बजेट अभावमा पर्वतका एक सय १५ खानेपानी आयोजना अधुरै
नेपालबहस संवाददाता
जेठ ८, २०८१ मंगलबार १२:५४:४०
८ जेठ, पर्वत । बजेट अभावका कारण पर्वतका एक सय १५ खानेपानी आयोजना अधुरै रहेका छन् । ‘एक घर एक धारा’ पुर्याउने लक्ष्यसहित आर्थिक वर्ष २०६४/६५ देखि सुरु भएका दुई वर्षे र पाँच वर्षे योजना बजेट अभावमा डेढ दशकसम्म पनि बन्न सकेका छैनन् ।
हाल जिल्लामा सङ्घीय र प्रदेश सरकारका रु दुई करोडदेखि रु २० करोड लागतका एक सय ३० खानेपानी आयोजना छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङको पर्वत इकाइका इन्जिनियर प्रेम थापाले सात स्थानीय तहमा रहेका ती आयोजना सम्पन्न गर्न अहिलेको अवस्थामा करिब रु एक अर्ब ८० करोड बजेट आवश्यक पर्ने बताए । “यहाँ रहेका आयोजना सम्पन्न गर्न अहिलेको बजार मूल्यअनुसार रु एक अर्ब ८० करोडभन्दा बढी लागत लाग्ने देखिन्छ त र मन्त्रालयले बर्सेनि १० प्रतिशतभन्दा बढी बजेट दिनसकेको छैन । त्यसैले कम्तीमा दुईदेखि बढीमा पाँच वर्षभित्र सम्पन्न हुनुपर्ने योजना दसौँ वर्षसम्म पनि निर्माण गर्न सकिएको छैन”, थापाले भने ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख सिनियर डिभिजनल इन्जिनियर किरण पौडेलले बर्सेनि कम्तीमा रु ५० करोड बजेट आवश्यक पर्नेमा चालु आर्थिक वर्षमा रु १८ करोड ९० लाख मात्र अख्तियारी आएको बताए । “यो वर्ष आवश्यक बजेटको १० प्रतिशत मात्र विनियोजन भएको छ”, पौडेलले भने, “हामीले द्रुतगतिमा काम गर्छौ भने पनि बजेट अभावले कार्यान्वयनमा रहेका योजना पनि सोअनुसार अगाडि बढाउन सकेका छैनौँ । त्यसैले धेरै योजना भग्नावशेषमा परिणत हुँदैछन् ।” उनका अनुसार यस वर्ष १५ वटा योजना भने सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।
यहाँका अधिकांश आयोजना लागत साझेदारीमा सञ्चालित छन् । उपभोक्ताले २० प्रतिशत श्रमदान र मर्मतसम्भार कोषमा एक प्रतिशत नगद लगानी गर्नुपर्ने नियम छ । अधिकांश आयोजनाका उपभोक्ता समितिले आफ्नो दायित्व निर्वाह गरे पनि सरकारले पर्याप्त बजेट विनियोजना नगर्दा थप काम अगाडि नबढेका हुन् । स्थानीय उपभोक्ता कमल भुसालले घरघरमा पानी पाउने आशामा श्रमदान र मर्मतसम्भार कोषमा रकम जम्मा गरे पनि समयमा योजना नबन्दा निराश बन्ने अवस्था आएको गुनासो गरे । “दुई वर्षमा सक्नेगरी आर्थिक वर्ष २०७५/७६ मा सुरु भएका बृहत् शङ्करपोखरी खानेपानी आयोजनाको लागत स्टिमेट रु १८ करोड ८८ लाखको थियो । हामीले उपभोक्ताले तिर्नुपर्ने रकम जम्मा गरिसकेका छौँ । उक्त योजनाका लागि यस वर्ष रु ६० लाखमात्रै बजेट विनियोजन भएकाले अहिलेसम्म सम्पन्न हुन नसकेको जवाफ पाएका छौँ । यसले हामी निराश भइसक्यौँ”, भुसालले गुनासो गरे ।
तीन वर्षमा सक्ने गरी २०७५ सालमा सुदूरदक्षिणमा सुरु भएको शालिग्राम खानेपानी आयोजनाको काम पूरा नहुँदै जीर्ण बनेको छ । आयोजनाका लागि चालु आवमा रु ४० लाख बजेट विनियोजन भएको छ ।
वि.सं २०६४ मा सुरु भएको मोदी गाउँपालिका–६ को चित्रे–तिलाहार खानेपानी आयोजना पनि निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको उपभोक्ताको गुनासो छ । उक्त योजनाका लागि चालु वर्ष रु ३० लाख मात्रै बजेट विनियोजन भएको छ । वि.सं २०७१ मा रु आठ करोड लागत अनुमान गरी सुरु भएको लुङ्खु खानेपानी आयोजना बजेट अभावकै कारण अलपत्र बनेको स्थानीय जीवन ठकुरीले जानकारी दिए । अहिले यो योजनाका लागि रु ३७ लाख विनियोजन गरिएको छ ।
“एक घर एक धारा पुर्याउने सङ्घीय र प्रदेश सरकारको लक्ष्य भए पनि पर्याप्त बजेट नहुँदा १६ वर्षअघि देखिका योजनासमेत पूरा हुन सकेका छैनन्, यद्यपि करिब १५ हजार घरमा एक घर एक धारा जडान भएको छ”, कार्यालय प्रमुख पौडेलले भने, “योजना थप्दै जाने तर पर्याप्त बजेट विनियोजन नहुने समस्याले अधुरा र अपूरा योजनाको सङ्ख्या बढ्दै गएका छन् । अब बजेटको आकार बढाउन पहल गर्नुपर्ने आवश्यकता छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार