केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
सन्दर्भ: दासढुंगा दुर्घटना
कुसुम भट्टराई
जेठ ३, २०८१ बिहिबार ११:४७:३६
यो २०५२ सालतिरको प्रसंग हो । ‘देशान्तर साप्ताहिक’मा कलाकार दुर्गा बराल (बात्स्यायान) को एउटा कार्टुन प्रकाशित भयो । कार्टुनमा एउटा ठूलो भाँडोमा सुप उम्लिरहेको छ । छेउमै उभिएका नेकपा(एमाले)का नेताहरु मनमोहन अधिकारी, केपी शर्मा ओली, माधवकुमार नेपाल आदिको हातमा सुप बोउल छ र उनीहरू सुप पान गरिरहेका छन् । सुप उम्लिरहेको भाँडोमा लेखिएको छ, ‘दासढुंगा’ ।
बरालको कार्टुनले पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको दासढुंगामा भएको रहस्यमय मृत्युलाई भजाएर एमालेले कसरी सत्ताको रसपान गरिरहेको छ भन्नेबारे सटीक व्यंग्य गरेको थियो ।
आखिर एमालेको रवैया नै त्यस्तै थियो । ३ जेठ, २०५० मा महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगा दुर्घटनामा रहस्यमय मृत्यु भएपछि एमालेले ‘शोकलाई शक्तिमा बदलौँ’ भन्दै लासमाथि राजनीति प्रारम्भ गर्यो ।
मदनप्रति केपी ओलीको यो द्वैध भूमिकाबाटै उनी मदनको नाम भजाउन त माहिर छन्, तर मदनको सपना पुरा गर्न र मदनका ‘हत्यारा’ पत्ता लगाउन खासै इच्छुक छैनन् भन्ने स्पष्ट हुन्छ ।
यो लेखक तिनताक ‘जनमंच साप्ताहिक’मा कार्यरत थियो । एमालेका नेता÷कार्यकर्ताले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई नै ‘मदनका हत्यारा’ भन्दै सडक आन्दोलन प्रारम्भ गरे । मदनको हत्यामा नेपाली कांग्रेस नै लागेको भन्नेसम्मका आरोप लगाइयो । एमालेले शोकलाई शक्तिमा बदल्ने नाममा काठमाडौंका सडकका रेलिङ भाँच्यो । टेलिफोन बुथ फुटाल्यो । सडकमा टायर बालेर वायु प्रदूषण बढायो । दिनहुँ जुलुस निकालेर राजधानीको ट्राफिक व्यवस्थापन नै ठप्प पारिदियो ।
यद्यपि, त्यो एमालेको ढकोसला मात्र थियो, एमालेलाई मदनका ‘हत्यारा’ पत्ता लगाउने भन्दा पनि मदनको ख्याति र उनको निधनपछि आम जनमानसमा उत्पन्न सहानुभूति भजाएर राजनीतिक लाभ लिनुसँग मतलब थियो । २०५१ को मध्यावधि निर्वाचनपछि एमालेको अल्पमतको सरकार बन्यो । मनमोहन अधिकारी प्रधानमन्त्री बने । तर, ‘हामीलाई मदन–आश्रितका हत्यारा थाहा छ’ भन्दै कुर्लने एमाले नेताहरूले आफ्नो सरकारका पालामा छानविनको कुनै प्रकृया थालेन ।
बरु, मदनको नाम भजाउँदै सत्ता समीकरणको घिनलाग्दो खेलमा सहभागी भयो । मदनप्रति जनता र कार्यकर्ता पङ्क्तिमा भएको अगाध श्रद्धालाई भजाएर सत्तामा पुगेको एमाले मदनका सपनालाई तिलान्जली दिँदै उल्टै पजेरो कान्ड, सुर, सुरा र सुन्दरी काण्ड, चिनी काण्ड, चेज एयर विमान घोटाला काण्ड आदिमा लिप्त रह्यो । ‘शोकलाई शक्तिमा बदलौँ’ भन्ने एमालेले शक्ति पाएपछि शोकलाई नै बिर्सियो, अर्थोक मै भुल्यो ।
‘दुई तिहाई सरकारमा हुँदा राज्यको जस्तोसुकै संयन्त्र प्रयोग गर्नसक्ने अवसर पाएको बेला र मदनकै धर्मपत्नी विद्या भण्डारी देशको राष्ट्रपति भएको बेलामा आफूलाई मदनको सच्चा उत्तराधिकारी दावी गर्ने ओलीले छानविनको कुनै प्रयास गरेनन् ।’
‘कन्स्पीरेसी थ्यौरी’लाई एमालेले मजैले उपयोग गर्यो र अहिले पनि गरिरहेकै छ । अहिले पनि एमाले र माओवादीकै गठबन्धन सरकार छ । तर, कम्युनिष्टहरूको हालीमुहाली भएको सरकारलाई पनि मदन–आश्रितबारे सोच्ने फुर्सद छैन ।
ओलीले ‘हत्यारा’ लुकाए ?
माओवादी सशस्त्र विद्रोहताका माओवादी निकट ‘जनादेश साप्ताहिक’मा ‘टिएन प्रधान’को नाममा हरेक साता सनसनीखेज लेख प्रकाशित हुन्थ्यो, जसमा मदन भण्डारीको हत्यामा केपी ओली र माधव नेपाल संलग्न भएको दावी गरिएको हुन्थ्यो ।
टिएन प्रधान को थिए ? कसैलाई थाहा थिएन । यद्यपि, तिनको लेखमा कसरी केपी ओली र माधव नेपाल मिलेर महासचिव मदनलाई सिध्याए भन्ने विश्वासिलो पारामै तथ्यहरू उल्लेख गरिएको हुन्थ्यो । यद्यपि, टिएन प्रधान पनि ‘फेक’ र उनको लेख पनि ‘फेक’ भन्ने कुरा पछि मात्र पुष्टि भयो ।
यसको अर्थ मदनको रहस्यमय मृत्युमा ओलीमाथिको शंका पूर्ण रुपमा मेटिइसकेको भने हैन । यस बारेमा यो लेखकले केही उल्लेख गर्नुभन्दा एमालेकै तत्कालीन कार्यकर्ता र हाल नेकपा (एकीकृत समाजवादी)का नेता जगन्नाथ खतिवडाको भनाई यहाँ स्मरणीय हुन्छ ।
मदनको नाममा एमाले अझै पनि राजनीति गरिरहेको छ । मदनको नाम भजाइरहेको छ । मदनको मानमर्दन गरिरहेको छ ।
७ कार्तिक २०७८ मा एस नेता खतिवडाले एमाले अध्यक्ष ओलीले मदन भण्डारीका हत्यारालाई लुकाएको आरोप लगाएका थिए । अध्यक्ष ओलीकै गृह जिल्ला झापामा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा खतिवडाले भनेका थिए, ‘ओलीजीले हत्याको योजना बनाउनु भयो पनि भन्न चाहन्न, हत्या नै गर्नुभयो पनि भन्दिनँ, तर हत्याराका प्रमाण लुकाउन उहाँ संलग्न हुनुहुन्छ भन्ने मलाई लाग्छ ।’ खतिवडाको थप प्रश्न थियो, ‘हैन भने उहाँहरूले किन छानबिन गर्नुभएन ? छानविन, खोजी गर्नुपर्थ्यो र त्यसका लागि योजना बनाउनुपर्थ्यो । उहाँले त मदन भण्डारीको नाम मात्र बेच्नुभयो ।’
शंकाको अर्को पाटो के पनि छ भने, मदन–आश्रितको हत्यापछि एमालेले ओलीकै अध्यक्षतामा एक सदस्यीय छानविन कार्यदल बनाएको थियो । ओलीले सो कार्यदलको प्रतिवेदन नै सार्वजनिक गरेनन् । यसबाट पनि ओलीले ‘हत्यारा’ लुकाउने काम गरेको भन्ने आशंका एमालेकै एकथरी कार्यकर्ताको छ ।
यति मात्र हैन, नेकपाको दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरेको बेला सर्वाधिकार शक्तिशाली प्रधानमन्त्री ओलीले चाहेको भए छानविन गर्नसक्थे, तर गरेनन् । एस नेता खतिवडाले भनेका थिए, ‘दुई तिहाई सरकारमा हुँदा राज्यको जस्तोसुकै संयन्त्र प्रयोग गर्नसक्ने अवसर पाएको बेला र मदनकै धर्मपत्नी विद्या भण्डारी देशको राष्ट्रपति भएको बेलामा आफूलाई मदनको सच्चा उत्तराधिकारी दावी गर्ने ओलीले छानविनको कुनै प्रयास गरेनन् ।’
मदनको मानमर्दन
मदनकै नाम भजाएर एमालेका नेताहरु मनमोहन अधिकारी, माधव नेपाल, झलनाथ खनाल र केपी ओली प्रधानमन्त्री भए । तर, यीनका पालामा मदन भण्डारीको रहस्यमय मृत्युबारे कुनै छानविन प्रकृया अघि बढेन ।
यद्यपि, छट्टू नेता ओलीले मदन–आश्रितको ‘कन्स्पीरेसी थ्यौरी’लाई अझै पनि उपयोग गर्न छाडेका छैनन् । गत वर्ष ३ जेठ २०८० मा ओलीले मदन भण्डारीको हत्याका लागि कांग्रेसी नेतालाई जिम्मा दिने कुरा भएको आक्षेपसमेत लगाए । बल्खुमा आयोजित ३० औं मदन आश्रित दिवसको अवसरमा अध्यक्ष ओलीले नामै तोकेर विराटनगरका उमेश गिरीलाई हत्या गर्ने जिम्मेवारी दिन खोजिएको आरोप लगाउँदै भनेका थिए, ‘उमेश गिरी जेलबाट रिहा भएका छन्, अब सत्य तथ्यको खोजविन हुन्छ ।’
अहिले ओलीजीकै सरकार छ, खै त सत्य तथ्यको खोजी भएको ? यसबाट स्पष्ट हुन्छ, मदनको नाममा एमाले अझै पनि राजनीति गरिरहेको छ । मदनको नाम भजाइरहेको छ । मदनको मानमर्दन गरिरहेको छ । मदनकै विधाका रुपमा काठमाडौंको निर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई हराउँदै राजनीतिमा उदाएकी विद्या भण्डारी गणतन्त्र नेपालमा दुई–दुई पटक राष्ट्रपति बनिन् ।
राष्ट्राध्यक्षका नाताले आफ्ना पतिको रहस्यमय मृत्युबारे उनले उच्चस्तरीय छानविन आयोग बनाउन मात्र हैन, गम्भीरतापूर्वक छानविन गर्न पनि पहल गर्न सक्थिन् । तर, उनले यस बारेमा कुनै चासो, सरोकार र पहल गरेको सुनिएन, देखिएन ।
अझै झूटो आश्वासन
३ जेठ २०७७ मा तत्कालीन नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रच्ण्ड’ले संयुक्त विज्ञप्ति जारी गर्दै मदन–आश्रित हत्याको रहस्य पत्ता लगाउने र अन्वेषण गर्ने बताएका थिए । दुवै अध्यक्षले भनेका थिए, ‘उक्त घटनाको रहस्य अझै उद्घाटित हुन सकेको छैन ।
तर, आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक–दुर्घटना मात्र मान्न तयार छैनन् । उनीहरुमध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलन विरुद्धको षड्यन्त्रपूर्ण हत्याका रुपमा लिन्छन् । हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थ गहिरो अन्वेषण गर्दै सत्य–तथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछ ।’
अहिले ओली र प्रचण्डजस्ता नेताकै सरकार छ । खै त सत्य तथ्य खोजविन गरेको ? यो प्रश्नको उत्तर एमालेका कुनै नेता/कार्यकर्तासँग छैन । एमालेका नेताहरु कार्यकर्ता र जनताको पंक्तिलाई थामथुम पार्न अझै झूटो आश्वासन दिइरहेका छन् ।
मदनको रहस्यमय मृत्युपछि तत्कालीन सरकारले पूर्व प्रधानन्यायाधीश प्रचण्डराज अनिलको अध्यक्षतामा छानविन आयोग बनाएको थियो । सो आयोगको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै एमालेले सडक आन्दोलन नै चर्कायो । आन्दोलन चर्किएकाले स्थिति शान्त पार्न सरकारले बहालवाला न्यायाधीश त्रिलोकप्रताप राणा नेतृत्वको आयोग गठन गर्यो, तर सो आयोगले दुर्घटना या हत्या केही स्पष्ट पार्न नसकेपछि एमालेले नै केपी ओलीको अध्यक्षतामा एक सदस्यीय कार्यदल बनाएको थियो ।
यति मात्र हैन, स्वतन्त्र सांसद पद्यमरत्न तुलाधरको संयोजकत्वमा पनि छानविन समिति गठन गरियो । ओली र तुलाधर दुवैको समितिले ‘षड्यन्त्रमुलक हत्या भएको’ जिकिर त गर्यो, तर षडयन्त्र र हत्यामा संलग्न व्यक्ति को हो ? भन्ने किटान गरेन ।
आफ्नै नेतृत्वमा बनेको कार्यदलको प्रतिवेदन सार्वजनिक नगर्ने ,आफै पटक–पटक प्रधानमन्त्री हुँदासमेत छानबिनतर्फ ध्यान नदिने, तर आफूलाई ‘मदनको सच्चा उत्तराधिकारी हुँ’ पनि भन्ने । मदनप्रति केपी ओलीको यो द्वैध भूमिकाबाटै उनी मदनको नाम भजाउन त माहिर छन्, तर मदनको सपना पुरा गर्न र मदनका ‘हत्यारा’ पत्ता लगाउन खासै इच्छुक छैनन् भन्ने स्पष्ट हुन्छ ।
कुसुम भट्टराई
साढे तीन दशकदेखि पत्रकारिता र लेखनमा सक्रिय वरिष्ठ पत्रकार भट्टराई कुशल विश्लेषक हुन् । हिमालय टाइम्स, कान्तिपुर, अन्नपूर्ण पोष्ट दैनिक लगायत दर्जनौं पत्र पत्रिकामा पत्रकारिता गरिसकेका भट्टराई नेपाली राजनीतिलाई नजिकबाट बुझेका पात्र हुन् । त्यसैले उनको कलम तीखो हुने गर्दछ ।
लेखकबाट थपठूलो जनशक्तिलाई बेरोजगार बनाएको शिक्षाका कुरा गरौँ
पुष २, २०८१ मंगलबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार
डोल्पाको चुँ गाउँ
पुष ३, २०८१ बुधबार