अभिशाप बन्यो खडीखानीको सपना !
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार १५:२२:५४
♦ भूमिराज पिठातोली
३० वैशाख, बझाङ । कुनै बेला बझाङका युवाका लागि भारतको उत्तराखण्डका खडीखानी (लेख्ने चकजस्तै ढुङ्गाको खानी) जानु ठूलो ‘सोख’ र ‘सान’को विषय थियो । खडिखानीमा पसिना चुहाएर मनग्गे आम्दानी हुने भएपछि स्थानीय युवाको सपना नै ठेकेदारमार्फत उत्तराखण्ड जान्थे ।
यतिसम्म कि यहाँका धेरै युवाले कमाइको लोभमा माध्यमिक तहको अध्ययन गर्नुभन्दा मुग्लान पस्नुलाई आफ्नो भलाई ठान्थे । त्यस्तै नियतिले मष्टा गाउँपालिका–६ का लक्ष्मण बोहरालाई पनि पछ्यायो ।
विगत १२/१५ वर्षदेखि त्यहाँ आउनु जानु लक्ष्मणको नियमित कर्मजस्तै थियो । यही क्रममा एक दशकअघि पनि उनले मंसिरमा खेतबारीमा गहुँ छरेर दर्जनबढी आफन्तसँगै दैलो छोडे । सुरुआती दिन राम्रोसँग बिते । यसताका कामको चापले घर छोडेको १५ महिनापछि मात्रै जन्मथलो फर्किएको उनको मानसपटलमा ताजै छ । “जीवनको पहिलो कमाइ बाआमालाई दिँदा उहाँहरूको आँखामा खुसीको आँसु बगेको थियो,” लक्ष्मण सम्झन्छन्, “छोरो गरी खाने भइसक्यो भनेर गाउँ भरि खुसी साट्दै मिठाइ बाँड्नुभएको अहिल्यै हो जस्तो लाग्छ ।”
मेहनतअनुसार खडीखानीको कमाइले बाबाआमालाई सदरमुकाम राख्ने, घर–जमिन जोड्ने र त्यसपछि बिहे गर्ने लक्ष्मणको तयारी थियो तर उनले १० वर्षअघि विवाह गर्नै पर्ने भयो । बिहेपछि पनि उनको कमाइ राम्रै थियो । आवतजावत चलेकै थियो । उहाँ पाँचौपटक बाबाआमा र छोरीलाई सदरमुकाम राख्ने र उतै पढाउने सल्लाह गरेर खडीखानीतर्फ लागे तर यो उनको अन्तिम यात्रा भयो । खानी खन्दैगरेका बेला पहिरो पहिरो झर्यो । त्यही पहिरो उनका लागि अभिशाप बनेर आयो । लक्ष्मणले दिएको जानकारी अनुसार पहिरो झरेपछि सँगै काम गरिरहेका साथीहरू भाग्न सफल भए तर उनी भने सुरूकै ढुङ्गा टाउकोमा लागेर त्यही ढले । पछि ठूलो पहिरोले कम्मरभन्दा मुनीको भाग पूरै च्यापियो ।
“मेरो होस् नै थिएन । अन्य साथीहरूले अचेत अवस्थामै अस्पताल पुर्याए छन् । अस्पतालमा महिनादिनपछि मात्रै मेरो चेत खुल्यो । ठेकेदार र अस्पतालले चलखेल गरेर सञ्चो भइसक्यो भनेर घर पठाए”, ति दिन सम्झिँदै उनी भन्छन्,“सामान्य औषधि दिएर ‘डिस्चार्ज’ गर्यो तर फेरि असञ्चो भएपछि मेरा भाइहरू भएको ठाउँ बैङ्लोरमा लिएर उपचार गरियो ।”
त्यहाँ चार महिनासम्म उपचार गरिएपछि चिकित्सकको सल्लाहमा औषधि बोकेर घर पठाइएको उनले बताउछन् । “घर फर्कँदा मर्नु न बाँच्नु भयो । अहिले आमाबुबा र श्रीमतीले स्याहार्दै आएका छन् । छ वर्षदेखि परिवारको सहयोग र औषधिको भरमा स्वास धानिएको छ”, लक्ष्मणले मलिन मुद्रामा भने ।
लक्ष्मणको मेरुदण्ड भाँचिएको हुँदा कम्मरभन्दा तलको भाग चल्दैन । अहिले ७३ वर्षीय बुबा धनपति बोहराले उनलाई सहारा दिइरहेको छ । आफू र श्रीमतीले पाउने वृद्धभत्ता र छोरा लक्ष्मणले पाउने अपाङ्गता भत्ताबाट परिवारको पेट पालिएको बुबा धनपतिले बताए । “ आफ्नो जीवन बचुञ्जेल सबै छोराका लागि केही व्यवस्था गरिदिने सोच थियो । विडम्बना कान्छो छोरा लक्ष्मणको यो हालत भयो । छोराको उपचारमा भएको सबै सम्पत्ति खर्चिँदा पनि सञ्चो भएको छैन । अब बाँकी दिन कसरी काट्ने होला”, उनले भने ।
बुबा धनपतिका अनुसार छोराको उपचारका लागि रु ३५ लाख खर्च भएको छ भने त्यसमध्ये पाँच लाख भाइ, पाँच लाख रोजगारदाताले दिएको र रु २५ लाख लक्ष्मणकै भागको जग्गा बेचेर खर्च गरिएको हो ।
“बुबाआमालाई सुख दिने बेलामा उल्टै बुढेसकालमा उहाँहरूको गलगाँडजस्तै भएको छु । उठ्न र बस्नसक्ने अवस्था पनि छैन । अझै घाउ सञ्चो भएको छैन । घरका सबैले काम छोडेर मेरै सेवा गरिरहनुपरेको छ”, लक्ष्मणले पीडा पोखे । उनले विगत छ वर्षदेखि मासिक २० हजार बराबरको औषधि नियमितरूपमा सेवन गरिरहनुपरेको सुनाए ।
त्यो खर्च धान्न बोहरा परिवारलाई धौधौ छ । “अन्न नउब्जिएपछि छाक टार्नै मुस्किल छ । कमाई छैन, सामाजिक सुरक्षा भत्ताले खान पुग्दैन । त्यसैमा छोराको उपचारमा ऋण लागेकाले समस्यामा छौँ”, बुबा धनपतिले दुखेसो पोखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
सत्ता पक्षको जागरण सभाले सर्वसाधारणलाई सास्ती
मंसिर ७, २०८१ शुक्रबार
बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार