केन्द्रीय सदस्यहरूले पनि नेताहरूको चारित्रिक आचरणमा प्रश्न उठाएपछि त्यसलाई सुधार गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।
युवा संघबाट पार्टी राजनीतिमा उदाएका प्रभावशाली युवा नेता महेश बस्नेतको बारेमा ९ वटै समूहबाट प्रश्न उठाइएको थियो । ‘महेश बस्नेतजीको चरित्र, स्वभाव र आचरण बारे ९ वटै समूहबाट प्रश्न उठाइएको थियो ’, एमालेका एक पदाधिकारीले भने । ती पदाधिकारीका अनुसार बस्नेतको विषयमा धादिङकी जानुका पाठक (शोभा) ले बाहिर ल्याएको विषयलाई लिएर चारित्रिक प्रश्न गरिएको थियो ।
बैठकले आफ्ना नेताहरूको चरित्र र आचरणमा मात्र प्रश्न गरेको छैन, केन्द्रीय कमिटीको बैठकले गठबन्धन सरकार र गलत प्रवृत्तिका पात्रले राष्ट्रिय हितमा आघात पु¥याएको निष्कर्ष निकालेको छ । मुलुक तस्करी र भ्रष्टाचारको गहिरो दलदलमा फस्दै गएको छ, पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की तथा बहालवाला स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत टेरामक्स खरिद प्रक्रियाको अनियमिततामा मुछिएका, बालकुमारी घटनाको छानबिन आयोगले दोषी देखाएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला निर्लज्जतापूर्वक झण्डा हल्लाएर हिँडिरहेका छन् । प्रचण्ड सरकारको भ्रष्टाचार नियन्त्रणको नारा स्टण्टबाजीमा परिणत भएको विषयमा पनि एमालेले प्रश्न उठाउँदै सरकारका विरुद्ध आन्दोलन गर्नेसम्मको निर्णय अघि बढाएको छ । गठबन्धनमा आबद्ध भएकै कारण ललितानिवास काण्डका मुख्य निर्णय कर्ताहरूलाई उन्मुक्ति दिइएको उल्लेख गर्दै उनले सुन तस्करीमा मुछिएका माओवादी पार्टीका नेतालाई सफाइ दिइएको आरोप लगाएको छ ।
‘विभिन्न काण्डहरूको छानविनमा व्यवसायीहरू पिच्छे दोहोरो मापदण्ड अपनाइएको छ र आफ्ना मान्छेहरूलाई अपराधबाट उन्मुक्ति दिन न्यायालयलाई प्रभावित र महान्यायाधिवक्ता कार्यालयको दुरूपयोग गरिएको छ । गठबन्धनका मान्छे मुछिएका मुद्दाहरूमा पक्षपातपूर्ण न्याय निरुपण आम विषय बनेको छ । सरकारकै संरक्षणमा तस्करी र अवैध कारोबारीमार्फत समानान्तर अर्थतन्त्र चलाइएका कारण राजश्व सङ्कलन निरन्तर घटिरहेको र अन्तर्राष्ट्रिय संस्थाहरूको दृष्टिमा नेपालको विश्वसनीयता र साख खस्किँदै गएको छ । यो बैठक तस्करी र भ्रष्टाचारलाई संरक्षण गर्ने सरकार र शासन सञ्चालनमा उसको द्वैध चरित्रको विरोध गर्दछ । टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र विभिन्न विवादमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न माग गर्दछ,’ बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने । एमालेले प्रहरीद्वारा अन्धाधुन्ध बल प्रयोगका कारण ललितपुरको बालकुमारीमा दुई र सर्लाहीको बरहथवामा एक युवाको अनाहकमा ज्यान गएको छ । उक्त घटनाप्रति खेद व्यक्त गर्दै दोषीहरूलाई कारबाही गर्न, मृतकहरूका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन र नागरिकहरूको जीवनमा यसरी खेलबाड गर्दै नगर्न सरकारलाई चेतावनी दिएको छ ।
त्यसैगरी पार्टी शुद्धीकरणको विषयमा बैठकको सुरूमै एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे धारणा राख्ने क्रममा ऐन महरको राजीनामा स्वीकृत गरिसकेको बताएका थिए । त्यस क्रममा उनले वर्ष २०८१ लाई पार्टी शुद्धीकरण वर्ष मनाउन प्रस्ताव गरेका थिए । नेता–कार्यकर्ताहरूमा विचलन देखिएकाले शुद्धीकरण अभियान नै चलाउनुपर्ने आवश्यकता पनि उनले दर्शाएका थिए ।
‘पार्टीका कतिपय नेता, कार्यकर्ता र जनप्रतिनिधिको आचरण र व्यवहारमा गम्भीर विचलन देखा परेका छन्, ’ उनको भनाइ थियो, ‘प्रश्नहरू सामाजिक सञ्जाल, मिडिया र जनताको लेभलबाट उठेका छन् । यसमा कडाइ नहुँदा यो व्यवहार बढ्यो । जिम्मेवार नेता कार्यकर्ता र जनप्रतिनिधिहरू आर्थिक लेनदेन, सार्वजनिक र व्यक्तिगत ठगी काण्ड, चारित्रिक रूपमा विभिन्न काण्डमा परेका समाचार आइरहेका छन् । खानपिन र उठबसमा पनि अनुशासनहीनता बढेको छ ।’
यतिबेला एमालेका पोलिटब्युरोदेखि जिल्लासम्मका नेताहरु यौन काण्डमा मुछिएका छन् । यौन सम्बन्धबारे टेप–चर्चाले ऐन महरलाई राजीनामा गराइएको थियो । बझाङका ऐन महर, जुम्लाका सुरतबहादुर शाही, मुगुका मोहन बानियाँ, एमाले कर्णाली प्रदेश कमिटीका नवनिर्वाचित अध्यक्ष गुलाबजंग शाह, कालिकोटका कुर्मराज शाही मात्र होइन, भक्तपुरका महेश बस्नेतलगायत चारित्रिक रूपमा विवादित भएपछि ओलीले कडाइका रुपमा आफ्ना धारणा मात्र राखेका थिएनन्, त्यसको नियन्त्रणका लागि केन्द्रीय कमिटी बैठकमा साझा धारणा बनाउने उद्देश्यले छलफल समेत चलाएका थिए ।
कतिपय नेताका काण्ड बाहिर छताछुल्ल भएका छन् भने केहीका विरुद्ध पार्टी नेतृत्व समक्ष उजुरी पुगेका थिए । यी बग्रेल्ती घटनाहरू पछि एमाले अध्यक्ष ओलीले शुद्धीकरण अभियान चलाउनुपर्ने प्रस्ताव गरेका थिए । पछिल्ला केही वर्षयता पार्टीका नेता कार्यकर्ताको आचरणको विषय ओझेल पर्दा व्यक्तिका कारण पार्टीले प्रश्नको सामना गर्नु परिरहेको र पार्टी शुद्धीकरणको अभियान निर्ममतापूर्वक लैजानुपर्ने उनको भनाइ थियो । यस्ता आचरणगत र व्यवहारगत विचलन भएकालाई कारबाहीको प्रक्रियामा जानुपर्ने धारणा पनि उनले राखेका थिए । कोशी प्रदेशका घनश्याम खतिवडा, बाग्मतीका कैलाश ढुंगेल, मधेश प्रदेशका चन्देश्वर यादव, पेम्बा शेर्पा, लगायतका टोली नेताहरूले सहभागी केन्द्रीय सदस्यहरूबाट नेताहरूको आचरण सम्बन्धी सुझाव दिने क्रममा कतिपय नेताहरूको चारित्रिक विषयमा पनि टिप्पणी गरेको नेतृत्व समक्ष जानकारी दिएका थिए ।
पार्टी अध्यक्षको प्रस्तुतिपछि एमाले बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शुद्धीकरणबारे अवधारणा प्रस्तुत गरेका थिए । उनले विचारमा स्पष्टता, सुदृढ संगठन, कम्युनिष्ट आचरण र प्रभावकारी जनशैलीको आवश्यकतासहितको अवधारणा प्रस्तुत गरेका थिए । ‘पार्टीमा समस्या कहाँ रहेका छन ? सच्याउनुपर्ने सुधार गर्नुपर्ने विषयहरू केके हुन ? पार्टीको प्रभावकारिताका लागि के के गरिनुपर्छ ? देखा परिरहेका समस्यालाई चिन्हित गर्ने र समाधान गर्ने सम्बन्धमा सिंगो नेतृत्वपंक्ति यी विषयमा एक ठाउँमा उभिनु पर्ने र एउटै आवाजमा बोल्नुपर्ने आवश्यकता छ ।’ उनले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमै शुद्धीकरण अभियान सञ्चालन गर्ने निर्णय भएको प्रसंग पनि स्मरण गराएका छन् ।
तर बैठकमा केन्द्रीय सदस्यहरूले शुद्धीकरण माथिबाटै सुरु हुनुपर्ने सुझाव दिएर शीर्ष नेतामाथि नै प्रश्न तेर्स्याएका थिए । उनीहरूले पार्टीभित्र अनुशासन, आचरण, विधि र कार्य पद्धतिलाई कडाइका साथ पालना गर्नुपर्ने, शुद्धीकरण माथिबाट सुरु हुनुपर्ने मत राखेका थिए । पार्टीमा आचारसंहिता बनाएर कार्यान्वयन गर्नुपर्ने, पार्टीलाई विधिपूर्वक सञ्चालन गर्नुपर्ने, आलोचना र आत्मालोचनाको विषयलाई नियमित बनाइनुपर्ने जस्ता पार्टी संगठन निर्माणमा महत्व राख्ने विषयमा सहभागीहरूले गम्भीरतापूर्वक सुझाव राखेको बैठकमा सहभागी एक नेताले भने । संसदको काम प्रभावकारी बनाउनुपर्ने, जनताका मुद्दाहरूमा विशेष ध्यान दिनुपर्ने, विकास, निर्माण र समृद्धिका मुद्दा केन्द्रमा राखेर प्रस्तुत हुनुपर्ने, समृद्ध नेपाल र सुखी नेपालको नारा कार्यान्वयन गर्न केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडासम्म संयन्त्र निर्माण गरी कार्य प्रारम्भ गर्नुपर्ने सुझाव दिएका छन् ।
खासगरी गुटबन्दी, भ्रष्टता र सांस्कृतिक विचलनका विरुद्ध पार्टीमा शुद्धीकरण र सुदृढीकरण अभियान सञ्चालन गर्ने, पार्टीको प्रचार कार्यलाई चुस्त, प्रभावकारी र गुणस्तरीय बनाउने,पोखरेलले अध्ययन र प्रशिक्षणको कमीका कारण पार्टीले अवलम्बन गरेका सिद्धान्त, नीति र कार्यक्रम अध्ययन र सही बुझाइ र कार्यान्वयन गर्न नसकिएको अवधारणा पत्रमा उल्लेख गरेका छन् । वैचारिक कामको अभावमा अवसरवाद र संगठनात्मक अराजकता तथा अनुशासनहीनता मौलाएको उनले भनेका छन् । यस्तै उनले पार्टी सदस्यतामा मापदण्ड पालनामा समस्या, ठूला आकारका कमिटी, तिनको सञ्चालनमा समस्या, वैधानिक व्यवस्थाअनुसार अधिवेशन गर्ने समस्या, दक्षिणपन्थी अवसरवाद, संगठनात्मक अराजकता र गुटबन्दीको समस्या पनि औँल्याएका छन् । तर केन्द्रीय सदस्यहरूले नेताहरुबाटै गुटबन्दी शूरु भएको पनि चिन्ता व्यक्त गरेका छन् ।
क) वैचारिक स्पष्टता (बुझाइ र गराइमा एकरूपताको समस्या),
ख) पार्टी कमिटीहरूलाई विधिसम्मत सञ्चालन गर्नुपर्ने समस्या,
ग) पार्टी सदस्यता वितरण गर्ने, विस्तार र गुणस्तरमा वृद्धि गर्ने कुरामा समस्या,
घ) पार्टी प्रवेश गराउने कुरालाई व्यवस्थित बनाइनुपर्ने,
ङ) पारदर्शिता, असल आचरण, स्वच्छता र जन शैलीको विकास,
(च) जनसम्पर्क-जन सम्बन्धलाई विस्तार गर्नुपर्ने कुरामा समस्या
बैठकमा नेता, कार्यकर्ताहरूको जीवनशैलीका बारेमा केही भन्नु छ ?भनेर प्रश्न गरिएको थियो । नेता, कार्यकर्ताहरूको जीवनको स्वच्छताबारे के–कस्ता कुराहरू उठ्ने गरेका छन् ? नेता, कार्यकर्ताहरूमा कस्ता–कस्ता खराब आचरणहरू देखिएका छन ? त्यस कारणबाट जनतामा परेको प्रभाव वा असर के छ ? त्यसलाई सच्याउन के–के गर्नुपर्ला ? खराब आचरण र चरित्र भएका नेता–कार्यकर्ताहरूलाई कस्तो कारबाही गरिनुपर्छ ? पार्टीलाई शुद्धीकरण र सुदृढीकरणको आवश्यकता रहेको बताउँदै केन्द्रीय कमिटी बैठकमा खुलस्त छलफल गरी सुझाव दिन आग्रह गरेका थिए । बैठकले यिनै विषयहरूमा छलफल गर्दै २२ बुँदे निष्कर्ष निकालेको हो । बैठकले सार्वजनिक गरेको २२ बुँदमा भने सरकारसँग सम्बन्धित विषयहरू समेटिएका छन् भने पार्टीलाई दिइने निर्देशन भने केही दिनपछि आन्तरिक सर्कुलरमार्फत पठाइने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार