सयौं वर्ष पुरानो ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार १३:५७:२४
१६ जेठ, बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा दुई गाउँबीचमा ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिले निरन्तरता पाएको छ । भूमे पूजाको अवसरमा यस गाउँमा सयौं वर्ष पुरानो इतिहास बोकेको ‘लिङ्गोजुधाउने’ अनौठो प्रतिस्पर्धा गरिन्छ ।
मङ्गलबार दग्नामका गैरी र कान्छी गाउँबिचमा भएको लिङ्गोजुधाइमा गैरी गाउँ विजयी भएको छ । प्रकृति पूजाको रुपमा चिनिने भूमे पूजामा भूमे देवतालाई खुसी बनाउन दुई गाउँबिचको लिङ्गो जुधाउने प्रतियोगिता सम्पन्न भएको स्थानीय अगुवा धनिलाल गर्वुजाले बताए । ‘‘यो संस्कृति पूर्खादेखि नै चल्दै आएको छ, हरेक वर्ष भूमे पूजामा यहाँ दुई गाउँका लिङ्गो जुधाउने प्रतियोगिता हुन्छ,’’– उनले भने ।
दग्नाममा गैरी गाउँ, कान्छी गाउँ, माझिगाउँ र डाँडागाउँ गरी चार वटा टोल रहे पनि यस प्रतियोगितामा भने हरेक वर्ष गैरी र कान्छी गाउँले मात्रै सहभागिता जनाउने गरेका छन् । मङ्गलवार दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजापतकाले सिगारिएका अग्ला बाँसको लिङ्गो बोकेर मुन्का डाँडामा पुगेका स्थानीयले एकैसाथ लिङ्गो ठडाएर प्रतिस्पर्धा गराएका थिए ।
पुख्र्यौलीनाच, सोरठी भाका र पञ्चेबाजासहितको उत्सवकाबीच मङ्गलबार बिहान भूमे देवताको पूजागरेपछि दिउँसो भूमे देवतालाई खुसी बनाउनका लागि स्थानीयले लिङ्गो जुधाएका हुन् । प्रतियोगितामा अग्ला–अग्ला सिगारिएका लिङ्गालाई प्रतिस्पर्धामा उतार्ने गरिन्छ ।
दग्नामको भूमे पूजालाई लिङ्गो जुधाइले सांस्कृतिक उत्सव बनाउने गरेको वडाअध्यक्ष पबिन गर्बुजाले बताए ।‘‘भूमे पूजालाई हामीले मौलिकता र परम्परालाई जोगाउने गरी मनाउँदै आएका छाँै, यसमा लिङ्गो जुधाइ सबैको लागि रुचि र चासोको विषय बन्ने गरेको छ, दुई गाउँबीचको प्रतिस्पर्धा देवतालाई खुसी बनाउने र आपसी सद्भाव बढाउन सहयोगी बन्ने गरेको छ’’– उनले भने ।
दुई गाउँले लिङ्गो जुधाइलाई प्रतिष्ठाको विषय बनाउने गर्छन् । बाँसको लिङ्गो स्थानीय दग्नाम वरपरसँगै छिमेकीगाउँ राखुबाटसमेत लैजाने गरिन्छ । स्थानीयले लिङ्गो जुधाइलाई करिब चार सय वर्ष पुरानो संस्कृतिमा गन्ने गरेका छन् । भूमे पूजामा लिङ्गो जुधाइ हेर्न देश तथा विदेशमा छरिएर रहेका दग्नामवासी गृहगाउँ फर्कने गर्छन् भने छिमेकी गाउँबाटसमेत उल्लेख्य मात्रामा सर्वसाधारण मेला भर्न पुग्ने गर्छन् । यस पटकको लिङ्गो जुधाइको अवलोकनमा तीन सय बढी सहभागी भएका थिए ।
जेठा भूमेको रुपमा चिनिने भएकाले दग्नामवासीले हरेक वर्षको जेठ महिनाको पहिलो वा दोस्रो साताको मङ्गलबारको दिन पूजा गर्ने चलन छ । खासगरी खेतीबाली राम्रो होस्, बाढीपहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोपको सिर्जना नहोस् भन्ने कामना गर्दै भूमे देवताको पूजा गरिन्छ ।
भूमे पूजाको अवसरमा स्थानीय एकता युवा क्लबले संस्कृति तथा खेलकुद मेलासमेत आयोजना गर्दै आएको छ । यसवर्ष दग्नाममा पूख्र्यौली नृत्यसहित विविध खेलकुद र सांस्कृतिक मेलाको आयोजना गरिएको क्लबले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबडादशैंका अवसरमा राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना
असोज २५, २०८१ शुक्रबार
तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे
असोज २५, २०८१ शुक्रबार
छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि
असोज २५, २०८१ शुक्रबार
पार्टी कार्यालयलाई थप व्यवस्थित गर्न आफ्नै भवन निमार्ण गर्दै एमाले
असोज २५, २०८१ शुक्रबार
पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या
असोज २५, २०८१ शुक्रबार
दशैंमा पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् खर्चको जोहोदेखि चाहिने सामग्रीको तयारी
असोज २५, २०८१ शुक्रबार
दशैंको किनमेल स्थानीय हाटबजारमा
असोज २५, २०८१ शुक्रबार
निङ्गलाशैनी भगवती मन्दिरमा दर्शनार्थी
असोज २५, २०८१ शुक्रबार
बाढीले क्षति पुर्याएको झोलुङ्गे पुल मर्मतपछि सञ्चालन
असोज २५, २०८१ शुक्रबार
पहिरो हटाएर बीपी राजमार्ग पुनः सञ्चालन
असोज २५, २०८१ शुक्रबार
बडादशैंका अवसरमा राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना
असोज २५, २०८१ शुक्रबार
तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे
असोज २५, २०८१ शुक्रबार