वैदेशिक रोजगारीमा ठगिएको नौ करोड २४ लाख फिर्ता
नेपालबहस संवाददाता
चैत २७, २०८० मंगलबार १९:४३:१९
२७ चैत, बागलुङ । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा वृद्धि भएसँगै यस क्षेत्रमा आउने समस्या पनि बढ्दै गएका छन् । वैदेशिक रोजगारीमा जानेक्रम बढेसँगै दलालको लोभमा पर्ने, ठगिने, अङ्गभङ्ग हुने, शारीरिक अपाङ्गता, मानसिक समस्याका साथै घरपरिवारमा कलह सिर्जना हुने गरेका छन् ।
वैदेशिक रोजगारीमा जानेले पर्याप्त जानकारी नलिई, सीप नसिक्दैँ विदेश पुग्दा ठूलो दुःखकष्ट भोग्दै आएका छन् । वैदेशिक रोजगारीमा आउने समस्यामा बागलुङमा सामी परियोजना प्रभावकारी बन्दै आएको छ ।
विसं २०७६ मा स्थापना भएको सुरक्षित आप्रवासन ९सामी० परियोजनाले जिल्लामा वैदेशिक रोजगारीका कारण आउने समस्या घटाउन, सीप सिकाउन र समस्या समाधानका लागि काम गर्दै आएको छ । दलालले प्रलोभनमा पारेर ठगेको रकम फिर्ताको पहल गर्ने, सीप सिकाउने, विदेश जानुपूर्व परामर्श दिने र विदेशबाट नेपालमा आएको रेमिट्यान्सको सदुपयोगमा प्रभावकारी भूमिका खेल्दै आएको सामी कार्यक्रमका गण्डकी प्रदेश व्यवस्थापक उमा शर्माले बताए । उनका अनुसार यहाँ सामी सुरु भएको चार वर्षमा परियोजनाको सहजीकरणमा दलालले ठगेको रु नौ करोड बढी रकम फिर्ता गरिएको छ ।
सामीको सहजीकरणमा रु नौ करोड २४ लाख ६७ हजार ७८९ विभिन्न ठगी गर्ने व्यक्तिबाट पीडितलाई फिर्ता गराउन सफल भएको व्यवस्थापक शर्माले जानकारी दिए । उनका अनुसार सामीमा दर्ता भएका तीन सय १४ निवेदनमध्ये एक सय ६८ वटाको समाधान भइसकेको छ ।
“२०७६ सालबाट बागलुङमा सामी परियोजना सुरु गरेका छौँ । अहिलेसम्म वैदेशिक रोजगारीमा आइपरेका ३१४ समस्या हाम्रो कार्यालयमा दर्ता भएकामा १६८ को समाधान गर्न सफल भएका छौँ । दलालले प्रलोभनमा पारेर ठगेको रु नौ करोड बढी रकम फिर्ता गराएका छौँ”, शर्माले भने, “पीडितले रकमसँगै आगामी दिनमा वैदेशिक रोजगारी जाँदा कसरी ठगिनबाट बच्ने भनेर सिकेका छन् ।”
स्वदेशमै केही गर्नुपर्नेमा जोड दिइएको भन्दै उहाँले विदेश जानै परे सुरक्षितरुपमा जानका लागि सीप तथा आवश्यक परामर्श दिने गरिएको बताए । “कामको लेनदेन गर्दा बैंकिङ कारोबार र वैदेशिक रोजगारी खुल्ने गरी कारोबार गर्दा धेरै समस्या समाधान हुन्छ”, उनले भने ।
वैदेशिक रोजगारीमा जानु नेपालीको बाध्यतालाई धेरैले ठगीको धन्दा बनाउने गरेका शर्माको भनाइ छ । नेपालमा हरेक वर्ष पाँच लाख युवा श्रम बजारमा आउने गरेका छन् । नेपालले करिब साढे एक लाख जतिलाई सामान्य रोजगारी दिने तथ्याङ्कमा उल्लेख रहेको बताउँदै शर्माले बाँकी युवाको श्रम गन्तव्य वैदेशिक रोजगार रहेकाले अहिले ठूलो समस्या वैदेशिक रोजगार क्षेत्रमा देखिएको बताए ।
युवा वैदेशिक रोजगारी जाँदा अरुलाई विश्वास गर्ने तथा ठगी गर्नेले पनि उनीहरुको बाध्यताको फाइदा उठाउने गरेकाले पर्याप्त सूचना र ज्ञान लिएर मात्रै अघि बढ्नुपर्ने जिल्लास्थित परियोजनाका संयोजक मीन उपाध्यायले बताए । उनले पछिल्लो समय सामाजिक सञ्जालबाट आकर्षक तलब सुविधा भन्दै गरिएको प्रचारप्रसारको भरमा दलाललाई रकम बुझाउने समस्यामा धेरै परेको बताए ।
“कतिपयलाई वैदेशिक रोजगारीमा ठगिएपछि जाने निकायको विषयमा जानकारी छैन । बागलुङ नगरपालिका र वैदेशिक रोजगार विभागको समन्वयनमा सञ्चालित परियोजनाको विषयमा जानकारी छैन”, उपाध्यायले भने, “राम्रो सूचना र जानकारीको अभावमा ठगिने र रकम दिने गरेका छन् । वैदेशिक प्रयोजनका लागि दिएको भन्ने प्रमाण नहुँदा ठगिएको रकम फिर्ता गर्न कठिन हुने गरेको छ । त्यसैले जिल्ला प्रशासनमा पासपोर्ट बनाउने समयमै हामीले परामर्श गर्दै आएका छौँ, केही हदसम्म हाम्रो कार्यक्रमले ठगिनबाट जोगिनुभएको छ ।”
अवैधानिक बाटोबाट विदेश जाने बढी ठगिने गरेको उपाध्यायको अनुभव छ । “अहिले नेपालमा दैनिक २५ सय युवा वैदेशिक रोजगार विभागबाट श्रम अनुमति लिएर विदेश जान्छन्”, उनले भने, “जति पासपोर्ट बनेका छन् त्यसको तुलनामा अनुमति लिनेको सङ्ख्या कम छ । यसको अर्थ अनुमति नलिइकन विदेश गएको भन्ने हो, त्यसै गएका झनै बढी ठगिएको पाइन्छ ।” उनका अनुसार परियोजनाले पाँच वटा योजनाअन्तर्गत काम गर्दै आएको छ ।
जिल्लाका बागलुङ, जैमिनी र गलकोट नगरपालिकाका साथै काठेखोला गाउँपालिकामा परियोजना सञ्चालित छ । परियोजनाले सूचना तथा परामर्श, न्यायमा पहुँच, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श र सीप विकास तालिम कार्यक्रम सञ्चालन गरिरहेको संयोजक उपाध्यायले जानकारी दिए ।
परियोजनाले जिल्ला प्रशासन कार्यालयमा सूचना केन्द्रको स्थापना गरेर परामर्शसँगै ठगीलगायतका समस्यामा सहजीकरण गर्ने गरेको छ । वैदेशिक रोजगारीले नेपालमा ठूलो रेमिट्यान्स भित्रिए पनि त्यसको असरले समाजमा परेको सामाजिक मूल्य भने देशले चुकाउन नसक्ने अवस्थाको रहेको उनको भनाइ छ ।
अभिभावकको रेखदेखमा नरहेका बालबालिका, किशोर र युवावस्थामा प्रवेश गर्दा लागुऔषधलगायतका अन्य दुव्र्यसनमा जाने गरेको देखिएको छ । बागलुङबाट चालु आर्थिक वर्षमा मात्रै साढे १२ हजार बढी युवा वैदेशिक रोजगारीमा गएका छन् । परियोजनाले बागलुङका तीन सय नौ जनालाई सीपमूलक तालिम दिएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्लास्टिकजन्य फोहोर नजलाउन वन तथा वातावरण मन्त्रालयको आग्रह
पुष २, २०८१ मंगलबार
ग्यास चुहावट भई आगलागी हुँदा सात लाख बढीको क्षति
मंसिर ३०, २०८१ आइतबार
प्रधानमन्त्रीद्वारा धान्य पूर्णिमाको शुभकामना
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार