राजश्व उठाउन सीमाका ११ एसपीलाई कडा निर्देशन, मोरङ, सिराहा, नवलपरासी र कपिलवस्तुलाई किन छुटाइयो ?
नेपालबहस संवाददाता
चैत १६, २०८० शुक्रबार १८:२६:२१
१६ चैत, काठमाडौं । सशस्त्र प्रहरी बल मुख्यालयले नेपाल भारत सीमा क्षेत्रका ११ जिल्ला हेरिरहेका प्रमुखलाई बोलाएर राजश्व उठाउन निर्देशन दिएको छ । सीमा सुरक्षा विभागले ११ जिल्लाका एसपीलाई काठमाडौं बोलाएर सो निर्देशन दिएको हो । विभागका प्रमुख नारायणदत्त पौडेलले उनीहरुलाई राम्रोसँग काम नगरे काठमाडौं फिर्ता गर्ने चेतावनी समेत दिएका छन् ।
सशस्त्र प्रहरी मिलेपछि जे पनि वारपार गर्न सम्भव छ भन्ने समाचार आएपछि विभागले उनीहरुलाई काठमाडौं बोलाएर सो निर्देशन दिइएको हो । सुरक्षाकर्मीको उपस्थिति रहेकै सीमा नाकाबाट तस्करको राज चलेको मधेस प्रदेशको नामी जिल्ला हो, सिराहा । सिरहाको नगरी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, माडर, बरियारपट्टी, औरही, पटेर्वा नाका अहिले तस्करलाई जिम्मा लगाइदिए जतिकै अनुभूति गर्छन्, स्थानीयबासी । यी नाकाबाट चिनी, कपडा, मोटरपार्टस्, किसान सामान, ग्यास चुल्हो, लाइटर, पान मसला, सुर्तीजन्य पदार्थ(रजनीगन्धा, गुटखा) भन्सार राजश्व छली गरी भित्रिन्छ । वारिबाट मदिरा, चाइनिज स्याउ, सुपारी पारि पुर्याइन्छ । तर त्यही जिल्लाको कमाण्ड गर्ने शिवप्रसाद गैरेलाई चाहि बोलाइएको थिएन । सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारसँगको त्रिपक्षीय सेटिङमा (लाइन मिलाएर) यहाँ तस्कर राज चलेको सीमावर्ती क्षेत्रका स्थानीयले उजुरी गर्दा पनि उनी भने हेडक्वार्टरको नजरमा परेका थिएनन् ।
झाझपट्टीको सीमा नाकाबाट रातभर पारिबाट सामान ल्याएर मोटरसाइकल र टेम्पोमार्फत शहरतर्फ ढुवानी हुन्छ । सुरक्षाकर्मीबाट ‘लाइन क्लिएर’ रहेको संकेत पाएपछि अन्धाधुन्ध सामान ढुवानी सुरु हुन्छ । सीमादेखि शहरसम्म लाइन क्लिएर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि खटिएका हुन्छन् । राज्यको निकायले नै तस्करलाई लाइन खोलिदिए पछि निहत्था माथि अनुसन्धान गरेको आरोप लाग्दा पनि सशस्त्र प्रहरी मुख्यालयले उनलाई बोलाएको छैन ।
मोरङको रानी, चतरामुनि, चुनिमारी, वरडंगा, महादेवा लगायतका सीमा नाकाबाट तस्करी गतिविधि फस्टाएको भएपनि झापाका एसपीलाई काठमाडौं बोलाउँदा मोरङका विश्वबन्धु खड्का हाइसन्चो मानेर उतै बसेका थिए । उनलाई के कति कारणले बोलाइएन भन्ने बारेमा सशस्त्र प्रहरी मुख्यालयमै एक प्रकारले मुखामुख भएको थियो ।
राजश्व अनुसन्धान विभागले केही समय अघि मोरङको एक गोदाममा छापामारी करोडौंको कपडा बरामद गरेपछि तस्करी मौलाएको पुष्टि भएको थियो । राजश्व अनुसन्धान विभाग पुल्चोकबाट खटिएको टोलीले मातहतको इटहरी कार्यालयमार्फत राजश्व छली गरेको आशंका गर्दै विराटनगर महानगरपालिका वडा ११ मा रहेको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा छापा मारेको थियो । वर्षौंदेखि कपडाको कारोबार गर्ने सप्लायर्सको गोदाममा भन्सारबाट आयात परिमाण भन्दा बढी मालवस्तु आयात गरी स्टोर गरिएको भन्ने सूचनाका आधारमा उक्त सप्लायर्समा छापा मारिएको राजश्वका अधिकारीहरूको भनाई छ ।
मोरङलगायतका कोशी प्रदेशका सीमा नाकाबाट नेपाल प्रहरीको मिलेमतोमा तस्करहरूले व्यापक मात्रामा तस्करीका सामान वारपार गर्न थालेका छन् । यसबाट दैनिक करोडौंको राजश्व छली त भएकै छ, सीमा सुरक्षामा पनि गम्भीर चुनौती देखा पर्न थालेको छ । मोरङबाट अहिले हुण्डी, सट्टेबाजी, जुवा, सुनचाँदी तथा कपडा, खाद्यान्न, रक्सी र गिट्टी बालुवा लगायतको तस्करी फस्टाएको बताइएको छ । सुनसरीमा भर्खरै गएका समेनन्द बज्राचार्य पनि यो सहुलियत पाउनेको सूचीमा रहेका छन् । उनले आफू गएपछि लागुऔषध गाँजा तस्करी रोकेको भन्दै मुख्यालयमा रिपोर्ट गरेका थिए । तर उनको क्षेत्रमा पनि केही दिन यता तस्करी बढेको स्रोतको दावी छ । सुनसरीको विभिन्न नाकाबाट सुन, कपडा, गाँजा, गाई गोरु, खाद्यान्न, मोटरपार्टस, भाडा, सुर्तीजन्य पदार्थ, सौन्दर्य प्रशाधन लगायतको ठुलो तस्करीको लाईन खुलेको हो । भारतसँग सीमा जोडिएका सुनसरीका विभिन्न नाकाबाट दैनिक लाखौं रुपैयाँ बराबरको सुन, कपडा, गाँजा, गाईगोरु, खाद्यान्न, मोटरपार्टस, भाडा, सुर्तीजन्य पदार्थ, सौन्दर्य प्रशाधन सिमेन्ट, चिनी, लत्ताकपडा लगायतका सामानहरू भन्सार छली गरी नेपाल भित्रने गरेका छन् ।
महोत्तरीको रघुनाथपुर अर्को तस्करीको नाका हो । त्यहाँ महेश खरेल डीएसपी रहेका छन । कोषराज वन्तको पालामै दुई कार्यकाल बीओपी कमाण्ड गरेका खरेललाई विशेष रुचीमा त्यहाँ पठाइएको हो । उनले रघुनाथपुरलाई तस्करीको हब बनाएको भन्दै मधेश प्रदेशको कार्यालयमा उजुरी समेत परेको छ । उनलाई त्यहाँ कसको रुचीमा पठाइयो भन्ने बारेमा केही खुलेको छैन ।
रौतटहका एसपी विक्रम हुमागाँइले राजश्व उठाउने वचनबद्धता व्यक्त गरेर फर्केका छन् । उनले भर्खरै राजीनामा दिएर आफैं तस्करीमा संलग्न रहेका चर्चित घुमुवा आत्माराम पटेलमार्फत असुली धन्दा चलाएको पाइएको छ । उनी गएको केही दिनदेखि नै लाइन खुला गरेको भन्दै सशस्त्र प्रहरी मुख्यालयले सोधपुछ गरेको थियो । मुख्यालयले कपिलवस्तु र नवलपरासीमा सीमा कमाण्ड गरिरहेका एसपीहरूलाई पनि बोलाएको थिएन । उनीहरुलाई पनि किन छुटाइएको भन्दै मुख्यालयमा चासो राखिएको स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार