काभ्रेमा दुईपाङ्ग्रे सवारीसाधन चोरीका घटना बढ्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार १४:५६:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/bike_chor_gVvRyeKyHD_FC9H4ApwuO.jpg)
११ जेठ, काभ्रेपलाञ्चोक । सङ्घीय राजधानी काठमाडौं उपत्यकासँगै जोडिएको प्रमुख व्यापारिक केन्द्र बनेपामा पछिल्लो समय मोटरसाइकल तथा स्कुटर चोरीका घटना बढ्न थालका छन् ।
दुईपाङ्ग्रे सवारीसाधन चोरीका शृङ्खलाबद्ध घटना हुन थालेपछि प्रहरीको सक्रियता बढाइसँगै चोरीमा संलग्न केही व्यक्ति पक्राउसमेत परेका प्रहरीले जनाउको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका अनुसार चालु आर्थिक वर्षको भदौदेखि हालसम्म बनेपा क्षेत्रबाट मात्रै ६९ मोटरसाइकल तथा स्कुटर हराएकामध्ये १६ वटा फेला परेका छन् ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ सल्लेका कुमार तामाङको सोमबार राति ११ बजे एक सय ५० सिसीको पल्सर मोटरसाइकल र सोही वडाका सुजन भुजेलको दुई सय २० सिसीको पल्सर मोटरसाइकल चोरी भयो । चोरीलगत्तै पीडितले प्रहरीलाई खबर गरेपछि सिसी क्यामेराको अध्ययनबाट पनौती–५ स्थित बाँसघारीबाट दुई मोटरसाइकल चोरी गर्ने सोही वडाका दुई युवालाई पक्राउ गरियो ।
इलाका प्रहरी कार्यालय बनेपाले २० वर्षीय रुविन भुजेल र पनिस भुजेललाई मोटरसाइकल चोरीको अभियोगमा बुधबार मुद्दा दर्ता गरी म्याद थपेर अनुसन्धान गरिरहेको छ ।
यही जेठ २ गते बिहान ३ बजे गस्तीमा खटिएको प्रहरीले बनेपाको धनेश्वरस्थित बनेपा–पनौती सडकखण्डबाट रामेछापको खाँडादेवी गाउँपालिका–१ का ३६ वर्षीय गर्जन दियालीलाई विना हेल्मेट एक सय ५० सिसीको पल्सर मोटरसाइल चोरी गरेर लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । सोधपुछ गर्दा मोटरसाइकल छाडेर भाग्न खोजेपछि चोरीको भएको अनुमान गरिएको इप्रका बनेपाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए ।
“दियालीलाई जति केरकार गरे पनि मोटरसाइकल चोरीको गिरोहका बारेमा केही खुलाएनन् । प्रहरीले काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी निजबारे थप अनुसन्धान गरिरहेको छ”, उनले भने ।
गत वैशाख ३० गते राति बनेपास्थित बसपार्कबाट विनाहेल्मेट मोटरसाइकल चलाएर आउँदै गरेका महाभारत गाउँपालिका–६ का २५ वर्षीय होइसेर थिङ तामाङ, सोही गाउँपालिका–७ का २४ वर्षीय बुद्ध मोक्तान र २२ वर्षीय अनिल स्याङ्तानलाई प्रहरीले पक्राउ ग¥यो ।
सादा पोशाकमा गस्ती गरिरहेको प्रहरी टोलीले शङ्काका आधारमा सोधपुछ गरी दुई सय २० सिसीको पल्सर मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो । बनेपा–८ स्थित लञ्जबारको पार्किङस्थलबाट चोरिएको उक्त मोटरसाइकल चोरीमा अन्य दुई जना पनि संलग्न रहेको बयानका आधारमा थप दुईजनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुवेदीले बताए । उनका अनुसार यही जेठ १ गते धुलिखेलस्थित जिल्ला अदालतबाट म्याद थप गरी हाल उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।
गत वैशाख १ गते राति चार वटा मोटरसाइकल चोरी भएका घटना प्रहरीमा उजुरी परेका छन् । सोही दिन साँझ ७ बजे बनेपा–५ जलेश्वरमा मन्दर लामाको मोटरसाइकल चोरी भयो । साँझ ७ बजे बनेपा–१३ शिव मन्दिर नजिकैबाट विष्णु तामाङको, सोही राति ८ बजे बनेपा–७ गोदामचोकबाट बोलप्रसाद सापकोटाको, बनेपा–६ बुडोलबाट कुमार मैनालीको मोटरसाइकल चोरी भएको थियो । प्रहरीले ती घटनामा संलग्न कसैलाई पनि हालसम्म पक्रन सकेको छैन । ती घटनामा चोरी गर्ने गिरोहले समय र स्थानसमेत मिलाएर चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी उपरीक्षक सुवेदीले बताए। उनले दुईपाङ्ग्रे सवारीसाधन चोरीका घटनाको अनुसन्धान निरन्तर गरिरहेको भन्दै पक्राउ परेकाबाट थप विवरण पत्ता लगाउने प्रयास भइरहेको जानकारी दिए ।
बनेपा–६ रातमाटाबाट गत चैत १५ गते हरेराम हुमागाईंको घरभित्र पार्किङ गरिएको मोटरसाइकल चोरीमा संलग्नको हालसम्म केही सुराकसमेत पाउन नसकेको सुवेदीको भनाइ छ । “चोरीको गिरोहका व्यक्तिलाई पक्राउ नगर्दासम्म मोटरसाइकल चोरी नियन्त्रणमा चुनौती थपिँदै गएको छ । हामी निरन्तर घटना न्यूनीकरणमा लागिरहेका छौँ”, उनले भने ।
प्रहरी उपरीक्षक सुवेदीका अनुसार जेठ महिनाको डेढ हप्तामा तीन वटा मोटरसाइकल चोरीका घटना भएका हुन् । गत वैशाखमा १२ वटा मोटरसाइकल हराए भने गत भदौमा १० वटा दुईपाङ्ग्रे सवारीसाधन चोरी भएका छन् । धुलिखेल नगरका इञ्जिनियरसमेत रहेका हुमागाईंले घटनायता प्रहरीलाई चोरी पत्ता लगाई मोटरसाइकल खोजिदिन आग्रह गर्दै आएका छन् ।
प्रहरीले चोरेपछि मोटरसाइकलका पार्टपुर्जा बेच्ने सम्भावित क्षेत्र ग्यारेज, कबाडी पसल तथा पार्टपुर्जा बिक्री गर्ने पसलका व्यवसायीलाई आवश्यक सोधपुछ गरेको जनाएको छ । बनेपाबाट मोटरसाइकल चोरेर ग्रामीण क्षेत्र लैजानसक्ने भएकाले चोरी नियन्त्रणका लागि जिल्लास्थित प्रहरी कार्यालयले मातहतका प्रहरी निकायमा सर्कुलर गरिएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
इच्छाकामनाले बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने
असार ११, २०८१ मंगलबार
भरतपुर महानगरपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्ने
असार ११, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले लिए सन्यास
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी
असार १२, २०८१ बुधबार