दुई गठबन्धन बन्ने सम्भावनाको केन्द्रमा माधव नेपाल, निर्णय कुर्दै प्रचण्ड र ओली
नेपालबहस संवाददाता
फागुन २३, २०८० बुधबार ११:४७:१९
२३ फागुन, काठमाडौं । आइतबारदेखि नेपालको राजनीतिमा देखिएको नयाँ तरंगमा माधव नेपाललाई केन्द्रमा पारिएको छ । नेकपा एसका अध्यक्ष रहेका नेपालसँग १० सीट भएपनि बदलिँदो परिस्थितिमा अध्यक्ष नेपाललाई केन्द्रमा राखिएको हो । बुधबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि कांग्रेस नेतृत्वमा अर्को गठबन्धन बन्ने हल्ला पनि चल्न थालेको छ ।
अर्को नयाँ गठबन्धन र राजनीतिक परिस्थितिबारे आज बस्ने नेकपा एकीकृत समाजवादीको बैठकको निर्णयले पनि केही नयाँ विषय ल्याउन सक्ला तर, अहिले बनेको गठबन्धनमा पनि सरकार गठनका लागि सहज हुने स्थिति देखिएको छैन । छिमेकी देशले पनि नयाँ गठबन्धनलाई चासोका रुपमा लिएका छन् । भारतले तत्कालै प्रतिक्रिया नजनाए पनि उसको नेपालको सत्ता परिवर्तनप्रति निकै चासो छ । सुरुमै मन्त्रिपरिषद गठनमा समस्या देखिएकाले यो गठबन्धनको आयु पनि धेरै लामो नहुने आँकलन गर्न थालिएको छ ।
जे होस अहिले माधव नेपालको राजनीतिक माग निकै छ । सोमबार प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले भेटेका नेपाललाई मंगलबार एमाले अध्यक्ष र केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले एक साथ भेटेका थिए । बुधबार बिहान पछिल्लो राजनीतिक घटनाक्रमपछि नेकपा एसका अध्यक्ष नेपाललाई भेट्न कांग्रेसका सभापति शेरबहादुर देउवा कोटेश्वर पुगे । पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न देउवा अध्यक्ष नेपालको निवास कोटेश्वरमा पुगेका थिए । देउवासँग पत्नी आरजु राणा र कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पनि कोटेश्वर पुगेर नयाँ गठबन्धन बन्नसक्ने संभावना बारे पनि छलफल गरेको स्रोतको दावी छ ।
नेकपा एसले नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने वा नहुने विषयलाई टुंगो लगाउन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ । मंगलबार साँझ मात्रै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले नेपाललाई भेटेर सहकार्यको प्रस्ताव गरेका थिए । त्यसको जवाफमा नेपालले २०७४ सालदेखि नै तपाईहरु एक अर्कामा मिल्ने धोका दिने काम गर्दै आउनु भएको छ, यस्तो धोका दिइन्न फेरी भन्ने कुनै ग्यारेन्टी छैन, त्यसकारण अहिले मिल्ने भन्दा पनि यत्तिकै बस्ने कुरा गरौं भनेर आफ्नो भनाई राखेका थिए । नेपालले अहिले नै प्रचण्ड र ओलीलाई बचन दिइसकेका छैनन् ।
आपसी परामर्शबिना प्रचण्डले गठबन्धन बनाएकोमा नेपाल असन्तुष्ट थिए र अझै छन् । प्रचण्ड र ओलीले सविस्तार मुलुकका चुनौती र आगामी यात्राबारे प्रस्ट कुरा राखेपनि नेपाल नयाँ गठबन्धनप्रति सकारात्मक बनिसकेका छैनन् । उनले ओलीले दुई पटक संसद विघटन गरेको कुरालाई फेरी पनि सम्झाएका थिए । भेटघाटको सुरुमा नेपालले किन चार दल मात्रै गठबन्धनमा हुनुभयो भन्ने प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले आफ्ना कतिपय बाध्यता र सीमा बुझ्न आग्रह गर्दै भविष्यमा मिलेर जाने प्रस्ताव गरेका थिए ।
गठबन्धनबाट आफू निस्कनु पर्नाको कारणबारे व्याख्या गर्दै प्रचण्डले ‘हामी सँगै जानुपर्छ । अब अगाडि बढौँ’ भनेका थिए । वामपन्थीहरु कोही नछुटी सहकार्य गर्ने र अरू शक्तिहरूसँग सहकार्य गरेर अगाडि जानुपर्छ भन्ने प्रचण्डको जोड थियो । ‘विशेष गरी कम्युनिष्ट पार्टीलाई जोगाउने हो भने हामी तीन भाई मिलौं भन्ने जोड थियो’, भेटघाटमा सहभागी एक नेताले भने । बीच आगामी २०८४ सालसम्म वाम गठबन्धन बनाएर जाने सहमती नेपालका कारण भइसकेको छैन् ।
अध्यक्ष माधवकुमार नेपालको घरमा भएको तीन दलका नेताहरूले मुलुकमा अतिवादीहरु बढेको र धर्मको नाममा मुलुकलाई बर्बाद पार्न खोजेकाले बाम गठबन्धन गर्नुपर्ने आवश्यकता रहेको विषयमा छलफल भएको थियो । आउँदो निर्वाचनसम्म यसलाई कायम राखेर जाने प्रचण्ड र ओलीको प्रस्तावमा नेपाल सहमत भइसकेको देखिँदैन । माओवादीले कांग्रेसको साथ छोडेर एमालेसँग नयाँ गठबन्धन गरेपछि नयाँ गठबन्धनमा सहभागी हुन औपचारिक प्रस्ताव लिएर नेताहरु नेपाल नेपाल निवास पुगेका थिए ।
उनीहरूबीच करिब दुई घण्टा भएको छलफलमा अहिलेको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिका कारण बाम गठबन्धन माग गरेको जनाउँदै तीन जना नेताहरुबीच छलफल भयो तर, सहमती भएको छैन् । नेकपा एसको बैठकपछि यसबारे नयाँ कुरा आउला । तर माधव नेपालले बीचमै मध्यावधि निर्वाचन हुने तर्फ संकेत गर्दै त्यही विषयले हामीलाई यो ठाउँसम्म पुर्यायो अहिले पनि पुरानो अवस्था नदोहोरिएला भन्न सकिन्न भन्दै मध्यावधिको चिन्ता गरेका थिए ।
केही दिन अघिसम्म माधव नेपाललाई सार्वजनिक रुपमा गालीगलौज गर्दै आएका ओली आफै सहकार्यको प्रस्ताव लिएर पुगेपछि नेपाल एकै छिन अल्मलिएका थिए । भेटघाटको क्रममा संवाद चल्दै गर्दा ओली–नेपाल दुवै भावुक अवस्था पुगेका थिए । कम्युनिष्ट पार्टीको निर्माण र विभाजनको पुराना विषयलाई लिएर भावुक भएका थिए । ‘वाम गठबन्धन बनाउने विषयमा तीन नेताहरु सहमत हुनु भएको छ, सरकारमा जाने वा नजाने विषयमा भने नेकपा एसले मंगलबार सचिवालयको बैठक बसेर निर्णय गर्छ’, नेकपा एसका महासचिव घनश्याम भुसालले भने ।
भेटघाटका एमालेका तर्फबाट ओलीका अतिरिक्त उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, एसका तर्फबाट घनश्याम भुसाल, तथा प्रधानमन्त्री दाहाल सहभागी थिए । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले सकारात्मक जवाफ आएको बताए । ‘माधवजीको स्वास्थ्य बुझ्न र स्वास्थ्य लाभको कामना गर्न आएका थियौँ । यही क्रममा देशको परिस्थितिको बारे चर्चा चल्नु स्वाभाविक नै हो’, नेपाल गठबन्धनमा सहभागी हुने बारेमा ओलीले भने, ‘एफर्मेटिभ (सकारात्मक) ।’ यस्तै भेटमा सहभागी एमाले महासचिव शंकर पोखरेलले आफूहरूले गठबन्धनमा सहभागी हुन अनुरोध गर्दा नेपालले भोलि पार्टीको बैठक बसेर निर्णय लिने जवाफ दिएको बताए । उनले नयाँ प्रक्रियामा सहमत सबै पक्षलाई समेट्न आफूहरूले पहलकदमी लिएको र नेपाललाई पनि अनुरोध गरेको बताए । नेकपा एसका महासचिव घनश्याम भुसालले पनि संवाद सकारात्मक भएको बताए । ‘संवाद सकारात्मक भएको छ, पार्टीको बैठक बसेर निर्णय गर्छाै’, भुसालले भने ।
नेपाल निकट स्रोतका अनुसार दुई घण्टासम्म चलेको संवादमा तीन जना नेता नमिली सुखै छैन भनेर ओलीले अब सँगै जाऔँ भन्ने प्रस्ताव गरेका थिए । ‘ओलीले नै पहिलो पटक तीन जना नेता मिलौँ भन्ने प्रस्ताव गर्नुभएको थियो’, स्रोतले भन्यो । नेपालले मिल्ने विषय व्यवहार देखिनुपर्छ, नीतिगत रुपमा मिल्नुपर्छ, साथै अहिलेको अवस्थामा कसरी जाने भनेर स्पष्ट खाका कोरौँ सबै स्पष्ट भएपछि मिल्न कठिन छैन भनेका थिए । ‘तपाईहरुलाई मन लाग्दा गठबन्धन गर्ने मन नलाग्दा तोड्ने कुराले जनतामा थप निराशा बनाउँछ, अबको गन्तव्य के हो भन्ने बारेमा स्पष्ट खाका बनाएर कुरा गरौं’, नेपालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।
स्रोतका अनुसार ओलीले सबै मार्गचित्र बनाएर जान एमाले तयार रहेको बताएका थिए । नेपालको आक्रोस भने ओलीसँग भन्दा पनि माओवादी अध्यक्ष दाहालसँग रहेको थियो । अघिल्लो पटक पनि बालकोट सुटुक्क पुग्ने अहिले पनि थाहै नदिई यसरी प्रस्तुत हुने हो भने विश्वास गर्ने आधार नै समाप्त हुने बताएका थिए । त्यसको जवाफमा दाहालले गोप्य रुपमै काम गर्नुपर्ने परिस्थिति रहेकाले यस्तो भएको बताएका थिए । ‘अलि गोप्य रुपमै काम गर्नुपर्ने थियो, त्यसको विषय जो तपाईंलाई पनि थाह छ भनेर नेपालतर्फ नै विषयलाई पन्छाएका थिए’, दाहालको भनाई उद्धृत गर्दै सहभागी एक नेताले भने ।
संवादमा सहभागी दोस्रो तहका नेताहरूले तीन जना नेताहरूबीच विश्वासको वातावरण बनाउनु पर्नेमा जोड दिएका थिए । पछिल्लो पटक कांग्रेस महासमिति बैठकमा हिन्दु धर्मको विषयले चर्चा परिचर्चा पाएको र यसले वाम गठबन्धन बनाउन बल पुगेको धारणाहरु सार्वजनिक भैरहेका बेला आजको नेपाल निवासका त्यो विषयमा गम्भीर छलफल भएको थियो ।
दुई–दुई वर्षको आलोपालो सत्ता सञ्चालन गर्ने, तर सरकारको स्थायित्व जोडिएकाले बाहिर प्रचार नगर्ने, प्रधानमन्त्रीलाई सहज हुने गरी मन्त्रालय बाँडफाँट गर्ने, समझदारी परिपक्व र राम्रो बन्दै गयो भने ०८४ को चुनावमा पनि मिलेरै जाने, पार्टी एकता तत्काल नगर्ने, तर पर्याप्त गृहकार्य र बहस चलाउँदा परिपक्व परिस्थिति निर्माण भयो भने मात्र निर्णयमा पुग्ने गरी मोटामोटी समझदारी भएपछि ओली र प्रचण्ड नेपाल निवासबाट बाहिर निस्केका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार