एयर इन्डिया र नेपाल एयरलाइन्सका श्रमिकको चेतावनी, मर्यादित ज्याला नपाए सेवा ठप्प
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार १३:५:४२
२४ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र विमानस्थलसँग जोडिएको हवाई क्षेत्रमा कार्यरत श्रमिकहरूले मर्यादित ज्यालाको माग सम्बोधन नभए काम र सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । नेपाल सरकारको अधीनमा रहेका संस्थाहरू नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सको ज्यालामा शोषण अन्त्य हुनुपर्ने उनीहरुको माग छ । माग सम्बोधन नभए सेवा ठप्प बनाउन आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् ।
सोमबार यूनिट्राभले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्षमता अभिवृद्धि तालिमसँगै गरेको पत्रकार सम्मेलनमा नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्समा कार्यरत कर्मचारीलाई गरेको शोषणबारे उजागर गर्दै शोषण अन्त्य नभए आन्दोलन थाल्ने चेतावनी दिएका हुन् । उनीहरुले एयर इन्डिया टाटाले गरेको शोषणको भण्डाफोर गर्ने चेतावनी दिएका छन् ।
यी संस्थाहरूले श्रमिक एवं कर्मचारीबीच नै तलब, भत्तादेखि सबै सेवा, सुविधामा विभेद गरेको उनीहरुको आरोप छ । यस्तै कार्य थलोमा मर्यादित ज्यालाको साथै सामाजिक सुरक्षा, व्यवसायजन्य स्वास्थ्य सुरक्षा नभएको उनीहरुले बताएका छन् । यूनिट्राभका अध्यक्ष सुमन प्रसाद पराजुलीले श्रमिकहरूले मे दिवसजस्तो श्रमिकको चाड, महिला दिवसदेखि सीपमुलक कार्यक्रममा सहभागी हुन जाँदा उल्टै तलब, भत्ता काट्ने र श्रमिकलाई शोषण गर्ने कार्य भइरहेको भन्दै यसको प्रतिकारमा श्रमिक उत्रने बताए ।
प्राधिकरण तर्फको शोषण
युनिट्राभले जनाए अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणमा दुई फरक तरिकाबाट श्रमिक राखिएको छ । त्यसमध्ये आउट सोर्सिङ कम्पनीबाट रोजगारीमा राखिएका श्रमिकलाई कानुनअनुसार पाउनुपर्ने बिदा सुविधा नदिने, ४ वर्षदेखि वृद्धि भएको तलब, भत्ता नदिने, कानुनले दिएको अन्य सेवा, सुविधा पनि नदिने गरिएको छ । श्रमिकका परिवारमा कसैको निधन भएर बस्नुपरेको बिदासमेत श्रमिकले नपाउने गरेको भन्दै श्रमिकहरूले सुत्केरी स्याहार बिदा बस्दा पनि बिदा नदिई तलब काट्ने गरेको बताए ।
यूनिट्राभका अध्यक्ष सुमन प्रसाद पराजुलीले भने, ‘सुत्केरी स्याहारका लागि ३ दिन बिदा बस्दा ५ दिनको तलब काट्ने, ५ दिन बिदा बस्दा आठ दिनको तलब काट्ने जस्ता प्रवृत्ति हुने गरेको छ । यस्ता विषयमा मुख्य रोजगारदाता नेपाल नागरिक उड्डयन प्राधिकरणसँग श्रमिकका समस्याबारे कुरा राख्दा आउट सोर्सिङ कम्पनीलाई राखेर समस्या समाधान गर्नुको साटो उल्टै ठेकेदारको पहरेदारको रुपमा कार्य गरी श्रमिकलाई हप्काउने गरेको छ ।’
यसबाट के प्रष्ट हुन्छ भने श्रमिकको पारिश्रमिक कटौती गरेर नागरिक उड्डयन प्राधिकरणका केही कर्मचारीहरू रकमको चलखेल गरी फाइल मिलाएर श्रम ऐन र श्रमिकले पाउनुपर्ने सेवा, सुविधामा कुठाराघात गरिरहेका छन् । यूनिट्राभले यस्ता गलत कार्यको घोर विरोध गर्दै गलत क्रियाकलापको विरुद्धमा उत्रने चेतावनी दिएको छ ।
नेपाल एयरलाइन्सतर्फ शोषण
यूनिट्राभका अनुसार नेपाल वायु सेवा निगममा पनि चरम श्रम शोषण भइरहेको छ । निगम अन्तर्गत नेपाल वायु सेवा निगमबाटै पारिश्रमिक लिने ट्रान्सपोर्ट ग्राउन्ड ह्यान्डलिङदेखि कार्यालयमा ६ वर्षदेखि २८ वर्षसम्म कन्ट्रयाक्ट, क्याजुअल, ज्यालादारी, करारमा कार्यरत करिब ६०० जना श्रमिकको उपदान, संचय कोष, अरु कर्मचारी सरहको सेवा, सुविधा दिइएको छैन ।
कति श्रमिकको जागिरको क्रममा निधन भइसके पनि ती निधन भएका परिवारका सदस्यले आफ्ना निधन भएका व्यक्तिको संचय कोष, उपदानबापतको केही नपाउने र व्यवस्थापनले थाहा नपाएको भन्दै श्रमिकमाथि शोषण गरिरहेको छ । एयरलाइन्समा भएको विभेद एवं शोषण अन्त्य गर्न माग गर्दै श्रमिकहरूले आफूहरूले सामाजिक सुरक्षा अन्तर्गत पाउनुपर्ने मौलिक हकभित्र रहेका सबै सेवा, सुविधा उपलब्ध गराउन र श्रमिकलाई बाँच्न पुग्ने हिसाबले तलब, भता उपलब्ध गराउन माग गरेका छन् ।
पत्रकार सम्मेलनमा नेपाल एयरलाइन्सभित्र आउट सोर्सिङ कम्पनीद्वारा पनि व्यापक श्रम शोषण भइरहेको छ । निगमले लगभग ४०० जना जति विभिन्न आउटसोर्सिङ कम्पनीबाट श्रमिक आपूर्ति गराएर काम लगाएको छ । ती श्रमिकलाई ४ वर्षदेखि तलब र कुनै प्रकारको सेवा, सुविधा बढाउने काम भएको छैन । तलब वृद्धिको बारम्बार माग गर्दा पनि सुनुवाइ नभएको बताइएको थियो ।
श्रमिकका बारेमा कुरा गर्दा आउट सोर्सिङ कम्पनीले मुख्य रोजगारदाता नेपाल एयरलाइन्सलाई देखाउने, माग पत्र राख्न जाने श्रमिकलाई गर्दै नगरेको गल्ती देखाएर पास खोसिदिने कार्य नेपाल एयरलाइन्सका केही माथिल्लो तहका कर्मचारीबाट हुँदै आएको छ ।
नेपाल एयरलाइन्समा तलब, सेवा, सुविधा, बिदादेखि सामाजिक सुरक्षाको बारेमा श्रमिकले भनाइ राख्दा प्रतिशोधको भावना राखेर रोजगारीबाट हटाउनेसम्मको धम्की दिने कार्य भइरहेको श्रमिकहरूको गुनासो छ । त्योसँगै श्रमिकले पाउनुपर्ने सेवा, सुविधा नदिइकन श्रमिकलाई दिएको भनेर कागज मिलाएर नेपाल एयरलाइन्स एयरपोर्टमा रहेको कार्यालय र आउट सोर्सिङ कम्पनीले मिलोमतो गरेर आर्थिक चलखेल गरिरहेको यूनिट्राभको भनाइ रहेको छ ।
एयर इन्डिया टाटातर्फ शोषण
यूनिट्राभले नेपालमा ४ दशकदेखि पहिला इन्डियन एयरलाइन्स त्यस लगत्तै एयर इन्डिया र हाल नाम परिवर्तन गरेर एयर इन्डिया टाटाको नामबाट उडान भरिरहेको एयर इन्डिया टाटाले व्यापक श्रम शोषण गरिरहेको जनाइएको छ ।
स्थायी कर्मचारी हटाउँदै करार गरेर राख्ने, करार गरेकाहरूलाई सामाजिक सुरक्षा अन्तर्गतको उपदान, संचय कोषदेखि बीमा पनि नगरी केही नदिएको र कर्मचारीबीच विभेद गरेको यूनिट्राभले जनाएको छ । माथिल्लो तहमा कार्यरत कर्मचारीले व्यवस्थापकलाई राइट ह्यान्डको रुपमा सहजता पुर्याउन यलो युनियन बनाएर आफू अनुकूल प्रमोशन, ज्याला वृद्धि गर्ने गरेको यूनिट्राभले जनाएको छ ।
एयर इन्डिया टाटामा श्रम ऐन नियम विपरीत श्रम सम्झौता गरेर काममा लगाएको र यो तत्काल अन्त्य हुनुपर्ने यूनिट्राभले जनाएको छ । हवाई क्षेत्रमा रहेको समस्या तत्काल सम्बोधन नगराइए त्यसको प्रतिरोधमा उत्रने यूनिट्राभको चेतावनी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
आर्थिक मन्दीको असरले रुपन्देहीमा २०७ उद्योग बन्द
जेठ १४, २०८१ सोमबार
भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित
जेठ १३, २०८१ आइतबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत बदर
जेठ १४, २०८१ सोमबार
कैलाश सिरोहियालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति
जेठ १४, २०८१ सोमबार
गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या
जेठ १४, २०८१ सोमबार
‘रेमल’ चक्रवातले नेपालको मौसम पनि बदली हुने
जेठ १४, २०८१ सोमबार