सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार ११:३८:५२
१६ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याल विरुद्ध मोर्चाबन्दी शुरु भएको बताइएको छ । एआईजी सीपी गौतमको नेतृत्वमा डीआईजी अञ्जनीकुमार पोखरेल, अभि खत्री लगायतको टीमले मोर्चाबन्दी शुरु गरेको सशस्त्र प्रहरी उच्च स्रोतको दावी छ । गत साता मात्रै स्टाफ कलेजमा हाजिर भएका डीआईजी पोखरेलले आफ्ना विरुद्ध आईजीपीले समाचार लेखाएको भन्दै एआईजी सीपी गौतमलाई गुनासो पोखेको दावी सो समाचार स्रोतको छ ।
स्रोतका अनुसार एआईजी गौतमले पनि आफू विरुद्ध आईजीपीले निरन्तर समाचार लेखाएको आरोप लगाएका थिए । त्यति मात्र होइन कानुन महाशाखाका एसएसपी युवराज अर्यालले यो विषयमा केही अधिकृतहरूसँग छलफल नै गरेका थिए । ‘आईजीपीको समाचार नआउने एआईजी डीआईजीहरूको मात्रै समाचार आउने ! को हो सूचना दाता ? भन्दै छलफल भएको थियो’, हल्चोक मुख्यालय स्रोतले भन्यो ।
इन्स्पेक्टरको पहिलो ब्याचको अधिकृत हुन् अञ्जनीकुमार पोखरेल । हाल उनी बराह बाहिनी सुनसरीका बाहिनीपतिबाट सिधै स्टाफ कलेज सानो गौचरणमा आइपुगेका छन् । मधेश प्रदेशको कमाण्ड गर्न दौडधूप गरिरहेका उनलाई स्टाफ कलेजमा सरुवा गरियो भनेर विभाग र आईजीपीप्रति गाली गर्ने र मोर्चाबन्दी गर्ने काममा उनी सरिक भएको आरोप लागेको छ । बराह बाहिनी छाड्नु अघि विभागमा राम्रो काम गर्न नहुने रहेछ भन्दै आफूभन्दा सिनियरलाई गाली गरेर उनी बिदा भएको स्रोतको भनाइ छ । लामो समय संयुक्त राष्ट्रसंघको मुख्यालयमा बसेर काम गर्ने अवसर पाएको भएपनि बराह बाहिनीमा बस्दा उनको व्यवहार कर्मचारी मैत्री बन्न सकेको थिएन ।
फिल्डमा त उनी निकै कमजोर देखिएका थिए । झापामा सशस्त्र प्रहरीका कर्मचारी सहकर्मीबाटै कुटिएको घटनाले उनको कमाण्ड क्षमता कमजोर देखिएको थियो । जून घटनाले उनको करिअरमै धक्का लाग्ने सम्भावना छ । घटनाको विषयमा एआईजीकै नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन भएको थियो । बाहिनीबाट डीआईजी पोखरेलले नै घुमुवाको रुपमा खटाएका इन्स्पेक्टर नमप्रभात राई नेतृत्वको टोलीले झापाको सीमा क्षेत्रमा कार्यरत सशस्त्र प्रहरी जवानहरूमाथि कुटपिट गरी यातना दिएका थिए । कुटपिट गर्ने इन्स्पेक्टर राई लगायतको टोलीलाई निलम्बन गरी त्यतिबेला छानबिन गरिएका थियो । प्रारम्भिक छानबिनमै यो घटनामा बाहिनीको गल्ती देखिएको थियो ।
एकातर्फ संगठनको नीतिविपरीत डीआईजी पोखरेलले इन्सपेक्टरको नेतृत्वमा सादा पोशाकमा घुमुवा प्रहरी खटाएका थिए । अर्काेतर्फ राम्रोसँग डिउटी नगरेको भन्दै कुट्ने र खोलामा डुबाउने काम भएको थियो । अनुगमनका लागि खटाइएको अवस्थामा कसैले गल्ती गरेमा विभागीय कारबाही गर्ने नियमावलीमा उल्लेख छ । जिल्लाका एसपी तथा बीओपी इन्चार्जसँग समेत समन्वय नगरी भएको कुटपिट सुरक्षा निकायभित्रको एउटा गम्भीर घटना थियो ।
सो घटनामा डीआईजी पोखरेल समेत कारबाहीमा पर्ने सम्भावना देखिएको थियो । स्रोतका अनुसार कारबाहीमा परे पछि थप समस्या हुने भएपछि कारबाहीबाट जोगिन उनले छानबिन समितिका एआईजी गौतमलाई फकाएर आफ्नो गल्ती लुकाएका थिए । डीआईजी पोखरेललाई उनै एआईजी गौतमले जोगाएका थिए । जसका कारण अहिले आईजीपी विरुद्धको मोर्चाबन्दीमा गौतम र पोखरेलले एमाले र माओवादीका नेताहरूसँग कुराकानी गर्ने, सीपी गौतमलाई आईजीपी दिनुपर्ने भन्दै लविङ गर्न थालेको स्रोतको भनाई छ ।
आफूलाई भावी आईजीपीको दावी गर्ने पोखरेलले अर्का डीआईजी शम्भु सुवेदीलाई बाहिनीको चार्ज बुझाउने बेला बाहिनीबाट १ सय ९ जना बिदामा रहेको जानकारी गराएका थिए । पहाडी गुल्मबाट कर्मचारी तानेर बाहिनी थुपारेका पोखरेलका कारण अहिले पुर्वी पहाडका गुल्महरू बेस क्याम्प जस्ता भएका छन् । सशस्त्र प्रहरी समाचार स्रोतका अनुसार अहिले गुल्ममा ५०÷५५ जना जनशक्ति पनि छैनन् । तर उनले धेरै जनशक्ति बाहिनीमा ल्याएर थुपारेको र बिदा छाड्ने गरेको खुलेको थियो ।
उनको बाहिनीमा २ सय ६ जना बढी जनशक्ति रहेको थियो । उनले एक वर्षसम्म एकै व्यक्तिलाई कोट मास्टर राखेर बढी भएको जनशक्तिलाई बिदा छाड्ने गरेको र लेखा अधिकृतसँगको सहकार्यमा मासिक १५ देखि २० लाख राशनवापत अनधिकृत रुपमा बुझ्ने गरेको बराह बाहिनीका एक सिनियर अधिकृतले नाम नबताउने शर्तमा नेपालबहसलाई बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार