तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
अखाद्य बस्तु मिसाएर उत्पादन गरेको चाउचाउबाट अरबौं कमाएका चौधरी सर्वसाधारणलाई शेयर बेच्ने तयारीमा छन्
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार १६:१:३९
१४ वैशाख, काठमाडौं । कहिले मरेका कुखुराको धुलो बनाएर चिकेन चाउचाउ उत्पादन गरेको त कहिले एक पटक प्रयोग गरेर डढी सकेको अखाद्य तेलको प्रयोग गरेर वाईवाई चाउचाउ उत्पादन गरी बजारमा पठाएको जस्ता अनेकौं काण्डबाट जनताको स्वास्थ्यमा खेलबाड गर्दै आएको चौधरी समूहलाई यसपटक पनि २ लाखमा उन्मुक्ति दिइएको छ । काठमाडौं महानगरलाई २ लाख जरिवाना बुझाएर चौधरी समूह पन्छिएको छ ।
चौधरी समूहका अध्यक्ष विनोद चौधरी यिनै चाउचाउ बेचेर नै विश्वको अर्बपतिमा गनिएका हुन् । चौधरी समूहले उत्पादन गर्ने चाउचाउको बजार नेपालमा मात्र छैन, भारत लगायतका अन्य देशमा पनि जान्छ । सरदर नेपालमा कति लाख बच्चा र अन्यले एक दिनमा यो चाउचाउ खान्छन्, यसको आधिकारिक तथ्यांक नभएपनि दैनिक १० लाख माथि बच्चा र अन्यले उपभोग गरेको हुनसक्छ । यो पटक बजारमा वाईवाई चाउचाउमा एसिड भ्यालु अस्वाभाविक भएको भेटिएको हो ।
यो चाउचाउको सेवनबाट मानिसको ज्यानसमेत जाने खतरा रहेको चिकित्सकहरू बताउँछन् । महानगरले २ लाख जरिवानामा छाडे पनि यो लटमा चौधरीले उत्पादन गरेका चाउचाउ सबै बजारमा पुगिसकेका छन् । यो लट भन्दा अगाडि उत्पादन गरिएका र त्यसपछि उत्पादन गरिएका सबै चाउचाउमा मानिसको ज्यानै लिन सक्ने एसिड भ्यालु राखिएको हुनसक्छ । तर, सरकारले यस विषयमा ध्यान दिएको छैन । सरकारको सम्बन्धित निकाय मौन छ । महानगरले कारवाही गर्यो भन्ने भन्दा यसको अरु असरबारे खासै चर्चा सञ्चारमाध्यममा भएको पनि छैन ।
काठमाडौँ महानगरपालिकाका अनुसार अखाद्य भएको भेटिसकेपछि चौधरी समूहलाई २ लाख रुपैयाँ जरिवाना तिराएर छाडिएको हो । कम गुणस्तरका चाउचाउ भेटिएपछि कृषि तथा पशुपन्छी विभागले जरिवाना गराएको हो । बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरिएको महानगरको भनाइ छ । तर, यो ऐनमा भएको व्यवस्थाले मात्र १० औँ लाख मानिसको स्वास्थ्यमा असर पार्ने र यसको फाइदा पुनः अन्यत्रबाट लिने चौधरीलाई दण्डित गर्न सक्दैन ।
महानगरका अनुसार वडा नं. ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरिएको थियो । २०८० सालको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम विक्री मूल्य २० रुपैयाँ पर्ने चाउचाउ जफत गरेपछि, १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो । यसरी पठाइएको नमुनामा कम्पनी र उत्पादनको विवरण गोप्य राखिएको थियो । ७ गते प्रयोगशालामा दिइएको नमुनाको रिपोर्ट ११ गते प्राप्त भएपछि सार्वजनिक गरिएको हो ।
महानगरको अनुगमन निरीक्षक डा.अवधेश झाका अनुसार चौधरी समूहलाई २ लाख रुपैयाँ जरिवाना तिराउँदै गुणस्तरहीन चाउचाउ सबै फिर्ता गर्न निर्देशनसमेत दिइएको छ । ‘बजारभरि रहेको उक्त लटका सबै चाउचाउ फिर्ता ल्याउन काठमाडौं महानगरले निर्देशन दिएको हो । उक्त लटको चाउचाउमा एसिड भ्यालु अस्वाभाविक देखिएको हो । काठमाडौं बाहिर कति पुग्यो भन्ने अनुमान गरिएको छैन । सरकारले यो लटको चाउचाउ देशभरबाट फिर्ता गर्न लगाउनु पर्ने थियो । तर प्रचण्ड सरकार भने माैन छ ।
महानगरपालिका भन्छ, ‘वडा नं ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरियो । २०८० सालको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम विक्री मूल्य २० रुपैयाँ पर्ने व्याच नं AL/YL23 का चाउचाउ जफत गरेपछि, १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइयो । यसरी पठाइएको नमूनामा कम्पनी र उत्पादनको विवरण गोप्य राखिएको थियो । ७ गते प्रयोगशालामा दिइएको नमुनाको रिपोर्ट ११ गते प्राप्त भएको हो । प्रयोगशालाको रिपोर्ट आउनु अघि स्थलगत अवस्थाको प्रतिवेदन दिँदै खाद्य प्राविधिक अनिल बस्नेत र अशोक पराजुलीले, निम्न गुणस्तरको तेल प्रयोग गरेर चाउचाउ फ्राइ गरिएको हुन सक्ने, कच्चा पदार्थ निम्न गुणस्तरको हुन सक्ने प्रतिवेदन दिनुभएको थियो । नमुनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनले गुणस्तरको विवरण लेख्दै भनेको छ, खैरो रंगको चाउचाउमा गाढा खैरो र काला धब्बा थिए । रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४ mg KOH/g Oil देखिएको छ । यसको भ्यालु mg KOH/g Oil भन्दा बढी हुनु हुँदैन ।’
वाईवाई चाउचाउ ढुसी परेको थियो । खाद्य प्राविधिकले निम्न गुणस्तरको तेल प्रयोग गरेर चाउचाउ फ्राइ गरिएको हुन सक्ने, कच्चा पदार्थ निम्न गुणस्तरको हुन सक्ने बताएका छन् । यसको निरन्तर प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग देखाउन सक्ने हुन्छ । यस्ता गुणस्तर नभएका खाद्य वस्तुको जिम्मेवारी उत्पादक कम्पनी सी. जी. फुड नेपालले लिनुपर्नेसम्म पनि सरकारले भन्न सकेको छैन ।
यस्तै अखाद्य चाउचाउ बेचेर धनी भएका विनोद चौधरी अहिले यसैका नाममा जनताबाट पैसा उठाउने ध्याउन्नमा छन् । उनले सीजी फुड कम्पनी मार्फत सर्वसाधारणमा शेयर जारी गराउने प्रपञ्च गरिरहेका छन् । नेपाल धितोपत्र बोर्डमा शेयर जारी गर्न निवेदन दिएको बताइएको छ । बोर्डमा कार्यकारी अध्यक्ष नभएकाले प्रक्रिया रोकिएको छ । गुणस्तरहीन चाउचाउ तिनै जनतालाई बेच्ने र पैसा कमाइ सकेपछि कम्पनीको स्वामित्व पनि जनतालाई दिने भन्दै सर्वसाधारणबाट रकम उठाएर विदेश लाने तयारीमा चौधरी रहेकाे बताइउकाे छ ।
उनीबाट यस्ता कयौँ अपराध पटक पटक हुँदै आएका हुन् । तर, सरकारले कुनै कारवाही गर्न सकेको छैन । बाँसबारी जग्गा प्रकरणबाट पनि उनले सहजै उम्कने मौका पाए । यस्ता अखाद्य पदार्थ हालेर बनाएका चाउचाउ बजार भरी बिक्रीका लागि पठाएर जनस्वास्थ्यमा खेलबाड गरिरहेका चौधरी यत्रो लाखौँको स्वास्थ्य जोखिममा पार्दा पनि २ लाख जरिवाना तिरेर उम्किएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
चोरीको मोटरसाइकलसहित एकजना पक्राउ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार
के १५ हजार समलिङ्गी सैनिकलाई ट्रम्पले हटाउन खोजेका हुन् ?
पुष १०, २०८१ बुधबार