सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
केदार भट्टराई (काका)
जेठ ३, २०८१ बिहिबार १३:२७:२०
१ जेठ, काठमाडौं । बिहीबार बिहानसम्मका छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहकारीका बचतकर्ताको रकम ठगेर भागेकाहरूमाथि छानबिन गर्न संसदीय समिति बनाउने पक्षमा देखिएका छैनन् । उनी एकोहोरो कांग्रेसलाई गाली गर्ने र सहकारीको रकम अपचलनमा सहभागी भनिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउमा नै लागिरहेका छन् । ओली हठले संसदमा मुठभेडको परिस्थिति बनिरहेको छ ।
अध्यक्ष ओलीलाई नजिकबाट नियालिरहेका भन्छन्, ओलीको यो एकोहोरो रटानका पछि मुख्य त तीन कारण महत्वपूर्ण देखिएका छन् । सहकारी जस्तो जनतासँग जोडिएको विषय एमालेले उठाउनुपर्ने थियो, कांग्रेसले उठायो । यो विषयले मिसन ८४ मा एमालेलाई धक्का दिन सक्छ । त्यसकारण कांग्रेसलाई कसरी हुन्छ यसमा असफल गराएर एमालेको भागमा यो मुद्दा पुर्याएर आउने निर्वाचनसम्म हतियार बनाउने कुरा कांग्रेसलाई असफल नबनाएसम्म सम्भव हुँदैन भन्ने ओलीको सोच हो ।
अहिले संसदीय छानबिन समिति बनाएर गयो भने यसको ओनर कांग्रेस हुन्छ र सहकारी प्रकरणमा एमालेका नेताहरु पनि पर्नसक्छन् । त्यसैले आजका दिनमा रवि लामिछाने लगायतमाथि छानबिन गर्ने गरी समिति बनाऔं भन्ने अवस्थामा ओली छैनन् । यहाँ निर उनको सत्ता स्वार्थ पनि जोडिएको छ । राजनीतिक स्वार्थका अगाडि उनले आफ्नो राजनीतिक आदर्श थाती राखेका छन् । यदि रास्वपा र कांग्रेसबीच गठबन्धन भएको भए एमालेले यो सहकारीको विषय यसै छोड्ने थिए ।
सत्ता स्वार्थका हिसाबले हेर्ने हो भने उनले एक वर्ष भन्दा बढी कसरत गरेर यो सत्ता समीकरण बनाएका हुन् । प्रधानमन्त्रीमा प्रचण्ड भएपनि सरकारको खास ताला उनकै हातमा छ । यो अवस्थामा सरकारको एउटा घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २१ सीटको भएपनि सरकार बचाउने भूमिकामा अगाडि छ । यो घटनाका सभापति रवि लामिछाने विभिन्न सहकारीको रकम अपचलनमा मुछिएका छन् । प्रहरी रिपोर्टले पनि उनको संलग्नता भएको कुरा पुष्टि गरिरहेको छ ।
रवि लामिछाने अहिले उपप्रधान तथा गृहमन्त्री छन् । सहकारी ठगीमा जोडिएकाले कांग्रेसले उठाएको माग अनुसार संसदीय छानबिन समिति बनाउँदा सत्ता समीकरणमा धक्का लाग्न सक्छ । कांग्रेसले लामिछानेको राजीनामा नमागे पनि संसदीय समिति बनाएपछि उनको नाम सहकारी प्रकरणमा जोडिएर आएकाले पदबाट राजीनामा दिनै पर्छ । संसदीय समितिले छानविन लम्ब्यायो वा रवि लामिछाने दोषी किटान हुने अवस्था आयो भने राजीनामा दिएर बसेका उनले यो सरकारलाई समर्थन दिइरहने कुरा आउँदैन । राजीनामा दिनुपर्ने अवस्था आयो भने रास्वपा यो सरकारबाट बाहिर जान्छ । किनभने रविको पार्टी भित्र पनि यो कुरा उठिसकेको छ ।
यो कण्डिशनमा सरकार फेरी ओलीको हातबाट फुत्कने पक्का छ । यो प्रष्ट देखिरहेका ओली सरकारलाई दाउमा राखेर कांग्रेसका लागि समिति बनाउन तयार हुने कुरा कसरी सहजै मान्लान् ? । तेस्रो पक्षको हो, सहकारी घोटाला छानबिन गरौँ भन्दा सत्तामा रहेकै समयमा एमालेभित्रको ठूलो पंत्ति यो प्रकरणमा तानिन सक्छ । पर्न त अरु दलका पनि पर्लान् तर, सहकारीमा एमालेको लहरो लामो छ । नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभागको सचिव रहेका केबी उप्रेती यतिबेला फरार छन् । उनी तानिँदा एमालेमा भुइँचालो जानसक्छ ।
आइडल, यमुना, हाम्रो बहुउद्देश्यीय सहकारी संस्था तथा सहकारी बैंकका अध्यक्ष केबी उप्रेती यतिबेला फरार भएका छन् । ११ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप रहेको सहकारीका अध्यक्ष उप्रेतीले रकम हिनामिना गरेका भनिएको छ । यो रकम उनले मात्र खाएका छैनन् । एमालेभित्रका धेरै यसमा जोडिन्छन् । सहकारीबाट लिएको व्यक्तिगत कर्जाको साँवाब्याज तिर्न नसक्ने र भएको संस्था समेत संकटग्रस्त भएपछि उप्रेती तनाब अवस्थामा रहेका थिए । आइडल यमुना, हाम्रो बहुउद्देश्यीय सहकारी संस्था संकटमा परेपछि उनी नेपालमा पक्राउ पर्ने डरले भारत गई बसेको स्रोत बताएको छ ।
स्वास्थ्यमा समस्या आएका कारण भारतमा उपचार गराइरहेको भनेपनि सहकारी निक्षेप फिर्ता गर्ने सक्ने अवस्था नभएपछि उनी पक्राउ गर्ने डरले भारत गएको बताइएको छ । कतिपयले यसमा एमालेको ठूलो भूमिका छ भनिएको छ । उप्रेती नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभागको सचिव समेत हुन् । हाम्रो सगरमाथा, आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, घेदुङ बहुउद्देश्यीय सहकारी संस्थालाई मर्ज गरी आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको नाममा कारोबार हुँदै आएको थियो । मर्जपछि पनि सहकारी संकटमुक्त नहुँदा उप्रेती फरार भए । नेपालमै बस्दा पार्टीमा धक्का लाग्ने अवस्था देखियो ।
मुलतः यी तीन कारण ओलीका अगाडि छन् । उनी यसैमा सशंकित छन, छानबिन अघि बढ्यो भने त्यसको दबाबमा रास्वपाले ढिलो चाँडो सत्ता छाड्न सक्छ । रास्वपाले सत्ता छाड्यो भने अहिलेको सरकार अल्पमतमा पर्नेछ । कांग्रेसलाई सत्ता बाहिर राखेर अर्को सरकार बनाउन लगभग असम्भव हुन्छ । बहुमतको नयाँ सरकार बनेन भने संविधानतः त्यसपछि ठूलो दलको हैसियतले कांग्रेसले सरकार बनाउँछ । सहकारी मुद्दामा कांग्रेसले आम मानिसका हित र भावनाका कुरा उठाएको ओलीले प्रष्ट देखिरहेको छन् । कांग्रेसको पनि आफ्नो राजनीतिक स्वार्थ नभएको होइन ।
प्रतिपक्षमा बसेको कुनै पनि दलले सारा जनताको ध्यान तानेको अनि उनीहरूको हित र आफ्नो स्वार्थ मिलेको यति बलियो विषय जब भेट्छ, उसले बिरलै त्यसलाई छाड्छ । प्रतिपक्षमा बसेको दलले बिरलै यस्तो अवसर पाउँछ । यो अवसर ओलीले यो पटक पाएनन् । यदि कांग्रेस, माओवादी र रास्वपा गठबन्धन सरकारमा हुन्थे भने एमालेले पनि यो मुद्दा त्यति नै जोडतोडले उठाउनै थियो । यो मुद्दामा दम छ । यसैले संसदको गतिरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहालको मध्यमार्गी प्रस्ताव सत्तारुढ एमालेका अध्यक्ष ओली र गृहमन्त्री रवि लामिछानेले दुवैले अस्वीकार गरेका हुन् ।
रवि ओलीको पछाडि उभिएका मात्र हुन् । संसदीय छानबिन समिति बनाउँदा उनलाई खास फरक पर्ने अवस्था देखिँदैन । बरु उल्टै ओलीको पछि लाग्दा रास्वपाको मत भने घटिरहेको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि लागेको आरोप संसदीय छानबिन समितिले मात्र अब मेट्न सक्छ । उनी यसबाट निर्दोष ठहरिए भने मात्रै राजनीति सहज रुपमा अगाडि जान्छ । लामिछानेका साझेदार जीबी राईले दर्जनौं सहकारीको रकम अपचलन गरेको र स्वयं लामिछानेले समेत विना धितो २ करोड ऋण लिएको प्रमाण प्रहरीले जुटाएको तथ्य अब लुकाएर लुक्ने वाला छैन ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार