गण्डकीमा पहिलोपटक ‘पिबिएम’ प्रणालीबाट सडक कालोपत्र हुँदै
नेपालबहस संवाददाता
जेठ २३, २०८१ बुधबार २१:८:३१
२३ जेठ, गण्डकी । गण्डकी प्रदेशमा पहिलोपटक ‘परफरमेन्स बेस्ड मेन्टिनेन्स प्रोजेक्ट’ (पिबिएम) मोडेलको ठेक्काबाट सडक आयोजना कार्यान्वयन गरिएको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी)मा उक्त मोडेल लागू गरिएको आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए ।
“दुई वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने र थप तीन वर्ष ठेकेदार कम्पनीमार्फत मर्मत सम्भार गर्ने नयाँ अवधारणाअनुसार आयोजना कार्यान्वयन गरिएको छ”, उनले भने, “पिबिएम ठेक्का मोडल नेपालमा नयाँ अवधारणा हो । गण्डकी प्रदेशमा पहिलोपटक यो प्रक्रियाबाट ठेक्का कार्यान्वयनमा ल्याइएको छ ।”
हाल प्रचलनमा रहेको ठेक्का सम्झौताअनुसार निर्माण सकेर हस्तान्तरण भएको एक वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले आफ्नै खर्चमा आयोजना मर्मत सम्भार गर्दै आएका छन् । पिबिएम मोडेलको ठेक्कामा मर्मतका लागि छुट्टै बजेट राखिएको छ । सडक आयोजनाको दिगोपनाका लागि नयाँ अवधारणाको ठेक्का मोडेल अपनाएको आयोजना प्रमुख भण्डारीले बताए ।
एसियाली विकास बैँकको ८७ दशमलव ५ र नेपाल सरकारको १२ दशमलव ५ प्रतिशत लागत साझेदारीमा प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आयोजना कार्यान्वयन गरेको हो । व्यवस्थापनतर्फ प्रदेश सरकार र एसियाली विकास बैँकको ५०/५० प्रतिशत लागत साझेदारी रहेको आयोजनामार्फत बागलुङ, पर्वत, कास्की, गोरखा र नवलपुर जिल्लामा ८७ दशमलव ५ किलोमिटर सडक कालोपत्रे गर्न लागिएको हो ।
मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक डा महेन्द्र बानियाँले ग्रामीण क्षेत्रका सडक स्तरोन्नति गरी आवागमनलाई सहज बनाउने र गाउँमा उत्पादन भएको कृषि तथा पशुजन्य उत्पादनको बजारीकरण गर्ने उद्देश्यले दीर्घकालीन प्रतिफल दिने सडक आयोजना छनोट गरेर स्तरोन्नति थालिएको बताए । पाँचमध्ये तीन वटा सडक आयोजनाको ठेक्का सम्झौता भइसकेको मन्त्रालयले जनाएको छ ।
बागलुङ नगरपालिकाको अदालतचौतारी-तित्याङ-सालबोट-दह-भकुण्डे-रायडाँडा-दमेक-बरेङ सडक आयोजनाको १५ किलोमिटर सिङ्गल लेन डिबिएसटी प्रविधिको कालोपत्रे गर्न तुण्डी–विडारी जेभीसँग रु ३१ करोड ९६ लाख ३५ हजारमा ठेक्का सम्झौता भएको आयोजना प्रमुख शर्माले जानकारी दिए । रु ५४ करोड २७ लाख २३ हजार दुई सय ८० लागत अनुमान गरिएको उक्त सडक निर्माणका लागि गत चैत १२ गते ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीका प्रतिनिधि ध्रुवराज विडारीले नाली बनाउने, सडक फराकिलो पार्ने, पर्खाल लगाउने लगायत काम सुरु गरिएको बताए ।
वि.सं २०५८ मा ट्रयाक खुलेको उक्त सडक अहिलेसम्म कालोपत्रे हुन सकेको थिएन । बागलुङ–१ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य दीपेन्द्र बहादुर थापाले निर्माण कम्पनीले समयमै काम सक्ने प्रतिबद्धता जनाएकाले सडक निर्माण हुनेमा आशा जागेको बताए । “सडकको ट्रयाक खुलेको दुई दशक बढी हुँदा पनि यो सडक कालोपत्रे हुन सकेको थिएन, आरसिआइपीमार्फत सडकको काम अगाडि बढेको छ”, उनले भने, “प्रदेश सरकारबाट आगामी आवका लागि थप बजेट ल्याउन हाम्रो पहल हुन्छ ।” बागलुङका तीन स्थानीय तह हुँदै छिमेकी जिल्ला गुल्मी जोड्ने उक्त सडकलाई प्रदेश सरकारले रणनीतिक महत्वको सडकका रुपमा लिएको छ ।
पर्वतको मोदी गाउँपालिकाको पातीचौर(बाजुङ(क्याङ(नागी सडक आयोजनाको १८ किमी सिङ्गल लेन डिबिएसटी प्रविधिको कालोपत्र गर्न रु ५४ करोड ९० लाख ४२ हजारमा ठेक्का सम्झौता गरिएको छ । सडक निर्माणका लागि बानियाँ निर्माण सेवाले संयुक्त फिल्ड सर्भे थालेको छ । कूल लागत अनुमान रु ८७ करोड १२ लाख ४४ हजार रहेको यस आयोजना निर्माणको ठेक्का अवधि दुई वर्षको छ ।
यसैगरी गोरखाको अबुवा-बिर्दी-सेराबगर-पौवाटार सडक आयोजनाको १५ दशमलव ५५ किमी डिबिएसटी कालोपत्रे गर्न रु ३० करोड ६१ लाख २५ हजारमा ठेक्का लगाइएको छ । भिबिइपिएल-एसिएल जेभीले निर्माणको जिम्मा पाएको यस आयोजनाको कूल लागत अनुमान रु ५६ करोड ६७ लाख ६९ हजार चार सय २३ रहेको थियो ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको पर्यटकीय गाउँ धम्पुस जोड्ने घट्टेखोला–घम्पुस १३ दशमलव ३ किमी सडक कालोपत्रे गर्ने योजनाका लागि एसियाली विकास बैँकबाट स्वीकृति पाउनेबित्तिकै ठेक्का आह्वान गर्ने तयारी भएको आयोजना प्रमुख भण्डारीले बताउनुभयो । डिबिएसडी प्रविधिको कालोपत्रे गरिने यस सडकको कूल लागत अनुमान रु ४४ करोड छ ।
नवलपुरको आलोक चक्रपथ अन्तर्गत डण्डा–झ्यालबास आठ दशमलव पाँच किमी सडक कालोपत्र गर्ने आयोजना कार्यान्वयनका लागि रुख कटानको आदेश प्राप्तिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा फाइल पुगेको जनाइएको छ । दुई लेनको अस्फाल्ट प्रविधिको कालोपत्रे गर्ने लक्ष्य राखिएको यस सडकको लागत अनुमान रु ६६ करोड रहेको आयोजना प्रमुख शर्माले जानकारी दिए ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु छ करोड बजेट विनियोजन गरेको यस आयोजनामा एसियाली विकास बैँकबाट रु एक अर्ब ११ करोड खर्च गर्दैछ । आयोजना व्यवस्थापनमा प्रदेश सरकारको ५० प्रतिशत र एशियाली विकास बैंकको ५० प्रतिशत लगानी रहेको छ ।
एशियाली विकास बैंकको सहुलियत ब्याजदरको रु १० करोड अमेरिकी डलर अनुदानमा गण्डकीसहित वाग्मती, कोशी, कर्णाली र लुम्बिनी प्रदेशमा सन् २०२८ सम्मका लागि ग्रामिण सडक सञ्जाल सुधार आयोजना लागू भएको छ । यस आयोजनामार्फत देशभर तीन सय ४४ किमी ग्रामीण सडक कालोपत्रसहित स्तरोन्नति गर्ने लक्ष्य लिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द
पुष ३, २०८१ बुधबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार