सेवाग्राहीको विश्वास जित्दै जनस्वास्थ्य प्रयोगशाला
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार १४:१४:७
♦ बुनु थारु
४ वैशाख, काठमाडौं । टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) बाहिर विहानैदेखि लामो लाइन छ । सोमबार झिसमिसेमै यहाँ आइपुगेकाहरुको घाम चर्कँदासम्म पनि पालो आइपुगेको छैन ।
सोमबार विहानै ६ बजे स्वयम्भूबाट यहाँ आइपुगेकी ५० वर्षीय उमा श्रेष्ठ हातमा टोकन लिएर पालो कुर्दै छिन् । “झिसमिसेमै आइपुग्दा पनि लाइन लामो भइसकेको थियो, टोकन लिएर पालो कुरिरहेकी छु”, उनले भनिन् । स्वास्थ्यमा खासै समस्या नभए पनि नजिककाहरुले टेकुको प्रयोगशालामा राम्रो छ भनेपछि परीक्षण गरौँ न त भनेर यहाँ आएको उनले सुनाइन् । “म त नियमित योगा गर्छु । खासै बिरामी पर्दैन । तै पनि शरीरमा कुनै रोग छ कि भनेर स्वास्थ्य परीक्षण गर्न आएकी हुँ”, उनले भनिन् ।
टोकन लिएर उमा जस्तै पालो कुर्नेमा चाबहिलबाट आएका २७ वर्षीय आशुतोष पौडेल पनि छन् । उनी ‘भिटामिन डी’ र ‘आइरन’ परीक्षण गर्न आएका थिए । “म प्रायःजसो परीक्षणका लागि यहीँ आउँछु । यहाँ गराएको जाँचले विश्वस्तरीय मान्यता पाउने रहेछ”, उनले भने, “केही बेर पालो कुर्नु परे पनि सेवा भने छिटो छ । चिकित्सकले नभने पनि नियमित परीक्षण गराइरहेको हुन्छ ।” उहाँले प्रयोगशालाको सेवा राम्रो भए पनि लाइन व्यवस्थापनमा सुधार गर्न सकिने बताउँछन् ।
प्रयोगशालामा विहानैदेखि सेवाग्राहीको घुइँचो बढिसकेको थियो । सेवा लिन कुरिरहेका र सेवा लिइसकेकाहरुको घुइँचो घटेको थिएन । प्रयोगशालाको परीक्षण सस्तो र विश्वासिलो भएकाले सेवाग्राहीको भीड लागेको स्वयम् सेवाग्राहीहरु नै बताउछन् ।
पकनाजोलबाट ‘होल बडी चेकअप’का लागि आएका ६३ वर्षीय रामराजा धिताल यहाँको परीक्षण विश्वासयोग्य भएको बताउछन् । “बुढेसकाल लाग्यो । खुट्टाहरु दुख्छन् । शरीरमा सुगरलगायतका अरु समस्या छ कि भनेर परीक्षण गर्न आएको हुँ”, उनले भने । उनी अरुलाई पनि यहाँ परीक्षणका लागि सुझाव दिनुहुन्छ ।”
नार्गाजुन नगरपालिका–६ रामकोटकी ४३ वर्षीया एलिना उप्रेती पनि प्रयोगशालाको परीक्षण सस्तो र विश्वासिलो भएकैले यहाँ आएको सुनाइन् । उनी सरकारले यहाँ विशेष खालका अपाङ्गता भएका व्यक्तिलाई छुटको व्यवस्था गर्नुपर्ने बताइन् । उनले भनिन्, “म मनोसामाजिक अपाङ्गता भएको व्यक्ति हुँ । अरु खालका अपाङ्गता भएकालाई छुट दिने व्यवस्था भए पनि हाम्रो लागि त्यस्तो छैन, अब त्यो हुनपर्छ ।” पालो पाउन भने धेरैबेर कुर्नु परे पनि सेवा पनि गुणस्तरीय भएको उनको बुझाइ छ ।
प्रयोगशाला बाहिर देखिएको सेवाग्राहीको भीड र उनीहरुको विश्वासले जनस्वास्थ्य प्रयोगशालाले सेवाग्राहीहरुको मत जितेको प्रष्ट हुन्छ । सन् १९६८ मा स्थापना भएको प्रयोगशालामा हाल दुई सय २८ वटा परीक्षण उपलब्ध छन् । पछिल्लो तीन महिनामा प्रयोगशालामा एक लाख ८५ हजार दुई सय ७५ जनाले सेवा लिइसकेका छन् । प्रयोगशालाका अनुसार आर्थिक वर्ष २०७९र८० मा पाँच लाख ५९ हजार चार सय सातले सेवा लिएका थिए भने १२ लाख ६२ हजार नौ ५० वटा परीक्षण भएका छन् ।
प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टका अनुसार आईएसओ मान्यता प्राप्त नेपालको एक मात्र सरकारी प्रयोगशाला भएकाले पनि धेरैले रुचाएको र विश्वासिलो मानेका हुनसक्छन् । उनले भने, “सस्तोमा गुणस्तरीय सेवा दिएकाले पनि सेवाग्राहीको चाप र घुइँचो देखिएको हो । हामीकहाँ सुगर परीक्षण त रु २५ मै हुन्छ ।”
सेवाग्राहीको चाप बढ्दै गएको र पालो पर्खनुपर्ने ठाउँ साँगुरो भएकाले पनि धेरै सेवाग्राहीबाट यो गुनासो आउने गरेको डा. भट्टले बताए् । उनले भने, “पूर्वाधार बिस्तारमा जोड दिनुपर्ने छ । नयाँ भवन बन्ने क्रममा छ । त्यो बन्यो भने सेवा थप बिस्तार गर्न सकिन्थ्यो । भवन बनिराखेकाले पनि ठाउँ साँघुरो भएको छ ।”
‘एनपिएचएल’ ले सङ्क्रामक र नसर्ने रोगका लागि विशेष परीक्षण, प्रयोगशालाको अनुगमनको पाटो पनि हेर्छ । डा. भट्टले भने, “सेवा २४सै घण्टा सुरु गर्नुपर्ने सुझाव सेवाग्राहीबाट आउने गरेको छ । अस्पतालमा आधारित प्रयोगशाला नभएकाले प
आगामी दिनमा नसर्ने रोगको परीक्षणमा बढी केन्द्रित रहने बताउनुहुँदै डा भट्टले थपे, “नसर्ने रोगको भार झन बढेको छ । आगामी दिनमा जटिल खालका रोगहरुको परीक्षण बढाउनेछौँ । क्यान्सरको कतिपय परीक्षण अझै पनि बाहिर पठाउनुपर्ने अवस्था छ ।”
हाल पाँच वटा बुथबाट प्रयोगशालामा सेवा प्रदान भइरहेको छ । दैनिक अधिकतम सात सय र कहिलेकाहीँ एक हजारसम्म सेवाग्राही आउने गरेको उनले सुनाए । प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीका अनुसार एक दिनमा थोरैमा पनि चार सय सेवाग्राहीले आउने गरेका छन् । उनका अनुसार प्रयोगशालामा ज्येष्ठ नागरिक, सुत्केरी, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई छुट्टै बुथ र छुटको पनि व्यवस्था छ ।
यहाँ आउनेमा सबैभन्दा बढी ‘होल बडी चेकअप’ नै गराउन आउने गरेको उनको भनाइ छ । परीक्षणका लागि बिहान ८ बजेबाट २ बजेसम्म टोकन वितरण हुन्छ । तर सेवाग्राही भने विहान अध्यारोँ छँद यहाँ आउने गरेका छन् । सार्वजनिक बिदाबाहेक आइतबारदेखि शुक्रबारसम्म प्रयोगशालाले सेवा दिँदै आइरहेको छ । शुक्रबार भने विहान ८ देखि दिउँसो १२ बजेसम्म परीक्षण हुन्छ ।
जैसी भन्छन्, “धेरैले लाइन बस्न समस्या भयो भनेर गुनासो गरेका छन् । पहिले सेवाग्राही आफैले मेसिनबाट टोकन लिन मिल्ने व्यवस्था राखिएको थियो तर त्यसको दुरपयोग भएको पाइयो । कतिले टोकन नै बेचेको पाइएपछि हाल ८ बजे मात्र हामी आफैँ टोकन दिन्छौँ ।” उनका अनुसार प्रयोगशालामा अन्यत्र कतै नहुने परीक्षण पनि उपलब्ध छन् । जुन सबै सर्वसुलभ दरमा उपलब्ध रहेको उहाँको भनाइ छ ।
निजी प्रयोगशालामा रु १० हजारसम्म पर्ने ‘होलबडी चेकअप’ यहाँ आधाभन्दा सस्तोमा उपलब्ध रहेको जैसीको भनाइ छ । “सस्तोमा रु २५ मा हुने परीक्षण पनि छ भने रु ५० हजार पर्ने मिर्गौला प्रत्यारोपणअघि गराइने परीक्षणको सेवा पनि उपलब्ध छ”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्पा तथा वेलनेस सेवामा जनशक्ति अभाव, माग धान्न हम्मेहम्मे
बैशाख २०, २०८१ बिहिबार
मुगुको गमगढीमा निःशुल्क स्वास्थ्य शिविरबाट दुई हजार जना लाभान्वित
बैशाख २०, २०८१ बिहिबार
खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते लगाउने
बैशाख १९, २०८१ बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
मटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
चारवटा संसदीय समितिको बैठक बस्दै
बैशाख २१, २०८१ शुक्रबार
राजस्थानमाथि सनराइजर्सको एक रनको रोमाञ्चक जित
बैशाख २१, २०८१ शुक्रबार
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट
बैशाख २१, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २१, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
बैशाख २१, २०८१ शुक्रबार
आज विश्व प्रेस स्वतन्त्रता दिवस
बैशाख २१, २०८१ शुक्रबार