हाटबजारको खुला शौचले विद्यार्थीमा मनोवैज्ञानिक असर
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार १५:२२:३६
![](https://nepalbahas.prixacdn.net/media/albums/toilet_RMTC2uICPX_2QBgjY4B7q.jpg)
२७ वैशाख, पर्सा । वीरगन्जको घण्टाघरसँगै रहेको खुल्ला हाट बजारमा आउने सर्वसाधारणले खुला शौच गर्ने बानीले रेल्वे माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा मनोवैज्ञानिक असर पारेको छ । हाट बजार क्षेत्रमा आउने सर्वसाधारण, व्यापारी तथा सवारीचालक विशेषगरी पुरुषहरुले विद्यालयको अगाडीको भागतर्फ फर्केर खुल्ला शौच गर्दा विद्यालयमा अध्ययनरत छात्रछात्रा र शिक्षक/शिक्षिकामा पनि नकारात्मक असर पार्दै आइरहेको छ । खुला हाटबजारबाट विद्यालय पश्चिम दिशामा अवस्थित छ ।
हाटबजारको एक मिनेटकै दुरीमा सार्वजनिक शौचालय नभएको पनि होइन । तर, जनचेतनाको अभाव र मनलाग्दी ढङ्गले शौच गर्ने प्रवृत्तिकै कारणले कलिला उमेरका बालबालिकामा मनोवैज्ञानिक असर पार्ने गरेको हो । रेल्वे माध्यमिक विद्यालयका प्रधानाध्यापक (प्रअ) प्रभुप्रसाद रौनियारले हाट बजारमा आउने सर्वसाधारणले विद्यालयतर्फ फर्किएर शौच गर्दा बालबालिकामा नराम्रो असर पार्दै थालेको बताउँछन् ।
‘‘हाटबजारमा आउनेहरुले विद्यालयतर्फ फर्किएर शौच गरिरहेको दृश्य देख्दा लाजैमर्दो अवस्था हुने गर्छ,’’ उनले भने, ‘‘विद्यालयको पर्खाल होचो भएकाले पनि शौच गरिरहेको दृश्य नचाहेर पनि देख्नुपर्ने बाध्यता छ । यो समस्याको विषयमा सम्बन्धित निकायमा मौखिक जानकारी गराउँदै आइरहेको छु ।’’ विद्यालयमा साढे ६ सय भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।
प्रअ रौनियारले कलिला उमेरका बालबालिकालाई यस्ता खालका दृश्यले मनोवैज्ञानिक असर पार्न सक्ने बताउँछन् । यो विद्यालय वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा पर्दछ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जवाहरप्रसाद गुप्ताले बजारमा आउनेले खुला शौच गर्दा विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकमा असर पार्दै आइरहेको बताए । ‘‘खुला तरकारी बजारमा आउनेले खुला शौच गर्ने विषयमा बारम्बार नगर कार्यपालिकाको बैठकमा आवाज उठाउँदै आइरहेको छु । यसलाई व्यवस्थित गर्न जरुरी भइसकेको छ ।’’
उनले भने,‘‘सो समस्या समाधानको लागि विद्यालय प्राङ्गणमा अग्लो खालको पर्खाल लगाउनुपर्ने देखिन्छ । त्यसो गर्न नसकिने हो भने बजारमा खुला शौच गर्न रोक लगाउन जरुरी भइसकेको छ ।’’ वडाध्यक्ष गुप्ताले जभाभावी रुपमा विद्यालयतर्फ फर्किएर शौच गर्दा छात्रा र शिक्षिकालाई अझै धेरै अप्ठ्यारो परिरहेको बताए । ‘‘वडासँग पर्याप्त बजेट नभएकाले पनि सो समस्या समाधान गर्न सकेका छैनौँ,’’ उनले भने,‘‘अब यो समस्याको विषयमा गम्भीर भएर समाधान गर्नेतर्फ अग्रसर हुनेछौँ ।’’
वडाध्यक्ष गुप्ताले आफू जनप्रतिनिधि भएर आएसँगै प्रत्येक वर्ष विद्यालयको लागि बजेट विनियोजन गर्दै आइरहेको पनि दावी गरे । ‘‘पहिलो वर्ष विद्यालयको छानो र सिँढी संरचना बनाउन तीन लाख बजेट उपलब्ध गराएका थियौं,’’ उनले भने, ‘‘यो वर्ष पनि विद्यालय प्राङ्गणमा नाली निर्माण गर्न रु पाँच लाख बजेट विनियोजन भएको छ । सो बजेटले अहिले निर्माणसम्बन्धी काम हुँदै छ ।’’
बजारक्षेत्रसँगै जोडिएर सार्वजनिक शौचालय पनि छ । सो सार्वजनिक शौचालयमा शौच गर्ने मूल्य धेरै भएको प्रयोगकर्ताको गुनासो छ । सो सार्वजनिक शौचालयमा पिसाब फेरेको रु १०, दिसा गरेको १५ र नुहाउनेका लागि रु ४० तोकिएको छ ।
वडाध्यक्ष गुप्ताले सार्वजनिक शौचालयको मूल्य बढी र सर्वसाधारणमा जनचेतनाको अभावकै कारणले खुला शौच गर्दै आइरहेको बताए । ‘‘हामीले खुला दिसामुक्त क्षेत्र भनेका छौँ । तर जथाभावी दिसापिसाबले सहरलाई नै दुर्गन्धित बनाइरहेको छ ।’’
महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले जथाभावी रुपमा शौच गर्नेलाई नियन्त्रण गर्न कर्मचारी खटाएर सुधार्न खोजिरहे पनि पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको बताए । ‘‘हामीसँग कर्मचारी अभावको कारणले २४ सै घण्टा कर्मचारी खटाउन सक्ने अवस्थामा छैनौँ । महानगरले बेलाबेलामा बजार व्यवस्थापन गर्ने टोलीसँग पनि खुला शौच नियन्त्रण गर्न निर्देशन दिँदै आइरहेका छौँ ।’’ शाखा प्रमुख मियाँले अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएको हाटबजारलाई हटाएर पार्क बनाउने योजना रहेको पनि बताए । ‘‘अहिले अव्यवस्थित रुपमा राखेको हाट बजार हटाउने क्रममा छौँ । एक महिनाभित्रै हटाउनेछौं,’’ उनले भने ‘‘यस अघि एक पटक मेयरसाबले पनि हटाउने पहल गर्नुभएको थियो । तर, विभिन्न अवरोधले अघि बढ्न सकेन ।’’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस सबैभन्दा कमजोर
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
माघ २८, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार