नैतिकता पचाएका देउवा , दाहाल र रवि : विकृत राजनीतिका महारथी
कुसुम भट्टराई
जेठ २६, २०८१ शनिबार १५:७:४६
२०४४ साल फागुन २९ गते दशरथ रंगशालामा त्रिभुवन च्यालेञ्ज शिल्डको फाइनल फुटबल म्याच चलिरहेको थियो । जनकपुर चुरोट कारखाना र बंगलादेशको ‘मुक्तिजोद्धा’ टिमबीच खेल चलिरहेकै बेला भीषण आँधीबेहरी र असिनासहित मुसलधारे वर्षा भयो । भागदौडका क्रममा थिचिएर ९३ जना खेल प्रेमी दर्शकको ज्यान गयो ।
हुन त त्यो प्राकृतिक विपत्तिको त्रासदीपूर्ण परिणाम थियो, तर तत्कालीन खेलकुद मन्त्री केशरबहादुर विष्टले नैतिकताको आधार देखाएर राजीनामा दिए ।
२०३० साल असार २५ गते राती देशको मुख्य प्रशासनिक भवन सिंहदरबारमा विद्युत सर्किट सट भएर आगलागी भयो । तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले नैतिकताको आधार देखाउँदै राजा समक्ष राजीनामा चढाए । राजा वीरेन्द्रले ‘तिमीले आगलागी गराएकै हैन, राजीनामा आफ्नै खल्तीमा राख’ भन्दा पनि जिद्दी गरेरै प्रधानमन्त्री विष्टले त्यो बेला राजीनामा दिएका थिए ।
नेपाली राजनीतिमा जब जब नैतिकताको प्रश्न उठ्छ, तब तब यी दुई घटनाको उदाहरण दिने गरिएको छ । पञ्चायती व्यवस्था मात्र हैन, राजतन्त्र नै समाप्त भएर देशमा गणतन्त्र स्थापना भइसक्यो, तर नैतिकताको हकमा नेपाली राजनीतिले यी दुई घटना बिर्साउने तेस्रो कुनै उदाहरण प्रस्तुत गर्न सकेको छैन । बरु, नैतिकहिनताले सीमा नाघिसकेको छ ।
जसै सत्ताको राजनीति प्रारम्भ भयो, रास्वपा पनि पुरानै राजनीतिक शैलीमा उत्रियो । सत्तारोहण नहुँदै रवि लामिछानेमा नैतिक पतनका दृश्यहरु देखा परे ।
मनोवैज्ञानिक या आध्यात्मिक दुवै कोणबाट विश्लेषण गर्दा नैतिकता बाह्य हैन, आभ्यन्तरिक आयाम हो । अरूले ‘तिमी नैतिकवान बन’ भनेर कोही नैतिकवान हुँदैन । नैतिक मूल्य र मान्यता प्रतिको इमानदारिता हरेक मानिसमा आफू भित्रैबाट जागृत हुने विषय हो । मानिसलाई पशुभन्दा भिन्न बनाउने ज्ञान र विवेकको सघनताले नै को कति नैतिकवान या अनैतिक भन्ने कुरा निर्धारण गर्छ ।
नकचरोको ओखती हुँदैन
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछानेलाई जब दोहोरो पासपोर्ट र नागरिकताको मुद्दा लाग्यो, उनले स्वाभाविक ढंगले राजीनामा दिएनन् । अदालतको आदेशपछि मात्र उनी पदमुक्त भएका थिए । नैतिक मूल्यको बोध उनलाई पटक्कै भएन ।
अहिले पनि सहकारीको रकम अपचलनको मुद्दा अदालतमा विचाराधीन रहिरहेको तथा उनैलाई टार्गेट गरेर संसदीय छानविन समिति बनिसकेको बेला स्वार्थ बाझिने मन्त्रालय ओगटिरहन उनलाई नैतिकताले दिँदैनथ्यो । लाज र नैतिकता पचाएपछि यो देशमा जसले जे गरे पनि हुन्छ भन्ने मान्यतालाई रविले पनि पछ्याइरहेका छन् ।
आर्थिक कारोबार र लेनदेनको हर हिसाब एमडीका नाताले रविलाई थाहा नहुने कुरै हुँदैन । तर, रविले सारा जनतालाई मूर्ख ठान्दै ‘आफूलाई कुनै जानकारी नभएको’ दावी गरे, जुन उनको नैतिक पतनको पराकाष्ठा थियो ।
निर्वाचन ताका राष्ट्रिय स्वतन्त्र पार्टीले ‘नो नट अगेन’को नारा उराल्यो । शीर्ष नेताहरूको धज्जी उडायो । पुराना नेता, पुराना दल, पुरानो राजनीतिक शैलीको साटो नयाँ दल, नयाँ नेता र नयाँ राजनीतिक संस्कार स्थापित गर्ने भन्दै निर्वाचनमा खडा भएको रास्वपालाई जनताले विश्वासका साथ अनपेक्षित मत पनि दिए । जसै सत्ताको राजनीति प्रारम्भ भयो, रास्वपा पनि पुरानै राजनीतिक शैलीमा उत्रियो । सत्तारोहण नहुँदै रवि लामिछानेमा नैतिक पतनका दृश्यहरु देखा परे ।
आफ्ना अनियमितता, ठगी र आर्थिक अपचलनका मुद्दा ढाकछोप गर्न र त्यसमाथिको कारबाहीमा लगाम लगाउन कै लागि उनले गृह मन्त्रालय दाबी गरिरहे र गृहमै आँखा गाडिरहे । अहिले उनको पनि मुकुण्डो उघारिएको छ ।
निर्वाचन ताका रास्वपाको जुन क्रेज थियो, नैतिकहीन राजनीतिका कारण त्यो क्रेज अब रहेन । इलाममा रास्वपाका उम्मेदवारले पाएको मत (जमानत जफत)ले स्पष्ट गरिसकेको छ, रास्वपा पनि अब ‘कानै चिरेको जोगी’को औकातमा झरिसकेको छ ।
आर्थिक या वित्तीय मामिलाको सामान्य जानकारले पनि बुझ्ने कुरा हो कि रवि लामिछाने गोरखा मिडियामा प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम उनको मिडिया समूहको खातामा आएको छ । आर्थिक कारोबार र लेनदेनको हर हिसाब एमडीका नाताले रविलाई थाहा नहुने कुरै हुँदैन । तर, रविले सारा जनतालाई मूर्ख ठान्दै ‘आफूलाई कुनै जानकारी नभएको’ दावी गरे, जुन उनको नैतिक पतनको पराकाष्ठा थियो ।
सहकारी रकम अपचलन बारे नेपालबहसदेखि कान्तिपुर दैनिकलगायतका मिडियामा प्रमाणसहित विस्तृत समाचार प्रकाशित भइरहे । कान्तिपुरका मालिक सम्भव सिरोहियाका अनुसार रविले आफू विरुद्धको समाचार प्रकाशित नगर्न हारगुहार गरेका रहेछन्, तर समाचार प्रकाशनको क्रम नरोकिएपछि प्रतिशोधपूर्ण ढंगले कान्तिपुरका मालिक कैलाश सिरोहियालाई पक्राउ गर्न समेत गृहमन्त्री लामिछाने पछि परेनन् ।
आफ्नो स्वार्थ विपरीत समाचार प्रकाशन गर्ने मिडिया र तिनका मालिकलाई आफ्नो पदको दुरुपयोग गर्दै पक्राउसमेत गर्न पछि नपर्ने गृहमन्त्रीको प्रतिशोधपूर्ण रवैयाले नैतिक मूल्य र मान्यताको कसीमा लामिछाने कुन हदसम्म तल ओर्लन सक्छन् भन्ने स्पष्ट गरेको छ ।
लामिछानेको यस्तो स्वार्थी र प्रतिशोधपूर्ण राजनीति जारी रहने हो भने यसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै धरापमा पार्नसक्छ । यसर्थ, रास्वपाका अन्य नेता-कार्यकर्ताले पार्टीको साख बचाउन पनि अब रविलाई सरकारबाट फिर्ता बोलाउनु अपरिहार्य छ ।
तर, लाचार र निरीह भएर उनले दाहाल र ओलीको सत्ता गठबन्धनलाई साथ दिइरहेका छन् । अर्थात् नैतिक मूल्यलाई उपेक्षा गर्दै उनी कथित बाम गठबन्धनको नाममा दाहाल र ओलीको “लकिरको फकिर” भइरहेका छन् ।
सत्ता सामु लाचार माधव नेपाल
माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादी बीच भएको आलोपालो सत्ता समीकरणको खेल समाप्त भइसक्यो । यसले सबैभन्दा बढी मर्माहत एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई बनाएको छ। दाहाल र देउवापछि एक वर्षका लागि नेता नेपाललाई प्रधानमन्त्री बनाउने तय भएको थियो । तर, दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गला मिलाएर उनको सपना चकनाचूर पारिदिए ।
दाहालले सत्ता स्वार्थका खातिर कांग्रेस सभापति देउवा र एस नेता नेपाललाई धोखा दिएकै हुन् । यो धोखाधडीको अवस्थामा आफ्नो व्यक्तित्वको गरिमा र खासगरी नैतिक मूल्यको रक्षार्थ नेता नेपाल आफ्नो अडानमा दृढ रहनुपर्थ्याे ।
तर, लाचार र निरीह भएर उनले दाहाल र ओलीको सत्ता गठबन्धनलाई साथ दिइरहेका छन् । अर्थात् नैतिक मूल्यलाई उपेक्षा गर्दै उनी कथित बाम गठबन्धनको नाममा दाहाल र ओलीको “लकिरको फकिर” भइरहेका छन् । नेता नेपालमा अलिकति पनि नैतिकता हुन्थ्यो भने उनले अहिलेको गठबन्धनलाई समर्थन गर्ने थिएनन् । आफूमाथि विश्वासघात गर्ने दाहाललाई नेता नेपालले विश्वासको मत पनि दिने थिएनन् ।
माधव नेपाल यतिबेला दोधारमा छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिने साहस पनि उनमा देखिंदैन, उता कांग्रेस सभापति देउवासँग पनि हिमचिम बढाईरहेकै छन् । दाहाल र ओलीको चक्रव्यूहमा फसेका नेता नेपालको स्वत्व हराएको छ, नैतिक मूल्य र मान्यतामा उनी पनि चुकेका छन् ।
दम नभएका देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मिडिया, नागरिक समाज र आम जनताको पँक्तिमा आफ्नो बारेमा कस्तो धारणा विकसित भइरहेको छ भन्नेबारे कुनै चासो र चिन्ता छैन । उनलाई आफ्नो र पार्टीको छवि धूमिल हुँदै गएको प्रति पनि कुनै चिन्ता छैन ।
२०४८ सालपछि गृहमन्त्री हुँदासम्म त देउवाको छवि एक जुझारु क्रान्तिकारी कै तहमा सम्मानित थियो । पहिलो पटक प्रधानमन्त्री भए यता भने देउवाको व्यक्तित्व र छवि सकारात्मक ढंगले निर्माण हुनुको साटो खस्किँदै गयो ।
अहिले कांग्रेसको नूर गिरेको छ । पार्टी सभापति र उनको कोटरीमाथि भ्रष्टाचार र अनेक आर्थिक माफिया गिरीको आक्षेप लागेको छ । नक्कली भुटानी शरणार्थी मामिलामा दिनहुँ ‘ठूली भाउजू’ 'राष्ट्रिय भाउजू' भन्दै चर्चा भइरहन्छ ।
२०५१ सालको मध्यावधि निर्वाचनपछि एमालेको अल्पमतको सरकार ढल्यो । त्यसपछि मुलुकमा जुन सत्ता समीकरण, पजेरो काण्ड, सांसद खरिदबिक्रीलगायत अनेक विकृति विसंगति देखा परे, त्यसमा देउवाको अग्रणी भूमिका रहेको तथ्य कसैबाट छिपेको छैन ।
१८ महिने कार्यकालमा देउवाले महाकाली सन्धि पारित गराउनु बाहेक नेपाली कांग्रेसको छवि उकास्ने कुनै उल्लेखनीय काम गरेनन् । कांग्रेस विभाजन, निर्वाचनमा ढिलाई हुँदै राजा ज्ञानेन्द्रको ‘असोज १८’ को काण्डसँगै देउवाको व्यक्तित्वमा ‘असक्षम’को उपमा थपियो ।
उतिबेला राजाले देउवालाई जुन ‘असक्षम’को उपमा दिएका थिए, त्यो आजको उनको भूमिकामा पनि उत्तिकै चरितार्थ भइरहेको देखिन्छ । न त प्रमुख प्रतिपक्षी नेतामा हुनुपर्ने जस्तो ओज छ, न त कुनै गतिशील (डाइनामिक) सक्रियता नै छ । अनि राजनीतिमा आफ्नो वर्चस्व कायम गर्ने दम नै छ ।
नेपाली कांग्रेसलाई कमजोर, लाचार र प्रभावहीन बनाउने पक्रिया देउवाबाट त्यसबेला सुरु भयो, जब उनले हिंसात्मक राजनीतिबाट उदाएको माओवादीसँग सत्ता र चुनावी गठबन्धन गरे । लोकतन्त्रमा विचार, सिद्धान्त र कार्यक्रम मिल्नेहरूबीच गठबन्धन या मोर्चाबन्दी हुनु स्वाभाविक हो । तर, देउवाले माओवादीसँग गठबन्धन गरेर राजनीतिमा ‘विचार गौण’ र ‘सत्ता स्वार्थ मुख्य’को नयाँ अवधारणा भित्र्याए ।
गठबन्धनको राजनीतिकै कारण अहिले कांग्रेसले आफ्नो स्वत्व गुमाएको छ भने विश्वमै असान्दर्भिक भइसकेका कम्युनिष्टहरू नेपालमा रजगज गरिरहेका छन् । गठबन्धनको राजनीतिकै कारण राजनीतिक अस्थिरता र सामाजिक–सांस्कृतिक अराजकता सिर्जना भइरहेको छ । गठबन्धनको राजनीतिमा एकातिर पार्टी कार्यकर्ताहरूको आफ्नो पार्टी प्रतिको बफादारितामा आघात पुर्यायो भने अर्कोतिर स्वतन्त्रता पनि हनन गरेको छ ।
भरतपुर महानगरपालिकाको दुई दुई पटकको निर्वाचनमा कांग्रेसका कार्यकर्ता, शुभचिन्तक र समर्थक हँसिया हथौडामा मतदान गर्न विवश भए । वैचारिक र दार्शनिक रुपमा जुन हँसिया हथौडा विरुद्ध कांग्रेसजन उभिदै आए, जसको वैचारिक धरातल नै कम्युनिष्ट अधिनायकवाद विरुद्ध थियो, तिनै कांग्रेसजनले हँसिया हथौडाको पक्षमा मत माग्दै हिड्नुपर्ने अवस्था असह्य थियो ।
गठबन्धनको राजनीतिले नेपाली कांग्रेसलाई पराधीन बनाइदियो । आफ्नो संगठन र शक्तिको बलमा एक्लै मैदानमा खडा हुनुपर्ने नेपाली कांग्रेसले कम्युनिष्टको वैशाखी टेक्नुपर्ने अवस्था सिर्जना भयो या सिर्जना गराइयो ।
अहिले कांग्रेसको नूर गिरेको छ । पार्टी सभापति र उनको कोटरीमाथि भ्रष्टाचार र अनेक आर्थिक माफिया गिरीको आक्षेप लागेको छ । नक्कली भुटानी शरणार्थी मामिलामा दिनहुँ ‘ठूली भाउजू’ 'राष्ट्रिय भाउजू' भन्दै चर्चा भइरहन्छ ।
‘भाउजु फ्याक्टर’ले पार्टीभित्र धेरैलाई आजित बनाइसकेको बुझ्न सकिन्छ । चाहे स्वर्णिम वाग्ले हुन्, चाहे अमरेशकुमार सिंह नै किन नहुन, सार्वजनिक रुपमै उनीहरुले पार्टी छाड्नुको कारण बताउँदा ‘भाउजु’कै जिकिर गर्छन् ।
शीर्ष नेतृत्व बदनाम हुँदा त्यसले सिंगो पार्टी पँक्तिलाई नै असर पारिरहेको छ । संसदमा प्रमुख प्रतिपक्षीको भूमिका सशक्त हुन सकिरहेको छैन । गगन थापा, विश्वप्रकाश शर्मा या धनराज गुरुङहरूले संसदमा कांग्रेस हुनुको आभास दिलाइरहेका छन्, तर संसदीय दलको नेता चाहिँ निस्पृह, निष्क्रिय र निरामोह झैं देखिन्छन् ।
देउवाको ग्रहण शक्ति र संवेदना गैँडाको छाला झैं भइसकेको छ, जसले पार्टीमाथि उठेको गम्भीर प्रश्न र आलोचना अनुभव नै गर्दैन ।
एमालेमाथि कोही जाइलागे, दुइ–दुई पटक मृगौला प्रत्यारोपण गरिसकेका एमाले अध्यक्ष केपी शर्मा ओली आफै अघि सरेर विरोधीप्रति तीब्र कटाक्ष गर्छन् । एमालेको प्रतिरक्षाका लागि ओली एक्लै काफी छन् ।माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो बचाउका लागि आफै अघि सर्छन् र राजनीति नै तरंगित हुने खालको भाषण गरेर परिस्थितिलाई आफू वरिपरी घुमाइदिन्छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछानेले त संसदको रोस्ट्मलाई नै टेलिभिजनको स्टुडियोजस्तो बनाइसके । विरोधीको धुवाँधार विरोध गर्ने मामिलामा उनी प्रखर र प्रभावकारी पनि देखिन्छन् ।
नेपाली कांग्रेसको हाल हेरौं त, विश्वप्रकाश शर्मा, गगन थापा, धनराज गुरुङहरू बाहेक शीर्ष नेतृत्व तहबाट प्रभावकारी भूमिका निर्वाह गरेको देखिँदैन । कहाँसम्म भने कांग्रेसले आफूले गरेका राम्रा र सकारात्मक कामहरूको समेत जस लिन सकिरहेको छैन । अर्थात् आफ्नो योगदानको स्मरण गर्न समेत कांग्रेसजनले भुलिसके ।
यस्तो अवस्थामा पार्टी भित्र र बाहिरबाट देउवाको चर्को आलोचना भइरहेको छ । नेतृत्व फितलो भयो भन्ने खालका कुराहरू उठिरहेका छन् । तर, माथि नै उल्लेख गरियो, देउवाले यस्ता सारा आलोचना, गुनासा र कटाक्षलाई पचाउने क्षमता आफूमा विकास गरेका छन् ।
उनलाई त्यस्ता कुराले कुनै फरक पार्न छाडेको छ, जुन जिम्मेवार नेताका हकमा सुखद हैन । देउवाको ग्रहण शक्ति र संवेदना गैँडाको छाला झैं भइसकेको छ, जसले पार्टीमाथि उठेको गम्भीर प्रश्न र आलोचना अनुभव नै गर्दैन ।
अयोध्याका राजा रामले एकजना धोबीको कुरा सुनेर सीतालाई दरबारबाट निकालेका थिए । यो घटनाको अर्थ के हो भने राजा जनताप्रति कुन हदसम्म उत्तरदायी हुनुपर्छ भने जनताको एक–एक गुनासो सुन्नुपर्छ र सम्बोधन गर्नुपर्छ ।
जनस्तरमा आफूबारे भइरहेका टिप्पणी र आलोचनाले देउवालाई छुँदै छुँदैन । कार्यकर्ता र जनताको आवाजप्रति देउवामा शून्य संवेदनशीलता छ भन्दा हुन्छ । हैन भने, गएको महाधिवेशनमै उनले सभापति पद दोस्रो पुस्तालाई हस्तान्तरण गरिसकेका हुन्थे ।
नैतिक मूल्य र मान्यता प्रतिको इमानदारिताको सन्दर्भ यहाँनेर जोडिन्छ । आफ्नो भूमिकाबाट आफै बदनाम भएको र आफू बदनाम हुँदा पार्टीमा समेत नकारात्मक असर परिरहेको यथार्थ बोध हुन नसक्नु या भएर पनि स्वीकार्न तयार नहुनु भनेको नैतिक मूल्य र मान्यता प्रतिको उदासीनता नै हो ।
दाहाल र अग्नि सापकोटालगायतका उनी निकटका केही नेतामाथि युद्ध अपराधका जघन्य मुद्दा विचाराधीन छन् । सत्तामा नरहेको अवस्थामा दाहाल कोटरीमाथि युद्ध अपराधका मुद्दा चल्न सक्छन् । उस्तै परे उनीहरुको मुद्दा हेगसम्म पुग्नसक्छ ।
दाहालः ‘डेमोक्रेसी’ हैन ‘डेमो कुर्सी’
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक मूल्य र मान्यतालाई कुल्चिन थालेको धेरै भइसकेको छ । दाहालकै कारण नेपाली राजनीति प्रदूषित र दुर्गन्धित भएको छ । दाहाल विश्वासिला, भरपर्दा र इमानदार मानिस पटक्कै हैनन् । प्रधानमन्त्रीको कुर्सीलाई नै एकमात्र प्राप्ति ठान्ने दाहालका लागि ‘डेमोक्रेसी’ भनेको ‘डेमो कुर्सी’ हो ।
यो दाहालको बाध्यता पनि हो । दाहाल र अग्नि सापकोटालगायतका उनी निकटका केही नेतामाथि युद्ध अपराधका जघन्य मुद्दा विचाराधीन छन् । सत्तामा नरहेको अवस्थामा दाहाल कोटरीमाथि युद्ध अपराधका मुद्दा चल्न सक्छन् । उस्तै परे उनीहरुको मुद्दा हेगसम्म पुग्नसक्छ ।
आफ्नो छवि ढुलमुले, अस्थिर र अविश्वसनीय हो भन्ने सन्देश आफैले प्रवाह गर्छन् र लाजै पचाएर भन्छन्, ‘म बाँचुन्जेल यो देशमा उथलपुथल भइरहन्छ ।’
अर्कोतिर दाहाल आफ्नो निजी सुरक्षालाई लिएर पनि निकै भयभीत र चिन्तित देखिन्छन् । युद्ध अपराधको सजायबाट बच्न र आफ्नो निजी सुरक्षाको घेरा बरकरार राख्न पनि दाहाललाई सत्ता नभई हुँदैन । सत्ता प्रतिको दाहाल आशक्ति र त्यसको कारण बुझेका शक्तिकेन्द्रहरुले दाहाललाई मोहोरा बनाएर आफ्नो स्वार्थ सिद्ध गर्दै आएका छन् । विशेषगरी पश्चिमा शक्तिहरूले नेपालमा धर्म निरपेक्षता र संघीयता लादन दाहालको यही कमजोरीको फाइदा लिएका हुन् ।
अहिले देशले कांग्रेस र एमालेको संयुक्त सरकार खोजेको छ । तर, पश्चिमाहरु यस्तो समीकरण बन्न नदिने पक्षमा छन् । यदि कांग्रेस, एमाले र अन्य लोकतान्त्रिक दल मिलेको खण्डमा संसदमा दुई तिहाई मत तयार हुन जान्छ । यसो भएमा संघीयता, धर्म निरपेक्षता र निर्वाचन प्रणालीका कतिपय प्रावधानबारे संविधान संशोधन सहज हुनसक्छ ।
तेस्रो दलका दाहाललाई सत्तामा कायम राखेर पश्चिमा शक्तिहरू संविधानका अन्तरवस्तुमा संशोधन हुन नदिने चाल चलिरहेका छन् । दाहाल यसैमा मख्ख छन् । सत्तामा लिसो टाँसिए झैं टाँसिइरहन उनले नैतिकताका सारा सीमा नाघिसकेका छन् । विश्वासका सारा ‘बाउण्ड्री’ नाघिसकेका छन् ।
यसैले त बूढानीलकण्ठमा एउटा सहमति गर्न नपाउँदै उनी अर्को दिन बालकोटको बार्दलीमा पुगेर नकचरो हाँसो हाँस्दै एमाले अध्यक्ष ओलीसँग गला मिलाउन हिचकिचाउँदैनन् । आफ्नो छवि ढुलमुले, अस्थिर र अविश्वसनीय हो भन्ने सन्देश आफैले प्रवाह गर्छन् र लाजै पचाएर भन्छन्, ‘म बाँचुन्जेल यो देशमा उथलपुथल भइरहन्छ ।’
यतिबेला दाहालले आफूलाई विध्वंश, अस्थिरता र अराजकताको पर्यायका रुपमा जनतामाझ प्रस्तुत गरिरहेका छन् । विध्वंश, अस्थिरता र अराजकता सिर्जना गर्नु भनेको नैतिक मूल्य र मान्यताको धज्जी उडाउनु हो, जुन दाहालका लागि राजनीतिक शैली बन्न पुगेको छ ।
कुसुम भट्टराई
साढे तीन दशकदेखि पत्रकारिता र लेखनमा सक्रिय वरिष्ठ पत्रकार भट्टराई कुशल विश्लेषक हुन् । हिमालय टाइम्स, कान्तिपुर, अन्नपूर्ण पोष्ट दैनिक लगायत दर्जनौं पत्र पत्रिकामा पत्रकारिता गरिसकेका भट्टराई नेपाली राजनीतिलाई नजिकबाट बुझेका पात्र हुन् । त्यसैले उनको कलम तीखो हुने गर्दछ ।
लेखकबाट थपठूलो जनशक्तिलाई बेरोजगार बनाएको शिक्षाका कुरा गरौँ
पुष २, २०८१ मंगलबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द
पुष ३, २०८१ बुधबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार