प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार १३:१५:४८
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्थिर हुन कि गतिशील ! चञ्चल वा चलायमान ? आखिर यी हुन् के ? जसलाई जे मन लाग्छ त्यही भन्दा हुन्छ । बिहानदेखि राती अबेरसम्मका यिनको बोलीको शैली केलायो भने सबै स्पष्ट हुन्छ । प्रचण्डलाई सबैले आ-आफ्नो नजरले हेर्न सक्छन् । तर, प्रचण्डको अधीरताले कयौं नेताहरूलाई नोक्सान पुर्याएको उनका पूर्वसहकर्मीहरुले अहिलेसम्म तिक्तता पोखिरहन्छन् । मोहन वैद्य ‘किरण’ देखि बाबुराम भट्टराईसम्मका पात्र यसका मुख्य साँक्षी हुन् ।
९ चैत २०७९ मा आयोजित इच्छुक सांस्कृतिक प्रतिष्ठानको कार्यक्रममा वैद्यले भनेका थिए, ‘राजनीतिमा विचित्रको लिला देखाउने व्यक्ति हुन् प्रचण्ड ।’ तीन दशक भन्दा बढी सहकार्य गरेका यस्ता कयौँ सहकर्मी नेताहरु अहिले प्रचण्डलाई अस्थिरताको उपमा दिएर व्याख्या गरिरहेका छन् । तर, प्रचण्डको यही अस्थिरताकै कारण राजनीतिमा केही व्यक्तिलाई गजबले फाइदा मिलेको छ । धेरैलाई लाग्ला, प्रचण्डको यस्तो छट्पटाहटले कसलाई भलो गर्ला र ! आउनुस्, पछिल्लो राजनीतिमा भित्रभित्रै निर्णय भएर भित्रै त्यो निर्णय खारेज भएको एउटा घटनाको चर्चा गरौं ।
यो पंक्तिकारले चैतको तेस्रो साता फेसबुकमा सानो संकेत सार्वजनिक गरेको थियो,‘ सम्भवतः यसै साता भित्र गृहमन्त्री पदबाट रवि लामिछाने बाहिरिने । यो सम्भावित विषयलाई प्रचण्डले गृहमन्त्री रविलाई जानकारी दिने तयारी । वैशाख १५ भित्र गठबन्धनमै परिवर्तन आउन सक्ने ।’ यो विषय सार्वजनिक हुँदा धेरैलाई आश्चर्य लागेको थियो । रास्वपा र उनीहरुका नेताहरूलाई अस्वाभाविक लागेको थियो । तर, यो निर्णय हुनेवाला थियो । तर, भएन किन ? कहाँ मोडिए प्रचण्ड र अहिलेसम्म गृहमन्त्री रवि लामिछानेले निरन्तरता पाइरहेका छन् ? यसको वास्तविकता बुझ्न ०८० सालका फागुन र चैत महिनामै फर्कन पर्छ ।
२१ फागुन २०८० मा नयाँ मन्त्रिमण्डल गरेपछि प्रधानमन्त्री प्रचण्डलाई एउटा धर्मसंकट परेको थियो । एमाले भन्छ, कुनै हालतमा रविलाई गृहमन्त्री दिन हुँदैन, रवि भन्थे गृहमन्त्री नपाए रास्वपा सरकारमा सहभागी हुँदैन । पहिलो दिनमै रास्वपाका डीपी अर्यालले मन्त्रीमा शपथ खाएपछि सोही राती रविको कोर टीमबीच भएको छलफलमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री नपाए नयाँ गठबन्धनमा नरहने निर्णयमा पुगिसकेका थिए । भोलिपल्ट बिहानै प्रचण्डलाई भेट्न रवि बालुवाटार पुगेर भने, ‘अघिल्ला अधुरा काम गर्न र आफूमाथि तेर्सिएका आरोपको सही जवाफ दिन गृहमन्त्री बाहेक सोच्नै सक्दैनौँ ।’
फागुन २२ गते दिनभर एमालेले रास्वपाको शर्त मान्न तयार भएन । बेलुका अबेरसम्म पनि अर्थ र गृह मन्त्रालय कसले पाउने भन्ने बारेमा गलफती चलिरह्यो । गृहलाई आफ्नो पोल्टामा पार्न सोही राती नै रवि बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीलाई भेटेका थिए । अन्ततः फागुन २३ गते बिहान तीन दलबीच सहमति जुट्यो, अर्थमा वर्षमान पुन, गृहमा रवि लामिछाने हुने । साँझ रविले मन्त्री पदको शपथ खाए । यो प्रक्रिया चलिरहँदासम्म देउवाले पुरानो गठबन्धन फर्काउन सकिन्छ कि भनेर अनेक प्रयास गरेका थिए ।
विवादकै बीचमा रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री भएपछि नेपाली कांग्रेसले अब एमालेले नै उठाएको मुद्दा समायो । त्यो थियो, रविका विवादित विषय र सहकारी ठगी प्रकरण ।’ गठबन्धनमा फेरबदल चलिरहँदा यी विषयको छिनोफानो नभएसम्म रविलाई मन्त्री पदमा लैजान एमालेका धेरै नेताहरूले असहमति जनाएका थिए । कांग्रेसले अरु मुद्दा छोडिदियो, तर सहकारी ठगी प्रकरणमा केन्द्रित भएर अघि बढ्यो । नयाँ समीकरणमा स्वयं प्रचण्ड पनि ढुक्क थिएनन् । उनको मनोविज्ञानमा कांग्रेससँगको गठबन्धन भरपर्दो लागिरहेको थियो । दिनहुँ प्रचण्ड नयाँ गठबन्धन ठीक हो कि पुरानो ठीक भन्ने बारेमा अल्झिन्थे । उनी कांग्रेस सभापति शेरबहादुर देउवासँग सौहार्द संवादमा थिए । तर, यो अवधिमा भेट भने भएको थिएन ।
नेपाली कांग्रेस रविको सहकारी ठगी प्रकरण समाधान नभएसम्म संसद चल्न नदिने निर्णयमा पुग्यो । एवं रीतले तीन साता बितिसकेको थियो । यो बीचमा नेपाल प्रहरीको सीआईबी ब्यूरोले एउटा सूचना जारी गरिदियो, ‘रवि बारेमा कतै उजुरी छैन ।’ यो सूचनाले झन कांग्रेस चिढियो । प्रधानमन्त्री प्रचण्ड पनि प्रहरीकै भनाइलाई आधार बनाएर रवि जी माथि जुन आरोप लगाइएको छ, त्यो कतै पुष्टि भएको नभएकोले छानविन गर्न नपर्ने बताइरहेका थिए ।
संसदमा गतिरोध, मिडिया तथा सामाजिक संजालमा आलोचना र आफ्नै पार्टी भित्र पनि नैतिकताको जवाफ माग हुने क्रम बढेपछि प्रधानमन्त्री प्रचण्ड कांग्रेससँग सहमतिमा पुग्ने बाटो खोज्न थाले । यो बीचमा कांग्रेसका अनेक पक्षमा प्रचण्डको कहीँ न कहीँ वार्ता भइरहेको थियो । प्रचण्ड देउवासँग भेटेरै कुरा गर्न चाहन्थे । दुवै जनाको सल्लाह बमोजिम १४ चैत २०८० को राती देउवा प्रचण्डको भेट प्रधानमन्त्री निवास बालुवाटारमा भयो । नयाँ गठबन्धन भएपछि देउवाको प्रचण्डसँग भएको यो नै पहिलो भेट थियो । हुन त यो भेटमा टीआरसी विधेयक लगायत विषयमा छलफल भएको सूचना बाहिर आएको थियो । तर, यहाँ अर्को महत्वपूर्ण विषयमा दुई नेताबीच छलफल भएको थियो ।
हुन त अघिल्लो दिन देउवाले पार्टीको मागका बारेमा जानकारी दिन नेताद्धय कृष्णप्रसाद सिटौला र गगन थापालाई प्रचण्ड कहाँ पठाएका थिए । सोही भेटमा भएको सकारात्मक छलफलका कारण भोलिपल्टै देउवा प्रचण्डका कहाँ पुगेका थिए । भेटमा देउवाले प्रचण्डलाई आश्वासन दिएका थिए,‘रास्वपालाई सरकारबाट हटाउनुस्, कांग्रेसले सरकारलाई समर्थन गर्नेछ ।’ देउवाको यो भनाई सुनेर प्रचण्ड अलमलिए । उनले ओलीसँग सल्लाह गरेर आफू निर्णयमा पुग्ने बताए ।
अब राजनीति बजारमा अर्को हल्ला चलिरहेको थियो,‘नयाँ गठबन्धन भत्किने ।’ यो विषयमा एमाले गम्भीर बन्यो । ओलीले लगत्तै देउवालाई फोन गरेर भनेका थिए, ‘छलफल गरौं ।’ लगत्तै तीन शीर्ष नेताहरूको भेट हुने चाँजोपाँचो मिल्यो । अन्ततः १७ चैत २०८० मा देउवा, ओली र प्रचण्डको बालुवाटारमा भेट भयो । यो भेटमा संसदको गतिरोध अन्त्य गर्न ओलीले देउवा समक्ष तीन दल मिलेर जाने कुरा सुनाएका थिए । हुन त यो विषयमा गम्भीर छलफल गर्न अघिल्लो दिनमा देउवा प्रचण्डको भेट भइसकेको थियो । यसैमा आधारित तीन शीर्ष नेताहरूको बैठकमा एकखाले मौखिक सहमति भएको थियो ।
यो कुरा अर्थमन्त्री वर्षमान पुनले थाहा पाइसकेका थिए । पुन चाहन्थे, कुनै हालतमा फेरि कांग्रेससँग सहकार्य गर्न हुँदैन । सोही बेलुका पुनले प्रचण्डलाई भेटेर भनेका थिए, ‘कांग्रेससँगको सहकार्यमा जान हुँदैन, एमाले र रास्वपाको साथ अनिवार्य छ ।’ भोलिपल्ट तीन नेताहरु बीचको संवादका बारेमा रवि लामिछाने गम्भीर बनिसकेका थिए । उनले लगत्तै प्रचण्डलाई भेट्न एक्लै बालुवाटार पुगे । हाम्रो इमान्दारितालाई तपाईंले घात गर्न पाउनु हुन्न । रास्वपाले तपाईंलाई पूर्णसाथ दिन तयार छ ।’ त्यसपछि फेरि प्रचण्डको मन अन्ततिर मोडिन थाल्यो । भोलिपल्ट एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने,‘यो गठबन्धन ०८४ सालसम्म जानेछ, शंका नगर्नु होला ।’ यसरी प्रचण्डले एकाएक तीन दलबीचको सहमति भत्काएर युटर्न हुन पुगेका थिए । जुन मोडले अहिलेसम्म रवि लामिछानेलाई गृहमन्त्री पदमा निरन्तरता दिइरहेको छ ।
प्रचण्डको रातारातको यूटर्नले फेरि कांग्रेस झस्कियो । प्रचण्डको यो सार्वजनिक अभिव्यक्तिका कारण कांग्रेसले फेरि अर्को उपाय खोज्न थाल्यो । एमालेले प्रचण्डलाई यो गठबन्धन भत्कन नहुनेमा दबाब दिइरहेको थियो । किनकी, एमालेलाई माओवादीको सहयोगबाट इलाममा चुनाव जित्नु थियो । यो अवधिमा कांग्रेसले एमालेलाई दुई ठूला दलबीच गठबन्धन गर्ने प्रस्ताव राख्यो । यसका लागि नेता शेखर कोइरालाले ओलीसँगको भेटमा अवगत गराएका थिए । यो कुरा सुनेपछि प्रचण्ड झस्किए । अब भने बाटो बदल्न हुँदैन, नयाँ गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने प्रचण्ड निष्कर्षमा पुगिसकेका थिए ।
पुरानो गठबन्धन भत्किनु अघि र पछि रविले सरकारमा सहभागी हुन शर्त लिएर प्रचण्डलाई कयौँ पटक भेटिसकेका थिए । २०८० वैशाख १० गते चुनाव जितेर राजधानी फर्केपछि १७ गते रवि प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । त्यो भेटमा एकखाले सरकारमा सहभागी हुने मनसाय रविले प्रचण्ड समक्ष राखेका थिए । दोस्रो पटक निर्वाचित भएपछि रविले प्रचण्डलाई सात पटक प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको आगन्तुक पुस्तिकामा रेकर्ड छ । अन्ततः २०८० फागुन दोस्रो साता बालकोटमा ओलीसँग भएको भेटले रविलाई गृहमन्त्री पदमा दोस्रो इन्ट्री गराएको थियो ।
रवि गृहमन्त्री भएपछि सबैभन्दा बचाउमा उत्रिएका पात्र हुन्, वर्षमान पुन । पुन तिनै मुख्यपात्र हुन्, जसले उपचार गरेर चीनबाट फर्कने बित्तिकै नेपाली कांग्रेससँगको गठबन्धन भत्काउन रणनीतिक भुमिका खेलेका थिए । जब शेखर कोइराला कांग्रेस एमालेबीचको गठबन्धन हुनुपर्ने प्रस्ताव लिएर ओलीसँग भेट्थे, तब रविलाई विश्वास दिलाउन पुनले भुमिका खेलिरहेका हुन्थे । यो क्रम आजसम्म जारी छ । ०८० सालको चैतको अन्तसम्म दैनिक अदलबदल गरिरहेका प्रचण्डलाई नयाँ गठबन्धनमै युटर्न गर्न लगाउने मुख्य व्यक्ति हुन्, वर्षमान पुन ।
प्रचण्डको प्रत्येक सेकेण्डको अस्थिरताले जति उनकै पार्टी क्षतविक्षत हुन पुगेको विगत छ, त्यति नै वर्तमानमा रास्वपालाई सरकारमा अड्याइरहन भुमिका खेलिरहेको छ । अहिले यी प्रचण्डको अस्वाभाविक चर्तिकलाबाट एमालेले कांग्रेससँगको छलफल जारी राखेको छ । माधव नेपाल प्रचण्डसँग असन्तुष्ट छन् भने अर्को सहयात्री दल जसपा फुटिसकेको अवस्था छ । कतै प्रचण्डको हरेक क्षणको अधैर्यताले अर्को युटर्न हुने त होइन, त्यो हेर्न टाढा जान नपर्ला ।
हुन त, सम्मुखमा आएको नीति तथा कार्यक्रम र बजेट सार्वजनिकरणले प्रचण्डको यूटर्नलाई असारसम्म (पोष्टपोण्ड) धकेल्न सक्छ । तर, पनि सरकारमा सहभागी दलहरूको हैरानी र बेचैनी प्रचण्डको धरमर धरमर आनीबानीले तीव्र रुपमा बढिरहेको छ । वैशाख २८ गतेदेखि संचालन हुने संसदको गतिरोध हटाउन कांग्रेससँग कस्तो मोडमा पुगेर प्रचण्ड अडिन्छन्, त्यसले सरकारको स्थिरतालाई निर्धारण गर्नेछ ।
विनोद त्रिपाठी
लामो समय व्यवसायिक पत्रकारितामा डटेर लागेका पत्रकार त्रिपाठी विभिन्न मुलधारका राष्ट्रिय दैनिक, टेलिभिजन र अनलाइनहरुमा सम्पादकको भुमिका निर्वाह गरिसकेका छन् । हाल त्रिपाठी नेपालबहसका नियमित स्तम्भकार हुन् ।
लेखकबाट थपबिर्सिन नसकिने प्रतियोगिता एनपिएल क्रिकेट
पुष ७, २०८१ आइतबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
ठूलो जनशक्तिलाई बेरोजगार बनाएको शिक्षाका कुरा गरौँ
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार