संसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार १२:९:३८
![](https://nepalbahas.prixacdn.net/media/albums/sahkari_i01KZzJZ6W_MWAUx8RjOE.png)
१६ जेठ, काठमाडौं । बचतकर्ताहरुको करिब २ अर्ब रुपैया हिनामिना गरेको ललितपुरको लगनखेलमा रहेको गतिशील बचत तथा ऋण सहकारी संस्था संसदीय छानविन समितिभित्र पारिएको छैन । लामो रस्साकस्सी पछि बनेको संसदीय छानबिन समितिले २९ वटा सहकारीको छानविन गर्ने भएपनि २ अर्ब भन्दा बढी हिनामिना गर्ने गतिशील सहकारी छुटेको छ । सो सहकारीलाई नियोजित रुपमा छुटाइएको हो कि भूलवश राज्यको नजरमा नपरे छुटाइएको हो भन्ने एकिन हुन सकेको छैन ।
त्यसका पूर्व अध्यक्ष बलराम पाठक माओवादी केन्द्रका ठूलै नेता रहेको तथा वर्तमान अध्यक्ष लगायत अधिकांश सञ्चालकहरू माओवादीसँग निकट रहेको तथा अन्य सदस्यहरू पनि वामपन्थी पृष्ठभूमिका रहेका कारण छुटाइएको आशंका बचतकर्ताले गरेका छन् ।
गतिशीलका बचतकर्ताहरुले २०८० असार १० गते सहकारीले बचत फिर्ता नगरेको भन्दै जिल्ला प्रकाशन कार्यालय ललितपुरमा उजुरी दिएका थिए । आफुहरुले पटक–पटक बचत फिर्ता माग्दा पनि सहकारीले नदिएको र २०७९ को साउनदेखि सावाँ ब्याज नै दिन छोडेको भन्दै ४८ जना बचतकर्ताको हस्ताक्षर सहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि मात्रै सो सहकारी संकटग्रस्त भएको तथ्य बाहिर आएको थियो ।
बचतकर्ताको उजुरी आए लगत्तै जिल्ला प्रशासन कार्यालय ललितपुरले सञ्चालकहरुलाई असार ११ गते महानगरमै बोलायो । प्रशासन कार्यालयले आफ्नो रोहबरमा सञ्चालक र बचतकर्ताको बैठक राख्यो । सो बैठकमा ६ वटा निर्णय भए । पहिलो निर्णय थियो–१० दिनभित्र गतिशील सहकारी संस्थाले श्वेतपत्र जारी गर्ने । सहकारीले महानगरले भने जस्तै श्वेतपत्र पनि जारी गर्यो ।
महानगरमा बसेको बैठकको दोस्रो निर्णय थियो, ‘सहकारीका अध्यक्षले सात दिनभित्र विभिन्न पक्षहरु समेटी ऋण असुली समिति गठन गर्ने । तेस्रो निर्णय निर्णय थियो, ‘सहकारीले एक महिनाभित्र धितो लिलामको प्रक्रिया सुरु गरी सूचना जारी गर्ने, चौथो निर्णय थियो,– असुली हुन आएको रकम सदस्य बचतकर्तालाई दामासाहीले क्रमशः फिर्ता गर्दै जाने, पाँचौं निर्णय थियो, – आगामी तीन महिना भित्र विशेष साधारणसभा सम्पन्न गर्ने र पाँचौं निर्णय थियो, –माथिका सबै निर्णय कार्यान्वयन नभए कारबाहीका लागि बागमती रजिष्ट्रारको कार्यालयमा पठाउने ।
सहकारीले नाम मात्रैको श्वेतपत्र जारी गर्ने बाहेकको काम गरेन । बठ्याईं गरेर कार्यालय सञ्चालन गरिरह्यो र पैसा नभएको भन्दै बचतकर्तालाई रित्तै हात घर पठाएपछि थप संकट आएको थियो । अध्यक्ष बलराम पाठक, उपाध्यक्ष खेम नेपाल, कोषाध्यक्ष राजेश कुमार हुमागाईं, सचिव सौगात प्रसाद दाहाल, सदस्यहरू राधादेवी श्रेष्ठ र विनय अमात्य, व्यवस्थापक बिणाकुमारी अमात्य र ऋण अधिकृत ध्रुव गौतमलाई कारवाही गर्न उजुरी परेको थियो ।
सहकारीको कुल शेयर पुँजी ९ करोड २८ लाख ४४ हजार रुपैयाँ छ । संस्थाको कुल पुँजी भने १८ करोड ४४ लाख ९३ हजार रहेको देखिएको छ । संस्थाको कुल पुँजी तथा दायित्व भने २ अर्ब ७६ करोड ४ लाख ९ हजार रुपैयाँ छ । संस्थामा बचतकर्ताको कुल २ अर्ब २६ करोड ५७ लाख ३ हजार रुपैयाँ निक्षेप छ । सहकारीले व्यापारिक कर्जामा १ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ भने गाडीमा ६८ लाख ५८ हजार, मुद्दती रसिद धितो कर्जामा ३ करोड ५१ लाख २ हजार र कर्मचारीलाई ७ लाख ८ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकका पूर्वअध्यक्ष बलराम पाठककै कारण सो सहकारी समस्यामा परेको हो । माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री रहेको बेला उनी राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक बनेका थिए । गत कार्तिकसम्म गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डा. बलराम पाठक थिए। उनले त्यतिखेर विकास थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिँदै उनी बैंकको अध्यक्ष बनेका थिए । सहकारीमा समस्या आएपछि उनी बैंकको अध्यक्ष मात्र होइन सञ्चालकबाट पनि राजीनामा दिएर बाहिरिएका छन् । अहिले पनि उनी अप्रत्यक्ष रुपमा सहकारीको काम गरिरहेका छन् ।
पाठक ललितपुर महालक्ष्मी नगरपालिका बासिन्दा हुन् । पुरानो घर चाहिँ चितवन भएको बताइन्छ । यसअघि उनले चितवनको रामपुरमा पढे पनि अहिले पाटन क्याम्पसमा अर्थशास्त्र पढाउँछन् । माओवादी केन्द्रको कोटामा पाठकलाई अर्थ मन्त्रालयले चार वर्षका लागि नियुक्त गरेको थियो। तर सहकारी ठगी काण्डमा परेपछि उनी कार्यकाल नसकिँदै बाहिरिएका छन् । गतिशील सहकारीमा १५ वर्षसम्म अध्यक्ष पदमा रहँदा १० हजार बचतकर्ताको पौने ३ अर्ब रकम अनियमितता गरेको उनीमाथि आरोप छ।
पाठकले सहकारीको अध्यक्ष हुँदा बचतकर्ताको पैसा हिनामिना गरेको, आफन्तलाई ऋण दिएको, घरजग्गामा लगानी गरेको र नातागोताका नाममा ऋण लगानी गरेर आफैंले चलाएको भन्दै यस्तो व्यक्ति बैंकको अध्यक्ष बन्न लायक नरहेको भन्दै अर्थ मन्त्रालयमा उजुरी परेको थियो। अर्थ मन्त्रालयका बैंक वित्तीय समन्वय महाशाखाका प्रमुखलाई सम्बोधन गरेर पीडित बचतकर्ताले हजारौं बचतकर्ताको अर्बौ रकम हिनामिना गरेका पाठकको नेतृत्वबाट सरकारी स्वामित्वको प्रतिष्ठित बैंक चल्न नसक्ने भन्दै उनको नियुक्त बदर गर्न माग गरेका थिए।
‘यस्तो व्यक्तिलाई देशकै गरिमामय वाणिज्य बैंक, जसको वार्षिक टर्न ओभर अर्बमा मात्रै होइन, खर्बमा रहेको, नेपालभरी ३०औं लाख बचतकर्ता भएको बैंकको गरिमामय अध्यक्ष पदमा रहिरहन नसुहाउने र भविष्यमा यस बैंकको प्रतिष्ठा र कारोबारमा नकारात्मक असर पर्नबाट बचाउन समयमै कदम चाल्न अनुरोध गर्दछौँ’ अर्थ मन्त्रालयमा दिइएको निवेदनमा भनिएको थियो। सहकारी ठगी काण्डमा मुछिएपछि उनले गत कार्तिकमा राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक तथा अध्यक्षबाट बर्खास्त हुनु परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार