सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
केदार भट्टराई (काका)
बैशाख २९, २०८१ शनिबार १५:३५:७
२९ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यतिबेला नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री छन् । विभिन्न सहकारीको रकम हिनामिना गर्ने कार्यमा उनको पनि संलग्नतालाई लिएर राष्ट्रिय रुपमा बहस चलिरहेको छ । प्रतिपक्ष नेपाली कांग्रेसले सरकारको उपप्रधान तथा गृहमन्त्री भएको व्यक्तिमाथि सहकारी ठगीको विषय जोडिएकाले यसमा छानबिन हुनुपर्छ र यसका लागि संसदीय समिति बनाउनुपर्छ भनिरहेको छ । तर, सत्ता पक्ष रवि लामिछानेलाई केन्द्रमा राखेर सहकारीबाट ठगिएका बचतकर्ताको पक्षमा समिति बनाएर छानबिन गर्न तयार छैन ।
गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न सरकार तयार नहुँदा लाखौं बचतकर्ता अन्यायमा पर्ने र ठगहरूले सहजै उन्मुक्ति पाउने परिस्थिति एकातर्फ देखिँदै छ भने अर्कोतर्फ संसदका काम कारवाही प्रभावित भइरहेका छन् । सत्तापक्ष र प्रतिपक्षको बीचमा कारण बनेर उभिएको छ संसदीय छानबिन समिति । सरकार समिति बनाउन तयार नभएपछि प्रतिपक्ष कांग्रेस पनि त्यो नबनेसम्म संसद चल्न नदिने अडानमा उभिएको छ । खासमा समिति बनाएर जाने हो भने अरु कुरामा विवाद देखिँदैन ।
वैशाख २८ गते शुक्रबार संसदको बजेट अधिवेशन सुरु हुनुपूर्व बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसदीय छानबिन समिति बनाउँदा पर्ने समस्याका बारेमा सांसदहरूलाई ब्रिफिङ गरेका थिए । उनले संसदीय छानबिन समिति बनाएपछि गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने अवस्था आउने र गृहमन्त्रीबाट राजीनामा दिनुपर्ने परिस्थितिलाई हामीले रोक्न सकेनौ भने सरकार ढल्ने बताएका थिए । रविले राजीनामा दिएर सरकारबाट बाहिरिए पछि बल्ल बल्ल आफ्नो हातमा आएको सरकार फेरी जान्छ । यसरी समिति बनाउने कुरा गर्नु हुँदैन ।
प्रधानमन्त्री प्रचण्डलाई पनि यही समस्या छ । रविले राजीनामा दिएको अवस्थामा सरकार कति जाला ? फेरी कांग्रेससँग मिलेर प्रधानमन्त्री बन्ने अवसर नआउन सक्छ । बरु सहकारीका विषयमा एउटा सामान्य निर्णय मन्त्रिपरिषदबाट गराएर कांग्रेसलाई मुखबुझो लगाउन सकिन्छ कि भन्ने आसमा प्रधानमन्त्री छन् । यसैले संसदीय छानबिन समिति बनाउने कुरामा उनको पनि सहमति छैन । भरसक ओलीले यो समितिको कुरा ढिसमिस बनाउन भन्ने चाहना प्रचण्डको छ । तर, कांग्रेस अन्तिम लडाइका रुपमा अगाडि आइसकेको छ ।
कांग्रेसले रवि लामिछानेसहितका सहकारी ठग्नेमाथि संसदीय छानबिन समिति बनाएर जानुपर्छ भनिरहेका बेला कांग्रेससँग के प्रमाण छन भन्ने विषय पनि उठेको छ । शनिबार सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले रवि विरुद्ध प्रशस्त प्रमाण भएकाले समिति गठनको मागबाट पछि नहट्ने निर्णय गरेको छ । यसबारे थप निर्णय सोमबारको संसदीय दलको बैठकबाट हुने कांग्रेसले जनाएको छ । अहिले जीबी राईसँग मिलेर गृहमन्त्री रवि लामिछानेले सूर्य दर्शन, सुप्रिम, स्वर्ण लक्ष्मी लगायतका सहकारीका हजारौं बचतकर्ताको करोडौं रुपैयाँ गोरखा मिडिया लगायत संस्थाहरू प्रयोग गरेर अपचलन गरेको कांग्रेसको ठहर छ ।
सरकारले सरकारी संयन्त्र प्रयोग गरेर प्रमाण नष्ट गराउँदै गएपनि कांग्रेसले तिनै सरकारी संयन्त्र प्रयोग गरेर नष्ट गरिएका प्रमाणहरू एकत्रित गरेको अनुमान गरिएको छ । कांग्रेस पटक पटक सत्तामा रहने पार्टी भएकाले सरकारकै जति हैसियत राख्छ प्रशासनमा । गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत हिनामिनामा आफू संलग्न नरहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयबाट पत्र लिए पनि रूपन्देही जिल्ला अदालतमा प्रस्तुत प्रहरी प्रतिवेदनमा बिना धितो, बिनाप्रक्रिया ऋण लिएको कुरालाई कांग्रेसले नोट गरेको छ । रविको नाम छ तर, अनुसन्धान प्रतिवेदनमा रविलाई अभियुक्त बनाइएको छैन । किन बनाइएन भन्ने कुरा प्रहरीले नै कांग्रेसलाई जानकारी दिएको छ ।
करिब १० हजार बचतकर्ता रहेको बुटवलको सुप्रिम सहकारीका १ हजार ८ सय ३१ सदस्यले प्रहरीमा गत चैत १ मा दिएको उजुरी कांग्रेसले राख्ने नै भयो । प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले वैशाख ३ मा जिल्ला अदालतमा बुझाएको अभियोजन पत्रमा लामिछानेले बिना धितो ऋण लिएको मात्र होइन, किस्ता तिर्दासमेत सहकारीकै पैसा अपचलन गरिएको उल्लेख छ । यसलाई पनि कांग्रेसले नोटमा राखेको छ ।
त्यो अभियोजन पत्रमा ऋणीको नाम र खाता नम्बर शीर्षक अन्तर्गत ८ नम्बरमा रवि लामिछाने, गोर्खा मिडिया प्रालि र बैंक खाता उल्लेख छ । प्रतिवेदनमा नै रवि लामिछानेका नाममा दुई करोड व्यापार कर्जा स्वीकृत भई एक करोड ९६ लाख गोर्खा मिडिया नेटवर्क प्रालिको खाता नं. ०४०१०१००००५७७७ मा ग्लोबल आईएमई बैंकमा जम्मा भएको कागजात छ । यसलाई पनि कांग्रेसले नोटमा राखेको छ । २ करोड ऋणबापत चार लाख रुपैयाँ सेवा शुल्क कट्टा गरेर १ करोड ९६ लाख रुपैयाँ जम्मा गरिएको नोट प्रहरीले नै दिएको छ ।
लामिछानेले सूचना माग्ने अधिकार राखेपनि महान्यायाधिवक्ताले रविलाई पठाएको पत्र विवादमा परेको छ । यसले उपप्रधान तथा गृहमन्त्रीको हैसियतमा संवैधानिक निकायको दुरुपयोग गरेको ठहर्छ । महान्यायाधिवक्ताको कार्यालयले गत सोमबार गृहमन्त्री रवि लामिछानेलाई व्यक्तिगत रूपमा पठाएको पत्र सार्वजनिक भएको थियो । आफूमाथि छानबिन भए नभएकोबारे जानकारी गराउन लामिछानेले निवेदन दिएपछि जवाफमा महान्यायाधिवक्ता कार्यालयले छानबिन नभएको भनी दिएको जवाफ सहितको पत्र पठाएको थियो । सरकारी ठगीको विषयमा महान्यायाधिवक्ताको कार्यालयले सफाइ दिन नमिल्ने कांग्रेसको भनाइ हो ।
गत २४ वैशाखमा महान्यायाधिवक्ताको कार्यालयले काठमाडौं महानगर– ६ बौद्ध महांकाल बस्ने रवि लामिछानेको नाममा पठाएको पत्रमा कतै पनि गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद भनी खुलाइएको छैन । तर अरू विवरण र व्यहोराहरू हेर्दा र व्यक्तिगत विवरणसमेत भिडाउँदा उनी गृहमन्त्री रवि लामिछाने नै भएको खुल्छ । पत्रमा उनले जानकारी माग गरेकाले सम्बन्धित निकायबाट विवरण मागेर जवाफ दिइएको उल्लेख छ । यसपछि कांग्रेसले कुन रवि हो भने प्रश्न उठाएको हो ।
उता, पोखराको सूर्य दर्शन सहकारीका विषयमा महानगरले तयार पारेको अध्ययन प्रतिवेदनमा पनि लामिछानेले कारोबार गरेको उल्लेख छ । पीडितले दीपेश पुन र लामिछानेसहित १८ विरुद्ध प्रहरीमा पूरक जाहेरी दिएका थिए । जाहेरीमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । पोखराको सूर्य दर्शन, चितवनको सहारा, वीरगन्जको सानो पाइला, बुटवलको सुप्रिम, नेपालगन्जको समानता र काठमाडौंको स्वर्ण लक्ष्मी सहकारीका करिब ४९ हजार बचतकर्ताको कम्तीमा ५२ करोड गोर्खा मिडिया नेटवर्कमा सारिएको तथ्यांक आफूसँग भएको कांग्रेसको दावी छ ।
सुप्रिम सहकारीले रकम पठाएका कम्पनीहरूको सञ्चालक समितिको विवरण शीर्षकमा गोर्खा मिडिया प्रालिका सञ्चालकमा दुई जनाको नाम उल्लेख छ । त्यसको एक नम्बरमा गितेन्द्रबाबु राईका नाममा १० लाख २० हजार शेयर संख्याबापत १० करोड २० लाख रुपैयाँ रहेको उल्लेख छ । दुई नम्बरमा रवि लामिछानेको नाम छ । उनका नाममा सेयर संख्या १ लाख ८० हजार रहेको उल्लेख छ । त्यसबापत १ करोड ८० लाख रुपैयाँ रहेको जनाइएको छ । बुटवल प्रहरीको अनुसन्धान प्रतिवेदनमा लामिछानेको नाम, रकम र कैफियत तथ्यसहित आफूले राखेको कांग्रेसको भनाइ छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार