समिति गठन गर्ने कुरामा प्रधानमन्त्रीको दोहोरो चरित्र
जेठ ७ गते कांग्रेसले विश्वासको मत लिन दियो भने भोलीपल्टबाटै संसद अधिवेशन अन्त्य गरेर अध्यादेशतिर लाग्ने प्रधानमन्त्रीको तयारी छ
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार १२:४६:४७
५ जेठ, काठमाडौं । सहकारी ठगीका विषयमा नेपाली कांग्रेसले राख्दै आएको संसदीय छानबिन समिति गठन गर्ने मागका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोहोरो चरित्र निभाइरहेको आशंका गर्न थालिएको छ । सत्ता पक्षसँग बस्दा समिति आवश्यक छैन र विपक्षीसँग बस्दा समिति बनाइन्छ भन्दै उनले जेठ ७ गतेसम्म कांग्रेसलाई अल्मल्याउने प्रयास गरिरहेको बुझिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेसँग बस्दा प्रधानमन्त्रीले समिति बनाउने कुरामा खास जोड दिएका छैनन् । ओलीले बनाउन सकिँदैन भन्ने भन्दा अरु कुरामा उनीहरूबीच छलफल नै अगाडि नजाने गरेको छ । ओलीका अगाडि प्रधानमन्त्री नतमस्तक जस्तै हुने र कांग्रेससँग छलफल गर्दा काम अगाडि बढिरहेको छ भनिदिने गरेकाले कांग्रेसले भनेअनुसार समिति बन्ने देखिएको छैन । नीति तथा कार्यक्रम प्रस्तुत गरेको दिनमा जसरी नै जेठ ७ गते पनि कांग्रेसलाई फकाएर विश्वासको मत लिने उनको मुख्य उद्देश्य छ ।
प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने तयारी गरेका छन् । जनता समाजवादी नेपाल पार्टी विभाजन भएपछि उपेन्द्र यादव पक्ष सत्ताबाट बाहिरिएको छ । उसले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । तर, संसदीय प्रक्रिया यतिबेला अवरुद्ध छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग राखेको छ । छानबिन समिति बनाएर समग्र सहकारीका विषयमा छानबिन गर्नुपर्ने कांग्रेसको माग हो । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि मुछिएकाले कांग्रेसले उनलाई केन्द्रमा राखेर समिति गठन गर्नुपर्ने भनिरहेको छ ।
समिति गठन गर्न सत्तापक्ष अनिच्छुक देखिएपछि कांग्रेसले संसद अवरुद्ध गरिरहेको छ । समिति गठन नभएको अवस्थामा संसदका गतिविधि चल्न नदिने कांग्रेसको अडान छ । बजेट ल्याउने समय जेठको १५ गतेसम्म भएकाले त्यहाँसम्म सहमति जुट्ला र नजुटे अध्यादेशबाट ल्याउला भन्ने सोचमा प्रधानमन्त्री छन् । तर, उनलाई जेठ ७ गते कसरी विश्वासको मत लिने भन्ने चिन्ता परिरहेको छ । ७ गते एक दिन विश्वासको मतका लागि कांग्रेसले संसद चल्न दियोस् भनेर उनले प्रयास गरिरहेका छन् ।
शनिबार बिहान बालुवाटारमा कांग्रेस नेताहरूसँग भएको छलफलमा पनि प्रधानमन्त्री प्रचण्डले यही कुरा राखे । संसदीय समिति गठनमा आफू प्रयासरत रहेको भन्दै कांग्रेसलाई ७ गतेसम्म आश्वस्त पार्ने उनको रणनीति छ । कांग्रेससँग बस्दा समिति गठनको विषय अन्तिम चरणमा पुगेको छ भन्ने र सत्ता पक्षसँग बस्दा समिति आवश्यक छैन भन्ने रोलमा यतिबेला प्रधानमन्त्री छन् । सत्तापक्ष र प्रतिपक्षको बीचमा समझदारी गराएर विश्वासको मत र बजेटका सबै प्रक्रियाबाटै टुंग्याउने भन्नेमा प्रधानमन्त्री जुटेको देखिंदैन ।
शनिबार बिहान पनि उनले भनेका छन, ‘विश्वासको मत लिनुपर्छ मैले भन्ने संवैधानिक व्यवस्थाअनुसार संविधानविद र कानुनविद्को राय लिँदा पनि विश्वासको मत लिनु नै राम्रो हुन्छ भन्ने सुझाव आएपछि विश्वासको मत ७ गते लिने भनेर भनिएको छ । म आशा गर्छु, विश्वासको मत लिने क्रममा समझदारी नभएपनि पक्कै पनि प्रतिपक्षले अवरोध गर्नेछैन । यो त संविधानमै गरिएको अनिवार्य व्यवस्था भएको हुनाले त्यसलाई पनि रोक्दा त नेपाली कांग्रेस आफैंलाई धेरै घाटा हुन्डीजस्तो लाग्छ, सायद उहाँहरूले त्यस्तो गर्नुहुन्न भन्ने मेरो आशा छ ।’
नीति कार्यक्रम पेश भएपनि समझदारी नबन्दा संसदमा टेबुल हुन सकिरहेको छैन । यस माथि छलफल नगराई बजेट ल्याउनुपर्ने अवस्था देखिँदैछ । संविधानकै व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनैपर्छ । नीति तथा कार्यक्रम राष्ट्रपतिबाट वाचन भइसकेको छ । वाचन हुनु आफैंमा पूर्ण होइन । बजेट ल्याउने कुरामा पनि प्रतिपक्षले सम्भवतः बाधा हालेर देशलाई अनिर्णयको बन्दी त बनाउँदैन भन्ने आसमा कांग्रेस फकाइरहेका छन उनी ।
बजेट अध्यादेशबाट ल्याउने कुरामा सरकारको भन्दा प्रतिपक्षी दल कांग्रेसको मुख्य हात हुने प्रधानमन्त्रीले बताइसकेका छन् । बजेट अध्यादेशबाट ल्याउला, नीति तथा कार्यक्रममा छलफल नभएर केही फरक पर्दैन । संसदीय समिति बनाउने भनेर कांग्रेसलाई फकाउने र ७ गते विश्वासको मत लिएपछि समितिको कुरा छोडिदिने रणनीति उनको छ । यो कुरालाई कांग्रेसले बुझेको देखिँदैन । प्रधानमन्त्रीले समिति बनाउने छन भन्ने विश्वास मै कांग्रेस छ । जेठ ७ गते कांग्रेसले विश्वासको मत लिन दियो भने भोलीपल्टबाटै संसद अधिवेशन अन्त्य गरेर अध्यादेशतिर लाग्ने प्रधानमन्त्रीको तयारी छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार