संविधान र कानुनमाथि गृहमन्त्रीको दादागिरीले सडकमा ट्राफिक आतंक, निरीह छन प्रधानमन्त्री
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार १२:४३:२६
१७ जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछाने महिला ट्राफिक प्रहरी महिनावारी भएको समयमा चार दिन बिदा दिने मौखिक घोषणा गरेको तीन दिन हुँदैछ । महिनावारी भएको समयमा स्वास्थ्यका दृष्टिले महिलामा शारीरिक कमजोरी आउँछ । यो समयमा उनीहरुलाई आराम दिनु राज्यको दायित्व पनि हो । तर, त्यसको बदलामा उनले मापसे वा अन्य हिसाबले ट्राफिक नियम उल्लंघन गरी कारवाहीमा परेका नागरिकलाई सडकमा उभ्याउन संविधान र कानुन विपरीतकाे निर्देशन दिएका छन् ।
कानुन विपरीत गृहमन्त्रीको ठाडो निर्देशन पछि ट्राफिक प्रहरी पनि कानुन विपरीत व्यक्तिको मानवअधिकार र गोपनीयता भंग गराउन उद्धत भएर लागेको छ । विडम्बना के छ भने गृहमन्त्री संविधान हो, कानुन हो र उसले दिएको जुनसुकै निर्देशन पनि मान्नुपर्छ भन्ने भ्रममा ट्राफिक प्रहरी हिँडिरहेको छ । प्रहरी संगठनभित्र पनि ऐन, कानुन बनेका छन् । अहिलेसम्म भएका कानुनले प्रहरीलाई व्यक्तिको गोपनीयता भंग गर्ने अधिकार दिएको छैन ।
मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम हुन्छ । दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरीले यस्तो गर्दा यस्तो हुन्छ भनेर सचेत गराउन सक्छ, गराइरहेको पनि छ । कतिपयले सार्वजनिक रुपमा मादक पदार्थ सेवन गरेपनि धेरैले यसमा गोपनीयता अपनाएका हुन्छ । मादक पदार्थ सेवन गर्ने जो कोहीकाे पनि सार्वजनिक जीवन हुन्छ । त्यो भंग गराउने अधिकार न गृहमन्त्रीलाई न ट्राफिक प्रहरीलाई हुन्छ ।
गृहमन्त्रीले यसरी सस्ताे लाेकप्रियताका लागि आवेगका भरमा निर्णय गर्ने र कार्यान्वयनका लागि दवाव दिने, संविधान र कानुनको वास्ता नगर्ने हो भने प्रहरीले विभिन्न अपराधमा समातेर सार्वजनिक गर्दा मुखमा माक्स र आँखामा पट्टी लगाएर किन ल्याउने । गौशाला २६ नामाङ्कन किन गर्ने । सबै सार्वजनिक गर्दा भयो । तर, यसो गर्दा ति अपराध गर्नेहरूको पनि व्यक्तिगत स्वतन्त्रता हनन हुन्छ र यसले समाजमा नकारात्मक असर पार्छ भनेर संविधानमा व्यवस्था गरिएको हो । त्यही अनुसार कानुन बनेका हुन् ।
मापसे गरेका वा अन्य किसिमले ट्राफिक नियम उल्लंघन गरेकालाई यही हिसाबले उनीहरुको गोपनीयतामाथि ख्याल नगरी कारवाही नै गर्ने हो भने पहिले त्यो अनुसार कानुन बनाउनुपर्यो । संसदमा बहस गरिनुपर्यो । अन्यथा अहिलेको संविधान अनुसार चल्ने हो भने नेपालको संविधान २०७२ को धारा २८ र व्यक्तिको गोपनीयता सम्बन्धी ऐन, २०७५ ले व्यक्तिको गोपनीयताको अधिकार हनन गरेको अभियोगमा गृहमन्त्री रवि लामिछानेमाथि कारवाही आकर्षित हुन्छ, ट्राफिकका हाकिममाथि कारवाही आकर्षित हुन्छ । अदालत लाग्छ ।
व्यक्ति रवि लामिछानेको पक्ष अर्को हुनसक्छ तर संविधानतः गृहमन्त्रीको पदीय हैसियत, मर्यादा र अधिकारप्रति आकर्षित हुन्छ । विश्वव्यापी मानवअधिकारका विषयहरू गृहमन्त्रीको पदीय जिम्मेवारीप्रति आकर्षित हुन्छ । मानवअधिकार हननका दृष्टिले यो अक्षम्य अपराध सरह ठहरिन्छ । विषय ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेकाहरूलाई प्रहरीले स्वयंसेवकका रुपमा सवारी व्यवस्थापनमा खटायो भन्नेसँग मात्र सीमित रहेको छैन ।
अहिले गृहमन्त्रीको जिम्मेवारीमा पुगेका रवि लामिछानेले यस विषयमा संविधान र कानुनले के भन्छ भन्ने कुरा नबुझेको हुनसक्छ । लहडमा गृहमन्त्रीले जे पनि गर्न मिल्छ भन्ने अहंम् भएको हुन सक्छ । यसैका लागि सल्लाहकार राख्ने गरिएको हो । यदि गोपनीयताको हक सम्बन्धी व्यवस्था अन्य कानूनहरू जस्तै मुलुकी अपराध संहिता, २०७४ र संगठित अपराध निवारण ऐन, २०७० मा के व्यवस्था छ भनेर यस्ता कानुनसम्मत नहुने घोषणा गृहमन्त्रीले गर्न मिल्दैन भन्ने कुरा सल्लाहकारले सिकाउनुपर्ने हो । तर, सस्तो लोकप्रियता बटुल्ने लोभले गृहमन्त्रीलाई हानी गरेको छ, संविधान र कानुनमाथि प्रश्न उठाएको छ ।
नेपालको संविधान, २०७२ धारा २८ ले गोपनीयताको हक सुनिश्चित गरेको छ । कुनै पनि व्यक्तिको जिउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्र सम्बन्धी विषयको गोपनीयता कानुन बमोजिम बाहेक गर्न पाइने छैन भनेर संविधानमा व्यवस्था गरिएको छ । यसमा गृहमन्त्रीलाई छुट भनिएको छैन । यसै कारण मादक पदार्थ सेवन, लेन अनुशासन, ओभरस्पिडलगायतको कारबाहीमा परेकालाई ट्राफिक व्यवस्थापनमा स्वयंसेवकका रूपमा सडकमा खटाउने ट्राफिक प्रहरीको अभियान सुरुमै विवादमा तानिएको हो ।
विज्ञहरूले सवारी चालकलाई पोसाक लगाएर ट्राफिक प्रहरीसँगै सडकमा खटाउनु कानुन र संविधान विपरीत रहेको मानेका छन् । यसले गृहमन्त्री कानुन विपरीत गए भन्ने कुरा देखाउँछ । गृहमन्त्रीको निर्देशन र ट्राफिकको अभियानले भविष्यमा मानव अधिकार र गोपनीयता उल्लंघन हुने चिन्ता थपिदिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि सचेतना कक्षा लिनुपर्ने किसिमका कारबाहीमा परेकाहरूलाई एक घण्टा ट्राफिक स्वयंसेवकको रुपमा खटाउने काम गृहमन्त्रीकै निर्देशन भएको भन्ने ट्राफिक प्रहरीले पनि ऐन र कानुनका कुरा हेर्न भुलेको देखिन्छ । नेपालको संविधानले गोपनीयताको हक सुनिश्चित गरेको छ र गोपनीयताको हक भन्नाले व्यक्तिको आत्मसम्मान, मान—ख्याति, स्वास्थ्य, सम्पत्तिजस्ता कुराको गोपनीयता सुरक्षा प्रदान गर्नुपर्छ भन्ने कुरा ट्राफिक प्रहरीले नबुझेको हो भने नियम उल्लंघन गर्ने माथि के आधारका कारवाही गर्छ ।
सार्वजनिक पद धारण गरेको व्यक्तिको हकमा गोपनीयताको हकको प्रयोग र उपभोग फरक हुनसक्छ । सार्वजनिक पदवाहक व्यक्तिको गोपनीयता कायम गर्नुपर्ने सूची अन्य व्यक्तिको भन्दा साँघुरो हुनसक्छ । तर नेपालको संविधान, २०७२ धारा २८ सबैमा बराबरी लाग्छ भनेको छ ।
ट्राफिक प्रहरीलाई व्यक्तिलाई सचेतना क्लासका नाममा, त्यसले पनि नपुगेर सडकमा विशेष पोसाकमा ट्राफिक प्रहरीसँगै उतारेर स्वयंसेवकका रूपमा खटाउन मिल्दैन । यो विषय कानुन, निर्देशिका कतै उल्लेख छैन । ट्राफिक प्रहरीले गरेको पछिल्लो कामले व्यक्तिको गोपनीयताको हक उल्लंघन गरेको छ । यो मानव अधिकार उल्लंघनको विषय पनि हो । व्यक्तिलाई एउटै कसुरमा पटक–पटक कारबाही गरेर सार्वजनिक ठाउँमा उतारेर बेइज्जत गर्नु गोपनीयताको गम्भीर उल्लंघन हो ।
व्यक्तिको गोपनीयता सम्बन्धी ऐन, २०७५ ले विद्युतीय प्रणालीहरूबाट भएको कुराकानीलाई पनि गोपनीयताको अधिकारभित्र राखेको छ । प्रत्येक व्यक्तिलाई विद्युतीय माध्यममा रहेको निजको कुनै पनि वैयक्तिक सूचना, लिखत, पत्राचार, तथ्यांक वा चरित्र सम्बन्धी कुराको गोपनीयता राख्न पाउने अधिकार ट्राफिकले बुधबार सडकमा खाएकालाई छ । यो अधिकार कारबाहीका नाममा उल्लंघन गर्न मिल्दैन, पाउँदैन ।
गृहमन्त्रीको यो काम सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार पनि विपरीत छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा १ अनुसार ट्राफिक प्रहरीले आफैँ निर्णय गरेर कसुरदारलाई पहिलोपटक कसुर गरे पाँच सय, दोस्रोपटक सोही कसुर गरे एक हजार र सोही कसुर तेस्रो वा त्यसभन्दा धेरै गरे एक हजार पाँच सय रूपैयाँसम्म जरिवाना गर्ने अधिकार छ । त्यसबाहेक अन्य कारबाही गर्ने अधिकार ट्राफिक प्रहरीलाई छैन । चाहे त्यो गृहमन्त्री वा प्रधानमन्त्रीको निर्देशन नै किन नहोस् ।
यो सामान्य विषय होइन किनभने यसले अहिले राज्य कसरी चलिरहेको छ भन्ने कुरा देखाउँछ । अझ प्रधानमन्त्रीको लाचारीपनलाई पनि यसले प्रस्ट्याएको छ । गृहमन्त्रीले गरेका यस्ता संविधान, कानुन र विश्वव्यापी मानवअधिकार उल्लंघन हुने निर्णयप्रति प्रधानमन्त्रीले अंकुश लगाउन सक्नुपर्ने हो । राज्यकै खिल्ली उडाउने खालका यस्ता हर्कतले असल शासनमा प्रश्न उठाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संविधान र कानुनअनुसार राज्य चलाउन असक्षम छन भन्ने कुरा गृहमन्त्रीको यो व्यक्तिगत लहडले उठाएको प्रश्नले नै देखाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
एसएसपी बढुवाका लागि चरम राजनीतिक लविङ
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार