सोलार म्याक्सीमा : सूर्यमा हलचल, पृथ्वीमा खलबल
चेजेभस्कीले लामो खोजपछि के पत्ता लगाए भने पृथ्वीमा हुने हरेक क्रान्ति, द्वन्द्व, महामारी, प्राकृतिक प्रकोप र युद्धका पछाडि सूर्यमा हुने यस्तै हलचलकै भूमिका छ ।
कुसुम भट्टराई
जेठ २, २०८१ बुधबार १५:२७:४६
२ जेठ, काठमाडौं । सूर्यमा भएको ठूलै हलचलका कारण उत्पन्न शक्तिशाली चुम्बकीय सौर्य तुफान गत शुक्रवार पृथ्वीमा ठोक्कियो । यसको भू–चुम्बीय प्रभावका कारण आकाश ‘नर्थन लाइट’बाट आलोकित भयो । बेलायतका ठूला शहरहरूमा मानिसले आकाशलाई मानौं स्वर्ग झैँ जगमगाएको देखे । जर्मनी र अन्य देशमा पनि ‘नर्थन लाइट’ आलोकित भयो ।
यो निकै 'अद्भुत' घटना थियो । महाशक्तिशाली सौर्य तुफान पृथ्वीमा ठोक्किएपछि यसले पृथ्वीको चुम्बकीय क्षेत्रलाई ‘सुपर चार्ज’ गरिदियो । बेलायत र जर्मनीमा जब आकाश ‘नर्थन लाइट’ले जगमगायो, मानिसहरू त्यसलाई देखेर छक्क परे ।
अमेरिकाको राष्ट्रिय समुद्रीय तथा वायुमण्डलीय प्रशासन (नोआ)का अनुसार सूर्यभित्र ठूलै हलचल भयो र त्यसबाट उत्पन्न तुफानको तीब्र लपेट बाहिर निस्कियो । जसबाट ‘कोरोनल मास इजेक्सन’ (प्लाज्मा तथा चुम्बकीय क्षेत्र उत्सर्जन) भयो । यो ‘मास इजेक्सन’पछि चुम्बकीय तुफान उत्पन्न भयो र शुक्रवार पृथ्वीमा आएर ठोक्कियो । यसपछि नै ‘नर्थन लाइट’ आकाशमा निकै तीब्रताका साथ चम्किन थाल्यो ।
‘गार्जियन’ पत्रिकाको रिपोर्ट अनुसार बेलायतको उत्तरपूर्वी तटस्थित एसेक्स, क्यांब्रिजशायर र बकिंघममा ‘नर्थन लाइट’ निकै स्पष्ट देखियो । यस्तो प्रकाश क्यान्ट, ह्याम्शायर र लिभरपुलमा पनि देखियो । आयरल्यान्डमा पनि यस्तो चम्किलो प्रकाश आकाशमा देखियो । भारतमा यस्तो चम्किलो प्रकाश देखेर मानिसहरू आश्चर्यचकित भए ।
सूर्यमा हरेक सेकेन्ड अर्बौँ परमाणु बम बराबरको उर्जा उत्पन्न भइरहन्छ । हिलियम र हाइड्रोजन ग्यासको आपसी टकराव र उर्जा उत्सर्जनको यो प्रकृयाका कारण सूर्यमा बेला बेलामा भयानक हलचल हुन्छ । सूर्यमा उत्पन्न हुने तुफानले चुम्बकीय तुफान सिर्जना गर्छ र त्यो निकै परसम्म पुग्छ । शुक्रवार पृथ्वीमा सोही चुम्बकीय तुफान ठोक्किएको हो, जसले पृथ्वीको आकाशलाई बेग्लै खालले आलोकित गरायो ।
पृथ्वीको चुम्बकीय क्षेत्र र सौर्य हावाले ल्याएको आवेशित कणहरूबीच परस्पर घर्षण भएपछि पृथ्वीको आकाश चम्किलो हुने गर्छ, जसलाई ‘अरोरा’ भनिन्छ । खासगरी यस्तो घटना पृथ्वीको ध्रुवीय क्षेत्रमा हुने भएकाले यस्तो प्रकाशलाई ‘नर्थन लाइट’ या ‘साउर्थन लाइट’ भन्ने गरिएको छ ।
गत मार्चमा सूर्यको सतहमा लगातार विष्फोट भइरहे पछि वैज्ञानिकहरू चिन्तित भएका थिए । यसरी सूर्यमा हुने बारम्बारको विष्फोटले भू–उपग्रह (स्याटेलाइट), पृथ्वीको तापमान, रेडिएशनको स्तर, दूरसञ्चार र हवाई उडान प्रभावित हुनसक्छ । यस्तो विष्फोटपछि उत्पन्न हुने भू–चुम्बकीय सौर्य तुफानको अंश पृथ्वीसम्म पुगेको खण्डमा उत्पन्न हुने प्रभावबारे वैज्ञानिक संवेदनशील भएका छन् ।
‘सोलार म्याक्सीमा’ प्रारम्भ
हरेक ११ वर्षको अन्तरालमा करिब दुई वर्षसम्म सूर्य निकै सक्रिय रहन्छ र सूर्यमा भयानक विष्फोटहरू भइरहन्छन् । यसलाई ‘सोलर म्याक्सीमा’ भन्ने गरिन्छ । सूर्यमा हुने भयानक विष्फोट र सौर्य तुफानको लप्को सूर्य सतहभन्दा बाहिरसम्म निस्कन्छ र यसबाट उत्सर्जन हुने चुम्बकीय तरंग पृथ्वीसम्म आइपुग्छ ।
दुई वर्षसम्म सूर्य सक्रिय रहन्छ र त्यसपछि विस्तारै सूर्य ‘सोलार मिनिमा’को चरणमा पुग्छ । अर्थात् सूर्यका हुने हलचल शान्त हुँदै जान्छ । ‘सोलार म्याक्सीमा’ र ‘सोलार मिनिमा’को यो ११ वर्षे चक्रलाई ‘सौर्य चक्र’ भनिन्छ । अहिले सूर्य निकै सक्रिय अवस्थामा भएकाले विष्फोट र हलचल भइरहेको हो ।
चेजेभस्कीको खोज
यो त हालै भएको एउटा सामान्य प्राकृतिक घटना हो । सूर्यमा हुने हरेक हलचलले पृथ्वीमा रहेका प्राणी र वनस्पतिमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ ।
सूर्यमा जे पनि घटना हुन्छ, त्यसले हाम्रो शरीरमा कम्पन उत्पन्न गर्छ । किनकी हाम्रो शरीर सूर्यबाटै निर्मित हो । यसरी बुझौँ, सूर्यको सन्तान पृथ्वी, पृथ्वीका सन्तान हामी । अतः हामी सूर्यलाई पितामह पनि भन्न सक्छौं । सूर्य हामीबाट टाढा भए पनि उर्जाका हिसाबले हाम्रो रोम रोममा सूर्यकै अंश छ ।
रुसमा जोसेफ स्टालिनका पालामा एकजना चेजेभस्की नाम गरेका वैज्ञानिक थिए । उनले सूर्यमा हुने हलचलले पृथ्वीमा पार्ने प्रभावबारे तीन दशक लामो अध्ययन अनुसन्धान गरेका थिए । चेजेभस्कीले लामो खोजपछि के पत्ता लगाए भने पृथ्वीमा हुने हरेक क्रान्ति, द्वन्द्व, महामारी, प्राकृतिक प्रकोप र युद्धका पछाडि सूर्यमा हुने यस्तै हलचलकै भूमिका छ ।
चेजेभस्कीको यो निष्कर्ष स्टालिनलाई पटक्कै मन परेन । चेजेभस्कीको निष्कर्ष मार्क्सवाद र लेनिनवाद विपरीत थियो । रुसमा जुन क्रान्ति भयो, त्यो धनी र गरीब या मालिक र मजदुर बीचको वर्ग संघर्षको प्रतिफल थियो भन्ने मान्यतामाथि नै यसले प्रहार गरेको थियो ।
चेजेभस्कीले यस्ता हरेक क्रान्ति पनि सूर्यमा हुने हलचलकै परिणाम भएको निष्कर्ष निकालेपछि वर्ग संघर्षको औचित्यमाथि नै प्रश्न उठ्यो । अनि त क्रोधित स्टालिनले चेजेभस्कीलाई लामो समय जेल सजाय दिए । ख्रुश्चेव आएपछि मात्र उनी रिहा भएका थिए, रिहा भएको केही समयमै चेजेभस्कीको निधन पनि भयो ।
नभन्दै अहिले सूर्य ‘सोलार म्याक्सीमा’ चरणमा छ, त्यसैले एकातिर रुस र यूक्रेनको युद्ध चलिरहेको छ, अर्कोतिर इरान र इजरायलको संकट । यसैबेला विश्वमा आर्थिक मन्दी छाइरहेको छ । विश्व राजनीतिको रस्साकस्सी तातेको छ । आर्थिक द्वन्द्व चरम सीमामा छ । बाढी, पहिरो, भुकम्प र प्राकृतिक प्रकोप बढिरहेको छ । यसपालीको मनसुनमा अन्य वर्षको तुलनामा अतिवृष्टि हुने अनुमान मौसमविदहरुले गरिसकेका छन् ।
चेजेभस्कीको खोजलाई ध्यानमा राखेर भन्ने हो भने ‘सोलार म्याक्सीमा’ दुई वर्षसम्म जारी रहने भएकाले पृथ्वीबासीका लागि आगामी दिनहरू अझ कष्टकर नहोलान् भन्न सकिन्न ।
सन् २०२५ सम्म सौर्य तुफानका कारण पृथ्वीसम्म आइ पुग्ने ‘जियो म्याग्नेटिक स्ट्रोम’ले इन्टरनेट सेवा बन्द गरिदिन सक्ने, स्याटेलाइट सिस्टम ध्वस्त पार्नसक्ने र कतै कतै विद्युत आपूर्तिसमेत अवरुद्ध हुनसक्ने खतरा कायमै छ ।
प्राकृतिक रुपमा यो सामान्य घटना हो । तर, पृथ्वीबासी अहिले सूचना प्रविधि र विज्ञानमा निर्भर रहेको र सौर्य तुफानको प्रभाव यसमै पर्ने भएकाले मानव जनजीवनमा यसले प्रत्यक्ष असर पार्नसक्ने खतरा पनि छ । सन् १८५९ मा पनि निकै शक्तिशाली सौर्य तुफान आएको थियो र त्यसले पृथ्वीका धेरै स्थानमा असर पारेको थियो ।
एलोन मस्कसमेत शिकार
३ फरबरी २०२२ मा एलोन मस्कको कम्पनी ‘स्पेश एक्स’ले एकैपटक ४९ वटा भू–उपग्रह (स्याटेलाइट) अन्तरीक्षमा पठाएको थियो ।
‘स्टारलिंक प्रोग्राम’ अनुसार एलोन मस्क हजारौं भू–उपग्रहमार्फत पृथ्वीमा इन्टरनेट सेवा विस्तार गर्न चाहन्छन् । २०२२ फरबरीसम्म एलोन मस्कले करीब २ हजार स्याटेलाइट सफलतापूर्वक अन्तरीक्षमा पठाइसकेका थिए ।
तर, ३ फरवरीमा पठाइएका ४९ स्याटेलाइट भने अन्तरीक्षमा नपुग्दै बीचमै ध्वस्त भए । यसको मुख्यकारण थियो, सौर्य तुफान अर्थात् ‘जियो म्याग्नेटिक स्ट्रोम’ ।
सूर्यमा उत्पन्न ज्वालामुखीबाट उत्पन्न चुम्बकीय तुफानले एलन मस्कका सबै भू–उपग्रह तहसनहस पा¥यो, जसबाट ‘स्पेश एक्स’ कम्पनीलाई २० मिलियन डलर घाटा भयो । एजेन्सीहरुको सहयोगमा
कुसुम भट्टराई
साढे तीन दशकदेखि पत्रकारिता र लेखनमा सक्रिय वरिष्ठ पत्रकार भट्टराई कुशल विश्लेषक हुन् । हिमालय टाइम्स, कान्तिपुर, अन्नपूर्ण पोष्ट दैनिक लगायत दर्जनौं पत्र पत्रिकामा पत्रकारिता गरिसकेका भट्टराई नेपाली राजनीतिलाई नजिकबाट बुझेका पात्र हुन् । त्यसैले उनको कलम तीखो हुने गर्दछ ।
लेखकबाट थपहुलाक सेवा संवेदनशील र महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ
पुष १, २०८१ सोमबार
दुई हुलाक टिकटमा टाँचा प्रदान
पुष १, २०८१ सोमबार
इन्स्टाग्राममा आउँदैछ नयाँ एआई फिचर, यसरी काम गर्नेछ
मंसिर २१, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार