त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार ११:३०:५४
२ असार, काठमाडौं । ‘त्रिपाठी मेरो गुरु घर हो,’ नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङले अघिल्लो साता सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै भनेका थिए, कुलपूजाको पुण्य कार्यमा मेरो सहभागिता हुनेछ ।’ उनको यो सार्वजनिक अभिव्यक्तिले धेरैलाई समानताको भावना जगायो । यही जेठ ३२ गते शुक्रबार कास्की कालिकास्थान स्थित झाँझरमारे गाउँका त्रिपाठीको कुलपूजामा डा. गुरुङ सहभागी बनेका थिए । उनलाई प्रमुख अतिथि बनाएर यहाँका त्रिपाठीले मानवीय बन्धुत्व, समानता र प्रेमभावको उदाहरण पेश गरेका छन् ।
डा. गुरुङ र यहाँका त्रिपाठीको वर्षौंदेखिको गहिरो सम्बन्ध रहँदै आएको छ । झाँझरमारेका त्रिपाठी ज्योतिषशास्त्रमा दख्खल राख्ने भएकाले डा. गुरुङले गुरुमन्त्र सिक्नेदेखि ज्योतिषका विविध विधा सिकेका थिए । डा. जगमानले भनेका छन्, ‘मेरो गुरु घर कास्की जिल्ला अर्घौं झाँझरमारेको त्रिपाठी कुल । कास्की मादी याङ्जाकोट र अर्घौं झाँझरमारे वारी–पारी । यहाँ बोधराज त्रिपाठीले मेरो चिना लेखे, उहाँका जेठा छोरा शेखरनाथ त्रिपाठी मेरा गुरुबा । उहाँसँग मैले ऐन, श्रेस्ता, ज्योतिष र दुर्गा कवच सिकें । पुराणवाचक ज्यो.पं. चिरञ्जीवी त्रिपाठी, दैवज्ञ ज्योतिष मनोहरि त्रिपाठी र मेरा गुरुबाका भान्जा पञ्चाङ्कर्ता ऋषिराम कोइरालाबाट ज्योतिष र तत्वज्ञान सिकें । परममित्र दैवज्ञ घननाथ त्रिपाठी लगायतका मेरा गुरुबाका बन्धुहरुसँग मेरो सद्भाव र सम्बन्ध अझै प्रगाढ भएको छ । अर्घौं झाँझरमारेका त्रिपाठीहरू मेरो गुरु घर हो ।’
डा. गुरुङको यो सार्वजनिक अभिव्यक्ति र कुलपूजामा उनले प्रमुख अतिथिको तर्फबाट व्यक्त मन्तव्यबाट सबैलाई उत्साह पैदा गरेको छ । कुलपूजामा अर्घौं झाँझरमारेका त्रिपाठीको वंशावली विमोचन गरिएको थियो । यहाँका त्रिपाठी गौतम ऋषिका सन्तान हुन भने वेद अन्तर्गत सामवेदी गौतम गोत्रीय त्रिपाठीको पौराणिक पहिचान छ । वंशावली पुस्तक विमोचन गर्दै प्राज्ञ डा. गुरुङले यहाँका त्रिपाठीको अद्भुत ज्ञान, ज्योतिष विज्ञानमा दक्षता र पञ्चाङ्ग पेशागत मान्यता प्रशंसनीय रहेको उल्लेख गरे । ‘यही तपोभुमिमा मैले ज्योतिषशास्त्र अध्ययन गर्ने मौका पाएँ, उनले भने,’यो मेरो सौभाग्य हो ।’ मन्तव्यका क्रममा डा. गुरुङले विभिन्न क्षेत्रमा योगदान पुर्याएका मान्यजन त्रिपाठीहरूका नाम पनि स्मरण गरे ।
कास्की पोखराबाट उत्तरतर्फ रहेको कालिकास्थान मन्दिर भन्दा माथि टाकुरा छ, जहाँ ठुलाकोट (दुरारौंकोट) भनिन्छ । सम्मुखमा माछापुच्छ्रे हिमश्रृंखला छ । यही ठुलाकोटमा सामवेदी त्रिपाठीको कुल मन्दिर छ । यही स्थानमा आयोजित कार्यक्रममा ऐतिहासिक नाम झाँझरमारेको पनि चर्चा गरिएको छ । सोही अवसरमा प्राज्ञ गुरुङले गण्डकी क्षेत्रका प्रथम शहिद काजी झाँगल अधिकारीका नाममा रहेको यस स्थानको खोजविन र अध्ययनको जरुरी रहेको जानकारी गराए ।
कार्यक्रममा त्रिपाठी–तिवारी प्रतिष्ठानका अध्यक्ष ऋषिराम त्रिपाठीले हरेक मानिसको वंश र त्यसको उत्पत्ति अनि निरन्तरताको खोज हुनुपर्नेमा जोड दिंदै झाँझमारेका त्रिपाठीहरूको सामाजिक योगदानको चर्चा गरेका थिए । प्रतिष्ठानका पुर्व अध्यक्ष त्रिपूरेश्वर त्रिपाठीले देशभर छरिएर रहेका सामवेदी त्रिपाठीहरूको मुलथलो कालिकास्थानको यो झाँझरमारेका बारेमा वर्णन गरे ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चतुराखर अधिकारी, सल्लाहकार रामकृष्ण त्रिपाठी, ठाकुर त्रिपाठी लगायतले कुलपूजाको महत्वका बारेमा जोड दिएका थिए । सोही अवसरमा ७५ वर्ष माथिका ज्येष्ठ नागरिक बुद्धिमाया त्रिपाठी र चन्द्रकला त्रिपाठीलाई सम्मान गरिएको थियो । यसैगरी वंशावली प्रकाशन समिति तथा सम्पादन मण्डलका संयोजक कीर्तिवल्लभ त्रिपाठीले उद्घाटन सत्रमा वंशावली प्रकाशनको महत्व बारेमा चर्चा गरेका थिए । कार्यक्रममा कीर्तिवल्लभसहित सदस्यहरू घननाथ, केशवदास, रामप्रसाद, डा राजन, बालकृष्ण, पोषणमणि, सुरेन्द्र, पुष्पराज, भद्रराज र सावित्री सुवेदी त्रिपाठीलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन कीर्तिवल्लभ, स्वागत रामप्रसाद र अध्यक्षता नन्दीकेशर त्रिपाठीले गरेका थिए ।
कार्यक्रमको बन्दसत्रमा हरिप्रसाद त्रिपाठीले सबै त्रिपाठीमा जागरण आएको बन्धुत्व भावनाको प्रशंसा गर्दै अझ एकजुट र मेलमिलापको संस्कार कसिलो हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका थप विषयमा डा राजन त्रिपाठीले प्रकाश पारेका थिए । मुकुन्द त्रिपाठीले गीत गाएका थिए । बन्दसत्रको भेलाले नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
अध्यक्षमा केशवदास त्रिपाठी, उपाध्यक्ष रामप्रसाद त्रिपाठी, सचिव बालकृष्ण त्रिपाठी, कोषाध्यक्ष पुष्पराज त्रिपाठी छन् । त्यस्तै गरी सदस्यमा डा.सञ्जीव त्रिपाठी, सावित्री त्रिपाठी, दुर्गा त्रिपाठी, मिलन त्रिपाठी, विश्वराज त्रिपाठी, रमेश त्रिपाठी र शोभा त्रिपाठी रहेका छन् । त्यस्तै गरि, सल्लाहकारमा हरिप्रसाद त्रिपाठी, ऋषिराम त्रिपाठी, घननाथ त्रिपाठी, रामकृष्ण त्रिपाठी, कीर्तिवल्लभ त्रिपाठी र डा राजन त्रिपाठी रहेका छन् ।
वंशावली विवरण अनुसार, यहाँका २ सय ७ त्रिपाठी परिवारका १ हजार ८६ संख्या पुगेको छ । ती मध्ये केही परिवारहरु काठमाडौं, चितवन, बर्दिया लगायतका स्थानमा बसाईं सरेका छन् । यहाँका त्रिपाठीले मुलुकका लागि ठुलो योगदान दिएका उदाहरण छन् । ज्योतिषशास्त्रमा नेपालमै पहिलो हाते पात्रो प्रकाशन गर्ने व्यक्ति हुन्, स्व. प्राणनाथ त्रिपाठी । उनैले प्रकाशन गरेका पात्रोबाट पछि धेरैले नक्कल गरेर क्यालेण्डर छाप्ने गरेका थिए, र अझै छन् । राजनीति र सामाजिक क्षेत्रमा स्व. राजेन्द्रप्रसाद त्रिपाठी, दैवज्ञ स्व.मनोहरि त्रिपाठी र स्व.रत्ननाथ त्रिपाठीले ठुलो भुमिका खेलेका थिए ।
यहाँका त्रिपाठीको इतिहास साढे ३ सय वर्षभन्दा बढी रहेको जानकारहरु बताउँछन् । नेपालमा विभिन्न क्षेत्रबाट बसाईं सरेर आउने जाने क्रम अनुसार, एउटै थरमा पनि सयौं वर्ष अघि र पछिका तथ्यहरू भेटिन्छन् । सोही तथ्यहरूका आधारमा कास्की कालिकास्थान झाँझरमारेका त्रिपाठीहरू पुरानो पुस्ता मध्येका हुन् । वरपरका जिल्ला लमजुङे, कास्की र विभिन्न स्थानका कोटहरूमा घले (गुरुङ) राजाहरूको शासनकालमा पनि यहाँका त्रिपाठीको सामाजिक भुमिका इतिहासमा पढ्न पाइन्छ ।
फोटो फिचरः त्रिपाठीको कुलपूजामा सहभागी महिला तथा पुरुषहरु:
विनोद त्रिपाठी
लामो समय व्यवसायिक पत्रकारितामा डटेर लागेका पत्रकार त्रिपाठी विभिन्न मुलधारका राष्ट्रिय दैनिक, टेलिभिजन र अनलाइनहरुमा सम्पादकको भुमिका निर्वाह गरिसकेका छन् । हाल त्रिपाठी नेपालबहसका नियमित स्तम्भकार हुन् ।
लेखकबाट थपएनपीएलको फाइनल खेल हेर्न किर्तिपुरमा नेतादेखि दर्शकसम्मको अपार भीड
पुष ६, २०८१ शनिबार
कालिमाटी तरकारी बजारमा सुन्तला किन्ने उपभोक्ताको भीड [ फोटो फिचर ]
पुष २, २०८१ मंगलबार
नेपाल–चीन सीमा : उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै
पुष १, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार