आर्थिक लेनदेन कारोबार वा तिर्नुपर्ने रकम समयमा नतिर्दा के हुन्छ अमेरिकामा ?
सानुबाबु सिलवाल
जेठ १०, २०८१ बिहिबार १४:२१:२३
१० जेठ, काठमाडौं । "अचानोको पीर खुकुरीले जान्दैन" भने जस्तै सोचेजस्तो र भनेजस्तो कहाँ छ र, अमेरिकी जीवनशैली । अमेरिकी जीवन जति बुझ्यो, उत्ति गाह्रो । सपना, चाहना, इच्छा, आकांक्षासँगै पाइलैपिच्छे थुप्रै खुड्किलाहरू छन् । ती खुड्किला त्यति सहज छैनन् र असहज पनि छैनन् । अमेरिकाको जीवन र जीवनशैली ब्याजै ब्याज र बिल भुक्तानीमै बित्ने गर्छ । ब्याजै ब्याज र बिल भुक्तानीको खुड्किलाबीच लामो नदीजस्तै जीवन र जीवनशैली बगिरहेको छ । बिल र ब्याजको संयोजन बडो अचम्मको छ ।
‘श्रम गर, कर तिर, सुविधा लेऊ र कानुनको पालना गर’ यो नै अमेरिकामा बुझ्नुपर्ने मुख्य 'चुरो' न्यूनतम् आधार हो । मूख्यतः अमेरिकामा बस्नका लागि घरभाडा वा घर किनेपछि बैंक वा वित्तीय संस्थालाई बुझाउनुपर्ने मासिक मोर्गेज, तिर्नुपर्ने विविध कर, बीमा, खाना, यातायात, बच्चाको हेरचाह तथा सौखिन वस्तुहरूको उपयोग आदि नै मुख्य खर्च हुने ठाउँ हुन् ।
साथसाथै मेडिकल तथा अस्पतालको बिल अर्को महँगो पर्छ अमेरिकामा । टेलिफोन, बीमा, बिजुली,पानी, फोहोर व्यवस्थापन, गाडी, घरभाडा तथा शुल्क, क्रेडिट कार्ड, बैंकको शुल्क, मासिक एवं वार्षिक कर, विभिन्न शपिङ केन्द्रहरूको सहुलियत तथा सदस्यता शुल्क, अस्पतालको खर्च, खरिद गर्दा ब्याजमा लिइएका सामानहरूको मासिक, अर्ध मासिक वा साप्ताहिक शुल्क आदि नै मुख्य खर्चका बिलहरू हुन् ।
कुनै कम्पनीको सेवा लिए बापत कुनै कारण बस तपाईँले लागेको शुल्क वा बिल, सरकारी रकम वा कुनै आर्थिक लेनदेन कारोबार वा तिर्नुपर्ने रकम समयमा तिर्नु भएन, तिर्न बिर्सनु भयो, हेलचेक्र्याई गरि तिर्नु भएन वा लापरबाही गर्नु भयो वा समयमा तिर्न असमर्थ हुनुभयो वा तिर्न तपाइसँग डलर छैन भने के हुन्छ अमेरिकामा ? नतिर्दा के गर्छन् तिनले ? नतिर्दा हुनसक्ने परिणाम के हो ? नतिरेमा कहाँ कहाँ, कुन कुन अवस्थामा तपाइलाई असर पुग्छ भविष्यमा ? र उनीहरुले कसरी असुल्छन् उक्त रकम तपाइसँग ?
धेरै नेपाली जो नयाँ छन उनीहरुलाई कुनै अत्तोपत्तो हुने कुरै भएन। यहाँ धेरै बर्ष बसेका अधिकांश नेपालीहरू पनि यस मामलामा अन्योल छन अर्थात् जानकारी नै नभएको बताएका छन् । कि त पर्नु पर्यो कि त पढेर जान्नु पर्यो। नत्र घटना भएपछि, समस्यामा परे पछि सुझाब, जानकारी एवं समाधानका उपायका लागि थुप्रै नेपाली दाजुभाइ दिदीबहिनी सम्पर्कमा आइरहनु भएको छ मसँग ।
मैले यस्ता धेरै विषयमा सामाजिक सञ्जाल फेसबुकमा लाइभबाट पनि धेरै कुरा जानकारी दिने र समस्यामा परेकालाई सहयोग गर्दै आइरहेको छु । यी र यस्ता विषयमा पनि मैले फेसबुकमा लाइभबाट डिटेलमा जानकारी दिने गरेको छु सिलवालले नेपालबहससँग भने ।
अमेरिकामा कसैको सेवा वा वस्तु वा सरकारी, अर्ध-सरकारी, निजी, राज्य वा संघीय फेडेरल सरकारका निकाय वा सिटी, काउन्टी, टाउन वा कुनै पनि संस्थाको तिर्नुपर्ने रकम नतिरी सुख छैन। कुनै टेक्निकल मिस्टेक बाहेक, प्राविधिक भुलभुलैयामा झुक्किएर तपाईँलाई चार्ज गरेको भए उक्त संस्था वा कम्पनी वा निकायमा सम्पर्क गरे समस्या समाधान गरिहाल्छ नै तर, कुनै नियत वा अनियतबस तपाईँले तिर्नुपर्ने आर्थिक कारोबार समयमा नतिर्दा, तिर्ने चेष्टा नगरेमा वा अटेरी भएमा वा कुनै कारण बस तिर्न नभ्याएको भए वा तिर्न तपाईँसँग रकम नभए वा कुनै कारणले समयमै भुक्तानी नगरे तपाईँलाई जरिवाना, ब्याज हर्जानासहित अर्को बिल पठाउँदा पनि तपाईँले बेवास्ता गरे वा नतिरे ति कम्पनी वा संस्थाले तेस्रो पार्टी कलेक्सन डिपार्टमेन्टलाई तपाईँबाट भुक्तानी उठाउन जिम्मा लगाइदिन्छ र कतिपय कम्पनी वा संस्थाले कलेक्सन डिपार्टमेन्टलाई जिम्मा लगाउनु पूर्व नै तपाईँको क्रेडिटमा रिपोर्ट गरिसक्नेछ। त्यसो हुँदा तपाईँको क्रेडिट ड्यामेज हुनेछ र उक्त खराब रेकर्ड मिनिमम ७ बर्षसम्म रहनेछ, तपाईँको क्रेडिट हिष्ट्रिमा।
तर, सरकारी निकाय, राज्य वा संघीय सरकारका निकाय, सिटी वा काउन्टी वा आइआरएस वा कुनै पनि संस्थाले तपाईँको श्री सम्पति, जायजेथाबाट भएपनि उक्त रकम उठाउने अधिकार राख्छन्। यसो भयो भने तपाईँको घर, तपाईँको बैंक खाता, तपाईले काम गरेको 'पे चेक' मार्फत रकम गारनिशमेन्ट गरि रकम उठाउनेछ। यस्तो अवस्थामा आर्थिक बेइमानीको रुपमा तपाईँको रेकर्ड थुप्रै बर्षसम्म रहनेछ। त्यसो भयो भने तपाईँलाई लेन्डिङ्ग कम्पनी वा कुनै वित्तीय संस्थाले सुक्का मोहोर सापटी वा ऋण दिँदैन अमेरिकामा।
अमेरिकामा आर्थिक बेइमान, आर्थिक गैरजिम्मेदार हुँदा तपाईँको अमेरिकी ड्रिम ध्वस्त हुनेछ किनभने वित्तीय संस्था वा सरकारी निकायसँग यस्तो खराब सम्बन्ध वा रेकर्ड बन्नु भनेको तपाईँको अमेरिकी ड्रिम, समुन्नति सकियो भनेर जान्नु। तपाई इमान्दार हुँदाहुँदै, आर्थिक कारोबार चुस्त राख्दा राख्दै, लेनादेना पारदर्शी हुँदाहुँदै कुनै परिस्थिति वा आर्थिक परिबन्दमा परि समयमा तिर्न सक्नुभएन भने ति संस्था वा निकाय वा कम्पनीले कलेक्सन डिपार्टमेन्टमा कलेक्सनका लागि पठाउनु पूर्व नै कम्पनीमा गै एकमुस्ट क्यास डिल भए डिस्काउन्ट र नियमित पेमेन्ट डिलमार्फत भए त्यही अनुरूप कागज सम्झौता गरि रकम तिर्न सक्नुहुनेछ। के हेक्का राख्नु भने यस्तो तिरनतारनमा नतिरे कलेक्सन डिपार्टमेन्टले तपाईँको बसाई वा घरमा आइ तिर्नुपर्ने रकम बराबरको जायजेथा उठाउन सक्छन्।
तर, सरकारी वा राज्य एवं संघीय सरकारका निकाय वा कुनै वित्तीय संस्था वा क्रेडिट कार्डले तपाईँलाई अदालतमा उभ्याउनेदेखि कोल्याटर भए तपाईँको घर, जमिन सम्पति, गाडी वा कुनै पनि चिजबाट लिलामी गरि उठाउन सक्नेछन्। त्यसैले अमेरिकामा तिर्ने मामलामा, आर्थिक कारोबारमा, सेवा वा सुविधा लिएर आर्थिक जिम्मेवारी लिने सवालमा हेलचेक्य्राइँ वा बदमासी वा कुनियत नराख्नु। आर्थिक घाटी हेरि हाड निल्नु, आय आम्दानी नहुने खालका ॠण नलिनु, लिए पनि समयमै तिरिदिनु। आर्थिक आनीबानी र इमान राखे मात्र अमेरिकामा अमेरिकन ड्रिम पुरा गर्ने, जीवन सहज बनाउने र टिक्न सकिन्छ। खर्चबाट, ऋणबाट, कमाइ न समाई मोजमस्तीको चार बित्ता माथि नउफ्रिनु।
सानुबाबु सिलवाल
लामो समय नेपालमा पत्रकारितामा संलग्न रहेका सिलवाल वातावरण पत्रकार समाज (सेज नेपाल)का संस्थापक अध्यक्ष हुन । अर्थशास्त्र र मनोविज्ञान विषयमा स्नातकोत्तर गरेका वरिष्ठ पत्रकार सिलवालले नेपालमा रहँदा धेरैवटा साप्ताहिक पत्रिकामा वातावरण, आर्थिक, राजनीतिक, सामाजिक तथा मनोरञ्जन विटमा कलम चलाएका छन् ।
वातावरण मन्त्रालय र स्वास्थ्य मन्त्रालयको सञ्चार सल्लाहकार रहिसकेका सिलवाल वातावरण पत्रकारितामार्फत वातावरण संरक्षणमा विशेष योगदान गरेवापत राष्ट्रिय पुरस्कारबाट सम्मानित पनि भइसकेका छन् ।
१९ वर्षदेखि अमेरिकाका विभिन्न शहरमा व्यापार व्यवसाय गरेर बसेका सिलवाल सामाजिक अभियन्ता पनि हुन् । अमेरिकामा रहेका नेपालीहरूको दुःख पीडामा मलम लगाउँदै अभियन्ताको पहिचान बनाएका समाजसेवी सिलवाल नेपाल अमेरिका चेम्बर अफ कमर्सका कार्यवाहक सभापति समेत रहेका छन् ।
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
मंसिर २८, २०८१ शुक्रबार
चिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार
स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक
पुष ७, २०८१ आइतबार
बिक्री राखिएको जुनार र सुन्तला
पुष ७, २०८१ आइतबार
स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक
पुष ७, २०८१ आइतबार
‘अचम्मै पो भो ! हिउँ नै परेन’
पुष ७, २०८१ आइतबार