बालकुमारी घटनामा जोडिएका सीडीओलाई गृहको प्रशासन प्रमुखको जिम्मेवारी
नेपालबहस संवाददाता
फागुन १५, २०८० मंगलबार २२:१:१४
१५ फागुन, काठमाडौं । कारवाही गर्नुपर्ने कर्मचारीलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुरस्कृत गरेका छन् । बालकुमारी घटनामा भौतिक मन्त्रीलाई बर्खास्त गर्नुपर्ने आवाज संसदमा उठिरहेको छ ।
त्यही घटनामा डीएसपी उमेश लम्साल निलम्बनमा परेका छन् । तर बालकुमारी घटनामा जोडिएको तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई भने गृहमन्त्री श्रेष्ठले गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिएर पुरस्कृत गरेका छन् ।
कारवाहीको लागि गृहमन्त्रालय तानिएका सहसचिव रुद्र प्रसाद पण्डितलाई प्रशासन महाशाखाको जिम्मेवारी दिइएको हो । मंगलबार मात्रै मन्त्री नारायणकाजी श्रेष्ठले शक्तिशाली र महत्वपूर्ण मानिने प्रशासन महाशाखा प्रमुखमा पण्डितलाई पठाउने निर्णय गरेका थिए ।
तत्कालीन महाशाखा प्रमुख केदारनाथ शर्मा कायम मुकायम प्रदेश प्रमुख सचिवमा खटाइएसँगै लामो समय रिक्त हुन पुगेको महाशाखामा गृहमन्त्रीका नजिक ठानिएका पण्डितलाई ल्याइएको हो । ललितपुर प्रमुख जिल्ला अधिकारी रहेका पण्डित बालकुमारी घटनापछि मन्त्रालय तानिएको थियो । गृहमा भएका सहसचिव मध्ये उनी जुनिएर हुन् ।
कोरिया जानका लागि चाहिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएका युवाहरूको प्रदर्शनसँग भएको झडप र दुई जनाको मृत्युको घटनाको छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । फागुन ४ गते घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन अध्ययन गरी २० गतेभित्र सिफारिस गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेत रहेको समिति गठन गरेको छ । बालकुमारीमा सुरक्षा कमाण्डको जिम्मेवारी खटिएका प्रहरी नायब उपरीक्षक उमेश लम्साल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका व्यक्तिगत सुरक्षा अधिकृत प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गरिएको छ ।
यस्तै, ईपीसी कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदी पनि निलम्बित भएका छन् । तर तत्कालीन सिडियोलाई भने मन्त्रालयकै महत्वपूर्ण जिम्मेवारी दिइएको छ । पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा चौरपाटी, अछामका वीरेन्द्र शाह र महाबु, दैलेखका सुजन रावतको मृत्यु भएको थियो । सो घटनाको जाँचबुझको लागि नेपाल सरकार (मन्त्रिपरिषद्) ले पुस १६ मा जाँचबुझ आयोग बनाएको थियो ।
आयोगले पुस २० देखि काम सुरु गरेर १५ दिन समय थप गरी ४४ दिनमा प्रतिवेदन बुझाएको थियो । आयोगले घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शीको, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य मानिस सहित १६ जनाको बयान कागज गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवं अन्य समेत गरी २९ जनाको बयान गरेर प्रतिवेदन तयार पारिएको थियो । सो प्रतिवेदन बुझेपछि गृहमन्त्री श्रेष्ठले दोषीलाई कारवाही हुने बताएका थिए । प्रतिवेदन बुझे लगत्तै सञ्चार माध्यम मार्फत सो घटनामा मुख्य दोषी भौतिक मन्त्री प्रकाश ज्वालालाई देखाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार