सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
समाचार टिप्पणी
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार १३:४६:८
१३ वैशाख, काठमाडौं । नेकपा एमालेले वैशाख १० गते कम्युनिष्ट पार्टी स्थापनाको हीरक महोत्सव मनायो । फरक धारको नेतृत्व गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत कम्युनिष्ट पार्टीका उच्च नेताहरुसहित एमालेले कम्युनिष्ट पार्टीको हीरक महोत्सव मनायो । महोत्सवमा एमालेका पूर्व महासचिव माधव नेपाल भने उपस्थित भएनन् । यसले गठबन्धनभित्र कही न कही गडबडी रहेको स्पष्ट हुन्छ ।
फागुन २१ यता बाम गठबन्धन भएको भनिए पनि अहिले समीकरणमा परिणत भएको छ । उपनिर्वाचनका क्रममा एमालेले इलाम र बझाङमा आफ्नै उम्मेदवारको नाममा ढिपी गरेपछि वामगठबन्धनका नभई समीकरण मात्रै भएको पुष्टि भयो । एमालेले हतारमा उम्मेदवार घोषणा गर्यो, एमालेलाई नै सहयोग गर्न सकिन्थ्यो तर छलफल नै नगरी उम्मेदवार दिएपछि सत्तामा सहभागी दलहरूले पनि स्वच्छ प्रतिस्पर्धाका लागि उम्मेदवारी दिन बाध्य भएको भन्दै बझाङ र इलाममा नेकपा एसले छुट्टै उम्मेदवार खडा गरेको छ । यति गर्दा पनि एमालेले नेकपा एसलाई महत्व दिएको छैन ।
खासगरी एमाले नेपालको कम्युनिष्ट आन्दोलनको मूलधारको पार्टी भएको देखाउन चाहन्छ । एमालेले लिएको नीति, विचार र सिद्धान्तकै बाटोमा मुलुकको राजनीति हिँडेको देखाउन चाहन्छ । तर नेपालको राजनीतिक भविष्य त्यति राम्रो संकेत छैन । अहिलेको अवस्थाले राजनीतिलाई ठिक दिशामा लगेको छैन भन्ने जान्दाजान्दै एमालेले वाम गठबन्धनको आधार तय भएको अहिलेको सत्ता गठबन्धनलाई समीकरणमा परिणत गरेर सबैलाई एकै ठाउँ व्यस्त गराउने कोसिस गरेको छ ।
राजनीतिक अस्थिरता बढिरहेको छ, संघीयताप्रति वितृष्ण सिर्जना गरेको छ । यो असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने आवश्यकतालाई पनि एमालेले सम्बोधन गर्न चाहेको देखिंदैन । एमाले बाम ध्रुवीकरणको माध्यमबाट बलियो पार्टी बनाउन चाहेको छ । नेकपा एस र माओवादीमा रहेका असन्तुष्ट र निष्क्रिय रहेका नेताहरूलाई एमालेमा भित्र्याउन चाहेको देखिन्छ । यसले गर्दा समाजवादी मोर्चालाई समेत एमालेले अस्वीकार गर्दै आएको छ । ‘एमाले एक्लै अघि बढ्न चाहन्छ’, माओवादीका एक पदाधिकारीले भने ‘सरकारमा छौ, हाम्रो कोसिस पार्टी एकीकरण नभएपनि वाम गठबन्धन होस भन्ने रहन्छ ।’
समाजवादी मोर्चामा नेकपा एमालेलाई सामेल गराउन कसरत थालिएको थियो । नयाँ सत्ता समीकरण बनेपछि समाजवादी मोर्चाका संयोजक तथा नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले एमालेलाई पनि सहभागी गराउने प्रयास थालेका थिए । नेकपा एसका अध्यक्ष माधव नेपालले पनि एमालेलाई समाजवादी मोर्चामा ल्याउन विप्लवलाई आग्रह गरेका थिए । तर प्रयासमा एमालेले अस्वीकार गरिदियो । राष्ट्रिय प्रतिनिधि परिषदको बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमै समाजवादी मोर्चा बनाउने विषयलाई अस्वीकार गरेर अघि बढ्यो । विप्लव मोर्चाको संयोजक चयन भएदेखि नै सक्रिय रहेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगेर भेटेका थिए ।
समाजवादी मोर्चाले एमालेसहित अन्य वाम शक्तिहरूलाई पनि आबद्ध गराउने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिइएको थियो । तर एमालेले आफ्नो राजनीतिक प्रतिवेदनबाट अस्वीकार गरेपछि भने स्थिति जहाँको त्यही छ, अघि बढ्न सकेको छैन । अहिले मोर्चामा गइहाल्ने त होइन । मोर्चा बनाउने तर त्यो मोर्चाको लक्ष्य, उद्देश्य के हो ? के काम गर्ने ? प्रष्ट योजना हुनुपर्यो । मिल्नेको नाममा पदको लागि मिल्ने होइन । कुनै पनि संगठन र संस्था बनाउँदा त्यसले के काम गर्दा भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । जनता र देशको हितको लागि के काम गर्छ ? भन्ने कुरा महत्त्वपूर्ण कुरा हुन्छ । बसेर वार्ता नगरी मिलिहाल्ने कुरा हुँदैन एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनेकी थिइन । शाक्यले सार्वजनिक रुपमा यस्तो अभिव्यक्ति दिएको केही दिनपछि परिषद बैठकमा प्रस्तुत भएको प्रतिवेदनमा समाजवादी मोर्चालाई अस्वीकार गरिएको विषय उल्लेख छ ।
शाक्यले सरकारमा सहकार्य सुरू भएकाले कम्युनिष्ट घटक अलगअलग भएर बस्न नहुने धारणा राखेको भएपनि समाजवादी मोर्चामा गइहाल्ने अवस्था नबनेको उनको भनाई थियो । एमालेभित्र समाजवादी मोर्चाको विषयमा अहिलेसम्म औपचारिक छलफल भएको छैन । सामान्यतया यस्ता मोर्चा एमाले सामेल हुँदैन । एमालेलाई अहिले मोर्चा आवश्यक छैन । जो–जो अहिले आबद्ध हुनुहुन्छ उहाँहरूले राम्रोसँग चलाए भइहाल्छ भन्ने खालका जवाफहरू एमाले नेताहरूले दिइरहेका छन् ।
०७४ को निर्वाचनमा संसदमा करिब दुईतिहाइ सांसद भएको तत्कालीन नेकपाले सरकार चलाउन नसक्नु वाम गठबन्धन त्यहीबाट असफल भएको थियो । त्यो बेला जुन अवसर वामपन्थी नेतृत्वले पाएको थियो, त्यो बिरलै प्राप्त हुन् अवसर थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरु वामदेव गौतम, माधव नेपाल र प्रचण्डलाई साथमा लिन सकेनन् । कोभिडले थिलथिलो बनायो । तर पनि जनमत नेकपाको पक्षमा थियो । सांसदहरू नेकपाकै पक्षमा थिए । हिंसात्मक आन्दोलनबाट शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको माओवादीलाई रूपान्तरण गर्नुपर्ने चुनौती त्यो सरकारलाई थियो । तर पनि असफल भयो । अन्ततः कांग्रेसको नेतृत्वमा सरकार बन्यो ।
गत मंसिरमा भएको आमचुनावमा एमाले एक्लै होमिएको थियो, नेकपा तीन टुक्रामा विभाजित भएर माधव नेपाल, प्रचण्ड गएपछि एमालेले कसैसँग गठबन्धन गर्नुहुँदैनथ्यो । तर राप्रपासँग सहकार्य गरेर वामपन्थीहरुलाई वेवास्ता गर्यो । नेपाली कांग्रेसका शेरबहादुर देउवा माधव नेपालको समाजवादी, प्रचण्डको माओवादी र उपेन्द्र यादवको जनता समाजवादीसँग गठबन्धन गर्न पुगे । यसले एमालेलाई झन घाटा भयो, संसदमा दोस्रो ठूलो दल, प्रदेशमा कही पनि बहुमत आएन तर पनि एमालेले पाठ सिकेको पाइएन ।
तत्कालीन अवस्थामा एमालेका दश लाख सदस्य थिए । तीमध्ये नवीकरण नगर्ने पाँच लाख सदस्य छन् । उनीहरू कहाँ गए भन्ने बारेमा ओली नेतृत्वको एमालेले कहिल्यै सोचेन । पार्टी सदस्यहरू कहाँ जान्छन् होला ? कि चूपचाप लागेर बस्छन् होला ? साधारण चेत भएको व्यक्तिले पनि जवाफ दिने रहेछ, राजनीतिमा सक्रिय व्यक्ति त्यत्तिकै रहन सक्दैन । नयाँ खुलेका पार्टीतिर क्रियाशील भइहाल्छन् । एमाले सदस्यता नवीकरण नगर्नेहरूलाई सत्ता, शक्ति प्रतिको विमोह, अविश्वास अचानक भएको हो कि त्यसका विशेष कारण छन् ? पार्टी गतिशील भएन कि पार्टीले एजेन्डा छाडेर पो हो कि ? पार्टीको उपल्लो तहले न्याय गर्न नसकेर हो कि ? किनभने जनता एकदमै छिटो काम खोजिरहेका छन् । जनताबीच रहेका नेता कार्यकर्तालाई यसले निरास बनाएर पलायन गराएको हो कि ? अथवा, एमालेकै सान्दर्भिकता सकिएर पो हो कि ? पाँच पाँच लाख सदस्यले नवीकरण नगर्नु भनेको डरलाग्दो अवस्था हो । राष्ट्रिय परिषद बैठकमा महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनमा संगठित सदस्य संख्या पाँच लाख ४६ हजार ६ सय ९५ जना रहेको तथ्यांक पेस गरेको छ । यसलाई बढाएर १० लाख पुर्याउने लक्ष्य राखिएको छ ।
सरकारमा सहभागी भएपनि एमालेले सहयात्री दल मध्ये माओवादीलाई मात्र सरकार सञ्चालन गर्न छाडेको देखाउँदै देशभर जिल्ला अधिवेशन गर्न लागिरहेको छ । माओवादीका अध्यक्षलाई प्रधानमन्त्री छाडेपछि एमाले अध्यक्ष मिसन ८४ लाई निरन्तरता दिँदै उनी देश व्यापी संगठन विस्तारमा लागेछन् । माओवादी अध्यक्ष प्रचण्डले वामगठबन्धनका हुन लागेको बाहिरी अभिव्यक्ति दिन्छन् ।
उता ओलीले गठबन्धन नभई समीकरण मात्रै भएको आन्तरिक रुपमा बताउँदै आएका छन् । जसले गर्दा एमालेहरु गठबन्धन होइन भन्नेमा ढुक्क छन भने माओवादीहरू भने भित्रभित्रै ओलीको कोपभाजनमा फसियो कि भन्ने चिन्तामा छन् । एमाले जिल्ला अधिवेशन मार्फत फ्रेस नेतृत्व लिएर आगामी निर्वाचनमा होमिन चाहन्छ । अहिलेको अवस्थामा वर्तमान सरकार कमजोर भए नेपाली कांग्रेससँग सहकार्य गर्न चाहन्छ तर माओवादीलाई कांग्रेसले अविश्वास गर्ने भएपछि बाध्यताले एमालेको साथ छोड्न नसक्ने अवस्था रहेको वामपन्थी वृत्तमा चर्चाको विषय बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
सयको नोटमा चुच्चे नक्सा राख्नेबारे भारतको टिप्पणी- 'धरातलीय यथार्थ परिवर्तन हुँदैन'
बैशाख २३, २०८१ आइतबार
लण्डनको मेयरमा सादिक खान तेस्रो पटक निर्वाचित
बैशाख २३, २०८१ आइतबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख २३, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि पेसी
बैशाख २३, २०८१ आइतबार
गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी
बैशाख २३, २०८१ आइतबार
ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो
बैशाख २३, २०८१ आइतबार