प्लाइउड उद्योगमा तीन सय बढी मजदुरले पाए रोजगारी
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार १२:८:२९
५ वैशाख, राँझा 'बाँके' । बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन् ।
विगत चार वर्षदेखि सञ्चालित उद्योगमा कोहलपुर नगरपालिका–१४ ढोरपुर र ठाडागाउँका अधिकांश स्थानीयवासीले मजदुरका रूपमा काम गर्दै आएका छन् । खटिक समुदायको बसोबास रहेको ढोरपुर र ठाडागाउँवासीलाई यो उद्योगले रोजगारी दिएको छ ।
उद्योगमा कार्यरत स्थानीय युवा राधेश्याम खटिकले प्लाइउड उद्योग स्थानीयवासीका लागि जीविकोपार्जनको प्रमुख आधार भएको बताए । “कामको खोजीमा दैनिक भौतारिनुपथ्र्यो, अहिले गाउँमा खुलेको उद्योगले ढोरपुर र ठाडागाउँका सबैजसोलाई रोजगारी दिएको छ,” उनले भने।
स्थानीय रामछविले खटिकले गाउँमा स्थापना भएको उद्योगले स्थानीयवासीलाई रोजगारीमा प्राथमिकता दिएका कारण आफूहरूले रोजगारी पाएको बताए । उद्योग बन्द हुँदा सबैभन्दा बढी मार आफूहरूलाई पर्ने भएकाले भर्खर सञ्चालनमा आएको उद्योगमा कुनै पनि राजनीतिक आस्थाका आधारमा ट्रेड युनियन गठन गर्नभन्दा पनि उद्योगलाई स्थापित गर्न मजदुर लाग्नुपर्नेमा उनले जोड दिए ।
सोही उद्योगमा तीन वर्षदेखि कार्यरत सुर्जा कार्की भण्डारीले गाउँमै स्थापना भएको उद्योगका कारण अहिले रोजगारी पाएपछि स्थानीयवासीको जीविकोपार्जनमा सहजता भएको बताए । देशमा काम नपाएर विदेश जानुपर्ने अवस्थामा योयो प्लाइउडले गाउँमै रोजगारी दिएर आफूहरूलाई ठूलो गुन लगाएको उनले बताए ।
उद्योगमा ट्रेड युनियन गठनका नाममा काममा अवरोध भएको प्रति उनलाई चित्त बुझेको छैन । आफूलाई उद्योग नै बन्द गराउने ट्रेड युनियन नचाहिएको उनले बताए । “ट्रेड युनियन गठन भएर धेरै सेवा सुविधा मागेपछि केही दिन उद्योग बन्द भयो, उद्योग बन्द हुँदा हाम्रो रोजगारी पनि बन्द हुन्छ”, उनले भने ।
उद्योगका प्रबन्ध निर्देशक राजीव श्रेष्ठले उद्योग अझै पूर्ण रूपमा सञ्चालन नभएको बताए। अहिले तीन सय बढी मजदुरलाई रोजगारी दिएको उद्योग पूर्ण रूपमा सञ्चालन हुँदा आठ सय बढीले रोजगारी पाउने उनले जानकारी दिए ।
उद्योगको क्षमताअनुसार पूर्ण रूपमा सञ्चालन हुन नसक्दा दैनिक करिब रु पाँच लाख घाटा व्यहोर्दै आएको उद्योगले मजदुरलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उनले भने, “हामी सरकारले तोकेको मापदण्ड पालना गर्दै मजदुरलाई पारिश्रमिक दिँदै आएका छौँ, घाटामा गएको उद्योगले अहिले तत्काल मजदुरको पारिश्रमिक वृद्धि र बोनस खुवाउन सक्ने अवस्था छैन, तर परिस्थिति सुध्रिनासाथ मजदुरको सेवा सुविधा र सङ्ख्या बढाउँदै लैजाने हाम्रो सोच छ ।”
ट्रेड युनियन गठनले कर्मचारी विभाजित
उद्योग पूर्ण रूपमा सञ्चालन हुन नपाउँदै मजदुर सङ्गठनका नाममा अवरोध सिर्जना गर्ने काम भएको उद्योगका प्रबन्ध निर्देशक श्रेष्ठको गुनासो छ । अहिले सञ्चालन हुँदा दैनिक रु पाँच लाख घाटा व्यहोर्दै आएको उद्योग बन्द हुँदा दैनिक रु १० लाखभन्दा बढी घाटा हुने भएकाले सहज रूपमा उद्योग सञ्चालनको वातावरण बनाउन उनले अनुरोध गरेका छन् ।
स्थानीयवासीको बाहुल्य रहेको उक्त उद्योगमा तीन सय बढी मजदुरले काम गर्दै आएका छन् । हाल उद्योगमा नरहेका गैर मजदुरलाई सङ्गठित गरी जबर्जस्ती ट्रेड युनियन गठन गर्न खोजेपछि त्यहाँ कार्यरत मजदुर त्यसको विपक्षमा उत्रिएका छन् ।
उद्योगमा अखिल नेपाल औद्योगिक मजदुर संघले शान्ति रानाको नेतृत्वमा मजदुर सङ्घ गठन गरेको छ । उद्योगका प्रबन्धक पूर्णबहादुर विष्टले संघको नेतृत्व गरेकी रानासहितका अधिकांश सदस्य उद्योगमा कार्यरत नै नरहेको बताए ।
उनले उद्योगमा कार्यरत नै नरहेका फर्जी नाम राखेर ट्रेड युनियन गठन गरेकामा आपत्ति जनाए । ट्रेड युनियनकी अध्यक्ष रानाले आफूहरूले मजदुरको हकहितका लागि ट्रेड युनियन खोलेको बताए । ट्रेड युनियनको पक्षमा लाग्ने मजदुरलाई उद्योगले कामबाट निकालेको उनको आरोप छ ।
ट्रेड युनियन गठनसँगै मजदुर विभाजित भएका छन् । अधिकांश मजदुर उद्योग नियमित सञ्चालन गरी आफ्नो रोजगारी सुनिश्चित हुनुपर्ने माग गर्दै ट्रेड युनियन खारेजीको पक्षमा लागेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार