सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
भेषराज पोखरेल
बैशाख ८, २०८१ शनिबार १८:२४:४
अहिले नेपालको राजनीति सुधारको बाटोमा छैन । हुन त सत्ता गठबन्धनका नेताहरुले अब कम्युनिष्ट शक्तिको हातमा सत्ता आयो, अब राजनीतिले स्थिरता पाउँछ । विकासले गति लिन्छ भनिरहेकै छन् । केपी ओलीले त अब देशभर लालकिल्ला खडा हुन्छ भने । गृहमन्त्री रवि लामिछानेको हुँकार त चर्कै हो । अहिले हठात् प्रतिपक्षमा पुगेको कांग्रेस नेताहरुले भने देश अराजक अवस्थामा जान थाल्यो, सरकारले राम्रा काम भन्दा पनि राजनीतिक अराजकता फैलाउन लागिरहेको छ भनिरहेका छन् । आमजनताले भने कम्युनिष्टशक्तिको गठबन्धनले सत्ता चलाए केही हुन्छ भन्ने आशा गरेको देखिन्न ।
केही दिन पहिले कांग्रेस वरिष्ठ नेता शेखर कोइराला किराँत धर्म गुरु आत्मानन्द लिंगदेनलाई भेट्न इलामको लारुम्बा पुग्दा उनले देश राजनीतिक रुपमा नराम्रो अवस्थामा पुग्यो, तपाईंले नेतृत्व लिनुस् भने । सामान्य रुपमा हेर्दा यो घटनाले ठूलै महत्व राख्छ जस्तो लाग्दैन तर गम्भीर भएर सोच्ने हो भने यो अति गम्भीर कुरा हो । अति स्वतन्त्र रुपमा आफ्नो धार्मिक अभियान चलाइरहेका धर्मगुरुले राजनीति बिग्रियो, देश अप्ठ्यारो अवस्थामा छ तपाईंले नेतृत्व लिइदिनुपर्यो भनेर कोइरालालाई भन्नु भनेको आमजनताको भावना र भोगाइलाई स्पष्ट गर्छ । राजनीतिको जोड, घटाउ जस्तो पनि हुनसक्छ, तत्कालै सत्ता कोइरालाको हातमा नपुग्न पनि सक्छ तर राष्ट्रको स्थिति भने यसले स्पष्ट गर्छ ।
सत्ता गठबन्धन गर्ने भनेको गठबन्धनका सबै दलको सहभागिताबाट असहज अवस्थामा रहेको राजनीतिलाई निकास दिने, सहज अवस्थामा पुर्यायाउने हो । राजनीतिमा रहेका कमीकमजोरीमा सुधार गर्दै लैजाने पनि हो तर अहिलेको कम्युनिष्ट बाहुल्य गठबन्धन राजनीतिक उद्देश्य पूरा गर्न तथा राष्ट्रको उत्थान गर्न नभई जहाँ जसले जे गर्न सक्छ, जसले जुनसुकै उपाय अपनाएर भए पनि सत्ता संयन्त्रको फेरबदल गरेर आफ्नो स्वार्थपूर्ति गर्ने, सात्ताको सुविधा लिइहाल्ने अवस्था सिर्जना गरिँदै गरेको स्पष्ट देखिइरहेको छ । संघीयतालाई अति जोड दिँदै बनेको संविधान र त्यसको माध्यमबाट बन्ने सरकारहरु संघीयता ध्वस्तै पार्ने गरी जे गर्न सकिन्छ त्यही गर्न तयार हुनु भनेको राष्ट्र र जनताका लागि विडम्बना कुरा हो ।
अहिले प्रदेशका सरकार परिवर्तन गर्न यस्तै अनेकौं उपाय अपनाइँदै छ । अझ प्रदेश सरकारलाई स्वायत्त बनाउनुपर्छ, केन्द्रको तजबिजी अधिकार कटौती गर्नुपर्छ भन्दै चिच्याउने कम्युनिष्ट नेताहरु अहिले सबैभन्दा बढी सघीयता कमजोर पार्न लागिपर्नु दुःखद् कुरा हो । सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशमा भइरहेको सत्ता परिवर्तनको खेल संघीयताको पक्षमा छैनन्, खुला रुपमा संघीयताविरुद्धमा छन् । सत्ता गठबन्धन परिवर्तन भएपछि सक्दो रुपमा संघको सत्ता पनि परिवर्तन हुनु, गर्न खोज्नु राम्रै होला तर संविधानसम्मत हुनु त पर्छ नि । अर्को, प्रदेशको सत्ता परिवर्तन गर्न त्यहाँका सांसदहरूलाई निर्णय गर्ने अधिकार दिनुपर्ने त हो नि । अहिलेको अवस्थामा कम्युनिष्ट नीति एकातिर काम अर्कातिर देखिएको छ । यसले जनताले कम्युनिष्टको सिद्धान्तनिष्टतामा प्श्न उठाउने अवस्था अझ बढेर गएको छ ।
हुन त २०७२ को आमनिर्वाचनपछि कम्युष्टिका दह्रा शक्ति एक भएपछि त्यसका सिद्धान्तनिष्टताको परख हुने भयो । कम्युनिष्ट सरकारले जनताको पक्षमा पक्कै पनि केही गर्नेछ भन्ने आम सर्वसाधारणले आशा गरेकै हुन् । त्यो आशा तत्कालै खण्डित भयो, तीन वर्ष पनि टिक्न सकेन । अहिले पनि कम्युनिष्ट दलहरु एमाले, माओवादी केन्द्र तथा एकीकृत समाजवादी जस्ता जनमत भएका कम्युनिष्ट दलहरु र कम्युनिष्ट दलसँग नजिक भएका दलहरुको गठबन्धन हुँदा एक पटक गल्ती गरे पनि अब सुधारिएर जाने हुन् कि भन्ने जनतालाई लाग्नु स्वाभाविक हो ।
प्रदेशमा भइरहेको किचलोले यसलाई पनि निःरस्त गरिदिएको छ । एकातिर प्रदेश सरकार आफ्नो हातमा पार्न जे पनि गर्न तयार रहेको देखिएको छ अर्कातर दलका शीर्ष नेताहरुबाटै सरकारलाई थप अस्थिर बनाउने अभिव्यक्ति बराबर आउन थालेका छन् । यसले कम्युनिष्ट नेताहरु के गर्न चाहेका हुन् हँ भन्ने प्रश्न उठेको छ । दलका प्रभावशाली नेताहरु सत्ताको लुछाचुँडीमा लागिरहने, कहिले सत्ता फेरि परिवर्तन हुने हो भन्ने त्रास फैलाइरहने, विवादमा रहेका मन्त्रीहरुलाई संरक्षण दिइरहने हो भने जनताको सुशासनको आशा कहिले पूरा हुने ? कसले पूरा गर्ने ? भ्रष्टाचार कहिले हटाउने, कसले हटाउने ?
पछिल्लो समय कम्युनिष्ट दलहरुको गठबन्धन कमजोर बन्दै जाने र सबैले आफ्नो स्वार्थ हेर्ने अवस्थामा सर्वदलीय सरकारको आवश्यकता भएकै हो कि भन्ने लाग्न थालेको छ । त्यसको आवाज पनि उठ्न थालेको छ । राजनीतिक वृत्तमा सबै खेल चलाइरहने जनमत अस्थिर भए पनि यताउता डौडिरहने अवस्था रहेसम्म र दलका शीर्ष नेताहरुले अब देशलाई अस्थिरताबाट पार लगाउनुपर्यो भन्ने महसुस नहुँदासम्म र एकले अर्कालाई बुझाउने प्रयास नहुँदासम्म यो सम्भव छैन । जनता अहिलेको अवस्थाको विरोधमा नउत्रिँदा सम्म यसको कुनै सम्भावना छैन ।
अर्को, कम्युनिष्ट दलका नेताहरु कम्युनिष्ट शक्ति बलियो र एक बनाएर लैजानेभन्दा कसरी आफूले बढी भाग लिने ? कसरी अरु दललाई कमजोर बनाउने भन्ने खेल चलिरहँदासम्म देशमा स्थिरता र सुशासन सम्भव छैन । यस्तो अवस्थामा देशका ठूला दलहरु कांग्रेस र एमाले मिलेर सत्ता समीकरण बनाउने र दह्रो तथा स्थिर सरकार दिने हो भने देश र जनताको कल्याण हुन्थ्यो कि भन्ने आवाज उठ्न थालेको छ । कम्युनिष्ट दलको गठबन्धन बनाउँदा कम्युनिष्ट नीति र निष्ठा झन् कमजोर बन्दै गएकाले कांग्रेस, एमाले गठबन्धन अहिलेका लागि उपयुक्त हुन सक्छ ।
दुवै दलका शीर्ष नेता प्रतिबद्ध भएर लाग्ने हो भने देशको पनि कल्याण हुने र जनताको पनि कल्याण हुने अवस्था आउन सक्छ । थोरै जनमत तर सरकार बनाउने र गिराउने खेलमा लागिरहने दलका नेताहरुका कारण राजनीति अस्थिर बन्दै जान्छ । यसले भ्रष्टाचार पनि बढाउँदै लैजान्छ भने नेपालमा चलिरहेको दलाली पनि नयाँ, नयाँ रुपमा अगाडि आइरहने अवस्था आउँछ । केही समययता यस्ता उपक्रमहरु अगाडि आइरहेकै छन् । भ्रष्टाचार तथा अनियमिततामाथिको कारबाही पनि यसैका कारण कमजोर बन्दै गएको छ । यसलाई रोक्न पनि यस्तो बलियो सरकार आवश्यक देखिएको छ । सम्बन्धित पक्ष गम्भीर बन्नु जरुरी छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपबिर्सिन नसकिने प्रतियोगिता एनपिएल क्रिकेट
पुष ७, २०८१ आइतबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
ठूलो जनशक्तिलाई बेरोजगार बनाएको शिक्षाका कुरा गरौँ
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार