नयाँ गठबन्धनलाई कांग्रेसले कसरी थेग्ने होला ?
भेषराज पोखरेल
असार २९, २०८१ शनिबार ६:३०:३
कांग्रेस–एमाले गठबन्धनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिगामी गठबन्धन भनेका छन् । उनले कसैको इसारामा भएको गठबन्धन पनि भनेका छन् । उनले संविधान संशोधन गरिने विषयमाथि पनि प्रश्न उठाएका छन् । उनको भनाइको सत्यापन अबको केही दिनपछिको सरकारका काम गराइले निर्धारण गर्ने नै छ ।
यी कुरा हुँदै गर्दा सबैभन्दा ठूलो, पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेसले एमालेसँगको गठबन्धनलाई कसरी व्यवस्थापन गर्छ अर्थात् यसलाई कसरी थेग्छ भन्ने कुराले अबको राजनीतिमा ठूलो प्रभाव पार्नेछ । अहिलेसम्म कांग्रेसले कम्युनिष्ट दलहरू एमाले तथा माओवादी दुवैसँग गठबन्धन गरेर आन्दोलन तथा सरकारसमेत बनाएको छ । कांग्रेसको कम्युनिष्ट दलसँगको गठबन्धन भएर प्रजातन्त्र प्राप्तिका आन्दोलन सफल भएका छन् ।
गठबन्धन सरकार बन्दा भने कांग्रेसको नेतृत्वको लोभी, परम्परा थाम्ने तथा अस्पष्ट नीतिका कारण सरकारका नराम्रा काम, अक्षमता, कमजोरी सबैको जिम्मा कांग्रेस नै लिनुपर्ने र राम्रा कामको श्रेय कम्युनिष्ट दलले लिने अवस्था आइरह्यो । अहिले कांग्रेसले नेपालको राजनीतिका सबैभन्दा चतुर खेलाडी केपी शर्मा ओली र उनको दल एमालेसँग गठबन्धन गरेर अघि बढ्ने निधो गरेको छ ।
केपी ओलीको अति द्रुत र अति महत्वाकांक्षी दौड, एमालेको साइबर सेना तथा अति प्रचार र अति आक्रामक शैलीसँग कांग्रेसका सभापति शेरबहादुर देउवाको अति सुस्त र परम्परागत शैली, उनी र उनको वरिपरीको शक्तिको लोभी व्यवहार तथा युवा नेताहरूले विरोध त गर्ने तर प्रभावकारी नहुने अवस्थामा कसरी टिक्ने होला ? ओली र एमालेको अलि नरम हुने तथा कांग्रेसको गति अलि दु्रत तथा युवा नेताहरूको कार्यशैली अलि प्रभावकारी बन्न गए त केही भए पनि परिणाम देखिएला, नभए उही २०७२ पछिको अवस्था नै आउने हो ।
अहिलेको सरकारको परम्परागत गति, अर्थतन्त्रको सिथिलता, विकास बजेट समयमा खर्चै गर्न नसक्ने, असार लागेपछि भारी मात्रामा खर्चिने अवस्था, सबै क्षेत्रमा अव्यवस्था झांगिंदै गएको अवस्थामा देशलाई गति दिन राजनीतिक क्षेत्रबाट केही न केही भए पनि पहल हुनैपथ्र्यो । यही अवस्थालाई मध्यनजर गरी कांग्रेस र एमालेले देशलाई निश्चित गति दिन गठबन्धन गरेका हुन् भने यो उत्तम कुरा हो, होइन प्रधानमन्त्री पुष्पकमल दाहालले पटक–पटक धोका दिएकाले त्यही रिस फेर्न गठबन्धन गरेका हुन् भने त्यो फलदायी हुन कठिन छ ।
रिस फेर्ने काममा संयमता, राष्ट्र निर्माण, अर्थतन्त्रको ओरालो अवस्था, जनताको जीवन स्तर बिग्रे भन्न त सकिने भयो तर तीनलाई ठीक ठाउँमा ल्याउने रणनीति र योजना बन्न कठिन हुन्छ, उही हाम्रो हातमा सरकार आए सबै ठीक हुन्छ भन्ने मानसिकताले घर गर्ने सम्भावना बढी हुन्छ । त्यसो होइन भने कांग्रेस, एमालेले यी माथिका विषयमा विस्तृत बहस, छलफल गरी विशेष रणनीति र योजना बनाएर अगाडि बढ्नु आवश्यक छ । यो त गठबन्धनले गर्नुपर्ने कुरा भयो, कांग्रेसले आशंका र भविष्यको गतिका बीच कस्तो योजना बनाउने ? यो पनि कम्ती महत्वपूर्ण कुरा होइन ।
अहिलेको गठबन्धनको भविष्यको सम्भावना र कार्य प्रक्रियाको टिप्पणी गर्दा ०७२ को निर्वाचनपछि बनेको केपी ओलीको झण्डै दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार र उनको शासन शैलीको विश्लेषण गर्नैपर्छ । उनले त्यस बेला आक्रामक रुपमा योजनाको ओइरो लगाए तर तिनको आधार भने शून्य थियो । उनले कम्युनिष्ट दल माओवादी केन्द्रसँग त गठबन्धन मात्रै होइन एकतासमेत गरे तर पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसँग सहरुपमा जान चाहेनन् । सकेसम्म उनीहरुलाई पन्छाएर जान चाहे । उनले भ्रष्टाचार निर्मूल गर्ने भने, समाजवाद सुरु गरेँ भने तर अनियमितता र भ्रष्टाचार गर्नेहरू र दलाली तथा कमिसनखोरहरू संरक्षण गरिरहे ।
एमाले पंक्तिमा साइबर सेना, अरिंगालहरुको जोहो गरे । अझ पछि त आफूलाई कसैले नहल्लावस् भनेर संविधान नै संशोधन गर्ने प्रयास गरे । यीमध्ये कतिपय कुरामा शेरबहादुर देउवा, प्रचण्ड, नेपाल राम्रा थिए भन्ने होइन तर पनि एकताका मुख्य नाइके र सरकार प्रमुख भएकाले उनको भूमिका ठूलो रह्यो । अब अहिले कांग्रेससँगको गठबन्धनमा यी कुरा हटेर फरक अनुहारमा ओली सरकारमा डट्लान् त ? अब पनि एमालेका दोस्राे, तेस्रो तहका नेताहरूले उही पुरानो प्रवृत्तिको संरक्षण गर्न साइबर सेना र अरिङ्गाल तयार गर्ने तथा हाम्रा नेता ओली राजनेता भनेर बस्ने कि देशलाई नयाँ गति दिन कांग्रेसका तिनै तहका नेताहरूसँग मिलेर विस्तृत योजना र नीति बनाउने ? यसले भविष्यका सबै कुरा तय गर्नेछ ।
कांग्रेसका दाेस्रो, तेस्रो तहका नेताहरूले अब संविधान संशोधन गरिन्छ, देउवा र ओलीले देशलाई उँघो लगाउँछन् भनेर बसे भने देश र जनताले दुःख पाउनेछन् नै कांग्रेसको अस्तित्व पनि रहने छैन । यो गठबन्धन कमजोर भयो, धोका, वैमनस्यता, खिचातानी तथा अझै अव्यवस्था बढ्यो भने त्यसको सबै दोष एमाले नेताहरूले कांग्रेसमाथि थोपर्नेछन् । एमाले र त्यसका नेताहरु पनि चोखो बन्न त सक्ने छैनन्, जनताको आशा र विश्वस त टुट्नेछ नै तर एमालेको मुकुण्डो कम्युनिष्टको भएकाले त्यसको उपयोग गर्न प्रयास गर्ने र साइबर सेना तथा अरिङ्गाल उपयोग गरेर आफू चोखो बनेर अस्तित्व बचाउन भरमग्दुर प्रयास गर्नेछन् । यो अवस्था आउन नदिन कांग्रेसका बौद्धिक जन र दोस्रो, तेस्रो तहका नेताहरु रात–दिन नभनी कन लागि रहनुपर्नेछ ।
पछिल्लो समय जन आक्रोश बढिहेको, राज्य सञ्चालन खर्च बढिरहेको तथा चुनावी प्रक्रियाका कारण अस्थिरता आइरहेको अवस्थामा संविधान संशोधन गरेर अगाडि बढ्न खोज्नु राम्रै हो तर त्यस विषयमा राष्ट्रव्यापी बहस, छलफल हुनुपर्छ । त्यसो भएन भने यसले नयाँ खालको द्वन्द्व बढाउने अवस्था आउन सक्छ । केही कुरामा ध्यान दिइयो भने संविधान संशोधन कठिन छैन तर संविधानले मात्रै देशलाई ठीक ठाउँमा ल्याउन सक्नेछैन । देशलाई ठीक ठाउँमा ल्याएर गति दिन नेतृत्वको प्रवृत्ति सबैभन्दा पहिले सुधारिनुपर्छ भने अरु तहका नेताहरूले निरन्तर लागेर नयाँ संस्कार दिन त्याग, सक्रियता र संयम अपनाउन सक्नुपर्छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपनेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र
पुष १०, २०८१ बुधबार
नेपाली खेल इतिहासमै एनपिएलले उघारेको सपना
पुष ८, २०८१ सोमबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
रहेनन् भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १२, २०८१ शुक्रबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार