मधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्न
नेपालबहस संवाददाता
फागुन २१, २०८० सोमबार १६:०:२६
२१ फागुन, काठमाडौं । मधेशी एकता समाज यूएईले आयोजना गरेको यस वर्षको होली मिलन समारोह आइतबार दिउँसो दुबईको बरदुबईस्थित एक होटलमा धुमधाम र भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता समाजका युएई अध्यक्ष धर्मेन्द्र गोहिबार यादवले गरेका थिए । कार्यक्रमका श्रम तथा रोजगार मन्त्री शरत् सिंह भण्डारी प्रमुख अतिथि थिए । यसैगरी मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र युएईस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन विशाल भट्टराई विशिष्ट अतिथि थिए ।
कार्यक्रममा एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट, एनआरएनए यूएईका अध्यक्ष विकाश शाही, नेपाली दूतावासका तृतीय सचिव विमलेश मिश्र, अर्का तृतीय सचिव दिल्लीराम शर्मा र श्रम कन्सुलर दिनबन्धु सुवेदी अतिथिको रुपमा उपस्थित थिए ।
त्यसैगरी, मधेशी एकता समाजको संस्थापक र अन्तर्राष्ट्रिय समितिका संयोजक डा. रवीन्द्र कुमार यादव, समाजको नेपाल इकाइकी संयोजक बबीसिंह यादव, समाजका पूर्व अध्यक्षहरु मुकेश झा, कृष्णा ठाकुर, वरिष्ठ उपाध्यक्ष अम्बिका साहलगायतको पनि अतिथिको रुपमा उपस्थिति थियो ।
उद्घाटन समारोहको संचालन महासचिव रोशन देव र सांस्कृतिक कार्यक्रमको संचालन ललित राय र भोला पासवानले गरेका थिए । त्यस अवसरमा सांस्कृतिक नाचगान, होली गीत र जोगिरा गायनका साथै खानपिनको पनि भव्य व्यवस्था गरिएको थियो ।
होली समारोहमा नेपालबाट गएका मधेशका चर्चिच कलाकारहरु जागेश ठाकुर तथा निरुता साहको सानदार प्रस्तुति थियो । त्यसैगरी, त्यहाँ रहेका स्थानीय कलाकारहरु गायक भोला पासवान तथा नृत्यतर्फ इशा, शीतल र पुनमका साथै नेपाली बोइज ग्रुपको पनि प्रस्तुति थियो ।
उद्घाटन समारोहमा श्रम तथा रोजगार मन्त्री भण्डारीले मधेशी एकता समाजले विदेशी भूमिमा पनि सम्पूर्ण मधेशीलाई जोडेर राखेकोमा प्रशंसा गरे । मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने शिप र पैसा नेपाल सरकारले उपलब्ध गराउने जानकारी दिए । त्यस अवसरमा भण्डारीले एक प्रकारको होली गायन अर्थात् जोगिरा गाएर सनाएका थिए ।
नेपाली राजदूतावासका डेपुटी चिफ अफ मिसन भट्टराईले होली पर्वको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गरे । त्यसैगरी, एकता समाजका नेपाल संयोजक डा. बबी सिंह यादवले होलीको शुभकामना दिए । उनले मधेशी एकता समाजको नेपाल इकाइले विभिन्न क्षेत्रमा गर्दै आएको सहयोग र समन्वयबारे जानकारी दिए ।
यस्तै, समाजको अन्तर्राष्ट्रिय संयोजक डा. रविन्द्र कुमार यादवले वर्तमान समयमा वैदेशिक रोजगारमा रहेका मधेशी युवाहरूको अवस्था अत्यन्त जोखिमपूर्ण रहेको बताए । डा. यादवले कम्तीमा प्राविधिक प्रशिक्षण लिएर र २० वर्ष उमेर पुगेपछि मात्रै वैदेशिक रोजगारमा आउने वातावरण बनाउन सल्लाह दिए ।
डाक्टर यादवले एकता समाजले संसारभरि फैलिएका मधेशी प्रवासीहरुलाई मधेश हितका लागि एकताको सुत्रमा बाँधेर मधेशको सांकृतिक पहिचान जोगाउन काम गरिरहेको बताए । यस्तै मधेशमा शिक्षाको स्तर उन्नति, मधेशबाट हुने श्रम आप्रवासनलाई कम जोखिमपूर्ण बनाउन र श्रमिकलाई शीपमूलक तालिम दिई विप्रेषणको गुणवत्ता कायम गर्नेजस्ता कार्यमा एकता समाजले सकारात्मक परिवर्तनको प्रयास गरिरहेको डा. यादवले बताए ।
यस अतिरिक्त, श्रमिकहरुलाई परदेशमा समस्या पर्दा उद्धार गर्ने, मद्दत गर्ने, मधेशमा प्राकृतिक विपत्तिको बेला सहयोग गर्ने, मधेश आन्दोलनका सहिद परिवारलाई सहयोग गर्ने, मधेश मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत गर्नेजस्ता कार्यमा समेत संस्था क्रियाशील रहेको यादवको भनाइ थियो । होली समारोहमा संयुक्त अरब इमिरेट्सका विभिन्न शहरमा कार्यरत ४ सय जनाभन्दा बढी मधेशी सहभागी थिए ।
त्यस अवसरमा युएईमा भूउपग्रहको सफ्टवेयर डिजाइनिङ गर्ने मुकेश झा, मिसाइल डिजाइनिङमा कार्यरत इन्जिनियर दीपक कुमार यादव, न्यूयोर्क विश्वविद्यालय आबुधाबीबाट डिग्री प्राप्त गर्ने पहिलो मधेशी उत्तम मिश्रा, दुबईमा कारखाना स्थापना गर्ने पहिलो मधेशी विनेश यादव र अन्य मधेशी उद्यमीहरु कविन्द्र यादव, गणेश पुर्बे र जीवछ साहलाई सम्मान गरिएको थियो ।
नेपालमा होली मार्च २५ मा भएपनि रमजानको पवित्र महिना मार्च ९ देखि अप्रिल ९ सम्म चल्ने भएकोले दुबईमा होली समारोह रमजानअगावै मार्च ३ तारिखमा आयोजना गरिएको थियो । त्यस अवसरमा मधेशी एकता समाजले रमजानको अवसरमा मार्चको तेस्रो हप्तामा इफ्तार कार्यक्रम दुबईमा आयोजना गर्ने घोषणा गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा एनआरएनएको दशौँ एकता महाधिवेशन काठमाडौंमा हुने
माघ १४, २०८१ सोमबार
सोनाम लामाको अध्यक्षतामा यूएनडीओको अन्तर्राष्ट्रिय कार्य समिति गठन
माघ १४, २०८१ सोमबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
भीमदत्त नगरपालिकाका कांग्रेस सभापति सडकमा मृत भेटिए
माघ १९, २०८१ शनिबार
वडामै योजना सम्झौता : समय र खर्चको बचत
माघ १९, २०८१ शनिबार
एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त
माघ १९, २०८१ शनिबार
त्रिदेशीय महिला टी–२०: आज नेपाल र थाइल्याण्ड खेल्दै
माघ १९, २०८१ शनिबार
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
माघ १९, २०८१ शनिबार
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैंडा स्थानान्तरण
माघ १९, २०८१ शनिबार