बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
रेशम चौधरी र आरजु राणा निशानामा
कुसुम सेञ्चुरी
बैशाख ३०, २०८१ आइतबार १२:६:२
३० वैशाख, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी छाला जुत्ता कारखाना र बाल मन्दिरको जग्गाको अनुसन्धानपछि कैलालीको टीकापुरस्थित ३० बिघा सरकारी जग्गा हिनामिना काण्डको पनि फाइल अघि बढाएको छ । केही दिन अघि सो सम्बन्धी फाइल प्रहरीले झिकाएर अनुसन्धान शुरु गरेको हो ।
गृहमन्त्री रवि लामिछानेले शनिवार मात्रै चितवन पुगेर सीआईबीले टीकापुरस्थित ३० बिघा सरकारी जग्गाको अनुसन्धान गर्ने संकेत गरेका थिए । टीकापुर क्षेत्रको विकास गर्न भनेर स्थापित टीकापुर विकास समिति र पहुँचवालाहरुको मिलेमतोमा उक्त क्षेत्रमा ठूलो मात्रामा सरकारी जग्गा हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिसकेको छ । सो काण्डमा कांग्रेस नेतृ डा. आरजु राणादेखि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसम्म संलग्न रहेको भन्दै सीआईबीलाई अनुसन्धान गर्न निर्देशन गइसकेको स्रोतले जनाएको छ ।
टीकापुर बजार क्षेत्रमा करिब ६ सय रोपनी सरकारी जग्गा हिनामिना भएको प्रारम्भिक निष्कर्ष छ । उक्त जग्गा राजनीतिक पहुँच र मिलेमतोमा हिनामिना भएको आरोप लाग्ने गरेको हो । राजनीतिक र सामाजिक पहुँचका आधारमा आरजुको नाममा करिब ४ कट्ठा र रेशमको नाममा ५ कट्ठा सरकारी जग्गा पुगेको सीआईबी स्रोतको दाबी छ । टीकापुरमा पञ्चायतकालदेखि प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रकालसम्म आइपुग्दा पहुँच र प्रभाववालाले सरकारी जग्गा हिनामिना गरेको देखिन्छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत टीकापुरको सरकारी जग्गा घोटाला काण्डमा एक चरणको भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । अख्तियार अर्को चरणमा प्रवेश गर्न लाग्दा उक्त काण्डमा सीआईबी तातेको हो । सीआईबीको टोली टीकापुर पुगेरै स्थलगत अध्ययन गर्ने तयारी गरिरहेको छ ।
पछिल्लो समय नक्कली लाइसेन्स र बाल मन्दिरको जग्गा कीर्ते काण्डमा हात हालेको सीआईबीले टीकापुरको सरकारी जग्गा हिनामिना काण्डमा समेत अग्रसरता देखाएको छ । सीआईबीले यतिमात्र होइन तारागाउँ विकास समितिको फाइल पनि झिकाएर हेर्न थालेको स्रोतले जनाएको छ । सो जग्गासँग सम्बन्धित कागजात झिकाएर अध्ययन गर्ने, सम्बन्धित निकाय तथा जानकारहरूसँग सोधपुछ गर्ने, डकुमेन्ट कलेक्सन गर्ने काम भइरहेको छ । पर्यटन क्षेत्रको विकास गर्न पर्यटन मन्त्रालय मातहत रहने गरी २०३४ सालमा तारागाउँ विकास समिति स्थापना गरिएको थियो । बौद्धमा स्थानीयलाई विस्थापित गरेर सांस्कृतिक केन्द्र स्थापना गर्ने भन्दै ३०४ रोपनी जग्गा सरकारले त्यतिबेला अधिग्रहण गरेको थियो । त्यही जग्गा तारागाउँलाई दिइएको थियो ।
तारागाउँले राधेश्याम सर्राफ र दिनेशलाल श्रेष्ठको समूहसँग मिलेर उक्त ठाउँमा होटल खोल्ने योजना बनाएको थियो । तर त्यसका लागि बाधक बन्यो मालपोत ऐन । मालपोत ऐनअनुसार सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न मिल्दैन । त्यसपछि कानूनी छिद्र खोजेर तारागाउँ विकास समितिले आफ्नो नाममा रहेको ३०४ रोपनी जग्गा मध्ये १५० रोपनी जग्गा तारागाउँ रिजेन्सी होटल्स लिमिटेडलाई स्वामित्व हस्तान्तरण गरिएको थियो । सोही जग्गामा अहिले हायात रिजेन्सी होटल सञ्चालनमा छ ।
पछि २०५१ साल जेठ ५ गते तारागाउँ विकास समिति र राधेश्याम सर्राफबीच १ सय ४८ रोपनी जग्गा स्वामित्व हस्तान्तरण गर्ने सम्झौता भएको थियो । ४९ वर्षका लागि लिजमा दिने र स्वामित्व समेत हस्तान्तरण गर्न सकिने गरी भएको त्यो सम्झौता नै गैरकानुनी रहेको बताइएकाले सीआईबीले अनुसन्धान शुरु गरेको थियो । सरकारी जग्गा किन कम्पनीको नाममा दर्ता भयो र त्यो काममा क–कसको भूमिका थियो भन्नेबारे अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ । यता अख्तियारले यसअघि नै यो विषयमा अनुसन्धान गरेर जग्गाको समय सापेक्ष मुल्यांकन हुनुपर्ने बाहेक अन्य कुरा केही पनि खुलाएको थिएन ।
तारागाउँको जग्गासँगै सीआईबीले हरिसिद्धी इटा टायल कारखानाको जग्गालाई पनि अनुसन्धानको राडारमा राखेको स्रोतले जनाएको छ । सरकारले २०२१ फागुन २५ मा जग्गा प्राप्त ऐन २०१८ अनुसार हरिसिद्धिको जग्गा अधिग्रहण गरेको थियो । चीन सरकारको सहयोगमा हरिसिद्धि इट्टा तथा टायल कारखाना खोल्नका लागि भन्दै सरकारले जग्गा अधिग्रहण गरिएको थियो । सुरुमा ७ सय रोपनी अधिग्रहण गर्ने भनिए पनि पछि ५ सय ७० रोपनीमात्र जग्गा अधिग्रहण गरिएको थियो । अधिग्रहण गरिएको जग्गा कारखाना सञ्चालनलाई बढी भएको भन्दै पछि १ सय ५० रोपनी जग्गा किसानलाई नै फिर्ता गरिएको थियो । पछि सोही जग्गा कौडीको भाउमा बेचिएको थियो । खरिदकर्ता एनबी ग्रुपका जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठले कारखाना अन्य व्यक्तिलाई ठेक्कामा चलाउन दिएका छन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार