हिरोइज्म रुचाउने नारायणकाजी श्रेष्ठले उन्मुक्ति दिएका माओवादी उपाध्यक्ष महरा पक्राउको कथा
नेपालबहस संवाददाता
चैत ६, २०८० मंगलबार १०:४:२८
६ चैत, काठमाडौं । नेकपा एमालेको प्रस्तावमा २०७९ साल पुस १० गते पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री बने । सो मन्त्रिपरिषदमा नारायणकाजी श्रेष्ठलाई भौतिक तथा यातायात मन्त्रीको जिम्मेवारी दिइयो । भौतिक मन्त्रालयको जिम्मेवारी पाएपछि काठमाडौंका खाल्डा सबै पुर्ने भन्दै उनी इन्जिनियरसहित सडक सडक दौडिए ।
सरकार बनेको ३१ दिनपछि रवि लामिछानेको गृह मन्त्रालय खुस्कियो, त्यसपछि उनको सरुवा गृह मन्त्रालयमा भयो । गृह मन्त्रालयको जिम्मेवारी लिएसँगै श्रेष्ठले आफ्नो चटक निरन्तर जारी राखे । मिडिया ट्रायल गर्ने र स्टण्ट निर्णयहरू गर्न थाले । यसको एउटा उदाहरण थियो –सुराकी खर्च रोक्नु र अर्को उदाहरण थियो राष्ट्रिय परिचय पत्र वितरणलाई लथालिङ्ग बनाउनु । यी दुवै काममा उनी सफल भए । त्यसपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा उनले नसोचेको उपलब्धि हासिल गरे । शरणार्थी प्रकरण सकिने बेलामा सुन प्रकरण आइलाग्यो । सो प्रकरणमा नेकपा माओवादीकै नेताहरूको संलग्नता देखियो । त्यसपछि उनले आफ्ना पार्टीका नेताहरु जोगाउनका लागि भरमग्दुर प्रयास गरे । त्यसकै परिणाम थियो कृष्ण बहादुर महरालाई मुद्दा चल्न नसक्नु ।
श्रेष्ठ गृहमन्त्री हुँदा प्रहरीलाई निर्देशन दिइरहन्थे, ‘अनुसन्धानमा कुनै हस्तक्षेप हुने छैन । दोषी जोसुकै भए पनि कारबाही अघि बढाउनुस् ।’ तर, उनले आफू निकट रहेका कर्मचारीहरू सुन काण्डमा मुछिएका सहसचिव झलकराम अधिकारी तथा नक्कली लाइसेन्स प्रकरणमा मुछिएका गोगनबहादुर हमाल, यी सबैलाई जोगाउन उनी लागिरहे । उनले जोगाएका माओवादी केन्द्रका नेता एवं पूर्व सभामुख कृष्णबहादुर महरा सोमबार पक्राउ परेपछि पनि त्यसको थप पुष्टि भएको छ ।
महरा बाबु छोरा सुन तस्करीमा संलग्नता खुल्ने तथ्यहरू प्रहरीले गत वर्षको जेठमै भेट्टाएको थियो । शक्तिकै आडमा त्यतिबेला महरामाथि अनुसन्धान खुकुलो पारियो । छोरा राहुललाई पक्राउ गरेर प्रहरीले महरालाई उन्मुक्ति दिएको थियो । सुन तस्करी जाँचबुझ आयोगले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तस्करीमा संलग्नलाई जोगाएको प्रतिवेदनपछि प्रहरी महरालाई पक्राउ गरी पुनः अनुसन्धान गर्न बाध्य भयो ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित आयोगले प्रतिवेदन बुझाउनुअघि श्रेष्ठ गृहबाट परराष्ट्र मन्त्रालय पुगिसकेका थिए । सुन तस्करीको अनुसन्धान फितलो भएको आरोप त्यसबेलै लागेको थियो, जतिबेला एक क्विन्टल सुन विमानस्थलबाट बाहिरिएर पार्किङमा पक्राउ परेको थियो । गिरोहका नाइकेलाई उन्मुक्ति दिएर भरिया मात्र पक्राउ गरिएको भन्दै तत्कालीन प्रतिपक्ष एमालेले श्रङ्खलाबद्ध संसद अवरुद्ध गरेपछि गत असोजमा जाँचबुझ आयोग गठन गरिएको थियो । सोही आयोगको सिफारिसअनुसार महरालाई पक्राउ गरी पुनः अनुसन्धानको दायरामा ल्याइएको हो ।
विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएपछि पूर्व सभामुख महराले गत साउनमा दिएको प्रस्टीकरण रोचक थियो । सुन तस्करीमा संलग्न भनिएका चिनियाँ व्यापारीलाई आफूले ७ वर्षदेखि फलफूल व्यापारीका रूपमा मात्र चिनेको र आफूले उनैसँग फलफूल लिने गरेको उनको दाबी थियो । कल डिटेल रेकर्ड प्रतिवेदनले महरा बाबुछोरा र सुन तस्करीका मुख्य अभियुक्त ली हानसङबीचको सम्बन्ध त्यत्तिमा मात्र सीमित रहेको देखिएन ।
त्रिभुवन विमानस्थलमा सुन पक्राउ परेपछि महराले २२ पटक र उनका छोरा राहुलले २ सय ३४ पटक अभियुक्तसँग फोन सम्पर्क गरेको सीआईबीको अनुसन्धानबाट खुलेको थियो । सीआईबीको प्रारम्भिक अनुसन्धान रिपोर्टमै सुन तस्करी प्रकरणमा महरा बाबुछोराको संलग्नता देखिएको विवरण खुलाइएको थियो । तर, प्रहरीले महरा बाबुछोरालाई जोगाएर अन्य आरोपित विरुद्ध मात्र मुद्दा अघि बढायो । सो प्रकरणमा जोडिएका अन्य अभियुक्त पक्राउ हुँदा महरा बाबुछोरालाई भने सरकारले उन्मुक्ति दिएको थियो ।
सीआईबीले कल डिटेल रेकर्ड प्रतिवेदनअनुसार, सुन ल्याउने समूहमा रहेका चाइनिज नागरिक लुई, दाओजिन वाङ, लोकेन्द्र पौडेल, खुवाप्रसाद न्यौपाने र राहुल महराबीच बारम्बार सम्पर्क देखाएको थियो । त्यस्तै, कृष्णबहादुर महरा र भन्सार कर्मचारी मुक्तिप्रसाद श्रेष्ठबीच यसै विषयमा सम्पर्क भएको भन्दै प्रतिवेदनमा भनिएको थियो, ‘आपसी सम्पर्क रहेको र यो समूहले सुन बेचबिखन गर्ने समूहसँग पनि सम्पर्कमा रहेको तथा निजहरु आ–आफ्नो आपराधिक जिम्मेवारी बमोजिम खटिएको देखिन्छ ।’
२०७९ पुस १० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले जफत गरेको ९ किलो ११.५२४ ग्राम सुन छुटाउन महरा र उनका छोरा राहुलले शक्तिको दुरुपयोग गरेका थिए । ७३ वटा बट्टामा ७३० थान भेप भेटिएको थियो । भन्सार कर्मचारीले जफत गरेको सुन छाड्न नमानेपछि अस्वाभाविक रूपमा लिलाम गराएर विमानस्थलबाटै बेचबिखन गरिएको थियो । भेपभित्र लुकाएर ल्याइएको सो सुनको बजार मूल्य ८ करोड ५५ लाख रुपैयाँ भन्दा धेरै पर्ने थियो । उक्त सुन ल्याउने चिनियाँ नागरिक लीसँग महरा बाबुछोराको सम्पर्क देखिएको र सुन बरामद परेपछि छुटाउन अस्वाभाविक रूपमा भन्सार अधिकारीहरूलाई दबाब दिएको प्रहरी अनुसन्धानमा खुलेको हो ।
तस्करीमा संलग्नहरूलाई सहयोग पुग्ने गरी महरा बाबुछोराले विमानस्थल भन्सारका उच्च अधिकारीलाई पटकपटक फोन गरेको कल रेकर्ड प्रतिवेदनसहित सीआईबीले प्रतिवेदन बुझाएको थियो । सुन ल्याउने र भन्सारमा रोकिएपछि त्यहीँबाट बेच्ने सञ्जालमा महरा बाबुछोरा संलग्न रहेको सीआईबी प्रतिवेदनले किटान गरे पनि गृहमन्त्री श्रेष्ठले उनीहरूलाई जोगाएका थिए । महरा बाबुछोरालाई उन्मुक्ति दिँदै अन्य अभियुक्त विरुद्ध २७ असारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
चार महिनापछि २६ वैशाखमा भन्सार कार्यालयले सीआईबीलाई पत्र लेखी सो घटनाको अनुसन्धान गर्न आग्रह गरेको थियो । सोही आधारमा ब्यूरोले एक चरणको अनुसन्धान सकेर मुद्दा दायर गरेको थियो । जुन अनुसन्धानमा पूर्व सभामुख महरा र उनका छोरा राहुल संलग्न रहेको पर्याप्त प्रमाण भेटिए पनि अनुसन्धानसम्म गरिएन । चौतर्फी दबाब र विरोधपछि छोरा राहुललाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखे पनि महरालाई उन्मुक्ति दिइएको थियो । सीआईबीले पूरक प्रतिवेदन लैजाने बेलामा महराले सीआईबी पुगेर बयान दिएका थिए ।
दाओजिन वाङसँग मेरो पुरानो चिनजान होः महरा
मिति २०७९-०९-१० गते फ्लाइ दुबईको फ्लाइट नम्बर एफजे ०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसङले दुई वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) त्रि.बि.भन्सार कार्यालयमा जफत भएको थियो । त्यसपश्चात दाओजिन वाङले उक्त सामान त्रि.वि. भन्सार कार्यालयमा पक्राउ परेको तीन दिन भयो, के भएको हो बुझी दिनुपर्यो भनी मलाई भनेका थिए ।
मैले त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई पहिलेदेखि चिनेको भएको हुनाले के कसो भएको हो, कानून बमोजिम के गर्न मिल्छ हेरिदिनु होला भनी फोन गरेको हो । मेरो छोरा राहुल भन्ने रेशम महरा के कारणले उक्त इलेक्ट्रिक सिगरेट (भेप) जफत भएको रहेछ, कानून बमोजिम मिल्ने भए सहयोग गरिदिनु भनी अरुण पोखरेलको सम्पर्कमा गएका हुन् । दाओजिन वाङसँग मेरो पुरानो चिनजान हो, उनले मलाई आफू एउटा फलफूल व्यापारीको रूपमा नेपालमा व्यापार गर्ने भनी चिनाएका थिए र उनीसँग सामान्य विषयमा फोनमा कुराकानी हुने गर्दथ्यो । योबाहेक उनीसँग अन्य कुनै विषयमा कुराकानी हुने र अन्य कुनै किसिमको सम्बन्ध पनि छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार