जनहित पूरै बेवास्तामाः संसद कहिलेसम्म दलका नेताहरुको स्वार्थमा चलिरहने ?
भेषराज पोखरेल
जेठ ८, २०८१ मंगलबार ११:२८:३
संसदले स्वतन्त्र रुपमा कुनै पनि निर्णय गर्न सक्दैन, केही नेताको तजबिजमा चल्न बाध्य छ । संसदलाई आफ्नो अनुकूल चल्न बाध्य पारे पनि प्रधानमन्त्री भने तनावमा छन्, गृहमन्त्री अझ बढी तनावमा छन् । प्रधानमन्त्रीले कुन उपायले आफ्नो नेतृत्वको गठबन्धनलाई बचाएर सरकार टिकाइरहने हो ? प्रधानमन्त्री भइरहने वातावरण बनाइरहने हो भन्ने तनावमा छन् । उनले केही दायाँबायाँ सोच्ने अवस्थ नै छैन । उनले प्रतिपक्षको विरोधका बीच शक्ति प्रयोग गरेरै भए पनि विश्वासको मत पाइछाडे ।
उनलाई तत्कालका लागि गृहमन्त्री रवि लामिछानेलाई छानबिनबाट उन्मुक्ति दिन सके सरकारलाई टिकाइरहन सकिन्छ भन्ने लागेको देखिन्छ । एमाले अध्यक्ष केपी ओलीलाई जसरी पनि, जुनसुकै मूल्यमा भए पनि गठबन्धन टिकाइरहेर एमालेले सरकारबाट राम्रो लाभ लिन कसरी सक्ला भन्ने चिन्ता छ । उनले पनि सहकारीको समस्या चाहे जेहोस्, कुनै अर्कै हल्ला फैलाएर भए पनि जनता भुलाउने र गृहमन्त्री तथा रास्वपाका अध्यक्ष रवि लामिछानेलाई बचाउने उपाय खोजिरहेका छन् । जसले गर्दा सत्ता टिकाइरहन सकियोस् र सत्तामा आफ्नो हालीमुहाली भइरहोस । उनी प्रतिपक्षी दल कांग्रेसलाई केही न केही घृणा फैलाएर भए पनि पराजित गर्न सकिन्छ भन्ने मान्यतामा छन् । उनलाई गिरीबन्धु टी स्टेटको मुद्दाले निल्ने हो कि भन्ने चिन्ता पनि छ ।
भ्रष्टाचारको विरोधमा आवाज उठाएर पुराना दलहरुलाई पराजित गर्ने रणनीति बनाएर अगाडि आएका र भविष्यमा त्यही हतियार प्रयोग गर्ने मानसिकतामा रहेका रवि लामिछाने सहकारी ठगीको आरोप लागेपछि रन्थनिएका छन् । उनले सहकारी ठगी प्रकरणमा लामिछाने जोगिएको कुरालाई जाडतोडका साथ उठाउँदै आएको कांग्रेसमाथि नै औंला ठड्याउँदै सञ्चार माध्यममा आएका कुरालाई आधार बनाएर तिमीहरुले खाने मलाई आरोप लगाउने ? भन्दै दाह्रा किट्दै छन् । उनी आफू उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत त भइयो तर सहकारी काण्डले आफूसहित पार्टी नै निल्ने हो कि भन्ने तनावमा छन् ।
यही मेसोमा कांग्रेसले सहकारी काण्डजस्तो जनताको विरुद्धमा रहेको र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृहमन्त्री नै संलग्न भएको घटना पाएपछि छाड्ने कुरा भएन । अझ प्रधानमन्त्री प्रचण्ड र ओली नै त्यसको बचाउमा लागेको मुद्दा उठाउन पाएपछि के चाहियो ? नेताहरुका यस्ता तनावका बीच संसद भने निरीह देखिएको छ । संसद् अहिले केही शीर्ष नेताको स्वार्थको जालमा बेरिएको छ, उनीहरुले आफ्नो स्वार्थ अनुकूल चलाउन चाहेको स्पष्ट देखिएको छ । स्वतन्त्र रुपमा केही पनि गर्न सक्ने अवस्थामा छैन । यसलाई लोकतन्को खतराको अवस्थाका रुपमा लिन सकिन्छ ।
संसद दह्रो र स्वतन्त्र रुपमा चल्ने हो भने सरकार आफ्ना कमीकमजोरीलाई सुधार गर्न बाध्य हुन्थ्यो । भ्रष्टाचार, अनियमितता बढेर जाने थिएन तर सरकार तथा प्रधानमन्त्री जोगाउन गठबन्धन दलका सांसदहरु बाध्य छन् । संसदमा प्रतिपक्षको बहुमत हुने कुरा भएन, अझ उनीहरुको आवाजलाई सकेसम्म बहुमतबाट निस्तेज पार्ने भरमग्दुर प्रयास हुने गरेको छ । अहिले कांग्रेसले उठाएको सहकारी ठगीजस्तो गम्भीर विषयसम्बन्धी आवाजलाई पनि प्रधानमन्त्री, गृहमन्त्री तथा गठबन्धन दलका शीर्ष नेताहरूले निस्तेज पार्न ठूलो प्रयास गरिरहेका छन् । काग्रेससहितको गठबन्धनले पनि संसदलाई स्वतन्त्र रुपमा काम गर्न त दिएन नै तर अहिले अझ चर्को रुपमा संसदलाई प्रभावित पार्ने प्रयास गरिरहेको देखिएको छ । यो व्यवहारले प्रजातन्त्र तथा लोकतन्त्रको जग हल्लिँदै गएको छ ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसद जुन रुपमा चले पनि कुनै मतलव भएको देखिन्न । उनलाई आफू सत्तामा कसरी बसिरहने वातावरण बन्छ भन्ने ध्याउन्नमा छन् । संसदले सकेसम्म आफूले जे गरे पनि त्यसविरुद्ध आवाज नउठाओस् भन्नेमै उनले काम, व्यवहार तथा दिमाग लगाइरहेका छन् । अर्थतन्त्र कस्तो बनाउने ? देशको वास्तविक अवस्था के हो र कस्तो नीति अवलम्बन गर्दा अर्थतन्त्रका आन्तरिक पक्षलाई कसरी सक्षम बनाउन सकिन्छ भनेर दलभित्र तथा सरकारी तवरबाट वृहत् छलफल, बहसमा वास्ता गर्दैनन् । बदलिँदो परिस्थिति र परिवेशमा कम्युनिष्ट नीति कस्तो बनाउँदा देश र जनताको हित गर्न सकिन्छ तथा लोकतन्त्र बलियो बनाउन सकिन्छ भन्नेतिर उनलाई मतलव छन ।
उनले पद सधैं रहनेछैन तर नीतिगत तथा संरचनागत सुधारले देशलाई गति दिन्छ भन्ने कुरा सोचेको देखिन्न । केपी ओलीलाई पनि यी कुरामा चासो छैन । उनले अबको सत्ता प्राप्तिको रणनीति बनाइरहेका छन् । एमाले बलियो बन्ने अवस्था र आफूमाथि प्रश्न नउठाउने अवस्थामा प्रचण्डलाई जहिले पनि धूलो चटाउन सक्छन् । यी सबै अवस्था देशलाई समृद्धितर्फ लैजाने, सामासजक मूल्यमान्यता स्थापित गर्ने राजनीतिक उपक्रम नभएर अराजकतातिर धकेल्न सहायक छन् ।
केपी ओली र प्रधानमन्त्रीका स्वभाव र रणनीतिका कुरा गरिरहँदा कांग्रेसलाई पनि छुटाउन मिल्ने कुरा भएन । अहिले सहकारीमा रहेको जनताको पैसा अपचलनको मुद्दालाई कांग्रेस उठाउनै पथ्र्यो, उठाएको छ । कांग्रेसका नेताहरूले कम्युनिष्ट नेताहरूले जस्तै अरूलाई जुनसुकै आरोप लगाएर पल्लो छेउँ पुर्याउन त सक्दैनन् र चाहँदैनन् पनि तर उनीहरुले उठाएका समस्यालाई जनताले पत्याउने गरी दह्रोसँग उठाउन पनि सकेको देखिन्न । कांग्रेसको शीर्ष नेतृत्व पनि सम्झौतापरस्त र सत्ताको लोभी भएकाले नेताहरुको स्वार्थमा जे पनि हुनसक्छ भन्ने जनतामा सन्देश गएको देखिन्छ । अर्को, राम्रै नीति अगाडि सारे पनि लागू गरेर टुंगोमा पुर्याउन सकेको देखिन्न । यो उसको डरलाग्दो राजनीतिक कमजोरी हो ।
सांसद निरीह भयो, छुद्र राजनीतिको प्रभावमा पर्यो भनिरँदा त्यसको समाधानको बाटो के होला भन्ने कुरातिर पनि ध्यान जानु आवश्यक छ । समान्य तथा यथास्थितिमा संसदको हालत यही नै हो । कम्युनिष्ट दलका शीर्ष नेताहरूले त संसदलाई आफ्नो स्वार्थ अनुकूल चलाउन चाहेका त छन् नै कांग्रेस शीर्ष नेतृत्वले पनि यसभन्दा फरक व्यवहार देखाउन सकेको देखिन्न । रास्वपाका अध्यक्ष रवि लामिछानेले त अरु दलका नेताहरूलाई जुनसुकै आरोप लगाएर भए पनि आफूलाई चोखो देखाउने प्रयास गरिरहेका छन् ।
गृहमन्त्रीले सदनमा कसैमाथि आरोप लगाउने होइन, छानबिन गराएर सीधै कारबाही गर्ने हो नि । उनले आफ्नो पदको मर्यादा पनि राख्न सकेनन् । यस्तो अवस्थामा यिनै दलभित्रको लोकतन्त्र चाहने बौद्धिक सांसदहरूले संसदमा राम्रो कुरामा संयुक्त रुपमा आवाज उठाउने, समस्याको जडसम्म पुगेर समस्या पहिचान गर्ने र समाधानका लागि उपायहरू खोज्न सुरु गर्नैपर्ने बला आएको छ । होइन भने नेपालको कसैको पनि अस्तित्व रहने छैन ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपबिर्सिन नसकिने प्रतियोगिता एनपिएल क्रिकेट
पुष ७, २०८१ आइतबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
ठूलो जनशक्तिलाई बेरोजगार बनाएको शिक्षाका कुरा गरौँ
पुष २, २०८१ मंगलबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार
बिक्रीका लागि भक्का पकाउँदै महिला
पुष ७, २०८१ आइतबार
बिक्री राखिएको जुनार र सुन्तला
पुष ७, २०८१ आइतबार
स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक
पुष ७, २०८१ आइतबार