मुख्यसचिवलाई प्रधानमन्त्री प्रचण्डको धम्की, गृहसचिव भट्टराईको चलखेल सुरु
नेपालबहस संवाददाता
फागुन २८, २०८० सोमबार १३:६:४४
२८ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुख्यसचिव बैकुण्ठ अर्याललाई धम्कीको भाषामा राजीनामा दिन निर्देशन दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स खरिद प्रकरण, नेपाल टेलिकमको विलिङ सिष्टमको मेसिन खरिद प्रकरण लगायतका विभिन्न भ्रष्टाचार आरोपमा मुछिएको भन्दै प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव अर्यालले विदामा बस्न वा राजीनामा दिन भनेका थिए । तर, अर्यालले राजीनामा दिन र बिदामा बस्न अस्वीकार गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा लैजान अन्तिम तयारी गरिरहेको बेला प्रधानमन्त्रीले टेरामक्स खरिदलगायत प्रकरणमा मुछिएका मुख्यसचिव अर्याललाई बिदामा बस्न वा राजीनामा गर्न निर्देशन दिइएको थिए । तर, उनको निर्देशन अर्यालले अस्वीकार गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले बताए ।
‘प्रधानमन्त्रीले गत साता नै मुख्यसचिवलाई बिदामा बस्न निर्देशन दिएका थिए तर सत्ता गठबन्धनमा आएको उलटपलटका कारण जोगिएका छन्,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो । प्रधानमन्त्रीले बिदामा बस्न भनेको एक सातापछि पनि मुख्यसचिव अर्याल सिंहदरबारस्थित आफ्नो कार्यालयमा कामकाज गरिरहेका छन् । ‘अख्तियारले मुद्दा नै लैजाने भएपछि विदामा बस्नु र राजीनामा दिनुको अर्थ छैन, यहीबाट घर जाने हो’, मुख्यसचिवले भनेका थिए ।
नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स खरिद गर्दा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छानबिन गरी आरोपित उपर मुद्दा चलाउने तयारी गरेको छ । यस विषयमा अख्तियारले अर्याल लगायतसँग बयान लिइसकेको छ । टेरामक्स बाहेक नेपाल टेलिकमको ‘बिलिङ सिस्टम’ खरिद घोटालामा पनि अर्यालको संलग्नता देखिएको भन्दै आयोगले अनुसन्धान थालेको थियो । मुख्यसचिव अर्याल बिदामा बसे मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय भित्रकै सबैभन्दा वरिष्ठ सचिव स्वतः निमित्त मुख्यसचिव हुने व्यवस्था कानुनमा छ ।
अहिले प्रधानमन्त्री कार्यालयमा एकनारायण अर्याल, अर्जुन पोखरेल, लिलादेवी गडतौला, सरजुकमार वैद्य, गणेश पाण्डे सचिवका रूपमा कार्यरत छन् । त्यस्तै सचिवको विशेष दरबन्दीमा खगेन्द्र नेपाल छन । प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिवमध्ये एक नारायण सबैभन्दा वरिष्ठ हुन । त्यसैले मुख्यसचिव वैकुण्ठ बिदामा बसे एक नारायण स्वतः निमित्त मुख्यसचिव हुनेछन् । तर उनी सरकारले निर्णय नगरेसम्म कायममुकायम मुख्यसचिव हुन पाउने छैनन् । लामो समय गृहमा बसेका अर्याल अहिले पनि उनको इच्छा गृहसचिव हुने नै रहेको छ ।
कायममुकायम (कामु) मुख्यसचिव नियुक्त गर्न भने मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ । कामु मुख्यसचिव भने प्रधानमन्त्री कार्यालयका सचिव मध्येबाटै नियुक्त गर्नुपर्छ भन्ने छैन । अन्य मन्त्रालयका सचिवलाई पनि मन्त्रिपरिषदले कामु मुख्यसचिवको जिम्मेवारी दिन सक्छ । कामु मुख्यसचिवले मुख्यसचिव सरह नै अधिकार प्रयोग गर्न पाउँछन् । मुख्यसचिव अर्याललाई मुद्दा लागेमा, विदामा बसेमा वा राजीनामा दिएमा श्रम मन्त्रालयका सचिव केबल भण्डारी, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, अर्का सचिव तोयानारायण ज्ञवाली र तोयम राय, सञ्चारका सचिव रामकृष्ण सुवेदी र गृहका दिनेश भट्टराई मध्येबाट एक मुख्यसचिव बन्ने अवस्था छ ।
सरकारका विभिन्न मन्त्रालय र निकायमा कार्यरत सचिवहरू मध्ये वरिष्ठताका आधारमा पहिलो नम्बरमा देवकुमारी गुरागाईँ भएपनि उनी फागुन २६ बाट अवकाश अवकाशमा गइन् । दोस्रोमा भण्डारी, तेस्रोमा अधिकारी र चौथोमा योजना आयोगका तोयानारायण ज्ञवाली छन् । सचिव गुरागाईंको सेवाअवधि फागुन २६ गते, भण्डारीको सेवाअवधि चैत ११ गते र अधिकारीको सेवाअवधि वैशाख १७ गते सकिँदै छ ।
त्यसमध्येमा अहिले सबैभन्दा बलियो दावीमा गृहका भट्टराई रहेका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहालसँग निकट रहेका छन् । ‘उनले प्रधानमन्त्रीलाई यसरी रिझाएका छन् कि मन्त्रालयको सबै सूचना प्रधानमन्त्रीलाई पुर्याउने गरेका छन्’, गृहमन्त्रालय स्रोतले भन्यो । कर्मचारी सरुवा बढुवाको फाइल अगाडि बढाउन निकै कठिन मान्ने गृहका सचिव भट्टराईप्रति अन्य सचिवहरूको हेर्ने दृष्टिकोण त्यति सकारात्मक रहेको छैन । तर पनि उनको दौडधूप बढी नै रहेको छ । ‘भण्डारी कांग्रेस र अधिकारी एमाले भएको आरोप लगाउँदै उनी मुख्यसचिवको दौडमा लागेका हुन् । उनको सचिव हुने कार्यकाल अझै एक वर्ष रहेको छ ।
मुख्यसचिव शंकरदास बैरागीको तीन वर्षे कार्यकाल सकिन साढे ३ महिना बाँकी छँदै सरकारले गत असारमा उनलाई राजीनामा गर्न लगाएको थियो । त्यसपछि रिक्त मुख्यसचिवमा वैकुण्ठलाई लगिएको हो । सचिवका रूपमा वैकुण्ठको पाँच वर्षे कार्यकाल गत असार ३ गते सकिँदै थियो । सचिवको कार्यकाल सकिनुभन्दा ३ दिनअघि उनलाई मुख्यसचिवमा बढुवा गरिएको थियो । मुख्यसचिवमा बढुवा नभएको भए उनी असारमै सेवानिवृत हुन्थे । सुरक्षा परिषद् सल्लाहकार बनाउने सर्तमा बैरागीलाई मुख्यसचिवबाट राजीनामा गर्न लगाइएको थियो । मुख्यसचिवको कार्यकाल तीन वर्षको हुन्छ । तीन वर्ष पूरा नहुँदै ५८ वर्ष पुगे सेवाबाट अवकाश पाउने व्यवस्था निजामती सेवा ऐन, २०४९ मा छ ।
पूरा कार्यकाल पूरा नगरी मुख्यसचिव पदबाट राजीनामा गर्ने परम्परा तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीले सुरु गरेका थिए । एक वर्ष कार्यकाल बाँकी छँदै उनी एसियाली विकास बैक (एडीबी) को वैकल्पिक सल्लाहकारमा जागिर खान फिलिपिन्स गएका थिए । सेवाबाट राजीनामा नदिइकन उनी एडीबीको जागिर खान गएका थिए । उनले आफ्नो विषयमा आफैं निर्णय गरी आफूलाई अतिरिक्त समूहमा राखेका थिए । उनको स्व- निर्णयलाई तत्कालीन सरकारले मान्यता दिएन । त्यसपछि उनले २०७४ साउन २२ गते सरकारी सेवाबाट राजीनामा दिएका थिए ।
सुवेदी पछि राजेन्द्रकिशोर क्षेत्री मुख्यसचिव भए । उनी चार महिनाजति मुख्यसचिवको जिम्मेवारीमा बसे । ५८ वर्ष उमेरहदका कारण क्षेत्रीले २०७४ कात्तिक ६ गते अनिवार्य अवकाश पाए । त्यसपछि लोकदर्शन रेग्मी मुख्यसचिव भए । सरकारले रेग्मीलाई पनि पूरा कार्यकाल काम गर्न नदिएर राजीनामा गर्न लगायो । रेग्मीपछि शंकरदास वैरागी मुख्यसचिव बनेका थिए । रेग्मीलाई राजीनामा गर्न नलगाइएको भए उनले २०७७ कात्तिक ६ गतेसम्म काम गर्न पाउँथे ।
त्यसबेला सचिव पदमा कार्यरत वैरागीले २०७७ असोज २२ गते सेवाबाट अवकाश पाउँथे । वैरागीलाई मुख्यसचिव बनाउन तत्कालीन सरकारले कार्यकाल सकिनुअगावै रेग्मीलाई मुख्यसचिवबाट राजीनामा दिन लगाएको थियो । रेग्मी पूरा कार्यकाल मुख्यसचिव भएका भए चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसूदन अधिकारी मध्येबाट एकजना मुख्यसचिव हुने पालो थियो । उनीहरू सबै बिदा भएपछि वैरागीले अवसर पाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार