उपनिर्वाचनको राजनीतिलाई पाठ : नैतिकता गिरे राजनीति ओरालो लाग्न सक्छ
भेषराज पोखरेल
बैशाख १८, २०८१ मंगलबार ६:०:९
इलाम र बझाङ निर्वाचनका परिणाम आइसकेका छन् । यी दुई निर्वाचनमा परम्परागत प्रतिस्पर्धी कांग्रेस र एमालेबीच नै कडा प्रतिस्पर्धा भएको देखियो । जनताले यी दुवै दलले देशलाई राम्रो बाटोमा त लैजान सकेका छैनन् तर यी दलमा सबै नराम्रा नेताहरु मात्रै छैनन्, राम्रा, आशा गर्न सकिने नेताहरु पनि छन् । तसर्थ नराम्रो गरे गाली पनि यिनैलाई गर्ने, भोट पनि यिनैलाई दिनुपर्छ भन्ने मान्यता लिएर अगाडि बढेको देखिएको छ ।
यी दुवै निर्वाचनले तत्कालको खपतका लागि आकर्षक नारा तयार गरेर अति प्रचार गरेर जनताको भोट लिने, काममा उत्कृष्टता देखाउन नसक्ने, नैतिकताको ख्याल नगर्ने दलहरूमाथि भरोसा गर्न सकेको देखिएन । कतिपय नेताहरुले जनताले ख्याल गर्दैनन् भनेर भेडा भनिएका जनताले यस्ता कुराको गम्भीर रुपमा ख्याल गरेको देखिएको छ । पहिले पहिलेका निर्वाचनमा पनि जनताले यस्तो व्यवहार देखाएकै हुन् । अहिले स्वतन्त्रहरुले केही राम्रा काम गर्दै गए पनि जनताले उनीहरुका समग्र कामको ख्याल गरिरहेको देखिएको छ । उनीहरुले नयाँ दलहरूको पनि परख गरिरहेको देखिएको छ । ती दलका नेताहरूको काम कस्तो छ ? नैतिकतामा कक्तिको खरो उत्रन्छन् भन्ने कुराले जनतालाई छोएको देखिन्छ ।
नेपाली जनताले राजनीतिक क्षेत्रमा पनि नैतिकतालाई ज्यादै ठूलो महत्व दिँदै आएको देखिएको छ । एक समय विश्वासमा परे पनि खरो नउत्रने नेता तथा दललाई अर्को पटक तल झारिदिएका कयौं उदाहरण छ । अहिले जनताको परीक्षणमा राष्ट्रिय स्वतन्त्र पार्टी खस्कन थालेको देखिएको छ । यसभन्दा पहिलेका उपनिर्वाचनमा रवि लामिछाने तथा स्वर्णिम वाग्लेले ल्याएका भोटले अब रास्वपा परम्परागत राजनीतिक दलको दह्रो विकल्प बन्न सक्छ भन्ने लक्षण देखाएको थियो ।
छोटो समयमा अध्यक्ष रवि लामिछानेको सहकारीसँगको संलग्नता र गृहमन्त्री बनेपछि सहकारीको पैसा अपचलन गरेर भाग्ने सञ्चालकहरुमाथिको कारबाहीको अवस्थाले जनतालाई सशंकित तुल्याएको देखिन्छ । जसले गर्दा जनताले रास्वपाका उम्मेदवारलाई रोज्न सकेनन्, अहिलेका दुवै क्षेत्रका निर्वाचनमा सो दलका उम्मेदवार तेस्रो स्थानमा पनि आउन सकेनन् । यसले रास्वपाका अध्यक्ष तथा अन्य नेताहरूको २०८४ मा परम्परागत कांग्रेस र एमालेलाई खुम्च्याएर पहिलो बन्ने सपनालाई नै जनताले खुम्च्याइदिने लक्षण अगाडि आउन पुगेको छ । यसभन्दा पहिले पनि जनताले यस्ता उदाहरण देखाइसकेका छन् ।
दोस्रो संविधान सभाको निर्वाचनमा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दु राष्ट्रको नारा अगाडि सार्यो । तत्कालीन अध्यक्ष कमल थापाले धर्म रक्षाका लागि एक भोट हामीलाई दिनुस्, हामी हिन्दु राष्ट्र बनाउँछौँ भनेर जनतामाझ गए । जनताले भोट दिए । प्रत्यक्षमा एक सिटसमेत नजिते पनि समानुपातिकमा राम्रो परिणाम ल्यायो । संविधान सभामा चौथो दल बन्न सफल भयो । त्यो परिणामले राप्रपा नेपाल अब राजनीतिमा राम्रै स्थान ओगट्ने भयो भन्ने अवस्था आयो ।
जब समानुपातिक सिट दलले मनोनयन गर्ने सुविधा पायो त्यसबेला अध्यक्ष थापाले मोटो रकम लिएर दल बाहिरका व्यक्तिहरूलाई ल्याए । त्यस बेला जनता झसंग भए । अनि ०७४ को आमनिर्वाचनमा सो दललाई नामेट बनाइदिए । उनले आफ्नो प्रतिबद्धतामा अडिग भएर नैतिकता देखाउन सकेको भए जनताको माया पाइरहन सक्थे, नैतिकता नै नभएपछि तत्कालै जनताको मोह भंग हुन पुग्यो, उनले गर्छु भनेका कुनै पनि काममा जनताको विश्वास रहेन ।
यही उपनिर्वाचनको परिणामको आधारमा रास्वपा राप्रपा नेपालजस्तै धरातलमा भासिन्छ नै भनेर भविष्यवाणी गर्न त बढी होला । पूर्वाग्रह मानिएला तर गृहमन्त्री लामिछानेले सहकारी समस्याको समाधान न्यायपूर्ण रुपमा गरेनन् भने आगामी निर्वाचनमा सो दललाई जनताले राम्रो मान्ने छैनन् । हुनसक्छ अहिले लामिछानेको सहकारीको ऋण नहोला तर कुनै बेला पत्रकारिताबाटै देशमा भएका समस्या समाधान गर्न बाध्य पार्न सक्छु भनेर लागेका व्यक्तिले टेलिभिजनमा गरिएको लगानीका लागि सहकारीबाट ठूलो रकम ऋण त लिएकै हो ।
उनको त्यस बेलाको अवस्था र अहिलेको अवस्थाले पनि उनको कार्य सहकारीका सञ्चालकलाई ठूलो रकम अपचलन गरेर भाग्न त पूरापूर सघाएकै हो नि । अहिलेको गठबन्धनका लागि उनको दलको महत्व ठूलो छ नै, त्यस्तो अवस्थामा उनको शक्ति अहिले भइरहेको गृहमन्त्रीको भन्दा कम हुने थिएन । यस्तो अवस्थामा उनले गृहमन्त्री आफूले नलिने तथा लिए पनि व्यापक जनआवाज उठेपछि राजीनामा दिएर नैतिकता देखाउन सक्नुपर्थ्यो । सहकारी ठग तथा अपचलनकर्ताहरुमाथि कारबाही गर्न सघाउनु पर्थ्यो ।
उनले त्यसो गर्न सकेनन् । उनले आफूलाई निर्दोष भएको देखाउन प्रधानमन्त्री, गठबन्धनको मुख्य दल एमाले अध्यक्ष केपी ओली तथा प्रहरी उच्च अधिकारी, प्रहरीका केन्द्रीय जाँच ब्यूरोका अधिकारी प्रयोग गरे पनि उनको नाम जोडिएका सहकारीबाट ठगिएका जनताको पीडा ती कुराले शान्त पार्न सक्दैन । ठग्नेले सजाय र पीडितले न्याय त पाउन सक्दैनन् । उनले केही सहकारीबाट ऋण लिए, यत्रो देशभरिका सहकारीले कति–कति रकम ठगेका छन्, सबै उनले जिम्मा लिन सक्छन् त ? भन्न सकिन्छ तर देशको राजनीति गर्ने, गृहमन्त्री सम्हालेर देशलाई निश्चित न्याको बाटोमा लैजान्छु भनेर अघि बढ्न खोज्ने व्यक्ति प्रतिनिधिपात्र बनेपछि यो क्षेत्रकै सञ्चालकहरूले त्यस्ता काम गर्न प्रेरित हुँदैनन् त ?
यी निर्वाचनमा जित हासिल गर्ने एमाले र कडा टक्कर दिने कांगेस पनि उत्साहित हुनु पर्दैन । समय आउँदा यी दलका वरिष्ठ नेताहरूलाई पनि जनताले पल्टा ख्वाइदिएका छन् । जनताले अहिले भइरहेका राम्रा, नराम्रा कामको मूल्यांकन गरिरहेका छन् । गठबन्धनमा एमालेले देखाउने रवैया, मन्त्रीहरूको काम गराइ जनताका लागि निर्णय गर्ने कसी हुनेछ । अर्को, कांग्रेसले पनि जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन भने जनताको रोजाइमा पर्नेछैन । प्रतिपक्षमा बस्ने तर सरकारका कमीकमजोरी तथा गलत कामको सशक्त विरोध नगरी सरकारलाई नै सहयोग पुग्ने काम गर्यो भने कांग्रेसका वरिष्ठ भनिएका नेताहरूलाई नै राम्रो मान्ने छैनन् ।
कांग्रेसको यो समय जनताका सुखदुःखसँग प्रत्यक्ष जोडिने, विगतका कमीकमजोरीको समीक्षा गर्ने, नयाँ योजनाको खोजी गर्ने समय हो । यसमा कांग्रेस चुक्यो भने उसका लागि ०८४ दुःखदायी हुनेछ । कांग्रेस नेताहरु गम्भीर बन्ने हो भने स्थानीय निकायमा हुने क्रियाकलाप, विकास निर्माणमा भएका ढिलासुस्ती, अवरोधहरू, योजना समयमा पूरा नहुने कारण तथा भ्रष्टाचार, अनियमितता र बेथिति नजिकबाट हेर्ने र समाधानका उपाय खोज्ने समयका रुपमा उपयोग गर्न सक्छन् । अहिले पहिलेको अवस्था छैन, जनता सबै कुरामा जानकार छन्, दलहरू र तिनका नेताहरूको नैतिकता ख्याल गरेरै जिताउने तथा हराउनेछन् । कुनै लोकप्रिय नारा बनाएर अति प्रचार गर्दा जनता आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने कुरा नेताहरूले भुले हुन्छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपकृत्रिम बौद्धिकता 'एआई'को प्रयोगद्वारा जीवनको खोज
पुष १७, २०८१ बुधबार
नेता बन्न नदिनु र सिद्धान्तलाई छाडेर भाग्नु दुवै राजनीतिका बेइमानी हुन्
पुष १७, २०८१ बुधबार
बीपीको मेलमिलाप नीतिः सर्वकालीन सान्दर्भिकता
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार