उमेरले उकालो चढ्दै गरेका साङ्दो र पेमा भुटी छोरा गाउँ फर्केपछि खुसी
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार १५:०:१६
२१ असार, गण्डकी । हिमालपारि मनाङका सेराप विष्ट, ‘चेमी ङ्या’ अर्थात् चामेमाथि ठूलो गरामा एकतमासले केराउ टिपिरहेका थिए । हामी टक्क अडिन मात्र के भ्याएका थियौँ, ‘चाख्नुहुन्छ ?’ भन्दै उहाँ हामीछेउ आइपुगे । भर्खरै टिपेको केराउ थमाए। हंसमुख र विनम्र वचनसहित टक्र्याएपछि केराउको स्वाद नलिइ भएन । अहो ! कति रसिलो ।
हाम्रो उद्देश्य केराउको स्वाद चाख्नु नभइ उनबारे जानकारी लिन थियाे । हामीले थप नअल्मिलिँदै जिज्ञासा राख्यौँ, उनी पनि सजिलो गरी प्रस्तुत भए । जीवनका अन्तरकुन्तर खोले ।
सपनाको सहर काठमाडौँबाट जन्मथलो फर्केर कृषि र पर्यटन व्यवसायमा रमाइरहेका ३२ वर्षीय युवा । विसं २०६५ मा विद्यालय शिक्षा पूरा गरी विष्ट उच्च शिक्षा अध्ययनका लागि राजधानी छिरे। म्यानपावर कम्पनीमा काम गर्दै होटल व्यवस्थापन पढे तर आर्थिक अभावले पढाइलाई १२ कक्षाभन्दा अगाडि बढाउन सकेनन् “भृकुटीमण्डमा घोडा तान्ने कामदेखि के सम्म गरिएन काठमाडौँमा”, विष्ट विगततिर फर्किए, “पराइ ठाउँ, न घरपरिवार न आफन्त, छाक टार्ने जागीरले काठमाडौँको बसाइँ सकसपूर्ण हुन थालेपछि म आफ्नै ठाउँ चामे फर्किएँ ।” नौ वर्षको काठमाडौँ बसाइँलाई बिट मारेर उनी विसं २०७५ मा मनाङ फिर्के । सदरमुकाम चामेमा विष्टका बुबाआमा निर्वाहमुखी कृषि गरिरहेका थिए तर व्यावसायिक चेत थिएन । जेठा छोरा सेराप गाउँ फर्किएपछि दुःखसुख गरेर जीवन धानिरहेका विष्ट दम्पतीको जीवनले पनि नयाँ मोड लियो ।
सेरापले गाउँ फर्केपछि ‘विष्ट एप्पल फार्म’ स्थापना गरे । त्यो बेला ‘फार्म’ दर्ता कसरी गर्नेसम्म उनलाई थाहा थिएन । गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले त्यसमा सघाए । तनहुँको दमौली पुगेर सेरापले स्थायी लेखा नम्बर ‘पान’ नम्बर ल्याए । चार रोपनीमा फैलिएको ‘फार्म’मा अहिले स्याउ फलिरहेका छन् । स्याउसँगै उहाँले व्यावसायिक तरकारीखेती सुरू गरे । प्लाष्टिक घर 'टनेल' मा लटरम्म गोलभेँडा फलेका छन् । चामेका होटललाई चाहिने तरकारी उनले नै पु¥याउछन् । “चार रोपनीमा आलु र दुई रोपनीमा गोलभेँडा, काउली, बन्दालगायत अरु तरकारी लगाएको छु”, उनले सुनाए, “किवी, आरु, खुर्पानीलगायत मौसमअनुसारका फलफूल पनि लगाएको छु ।”
गाउँ फर्केर उद्यमी बन्ने सोचलाई उनले कृषिमा मात्र सीमित गरेनन् । चामे गाउँपालिका–५ मा खुलेको ‘हेप्पी होम होमस्टे’ उनको अर्को व्यावसायिक कर्म हो । विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग छेउ रहेको उक्त ‘होमस्टे’ले विष्टलाई पर्यटन उद्यमीका रूपमा समेत चिनाएको छ । “होमस्टे सञ्चालनमा ल्याएको नौ महिना बित्दैछ, दुई पर्यटकीय याममा हामीले सेवा दिइसकेका छौँ”, विष्टले भने, “पाहुनालाई आफ्नै बारीको उत्पादन चखाउने हेतुले होमस्टे सञ्चालनमा ल्याएका हौँ, हामीकहाँ नेपाली र विदेशी दुवै खाले पर्यटक आउँछन् ।”
चामेको रैथाने बाली उवा, फापर, आलु, सिमीलगायतका परिकार उनको भान्छामा पाक्छ । पर्यटकले चाहेमा बारीमा पुगेर आफैँ तरकारी टिप्न र पकाउन पनि पाउँछन् । विशुद्ध पारिवारिक वातावरण दिएर पर्यटक लोभ्याउने विष्टको सोच छ । उनले भने, “हाम्रो आमाले पहिले भान्छामा जे पकाउनुहुन्थ्यो, त्यही परिकार पर्यटकलाई दिन्छौँ, स्थानीय उत्पादनमै हाम्रो बढी जोड छ ।”
विष्टले ‘होमस्टे’ आमाकै नाममा दर्ता गरेर चलाएका छन् । ‘होमस्टे’मा एक रातमा १५ जना पाहुना बस्न सक्छन् । हिमाली सभ्यता र जनजीवन झल्काउने गरी ‘होमस्टे’ सेवालाई विविधीकरण गर्दै जाने विष्टको योजना छ । “निकट भविष्यमा फार्म हाउस खोल्ने योजना छ, हेरौँ परिस्थितिले कत्तिको साथ दिन्छ”, उनले भने, “आफ्नै जन्मथलोमा केही गर्ने हुटहुटी छ, व्यावसायिक कर्म र बुबाआमाको सेवामा समर्पित भएर लाग्ने प्रण गरेको छु ।”
उमेरले उकालो चढ्दै गरेका साङ्दो र पेमा भुटी विष्ट पनि छोरा गाउँ फर्केपछि निकै खुसी छन् । विष्ट दम्पतीले सकेजति छोरालाई काममा सघाइरहनुभएको छ । । सेराप आफैँ खेतीबालीको काममा खट्छन् । कहिलेकाहीँ खेताला लगाउछन् । पर्यटनबाट धानिएको मनाङमा आफ्नो भविष्य सुरक्षित देखेका सेराप अरूका लागि पनि प्रेरणा बनेका छन् । उनको लगाव, योजना र सोचका कारण गत आइतबार गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले ‘युवा प्रतिभा पहिचान तथा सम्मान’ बाट सम्मानित भएका छन् ।
कृषि तथा लघु उद्यमतर्फ प्रदेशभरीमा प्रथम स्थानमा छनोट भई उनले रु ५० हजार पुरस्कार पाए । केही समयअघि उनलाई चामे गाउँपालिकाले पनि युवा उद्यमीका रूपमा सम्मान गरेको थियो । “सम्मान र पुरस्कारले थप प्रेरणा दिएको छ, आगामी दिनमा व्यवसायको गुणस्तर र क्षमता विस्तारतिर लाग्छु, थोरै सङ्ख्यामा भए पनि गाउँमै रोजगारी सिर्जना हुने गरी काम गर्छु”, उनले भने ।
विष्टलाई सबैभन्दा सन्तोष लाग्ने विषय हो बुढेसकालमा बुबा आमासँगै रहन पाउनु । “जग्गा धेरै भएर पनि बुबाआमाले खेतीकिसानी गर्न नसक्ने अवस्था थियो, म घर फर्केपछि बल्ल उनीहरूलाई पनि आडभरोसा मिल्यो, खुसीसाथ कृषिकर्ममा रमाइरहेका छौँ, कमाइ पनि राम्रै छ”, विष्टले भने । सेरापका माइला भाइ भक्तपुरमा बौद्धशिक्षा पढ्दै छन्, भने कान्छा भाइ वैदेशिक रोजगारमा छन् ।
देश नै विदेश भइरहेको छ भन्ने भाष्य बनिरहेका बेला सेराप भने आफ्नै थातथलो फर्केर आफ्नै जीवनमा आशा भरिरहेका छन्, भने अरूलाई देशमै केही गर्नुपर्छ भनेर प्रेरणा दिइरहेका छन् । तिनै युवाउद्यमी सेरापलाई हामीले सोध्यौँ—श्रवण मुकारुङले रचेको अहिलेको चर्चित गीत ‘राई माइलाले गाउँ छाड्यो रे !!! ’ सुन्नुभएको छ ? जवाफमा भने, “गीत सुनेको छु, मिठो छ ।”
हामीले भने ‘सेराप विष्ट गाउँ फर्के रे !” भनेर प्रशंसा ग¥यौँ । उनी मन्द मुस्काए । मुस्कानसहित उनले भने,“नबिर्सनुहोला ल ! समय मिलेमा फेरि पनि आउनुहोला, हाम्रै होमस्टेमा बसेर एकरात सँगै रमाउँला ।” हामी पनि मन्द मुस्कानले उनको भनाइमा स्वीकारोक्ति जताएर छुट्टियौँ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
सत्ता पक्षको जागरण सभाले सर्वसाधारणलाई सास्ती
मंसिर ७, २०८१ शुक्रबार
बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार