ओलीलाई दुई तिहाइको संयोग, भर भन्दा डर धेरै
नेपालबहस संवाददाता
असार ३१, २०८१ सोमबार १५:२७:५०
३१ असार, काठमाडौं । अघिल्लो पटक दुई तिहाईकाे सरकार टिकाउन नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसपटक पनि संयोगले दुई तिहाई कै समर्थन मिलेकाे छ । २०७४ काे निर्वाचनमा नेकपा माओवादीसँग पार्टी एकीकरण गर्ने गरी मिलेर चुनाव लडेको एमालेले दुई तिहाई नजिक मत पाएको थियो । पछि पार्टी एकीकरण गरी नेकपा बनाइयो र नेकपा नेतृत्वको सरकारमा ओली दुई तिहाइको प्रधानमन्त्री बनेका थिए । तर, त्यो दुई तिहाई सुखद रहेन ।
दुई दुई पटक संसद विघटन भयो । नेकपाबाट माओवादी फुटेर बाहिरियो । अन्त्यमा पार्टी फुटाएर माधव नेपाल समूह पनि एमालेबाट बाहिरियो । त्यो अवस्था गुजारेका ओली २०८१ सालको असार ३० गते नेपाली कांग्रेसको समर्थनमा फेरी प्रधानमन्त्रीमा नियुक्त भए । आज ३१ गते प्रधानमन्त्रीको शपथ लिएर २२ सदस्यीय मन्त्रिपरिषद पनि बनाएका छन् । संयोगले उनको मन्त्रिपरिषद दुई तिहाइको भएको छ ।
ओलीको पक्षमा १८४ मत देखिएको छ । यो प्रधानमन्त्रीलाई कुनै पनि निर्णय गर्न बाधा नपुग्ने मत हो । तर, उनी प्रधानमन्त्री बन्दा दोहरिएको दुई तिहाइको संयोगलाई धेरैले शंका मानेका छन् । ओलीले पहिले जस्तै दुई तिहाइको दुरुपयोग गर्ने हुन की भन्ने आशंका बढाएको छ । त्यो बेला पार्टी एकीकरणको प्रक्रियामा रहेको एमाले र माओवादी केन्द्रको सुविधाजनक बहुमत आएको थियो । पछि उपेन्द्र यादव लगायतका दल मिल्दा दुई तिहाई पुगेको थियो ।
दुई अध्यक्ष रहेको नेकपाबाट ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आधा आधा समय मिलेर प्रधानमन्त्री बन्ने सहमति भएको थियो । तर, समय बित्दै जाँदा ओलीले प्रचण्डलाई प्रधानमन्त्री नदिने अवस्था सिर्जना भयो । यहीबाट दुई तिहाई लिएर सरकारको नेतृत्व गरिरहेका ओलीको दैनिकी ओरालोतिर लाग्यो । पार्टीमा आएको विवाद उनले साम्य बनाउन सकेनन् । उल्टै दम्भ देखाए । प्रचण्ड–माधव नेपाल समूहको बहुमत केन्द्रीय समितिको बैठकबाट ओलीलाई अध्यक्षबाट हटाइएको घोषणा गरियो ।
ओलीलाई हटाउने गरी भएको निर्णयमा ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको बताइएको थियो । यो रापमा ओलीले २०७७ पुस ५ मा पहिलोपटक संसद विघटन गर्ने निर्णय लिए । त्यतिबेला चुनाव कि संसद पुनःस्थापना भन्ने अनिर्णीत अवस्थामा रहेको कांग्रेस अहिले ओलीको साथमा छ । त्यो बेला ओलीको कदम अदालतले अवैधानिक ठान्यो । सरकारबाट सहयात्रीहरू बाहिरिए । तर, ओलीको कदम सुधारिएन । पार्टीको विवाद उग्र बनेका बेला सोही वर्ष २०७७ जेठ ७ को मध्यराती ओलीले दोस्रोपटक संसद विघटन गरेपछि त्यस विरुद्धको कानूनी र राजनीतिक लडाइबाट उनी बाहिरिनुपर्यो ।
अघिल्लो समयमा दुईपटक संसद विघटन गरेका प्रधानमन्त्री ओली अहिले पनि राजनीतिक, कानूनी र नैतिक रुपमा त्यो ठीक थियो भनिरहेका छन् । त्यसबाट राजनीतिक, संवैधानिक र नैतिक दबाब खेपिरहेका प्रधानमन्त्री ओलीले संसद् विघटनको औचित्य पुष्टि गर्न सकेका छैनन् । पहिलोपटक संसद् विघटन गर्दा ओलीसँग झन्डै दुई तिहाई सांसद थिए, तर दोस्रो संसद विघटनसम्म पुग्दा ओलीसँग ९३ सांसद मात्र रहे ।
ओलीले पहिलो पटक २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाखमा निर्वाचन गर्ने घोषणा गरेका थिए तर सर्वोच्च अदालतले फागुन ११ गते सरकारको सो निर्णय उल्टाइदिएको थियो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पनि संविधानको धारा ७६ को उपधारा (५) मा धेरै खेल्न खोजेकी थिइन् । दोस्रो पटक संसद विघटनपछि माओवादी बाहिरियो र एमाले फुट्यो अनि ओलीको अध्याय पनि सिद्धिएको थियो ।
अहिले प्रतिनिधि सभामा ८८ सीट रहेको नेपाली कांग्रेस र ७८ सीट रहेको एमाले मिलेर सरकार बनेको हो । यसमा अशोक राई नेतृत्वको जसपा, उन्मुक्ति पार्टी र लोसपा सरकारमै सहभागी भएका छन् । संसदीय अंक गणितमा जुटेको अहिलेको संख्या अघिल्लो कार्यकालमा एमाले र माओवादी गठबन्धन भन्दा बढी शक्तिशाली हुने देखिएको छ । संविधान संशोधनका लागि प्रतिनिधि सभामा सांसदको एक सय ८४ संख्या आवश्यक पर्दछ । राष्ट्रिय सभामा भने दुई तिहाइका लागि नेकपा एकीकृत समाजवादी मिल्नुपर्छ नत्र माओवादी फुटाउन सक्नुपर्छ ।
अहिले पनि ओलीले संसद विघटन गरी मध्यावधि घोषणा गर्न सक्ने आशंका सबै दलमा छ । मुलतः संविधान संशोधन यसको उद्देश्य भनिएको छ । संविधान संशोधन गर्न माओवादी सहमत छैन । राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरूपका कानुन समेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको हो । सहमति अनुसार ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने भन्नेछ ।
संविधान संशोधन गर्दा समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने, प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको सिट संख्याबारे पुनर्विचार गर्ने, पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या बढाउने भनिएको छ । तर, सहमति सार्वजनिक भएको छैन । प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचित मात्रै राख्ने सहमति भएको चर्चा छ । ओलीले गर्नुपर्ने कार्यभार खासमा यिनै हुन् ।
संविधान संशोधन गर्न सक्ने मत सुरुमै उनलाई मिलेको छ । अझ यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने पनि भनिएको छ । पहिलेको अनुभव र भोगाइले ओली यो पटक संसद विघटनसम्म जान नसक्ने कांग्रेसको बुझाइ छ । ओलीको विगतलाई हेर्ने हो भने यसै हो भनेर भर गरिहाल्ने अवस्था पनि छैन । कांग्रेससँग भएको सहमति अनुसार सत्ता छोड्न ओली तयार होलान् नहोलान् भन्ने शंका पनि उत्तिकै छ । भोलिका दिनमा उनको व्यवहार कस्तो देखिन्छ त्यसले पनि यो दुई तिहाइको संयोगले सुधार गर्छ कि बिगार भन्ने देखाउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार