निर्माणाधीन बर्दिबास रेल्वेको कारण १४ घरपरिवारको बिचल्ली
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार ११:४३:४४
♦ विशाल बस्नेत
२० जेठ, महोत्तरी । महोत्तरी बर्दिबासमा उमेरले ९१ बर्ष पुगेकी अम्बिका देवी अधिकारी आजकाल आफ्नै घर हेर्दै टोलाउँछिन् । हातमा रेल्वेले अधिग्रहण गरिसकेको चिठी उनले साथमा नै बाेकेकी छन ।
पढेलेखेका कोही वस्तीमा आए भने सोही चिठी गोजीबाट निकाल्छिन् अनि पढ्न लगाउँछिन् । चिठीमा लेखिएको हुन्छ 'रेल्वे स्टेसन र रेल्वे ट्र्याकवेड निर्माणार्थ यो जग्गा अधिग्रहण गरिएको छ ।'
वरपर जग्गा भएका झण्डै ३० घरधुरीले अधिग्रहण बापत सरकारले निर्धारण गरेको मुआब्जा प्राप्त गरिसकेका छन तर बर्दिबास-१४ स्थित यहीँ ठाउँमा बसोबास गर्ने अधिकारी अझै मुआब्जाको पर्खाइमा छिन ।
उनले वस्तीमा आधा शतक बिताइसकेकी छन । तर सरकारले सार्वजनिक जग्गामा बसोबास गरिरहेको र व्यक्तिगत लालपूर्जा नभएको आधार देखाएर मुआब्जा दिन आनाकानी गरिरहेको छ ।
जग्गाको नाममा अधिकारीको यो नै सबथोक हो । रेल्वेले अधिग्रहण गरेवापत मुआब्जा दिँदा अन्यत्र स्तान्तरण हुन उनी तयार छिन तर बिस्तारै निर्माणको क्रममा रेल्वेले जग्गा र घर भत्काउने चेतावनी दिएपछि अधिकारी आजकाल राम्ररी सुत्न नी पाएकी छैनन् । आँखा भरी आँसु बनाउँदै अधिकारीले भनिन 'निक्कै हारगुहार मागी सके, यो उमेरमा सडकमा आउनुपर्ने अवस्था छ ।'
अधिकारी लौरो टेक्दै कयौँ पटक सरोकारवाला निकायसम्म पुगेकी छन तर आस्वासन बाहेक अहिलेसम्म केही पाईनन । उन्ले भनिन 'प्रमुख जिल्ला अधिकारीलाई पनि भेटेको छु, यता नगरप्रमुखलाई पनि भेटेको छु तर कुनै सुनुवाइ हुन सकेन । अब बुढेसकालमा के गर्ने होला ?'
अधिकारीको जस्तै अन्य १४ घर परिवारको पीडा पनि उस्तै छ । पक्की घर बनाएर बसोबास गर्दै आएका १४ घर परिवारका २ सय भन्दा बढी सदस्य रेल्वेले जग्गा अधिग्रहण गरेपछि सडकमा आइपुगेका छन ।
रेल्वे स्टेसन निर्माणार्थ सोही वस्ती भएर अहिले दैनिक सयौं टिपरहरु नदीजन्य पदार्थ बोकेर आवतजावत गर्छन् । बिहान देखि रातभर काम संचालन हुँदा एकातिर सुत्न समस्या बनिरहेको छ भने अर्कोतिर घरवारविहीन बनेपछि के गर्ने होला भन्ने चिन्ताले पिरोलिरहेको छ ।
'साना नानीहरूमा अभिभावकहरूको चिन्ताले मानसिक रुपमा असर परेको छ । पठनपाठनमा ध्यान दिन छाडेका छन ।' पीडित निर्मला सिंहले भनिन । 'बिस्तारै वस्तीमा ठूलो समस्या सिर्जना हुँदै छ ।'
जग्गा दर्ता भएपनि १४ घर-परिवार बस्ने झण्डै ३ विघा जग्गाको धनीपुर्जा भने छैन परिणाम स्वरूप सरकारले धनीपुर्जा भएकाहरूलाई मुआब्जा प्रदान गरिसकेको छ । तर आधा शतक भन्दा बढी समयदेखि भोगचलन गरेर यहाँबाट जीविकोपार्जन गर्दै आएकाहरूलाई राज्यले विभेद गरेको आरोप लागेको छ ।
उनीहरू बसोवास गर्ने उक्त जग्गालाई भोगचलन गर्दै आएका स्थानीयहरू कै नाममा नगरपालिकाले समेत प्रमाणित गरिदिएको छ । बर्दिबास नगरपालिकाको अनुसार यो जग्गा २०२२ सालमा सर्वे नापी समेत भइसकेको छ । लालपूर्जा लिन मात्र वाकी रहेको उक्त जग्गालाई लिएर सरकारले मुआब्जाको विवाद निकाल्नु उचित नभएको नगरपालिकाले मुआब्जा निर्धारण समितिलाई पत्र समेत पठाएको छ ।
२०८० साल चैत्र १९ गते रेल्वेलाई पठाएको पत्रमा साविकको २५ नं बहादुरगंज कित्ता नं १८,२०,२४,२६,२९ र ३० को जग्गा १४ घरधुरीको नै भएको दावी गरिएको छ ।
फिल्डवुकमा स्थानीय जमिन्दार नीर वहादुर हमालको नाममा रहेको उक्त कित्ताहरू बसोबास गरिरहेका स्थानीयहरूलाई दिन मन्जुरीनामा समेत दिइ सकिएको छ तर सरकारले धनी पुर्जालाई नै आधार बनाएर मुचुल्का सहित पठाएका फाईलहरु मन्त्रालयमा अड्काएर राखेको छ ।
अहिले बस्तिमा जताततैबाट खुलाईएका वाटोको कारण ढल निकासमा समेत समस्या छ । थोरै वर्षा हुँदा पनि वरपर डुबानमा पर्ने चिन्ता स्थानियहरुलाई पिरोलिरहेको छ । तर सरोकारवाला निकायहरूको मौनताले १४ परिवारको दयनीय अवस्था विकराल बनिरहेको छ ।
'हामीले सबै फाइल मन्त्रालय पठाएका छौ । प्रक्रियामा नै छ सायदस् छिट्टै हुन्छ होला ।' प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले भने । 'उहाँहरू प्रति हाम्रो पनि सम्मान छ सरकारका पनि त आफ्नै प्रक्रिया छन ।'
तर सरकारले स्थानीयहरूको संवेदनशीलता माथि वेवास्ता गरिरहेको स्थानीय नेता पोषण थापा बताउँछन् । मुआब्जा दिनुपर्ने प्रशस्त आधारहरू भएता पनि प्रक्रिया अगाडि नबढाउनु गलत भएको उनको भनाई छ ।
यता चलन चल्तीको मूल्य अनुसार सरकारले मुआब्जा प्रदान नगरे पीडितहरुले चरण बद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन । यसअघि पिडितहरुले रेल्वेको काम समेत रोकेका थिए ।
रेल्वेले अधिग्रहण गरेको जग्गालाई यसअघि मुआब्जा निर्धारण समितिले ३२ भागमा विभाजन गरेको थियो । जग्गाको अवस्था हरेर त्यसको लागि सरकारले झण्डै २ अर्ब ३० करोड रुपैया मुआब्जा वितरण गर्नुपर्ने हुन्थ्यो । यस मध्ये १४ घरपरिवारलाई छाडेर अन्य घरधुरीलाई भने लगभग मुआब्जा वितरण भइसकेको मुआब्जा निर्धारण समितिले जनाएको छ ।
पूर्वमा रातु खोलादेखि पश्चिममा भप्सी खोलासम्मको जग्गालाई कठ्ठाको न्यूनतम् ७ देखि अधिकतम ८१ लाखसम्म ५९ बिघा जग्गाको दर रेट निर्धारण भए अनुसार मुआब्जा वितरण गरिएको रेल्वेको भनाई छ । वाकी रहेको ३ विघा जग्गाको सम्बन्धित मन्त्रालयबाट टुंग्याएपछि वितरण गरिने पनि रेल्वेले प्रष्ट बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार