एसपीमा बढुवा सिफारिसमा गृहमन्त्रीको हस्तक्षेप, ओली र प्रचण्डका पीएसओ तान्दा नम्बरमा तलमाथि
एक नम्बरकै डीएसपी छुटेपछि आईजीपी नेतृत्वको बढुवा समिति विवादमा
नेपालबहस संवाददाता
चैत १५, २०८० बिहिबार १२:१०:३६
१५ चैत, काठमाडौं । प्रहरीको सरुवा बढुवामा हस्तक्षेप नगर्ने भन्दै ठूलो स्वरले खोकेका गृहमन्त्री रवि लामिछानेले डीएसपीहरूको हालै भएको सरुवा र हिजो निकालिएको बढुवामा चरम हस्तक्षेप गर्दा नेपाल प्रहरी थप विवादमा परेको छ । नेपाल प्रहरीका ८ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गर्दा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर नेतृत्वमा बनेको बढुवा सिफारिस समिति विवादमा परेको छ । आईजीपी अध्यक्ष रहेको समितिले एसपीमा बढुवा गर्न ८ जनालाई सिफारिस गर्दा पहिलो नम्बरमा रहेका डीएसपी छुटेपछि विवाद भएको हो ।
यो सिफारिसलाई लिएर प्रहरी मुख्यालयमा ठूलै चर्चा चलेको छ । सरुवा बढुवामा हस्तक्षेप नगर्ने दावी गरेका गृहमन्त्री लामिछानेको दवावलाई थेग्न नसक्दा महानिरीक्षक कुँवरले वरीयता मिचेर बढुवाको सिफारिस गरि प्रहरीको चेनअफ कमाण्डलाई असर पार्ने काम गरेको आरोप लगाइएको छ । भर्खरै भएको डीएसपी सरुवामा प्रश्न उठिरहेका बेला ८ जनालाई एसपीमा बढुवा गर्न गरिएको सिफारिसले नेपाल प्रहरी संगठनभित्र थप असन्तुष्टि बढाएको प्रहरीका उच्च अधिकारीहरू बताउँछन् ।
प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीहरूलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न हिजाे साँझ सिफारिस गरिएको छ । आईजीपी वसन्तबहादुर कुँवरको अध्यक्षतामा बसेको बढुवा समितिले निकालेको बढुवा सिफारिस सूचीमा एक नम्बर वरीयतामा रहेका डीएसपी प्रदीप बहादुर क्षेत्री बढुवा हुनबाट रोकिएका छन् । यसले गर्दा प्रहरीको जिल्ला सम्हाल्ने तहका अधिकारीहरूलाई असन्तुष्ट बनाउने काम गरेको प्रहरीका एक उच्च अधिकारीले नेपालबहसलाई बताए ।
बढुवा सिफारिसमा परेका डीएसपीहरू ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरे छन् । उनीहरुलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको हो । उनीहरू २०७२ साउन १ मा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएका थिए ।
प्रहरीका ती अधिकारीका अनुसार सबै कुरामा अगाडि रहेका क्षेत्री र रञ्जितकारलाई पछाडि पारेर ९ नम्बर वरीयतामा रहेका सन्तोष तामाङ र १२ औँ नम्बरका विनोद घिमिरेलाई बढुवा गर्न सिफारिस गरिएपछि विवाद देखिएको हो । गृहमन्त्री रवि लामिछानेको दवावमा आईजीपी कुँवरले वरियतामा अगाडि रहेका डीएसपीलाई फालेको बताइएको छ । वरियताका आधारमा बढुवा गर्ने कि शक्तिकेन्द्रका निकटलाई बढुवा गर्ने भन्ने विषयले यतिबेला प्रहरी संगठनमा ठूलै खैलाबैला चलेको छ ।
ओली र प्रचण्डका पीएसओ तान्दा नम्बरमा तलमाथि
प्रहरी प्रधान कार्यालयले १० महिनादेखि रोकिएको एसपी बढुवामा पहिलो नम्बरमा रहेका प्रदीप क्षेत्री नै छुटेका छन् । आठ डीएसपीको एसपीमा बढुवामा सरकारी भागवण्डा मिलाउँदा रोलक्रममा रहेका क्षेत्री छुटेका हुन् । आर्थिक प्रशासन तथा बजेटमा बसेका ढकेन्द्र खतिवडालाई तेस्रो नम्बरबाट पहिलो नम्बरमा ल्याइएको छ भने अन्यायमा परेका अंगुर जीसीलाई दोस्रो नम्बरमै बढुवा गरिएको छ । एसपी बढुवामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पीएसओ विनोद घिमिरे र केपी ओलीका पीएसओ सन्तोष तामाङ तथा राजन लिम्बुलाई अटाइएको छ । कार्यक्षमताको आधार जिसी अगाडि आउनुपर्नेमा बजेट महाशाखा चलाएका खतिवडालाई अगाडि ल्याइएको छ ।
लिम्बु र तामाङ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका निजी सुरक्षा अधिकृत (पीएसओ) का रुपमा काम गरेका अफिसर हुन् । घिमिरे हालका प्रधानमन्त्री प्रचण्डको पीएसओ बसिसकेका अधिकृत हुन् । यसैगरी नियमित बढुवामा नारायण रन्जितकार छुटाइएको छ । उनी पनि बढुवाको सूचीमा रहेका थिए । एक नारायण कोइराला र अनन्तराम शर्मा भन्दा अघि विनोद घिमिरेलाई बढुवा गरिएको छ ।
गत साउनमा एसपीहरू दानबहादुर मल्ल र वामदेव गौतम अवकाश पाएपछि दुई पद रिक्त भएको थियो । त्यस्तै गत कात्तिक २४ गते पाँच जान एसपीहरू बसन्त रजौरे, रविकुमार पौडेल, नवीन राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई एसएसपीमा बढुवा गरेपछि पनि पद रिक्त भएको छ ।
त्यस्तै एसपी रमेश बस्नेतको गत माघ ७ गते एसएसपीमा बढुवा भएसँगै जम्मा रिक्त पद संख्या ८ पुगेको हो । नेपाल प्रहरी ऐन तथा प्रहरी नियमावली अनुसार एसपीको पद रिक्त भएको तीन महिनाभित्रै पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । ८ एसपी बन्न १२ डीएसपी प्रतिस्पर्धामा थिए । एसपीको प्रतिस्पर्धामा रहेकाहरू ०६१ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेकाहरू छन् । उनीहरू ०७२ साउन १ गते डीएसपी बनेका थिए । १२ डीएसपी मध्येबाट आठ जना एसपीमा बढुवा भएका छन् भने थप चारजना छुट्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार