प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मनै लोभ्याउने न्याउली झरना
नेपालबहस संवाददाता
बैशाख १, २०८१ शनिबार १८:३४:३८
१ वैशाख, गोरखा । उत्तरी गोरखाको नयाँ पर्यटकीय गन्तव्यका रुपमा ‘न्याउली झरना’को विकास हुँदै गएको छ । न्याउली झरना आफैँमा मनमोहक र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । मनास्लु पदमार्गमा जाने जो कोहीले पनि न्याउली झरनामा पुगेर एकपटक अवलोकनसँगै अनिवार्य तस्बिर खिचाउने गरेका छन् ।
धार्चे गाउँपालिका–७ मा पर्ने लापुबँसीस्थित तम्पु पहाड र धार्चे चिङ्गार पहाडको बीचमा अवस्थित न्याउली झरनाप्रतिको आकर्षण पछिल्लो समय स्वदेशी मात्र होइन विदेशी पर्यटकमा पनि उत्तिकै छ । बूढीगण्डकी नदीको काखैमा करिब ५५ मिटर उचाइ रहेको न्याउली झरनाको सौन्दर्यताले प्रचुर पर्यटकीय सम्भावनाले भरिपूर्ण धार्चे गाउँपालिकालाई थप लोकप्रिय बनाउँदै लगेको छ ।
मनास्लु पदमार्गमा पैदल यात्रा क्रममा होस् सवारी साधन चढेरै गएको अवस्थामा होस् पर्यटक एकपटक न्याउली झरनामा पुगेर तस्बिर नखिचाई प्रायः अगाडि कोही बढदैनन् । धार्चेको प्रचारसँगै न्याउली झरनाको प्रचारका लागि निर्माण गरिएका फोटो खिच्ने आकर्षक फ्रेममा पर्यटक टक्क अडिन्छन्, तस्बिर खिचाउँछन् रमाउँछन्, अनिमात्र गन्तव्यतर्फ अगाडि बढ्छन् ।
“झरनाको फेदीमा फोटो खिच्नका लागि बनाइएको आकर्षक संरचनाले न्याउली झरना झनै सिङ्गारिएको रहेछ, झरना नजिकै भेटिनुभएका आन्तरिक पर्यटक गुर्जमान तामाङले भने, “पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको न्याउली झरनाको सुन्दर फोटोहरुले मन लोभ्याएपछि सदरमुकामदेखि घुम्न आएको हुँ ।”
माथिबाट नै फिँजारिएर झरिरहने निश्चल झरनाले पर्यटकलाई त्यत्तिकै अल्मल्याइदिने गरेको छ । “छेउमा पुगेपछि झरनासँगै आएको पानी फोहोराले शरीर नै भिजाइदेला जस्तो, साँच्चै यहाँ आएपछि बेग्लै अनुभूति हुने रहेछ”, उनले भने, “यसैको मज्जा लिन पनि एकपटक त आउनै पर्नेरहेछ भन्ने लाग्यो ।”
गोरखा सदरमुकामबाट आरुघाट, आर्खेत, सोतीबजार हुँदै बूढीगण्डकी नदीको तिरतिरै भएर न्याउली झरना पुग्न सकिन्छ । प्राकृतिक सुन्दरताकै उपहारका रुपमा लिन सकिने यस झरनाले पर्यटकको मनमात्र भुलाई दिँदैन मनभित्रका बहलाई पनि बिर्साइदिन्छ । दायाँबायाँ अग्ला पहाड, फेदीमा बूढीगण्डकी नदीको कञ्चन पानीको बहावसँगै पहाडबाट खसेको न्याउली झरनाको फोहोरा मोबाइल र क्यामरामा कैद गर्न पाउँदा छुट्टै आनन्द आउने पर्यटक बताउँछन् ।
न्याउली झरनाको चर्चाले आन्तरिक पर्यटकसमेत घुम्नका लागि आजभोलि दिनुहँजसो त्यहाँ पुग्ने गर्दछन् । विशाल पहाड फोरेर निर्माण गरिएको कच्ची सडकमा जीप, मोटरसाइल र बस नै चढेर पनि पुग्न सकिने भएकाले युवायुवतीको रोजाइमा न्याउली झरना पर्ने गरेको छ । “न्याउली झरना हेर्नकै लागि युवायुवती समूह–समूहमा दिनहुँ आउने जाने गर्दछन्”, स्थानीयवासी मानबहादुर गुरुङले भने, “यसको व्यापक प्रचारप्रसार गर्न धार्चेले प्रशस्त लाभ लिनसक्छ ।”
न्याउली झरना वरपर थप आकर्षक संरचना निर्माणका लागि गाउँपालिकाले योजना बनाइरहेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । “अहिले झरनामुनि मोटरेवल पुल निर्माणको काम भइरहेको छ”, उनले भने, “उक्त पुल निर्माण सम्पन्न भएपछि झरनासम्म पुग्नका लागि थप आकर्षक संरचना बनाउन डिपिआरको तयारी गरिरहेका छौँ ।”
न्याउली झरनालाई धार्चे गाउँपालिकाले पछिल्लो समय धार्चेको एउटा प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै लगेको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । यसको प्रचारप्रसार गर्नसके आन्तरिक तथा बाह्य पर्यटनमार्फत समग्र धार्चेको विकास र समृद्धिमा टेवा पुग्ने गाउँपालिकाले विश्वास लिएको उनले बताए ।
“यो झरनालाई देश तथा विदेशमा चिनाउन अझै सकिएको छैन”, अध्यक्ष गुरुङले भने, “प्रकृतिले दिएको मनोरम उपहारको प्रचारप्रसार गर्नसके यहाँका स्थानीयवासीको जीविकोपार्जनमा समेत परिवर्तन ल्याउन सकिन्छ ।” अध्यक्ष गुरुङले पर्यापर्यटनमार्फत पनि धार्चे गाउँपालिकाको विकास र समृद्धिलाई अगाडि बढाउन सकिने भएकाले स्थानीय सरकारले योजनाबद्ध ढङ्गले काम सुरु गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअप्रिलमा नेपाल भित्रिने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
बैशाख २०, २०८१ बिहिबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
मटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
मापदण्ड विपरीतका स्वास्थ्य संस्थामाथि मन्त्रालयले कारबाही गर्ने
बैशाख २१, २०८१ शुक्रबार
घोडाको सहयोगमा बारी जोत्दै
बैशाख २१, २०८१ शुक्रबार
गान्धी परिवारले छोड्यो अमेठी, राहुल रायबरेलीबाट बने उम्मेदवार
बैशाख २१, २०८१ शुक्रबार
पत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
जेठ १ गतेदेखि काठमाडौं महानगरभित्रका एक लाख स्वास्थ्य बिमितको कार्ड जारी हुँदै
बैशाख २१, २०८१ शुक्रबार