नेशनल मेडिकल कलेजको सम्पती विवाद छताछुल्ल, प्रबन्ध निर्देशकबाट हटाइए बसरुद्दिन
आबिद हुसेन
फागुन १३, २०८० आइतबार १७:५८:४८
१३ फागुन, वीरगञ्ज । वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजको सम्पति भागबण्डाकाे विषयलाई लिएर दुई दाजुभाईबीचको विवाद छताछुल्ल भएको छ । मेडिकल कलेजका अध्यक्ष जैनुद्दिन अन्सारी र उनका साहिला भाई बसरुद्दिन अन्सारीबीच मेडिकल कलेजको जायजेथा भागबण्डाको विषयलाई लिएर केही महिनादेखि चल्दै आएको विवाद अहिले छताछुल्ल भएको हो ।
अध्यक्ष जैनुद्दिनले मेडिकल कलेजको प्रबन्ध निर्देशक (एमडी) बाट बसरुुद्दिनलाई पदमुक्त गरेर आफ्नै छोरा शाहनवाज अन्सारीलाई एमडीमा नियुक्त गरेपछि दुई दाजुभाईबीचको विवाद झन चर्किएको हो । गत शुक्रबार अध्यक्ष जैनुद्दिनले आफना छोरा शाहनवाजलाई एमडीमा नियुक्त गरिएको निर्णय सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि विवाद झन् बढेको हो ।
शाहनवाजलाई एमडीमा नियुक्त गरिएको निर्णय विभिन्न माध्यमबाट सार्वजनिक भएपछि बसरुद्दिनले भने मेडिकल कलेजको एमडी आफू नै यथावत रहेको र अध्यक्ष पनि बनेको भन्दै सामाजिक सञ्जालमार्फत प्रचारबाजी गरेका छन् ।
त्यसपछि आइतबार अध्यक्ष जैनुद्दिनका छोरा तथा मेडिकल कलेजका नवनियुक्त एमडी शाहनवाजले पत्रकार सम्मेलन गरेर मेकिडल कलेजका बारेमा बसरुद्दिनले फिँजाएको हल्ला भ्रामक रहेको दाबी गरेका छन् ।
पत्रकार सम्मेलनमा शाहनवाजले मेडिकल कलेजको सञ्चालक समितिले यही फागुन ४ गतेदेखि लागु हुने गरि आफूलाई एमडीमा नियुक्त गरेको दाबी गरे । फागुन ४ गते सम्पन्न मेडिकल कलेजको वार्षिक साधारण सभाले संस्थापक अध्यक्ष जैनुद्दिन अन्सारीकै अध्यक्षतामा तीन सदस्यीय सञ्चालक समिति गठन गरेको उनले बताए । वार्षिक साधारण सभाले सञ्चालक अध्यक्षमा जैनुद्दिन अन्सारी, प्रबन्ध सञ्चालकमा आफूलाई र सञ्चालकमा नुशरत जहान अन्सारीलाई नियुक्त गरेको शहनवाजले जानकारी दिए । नुशरत, अध्यक्ष जैनुद्दिनकै छोरी हुन् ।
पत्रकार सम्मेलनमा शाहनवाजले यसअघिका एमडी बसरुद्दिनको कार्यशैली र गतिविधिमा कैफियत देखिएपछि सञ्चालक समितिले उनलाई एमडी पदबाट हटाएको पत्रकार सम्मेलनमा जानकारी दिए । उनले भने, ‘कानूनी रुपमा एक जना मात्र सञ्चालक समितिमा रहने व्यवस्था भएपनि कामको बोझले अध्यक्षले बसरुद्दिन अन्सारीलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिनु भएको थियो । तर केही समयदेखि उनको कार्य सञ्चालनमा कैफियत देखियो । अध्यक्षले उनलाई पटक पटक सचेत पनि गराएका थिए । तर त्यसका बाबजुदपनि सुधार नआएपछि अध्यक्षले अन्सारीको अधिकार कटौती गर्दै जानु भएको हो । अहिले मेडिकल कलेज प्रालिमा बसरुद्धिनको १० प्रतिशतमात्र शेयर लगानी छ । त्यो बाहेक यस मेकिडल कलेजसँग उनको कुनै साइनो छैन ।’
२०५६ साल भदौ ३२ गतेदेखि विधिवत् रुपमा सञ्चालनमा आएको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको अध्यक्ष सुरुदेखि नै जैनुद्दिन अन्सारी छन् । शाहनवाजका अनुसार, सुरुमा मेडिकल कलेजमा जैनुद्दिनको ९० प्रतिशत र उनका साहिँलो भाई बसरुद्दिनको १० प्रतिशत शेयर थियो । तर गत साउन २६ गते सम्पन्न साधारणसभाले अध्यक्ष जैनुद्दिनकै छोराछोरीहरूलाई राखेर शेयरधनीहरु थपेको थियो । जसअनुसार अब अध्यक्ष जैनुद्दिनको ४५ प्रतिशत,उनका छोरा शहनवाजको १५ प्रतिशत, छोरीहरू नुशरत जहानको १० प्रतिशत,निकहत यासमिनको १० प्रतिशत, इशर्त जहानको १० प्रतिशत र साहिँलो भाई बसरुद्दिनको १० प्रतिशत शेयर रहेको पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
तर अध्यक्ष जैनुद्दिनका भाई बसरुद्दिनले भने मेडिकल कलेजको एमडी अहिले पनि आफू नै भएको दाबी गरे । उक्त पदबाट आफूलाई कसैले पनि नहटाएको दाबी पनि उनको छ । मेडिकल कलेजको दर्ता, स्थापना , अदालतमा मुद्दा लड्ने लगायतका सबै काम आफूले नै गरेर २५ वर्षदेखि मेडिकल कलेज चलाउँदै आएको उनले बताए ।
उनले भने,‘कलेज स्थापनका बेला दाजु जैनुद्दिन आफैंले आधा आधा साझेदारी रहने भनेर मौखिक सहमति गर्नु भएको थियो । बुबा सरहको दाजुले भनेको कुरामा मैले भरोसा गरे । तर अहिले आएर उहाँका छोरा छोरी पढे लेखेर आएपछि मलाई नै पाखा लगाउने काम उहाँले गरिरहनु भएको छ । यो सरासर बेइमानी हो । धोखा हो ।'
वीरगन्जको नेशनल मेडिकल कलेजमात्र नभइ काठमाडौं मेडिकल कलेज र नेपाल मेडिकल कलेज गरी तीनवटै संस्थामा दाजुभाइको हिस्सेदारी रहेको भन्दै बसरुद्दिनले भने, ‘यी तीनवटै जायजेथाको अहिलेको चलन चल्तीको भाउ मुल्यांकन गरेर दुई दाजुभाइले बराबर बाँडौँ भन्ने मेरो माग हो । तर दाजुमा बेइमानी देखिएको छ ।’ उनले दुई दाजुभाइ बीचको विवादलाई आफूले थप चर्काउन नचाहेको पनि जानकारी दिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार