अराजकताको खतराः प्रणालीगत राजनीति छाडेर एकले अर्कालाई गलाउने र राज गर्ने ?
भेषराज पोखरेल
जेठ १२, २०८१ शनिबार १४:९:३
राष्ट्रलाई व्यवस्थित रुपमा अगाडि बढाउन राज्यसंयन्त्र प्रणालीगत रुपमा अगाडि बढ्नु आवश्यक हुन्छ । प्रणालीगत रुपमा अगाडि बढ्दा राज्यको क्षमता अनुसार विकास हुन्छ । भ्रष्टाचार, अनियमितता, अव्यवस्था, दलाली, कमिसन सबै हटेर जान्छन् । न्याय पूर्ण राज्यको अवधारणा बलियो हुन्छ ।
राज्यसंयन्त्रले प्रणालीलाई त्यागेर प्रतिशोधमा अगाडि बढ्न थाल्यो भने यी सबै कुरा दनदनी आगो दन्केझैं बढेर जान्छन् । अझ प्रजातन्त्र वा लोकतन्त्रमा दलहरू र तिनका शीर्ष नेता एकले अर्कालाई कसरी गलाउने भनेर सबै शक्ति खर्चिँदा कस्तो अवस्था आउला ? राज्यसंयन्त्र यही बाटोमा हिंड्दा परिणाम भयावह हुने नै हो । पछिल्लो समय सरकार र सत्ता गठबन्धनका शीर्ष नेताहरु नै सकेसम्म प्रतिपक्षी दल तथा नेताहरूलाई गलाउने रणनीतिमा लागेका छन् ।
अझ सञ्चार जगतलाई पनि खेद्ने र गलाउने प्रयासमा लागेको देखिन्छ । प्रतिपक्षी दल पनि सरकार तथा प्रधानमन्त्री, मन्त्रीहरूका कमजोरी, अनियमितताका विषय उठाएर आफूलाई स्थापित गर्ने नै भयो । सरकार प्रतिपक्षलाई जसरी पनि गलाउने, सरकारको विरोध गर्नेहरूलाई विभिन्न उपाय अपनाएर धम्क्याउने, तर्साउने गर्न थालेको देखिएको छ । देशमा डरलाग्दो गरी अगाडि आएको सहकारीको बचत अपचलन काण्डको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन पनि सरकार सहमत भएको छैन । जनताको अर्बौं अर्ब रकम सहकारी सञ्चालकबाट डरलाग्दो गरी अपचलन हुँदा पनि सरकार प्रतिपक्ष गलाउन लागिपर्नु खतरनाक अवस्था हो ।
प्रतिपक्षी दल कांग्रेसले सहकारीको रकम ठगीको मुद्दा उठाउनै पर्थ्यो उठायो । यो मुद्दा कांग्रेसले नउठाएको भए पनि पीडित जनता ढिलोचाँडो सडकमा आउँथे नै । अब उनीहरु सडकमा आउन सुरु भइसकेको छ । सरकारले यो विषयलाई समग्र राष्ट्र र जनताको समस्या नठानेर मात्र प्रतिपक्षले उठाएको अड्को जस्तै गरी व्यवहार गरेको देखिएको छ । उपप्रधान तथा गृहमन्त्री नै जोडिएको जनताको पैसा अपचलनको घटना सामान्य होइन । होइन, उनी त्यसमा निर्दोष रहेछन् भने संसदीय समितिको अध्ययनले देखाइहाल्थ्यो ।
अरु सबै सहकारी ठगीका घटनाको पनि छानबिन गरी कारबाही गर्नुपर्ने कुरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, गृहमन्त्री रवि लामिछानेले सरकार र आफ्नो प्रतिष्ठाको विषय बनाएर बेवास्ता गरिनु गलत राजनीतिको सुरुवात हो । कांग्रेसलाई सरकार तथा गठबन्धनका नेताहरूले अनेक उपाय लगाएर गलाउन सक्छन् तर यत्रो ठूलो राष्ट्रिय समस्या त्यत्तिकै समान त हुन सक्नेछैन । देशलाई कानुनी राज्यको प्रक्रियामा हिँडाउन गलाएर वा कुनै सम्झौता गरेर अथवा शीर्ष नेतालाई लोभमा फसाएर सकिँदैन । त्यसले कालान्तरमा अव्यवस्था सिर्जना गर्छ ।
पछिल्लो समय प्रधानमन्त्री मौनता र बेवास्ता तथा गृहमन्त्रीको संसदबाटै प्रतिपक्षी दलका नेताहरूलाई पत्रपत्रिकामा आएका समाचारलाई आधार बनाएर तिमीहरु भ्रष्टाचारीले मलाई केको आरोप लगाउँछौ को भाषामा धम्क्याएर गलाउन खोजेको देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि विभिन्न वचनबाँण प्रहार गरेर प्रतिपक्षलाई गलाउने प्रयास गरेको देखिन्छ । सहकारी समस्या सुरुदेखिकै दलाली र कमिसनको सबैभन्दा चरम रुप हो ।
प्रतिपक्षी दल कांग्रेसले पनि यसलाई गठबन्धन सरकारलाई अप्ठ्रोमा पारेर गलाउने रणनीति मात्रै बनाएको हो भने यसले पनि अराजकतालाई नै अझ मलजल गर्छ । यो पनि राष्ट्र र जनतामाथिको घात नै हुनेछ । जिम्मेवार प्रतिपक्षले गृहमन्त्री जोडिएको अपचलनको मुद्दालाई संसदीय छानबिनको अवस्थामा पुर्याउनु पर्छ नै यसभन्दा देशभर सबै सहकारीको अनियमितताको छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन लागिपर्नुपर्छ ।
कांग्रेस जिम्मेवार छ भने सरकारलाई छानबिन र जनतालाई न्याय दिन बाध्य पार्नुपर्छ नै पार्टीगत रुपमा पनि देशैभरि रहेका सहकारीको अवस्थाबारे विस्तृत अध्ययन गरेर प्रतिवेदन तयार पार्नुपर्छ । जुनसुकै दलका नेता, कार्यकर्ता जोडिएको भए पनि यथार्थ विवरण तयार गरेर कारबाहीको प्रक्रियामा पुर्याउने र जनताको रकम फिर्ता गर्ने अवस्था सिर्जना गर्न सक्नुपर्छ । होइन, यसलाई गठबन्धन सरकार गलाउन मात्रै उपयोग भयो, कांग्रेस शीर्ष नेतृत्वले कुनै मूल्यमा पनि सहकारी समस्यालाई कमजोर बनायो भने देश र जनताप्रति घात हुनेछ ।
कांग्रेस प्रजातन्त्रका लागि संघर्ष गर्दै आएको दल भए पनि पछिल्लो समयमा उसको त्यो ओज कमजोर बन्दै गएको छ । जनताको माया त छ तर उसले राष्ट्र र जनताका गम्भीर विषय उठाए पनि, राम्रै कामको सुरुवात गरे पनि अन्तिम टुंगोमा पुर्याउन सक्दैन सक्दैन भन्ने भाष्य जनतामा बन्न गएको छ । विभिन्न लोभ र सौदाबाजीमा जस्तै मुद्दालाई पनि शीर्ष नेतृत्वले छाड्ने गरेका उदाहरण प्रशस्त छन् । अहिले पनि त्यो खतरा बढी छ । अहिले पनि त्यसो भयो भने आफूले राम्रो गर्ने भन्दा अरुका कमजोरी देखाउने र आफ्ना कमजोरीलाई ढोपेर, हल्ला गरेर लाभ लिने दल र नेताहरुले नै जित्नेछन् । कांग्रेसले डरलाग्दो गरी हार्नेछ ।
सहकारी समस्या सामान्य होइन, संविधानमा उल्लेख भएको अर्थतन्त्रको एउटा खम्बा ढलेको हो । कम्युनिष्टहरूले सबैभन्दा बढी जोड दिएको अर्थ नीतिको ठूलो हिस्सा पूर्ण रुपमा असफल भएको हो । उनीहरुको आर्थिक नीतिको मुख्य पाटोलाई काम नलाग्ने बनाउनमा उनीहरूकै नेता, कार्यकर्ता संलग्न भएको स्पष्ट हुँदै गएको देखिएको छ । यो पक्षमा सरकार, प्रतिपक्ष वा अन्य कुनै पनि दल मौन बसे भने यसले अर्थतन्त्रलाई नै काम नलाग्ने अवस्थामा पुर्याइदिनेछ । जनताको अर्बौं अर्ब गुम्ने र केही व्यक्तिले त्यो पैसा विदेशमा लगेर सम्पत्ति किन्ने, अनेकौं रुपमा दुरुपयोग गर्दा यसले अर्थतन्त्रलाई नै अवरुद्ध गरिदियो ।
यो क्रम अझ डरलाग्दो गरी बढ्नेछ । एउटा कुरा, केही पाटोले मात्रै अर्थतन्त्र अगाडि बढ्ने होइन यसका अनेकौं आयाम हुन्छन् । तीमध्ये मुख्य पाटो ध्वस्त बनाएपछि त्यसले देशका अनेक पक्षलाई हान्ने भयो नै । प्रधानमन्त्री दाहाल र केपी ओली भने छानबिन समिति गठन भए गृहमन्त्री लामिछाने जान्छन्, सरकार ढल्छ भन्ने भयमा सकेसम्म प्रतिपक्ष र सञ्चार क्षेत्रको तेजोवध गर्न प्रयास गर्दैछन् । गृहमन्त्रीको आक्रोश त संसदमा सुनियो नै । तसर्थ यो समस्यामा सबै पक्ष सचेत हुनु अति जरुरी छ । यत्ति हो राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्ने हिम्मत सबैले राख्न सक्नुपर्छ । त्यसो गर्न सएिन भने हामीले विश्वास गरेकाले नै हामीलाई सक्नेछन् ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपठूलो जनशक्तिलाई बेरोजगार बनाएको शिक्षाका कुरा गरौँ
पुष २, २०८१ मंगलबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार