गर्जमुनिका बादी गर्जो टार्नकै लागि भारत पलायन
नेपालबहस संवाददाता
चैत १३, २०८० मंगलबार १३:५४:३९
१३ चैत, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ५ गर्जमुनिकी ४३ वर्षिया ज्ञानुदेवी बादीको परिवार छ वर्षअघि भारत पलायन भएको थियो । पुर्ख्यौली पेसाले जीविका चलाउन नसकेपछि उनको परिवार मुम्बई पलायन भयो । मुम्बई पुगेपछि उनको श्रीमानको उतै मृत्यु भयो । श्रीमानको मृत्युपछि परिवार चलाउनै मुस्किल भयो । ज्ञानुको दुख झन् थपियो । ज्ञानुको दुई वर्षअघि नेपाल आउने क्रममा रेलबाट खसेर दुवै खुट्टा गुमे ।
“रेलबाट खसेपछि दुवै खुट्टा काटिए”, उनले भनिन्, “नजिकै रहेका प्रहरी र यात्रुहरुले रेल मुनिबाट तानेर ज्यान जोगाए ।” अस्पतालमा लागेको उपचार खर्च आफन्तसँग सापटी लिएर तिरिन । काटिएका दुवै खुट्टा अझै निको भएका छैनन् । ऋण लागेपछि दुवै छोराको पढाइ रोकियो । सामाजिक सुरक्षा भत्ता पाइएमा केही राहत हुने आशा छ । आफ्नो घर भत्किएपछि भारतबाट फर्केर छिमेकीकहाँ शरण लिएर बसेकी छिन् ।
ज्ञानु बादी एउटा प्रतिनिधि पात्र मात्र हो । गर्जमुनिका १० परिवार बादीमध्ये पाँच परिवार भारत गएका छन् । मोहन, राजु, गणेश, पप्पु र भरत बादी घरमा ताल्चा लगाएर भारत गएका हुन् । मोहन, राजु र पप्पु बादीले छोराछोरी बस्तीकै अरुका जिम्मामा छोडेका छन् ।
“अरु परिवार श्रीमती छोराछोरी लिएर भारत गएका छन्”, श्यामकुमाल बादीले भने, “तीन परिवारले मेरै जिम्मामा उनीहरुका केटाकेटी छाडेर गएका छन् ।” भारतमा पुरुषले कुल्ली, चौकीदार, ज्यालादारी मजदुरी गर्छन् । महिलाले घर सरसफाइको काम गर्दै आएको उनले बताए।
बादी समुदायको पुर्ख्यौली पेसा सुल्पा, हुक्कालगायत माटोका भाँडा बनाउने हो । तर समयक्रमसँगै त्यस्ता सामानले बजार नपाएपछि मजदुरीका लागि भारत जानुपरेको उनको भनाइ छ । “विगतमा नाचगान गर्दै गाउँटोलमा माग्ने काम चलन पनि थियो, केहीले गाउँका जमिन्दारको हलो जोत्थे”, उनले भने, “अहिले मागेर कसैले दिदैनन् माग्न पनि नराम्रो लाग्छ, त्यो काम सबैले छोडिसके ।”
आर्थिक अवस्था कमजोर भएकाले बादी समुदायका बालबालिकाका नियमित विद्यालय जान सकेका छैनन् । विद्यालयले किताब निःशुल्क दिएपनि पोसाक, कापी, कलमलगायतका स्टेसनरी खरिद गर्न धौधौ छ ।
“साँझ बिहानको खानाको छाक कटाएर शुःल्क तिर्दै आएका छौँ”, स्थानीय बिष्ना बादीले भने, “केही महिनाअघि सरस्वती पूजा भनेर बालबालिकाबाट रु एक सय ५० रकम विद्यालयले लियो, परीक्षा शुल्क भनेर अरु पैसा पनि लिन्छन् ।” विद्यालयले भर्ना र मासिक शुःल्क लिने गरेकाले मजदुरी गरेको पैसाले घरखर्च चलाउने की बालबालिकालाई पढाउने समस्या हुने उनको गुनासो छ ।
बादी समुदायको बस्ती निकुञ्जसँगै जोडिएको छ । हात्तीलगायतका जङ्गली जनावरको त्रास उत्तिकै छ । हात्ती आएको थाहा पाउन रातको समयमा बस्तीका घर देखिने बत्तिको माग गर्दै आए पनि व्यवस्था नभएको उनीहरुको गुनासो छ । स्याली नदीले बर्षेनि जग्गा कटान गरेको छ । बस्ती सुरक्षित बनाउन तटबन्धको माग गरेपनि पूरा नभएको पविसरा बादीले बताइन् ।
दातृ निकाय र सरकारी निकायले सीपमूलक, आयआर्जन र रोजगार मूलक कार्यक्रममा गर्जमुनिका बादी समुदायलाई समेट्न नसकेको पविसराको आरोप छ । सुरक्षित आवास कार्यक्रम अन्तर्गत सम्पन्नले घर बनाए तर बादी समुदाय वञ्चित भए । स्थानीय सरकारले सञ्चालन गर्ने सय दिने प्रधानमन्त्री रोजगार कार्यक्रममासमेत बादी समुदायलाई नसमेटिएको उनीहरुको दुखेसो छ ।
विपन्नका लागि कम्बल वितरण गर्ने कार्यक्रम नगरपालिकाले १२ वटै वडामा गरेपनि बादी समुदाय वञ्चित भएका छन् । गर्जमुनिका बादी समुदायसँग घरवासका लागि दुईदेखि तीन कठ्ठा जग्गा छ । केही परिवारले मजदुरी गरी घर बनाउन थालेपनि पूरा गर्न सकेका छैनन् । सामाजिक विभेद उत्तिकै छ ।
बादी समुदायलाई खाना पकाउन आगो बाल्न समेत समस्या छ । “निकुञ्जबाट दाउरा ल्याउन गए जरिवाना स्वरुप रु पाँच सय तिराइन्छ, सामुदायिक वनबाट दाउरा पाइदैन”, पविसराले भनिन्, “बस्तीमा खानेपानीको अभाव छ । पहिला होटलमा चिया खाए गिलास धुनुपर्ने अवस्था थियो । त्यो भने हटेको छ ।”
गर्जमुनिका वडा अध्यक्ष चक्रबहादुर खडकाले बादी समुदायका लागि रु ५० हजार बजेटको व्यवस्था गरेको बताए । बादी समुदायकै मागको आधारमा विनियोजित बजेटको कार्यक्रम बनाएर लागू गरिने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
वायु प्रदूषणमा काठमाडौं तेस्रो स्थानमा उक्लियो
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार