प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
कुसुम सेञ्चुरी
बैशाख ४, २०८१ मंगलबार ११:३९:४५
४ वैशाख, काठमाडौं । सानै दल भएपनि सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले एमाले र माओवादीलाई धम्क्याउन थालेको छ । सुदुरपश्चिममा माधव नेपालले चालेको मुभले केन्द्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमाथि पनि संकटको संकेत गरेको छ भने वैकल्पिक शक्ति निर्माणको धम्की पनि शुरु भएको छ ।
वैकल्पिक शक्तिको धम्की दिएपनि तत्कालको अंकगणित भने वर्तमान सरकारकै पक्षमा देखिन्छ । खासगरी नेपाली कांग्रेससहितको गठबन्धन बनेमा अहिलेको संसदको गणितमा अप्ठेरो पर्ने आंकलन मात्रै गरिएको छ । तथ्यमा भने एमाले र माओवादी मध्ये एउटा दल बाहिर नआई गठबन्धनमा दरार उत्पन्न हुने अवस्था छैन । तर नेपालको राजनीतिमा जति बेला जस्तो पनि नयाँ समीकरण बन्न वा भत्किन सक्छ । अहिलेको सत्ता गठबन्धनमा ३२ सीटको माओवादी केन्द्र, ७८ सीटको नेकपा एमाले, २१ सीटको रास्वपा, १२ सीटको जसपा, १० सीटको नेकपा एस र चार सीटको नाउपा छन् । यसरी सत्ता गठबन्धनसँग अहिले १५७ सीट छ ।
यसमध्येको नेकपा एस बाहिरिँदा अहिलेको गठबन्धन १४७ सीटमा झर्छ । त्यसमा पनि नाउपामा विवाद छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अहिलेको गठबन्धनमा छिन् भने संरक्षक रेशम चौधरी विपक्षमा छन् । यसरी हेर्दा नाउपाले पनि अनुकूलतामा यो गठबन्धन छोड्न सक्ने सम्भावना छ । यसपछि प्रचण्ड सरकारको समर्थनमा १४३ सीट बाँकी रहन्छ । यसो हुँदा गठबन्धनमा रहेको जसपा बाहिर आएमा भने संकट उत्पन्न हुनेछ ।
गत २१ फागुनमा तत्कालीन सत्ता गठबन्धनबाट आफूलाई हटाएर सत्ता गठबन्धनमा नेकपा एमालेको साथ लिएपछि कांग्रेसले त्यसै दिनदेखि नै वैकल्पिक गठबन्धनको प्रयास गरिरहेको भएपनि उपयुक्त अवसर पाएको छैन । यसरी प्रचण्ड सरकारको विकल्प खोजिरहेको कांग्रेससँगै मिलेर नेकपा एसले सुदुरपश्चिममा केन्द्रीय गठबन्धनभन्दा विपरीतको गठबन्धन निर्माणमा सघाएपछि त्यसको असर वर्तमान सरकारमा पर्ने देखिएको छ । यद्यपि आज बिहान एसका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीलाई भेटेर सहजीकरण गरिरहेका छन् ।
सुदुरपश्चिममा फरक बाटो लिएका एस अध्यक्ष माधव नेपाल कहाँसम्म जान्छन् भन्ने प्रश्नले यतिबेला उनकै पार्टीका नेताहरूलाई घेरिरहेको छ । उनले नेताहरूलाई खास उत्तर दिन सकेका छैनन् । उनले एमाले र माओवादी मिलेर पेलेको मात्रै भनिरहेका छन् । तर अहिले नै वैकल्पिक गठबन्धनको बारेका सोच्न नसकेको पनि बताउँदै आएका छन् । सोमबारसम्म अध्यक्ष नेपाल र एसका प्रवक्ता जगन्नाथ खतिवडाले दिएका अभिव्यक्ति भने प्रचण्ड सरकारका लागि गरुङगो बन्न थालेको छ ।
अध्यक्ष नेपालले सुदूरपश्चिम जस्तै मधेश, लुम्बिनी र बागमतीमा पनि हुन सक्ने बताएका छन् । ‘यसअघि नै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री हाम्रो पार्टीलाई दिने सहमति भएको थियो । आइतबार बिहान बालुवाटारमा प्रचण्ड र ओलीजी मिलेर अघिल्लो निर्णय परिवर्तन गर्नुभयो । नागरिक उन्मुक्ति पार्टीको पनि रञ्जिताजीको समूहलाई मुख्यमन्त्री दिने हुनुभयो । हाम्रो मुख्यमन्त्री पाउने अवसर खोस्नुभयो । हामीले पनि त्यसका विरुद्ध कार्यनीतिक चाल चालेका हौँ, यसले एमाले र माओवादी दुवैलाई घाटा हुनसक्छ’ खतिवडाले भने ।
यसरी गठबन्धनभन्दा फरक हिँडे पनि नेकपा एसले गठबन्धनमा नरहने निर्णय भने गरिसकेको छैन । त्यसैले पनि सत्ता गठबन्धनमा अझै सेटलमेन्ट हुनसक्ने अवस्था छ । तर, नेकपा एसको सहयोग लिएर वैकल्पिक गठबन्धन निर्माणको अवसर खोजिरहेको कांग्रेस यो समयमा चुप बसेको छैन । नेकपा एस सत्ता गठबन्धनबाट बाहिरिए त्यसको प्रभाव सुदूरपश्चिम, बागमती, लुम्बिनी र मधेश प्रदेशमा पर्नेछ । मधेश प्रदेशमा जसपा नेतृत्वको सरकार छ । नेकपा एसले समर्थन नदिए जसपाको मधेश सरकार ढल्छ । त्यसकारण पनि जसपा अहिलेको सत्ता गठबन्धन छोडेर नयाँ विकल्पमा जानुपर्ने बाध्यतामा पर्नेछ । यस्तो अवस्थामा जसपाले साथ छोडे प्रचण्ड सरकार अल्पमतमा पर्नेछ ।
सत्ता गठबन्धनलाई माधव नेपालले सुदूरपश्चिमबाट दिएको सन्देश भनेकै नयाँ सहमति नगरे गठबन्धन टिकाइराख्ने मुडमा नेकपा एस छैन भन्ने हो । त्यसो त नेपाल २१ फागुनमा नयाँ गठबन्धनमा जाने मनस्थितिमा थिएनन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले कोटेश्वर पुगेरै उनको सहयोग मागेका थिए । एमालेबाट फुटेकाले सोही पार्टीसँग गठजोड गर्दा नेता कार्यकर्ता जोगाउने चुनौतीले पनि नेता नेपाललाई पिरोलेको छ ।
यस्तोमा कांग्रेसले फ्याँक्न सक्ने प्रधानमन्त्रीको नयाँ सत्ता कार्डमा उनी पर्न सक्छन् । विगतमा पनि उनले आफू अपमानित भएको महसुस गर्दा एमाले छाड्ने निर्णय गरेका थिए । अहिले पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले सहमति कुल्चेर पेलेको महसुस उनले गरेका छन् । प्रचार विभाग प्रमुख समेत रहेका खतिवडाका अनुसार सुदूरपश्चिम प्रदेशको असर अन्य प्रदेशमा पनि पर्ने देखिएको छ । बागमतीका मुख्यमन्त्री शालिग्राम जम्मकट्टेलले नयाँ समीकरण बनेपछि विश्वासको मत लिइसकेका छन । एक सय १० सदस्यीय प्रदेश सभामा सरकारलाई समर्थन गरेका दलमध्ये एमालेको २७, माओवादीको २१, एकीकृत समाजवादीको सात र हाम्रो नेपाली पार्टीको दुई मत छ । एकीकृत समाजवादीले समर्थन फिर्ता लिए मुख्यमन्त्री जमकट्टेल अल्पमतमा पर्ने भएपछि त्यहाँको मुख्यमन्त्री यसपछि एसलाई दिने सहमति भइसकेको छ । बागमतीमा कांग्रेसको ३७, राप्रपाको १३ र नेमकिपाको दुई मत छ ।
यसैगरी जसपा नेता सरोज यादव नेतृत्वको मधेश सरकारको पक्षमा हाल एमाले (सभामुखसहित २५), जसपा (१९) माओवादी (९), लोसपा (९), एकीकृत समाजवादी (७), नागरिक उन्मुक्ति र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीका एक–एक सांसद गरी ७१ मत छ । सरकार गठनका लागि ५४ मत चाहिन्छ । एकीकृत समाजवादी बाहिरिँदैमा सरकार अप्ठ्यारोमा पर्दैन । तर, केन्द्रमा कांग्रेसको साथमा रहेको लोसपा र नागरिक उन्मुक्ति पनि बाहिरिए सरकारलाई चाहिने संख्यामा एक मत पुग्दैन । लोसपा अहिले मधेश सरकारमै छ । १०७ सदस्यीय प्रदेश सभामा कांग्रेस (२२), जनमत (१३) र राप्रपा (१) सरकार बाहिर छन ।
यस्तै लुम्बिनीमा माओवादीका जोखबहादुर महरा मुख्यमन्त्री छन । उनलाई ३० चैतमा एमाले (२९), माओवादी सभामुखसहित (११), नागरिक उन्मुक्ति (४), जसपा (३) तथा एकीकृत समाजवादी (१) र एक स्वतन्त्र एक गरी ४९ सांसदले विश्वासको मत दिएका थिए । सुदुरपश्चिममा देखिएको खटपटका कारण एकीकृत समाजवादीले समर्थन फिर्ता लिए पनि लुम्बिनीमा सरकारलाई यही स्थितिमा असर गर्दैन । तर, नागरिक उन्मुक्ति पनि बाहिरिएमा सरकार संकटमा पर्छ । यो स्थितिमा महरालाई सरकार जोगाउन एक सीट आवश्यक पर्नेछ, किनकि गठबन्धनसँग ४४ सिट रहे पनि सभामुख माओवादीबाट रहेको र उनले सरकार गठनको निर्माणमा सहभागी हुन पाउने छैनन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । हाल प्रतिपक्षमा रहेको कांग्रेसका २७, राप्रपाका चार, लोसपा र जनमतका तीन–तीन तथा जनमोर्चाका एक सांसद छन् । यसरी एस पार्टीले संघीय सरकारमा मात्र होइन प्रदेश सरकारमा पनि संकट उत्पन्न गराएको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपतीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार