आजबाट सुरु भयो नयाँ आर्थिक वर्ष, गएको वर्ष आय भन्दा ३ खर्ब ५२ अर्बले खर्च बढी
नेपालबहस संवाददाता
साउन १, २०८१ मंगलबार ११:५७:५२
१ साउन, काठमाडौं । आज साउन १ गते मंगलबार । आजदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । आर्थिक वर्ष सुरु हुने अघिल्लो दिन अर्थ मन्त्रालयको जिम्मेवारीमा एमाले नेता विष्णु पौडेल आएका छन् । आर्थिक वर्ष नयाँ भएपनि पौडेल पुरानै र अनुभवी अनुहार हुन् । राज्यका सबैखाले खर्च र आम्दानीको हिसाबकिताब आजबाट सुरु हुन्छ । गएको वर्षको पुरा हिसाब आउने बाँकी छ ।
सोमबार सकिएको आर्थिक वर्षलाई हेर्दा अर्थतन्त्रका बाह्य सूचक बलिया देखिएका छन् । विदेशी मुद्रा सञ्चिति राम्रो छ । शोधनान्तर लगायत केही सूचक बलिया रहेका छन् । यसबाहेक राजस्व संकलन, पुँजीगत खर्च, विदेशी अनुदानको अवस्था नाजुक छ । नीतिगत भ्रष्टाचार, वित्तीय कुशासन, राजस्व चुहावट, ढिलासुस्ती मौलाइरहेको बेला राजस्व संकलन र पुँजीगत खर्चमा वृद्धि तथा चालु खर्च नियन्त्रण गरी अर्थतन्त्र लयमा ल्याउनुपर्ने चुनौती नयाँ आर्थिक वर्षमा पनि कायमै छ ।
सरकारले चालु आव २०८१÷८२ का लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याएको छ । निवर्तमान अर्थमन्त्री वर्षमान पुनले नयाँ बजेट ल्याएका थिए । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले बजेट चलाउछन वा चलाउँदैनन् भन्ने यकिन नभएपनि आर्थिक विधेयकका केही प्रावधान संशोधन हुने भनिएको छ । एमाले पनि सम्मिलित बजेट भएकाले पुरानै सरकारले ल्याएको बजेटलाई कार्यान्वयनमा लाने सम्भावना पनि छ ।
आजदेखि सुरु भएको चालु आवको विकास बजेट ३ खर्ब ५२ अर्ब छ । चालु खर्च ११ खर्ब ४० अर्ब र वित्तीय व्यवस्थामा ३ खर्ब ६७ अर्ब अनुमान गरिएको छ । यस वर्ष अनुदान समेत मात्र २ अर्ब ७५ करोड आएको छ जबकी सरकारले ४९ अर्ब ९४ करोड अनुदान आउने अनुमान गरेको थियो । राजस्व, अनुदान र अन्य आम्दानीवापत यस वर्ष सरकारको कुल आम्दानी मात्र १० खर्ब ५६ अर्ब रुपैयाँ भएको तथ्याङ्कमा देखिन्छ । आम्दानी र खर्चका बीचमा ३ खर्ब ५२ अर्ब ३२ करोड रुपैयाँको अन्तर छ ।
गत आर्थिक वर्ष २०८०/८१ को अन्तिम दिनसम्म सरकारले बजेट खर्चको आँकडा ८० प्रतिशत मात्र कटाउन सकेको छ । ३१ असारसम्म १४ खर्ब ८ अर्ब ९८ करोड रुपैयाँ बजेट खर्च भएको छ, जुन कुल विनियोजित बजेटको ८०.४५ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरेको थियो । भएको खर्चमध्ये चालु खर्च ८३.४३ प्रतिशत पुगेको महालेखाको दावी छ ।
यस वर्ष सरकारले कुल ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ बराबर चालु खर्च गर्ने लक्ष्य राखेको थियो । ३१ असारसम्म ८३.४३ प्रतिशत खर्च भएको तथ्यांक छ । पूँजीगत खर्च भने ६३.४७ प्रतिशतमा सीमित छ । यस वर्ष सरकारले ३ खर्ब २ अर्ब रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखेको थियो । तर खर्च भने मात्र १ खर्ब ९१ अर्ब ७३ करोड भएको छ ।
सरसर्ती हेर्दा उद्योग, निर्माण र व्यापार क्षेत्रको वृद्धिदर ऋणात्मक छ । ब्याजदर निरन्तर घटे पनि कर्जा प्रवाह बढेको छैन भने बैंकमा ऋण दिन मिल्ने पैसा थुप्रिएको छ । लगानी विस्तारका लागि अनुकूल वातावरण नबनाएको भन्दै सरकारप्रति निजी क्षेत्रको मनोबल घटेको छ । यस्तो बेला वित्तीय अनुशासन कायम गर्दै सरकारी खर्च बढाएर निजी क्षेत्रको आत्मविश्वास बढाउने जिम्मेवारी अर्थ मन्त्रालयको हो ।
चालु आर्थिक वर्षको अन्तिम दिन सोमबार सरकारी वित्त साढे ३ खर्ब घाटामा छ । गत वर्षको तुलनामा यस वर्ष ४१ प्रतिशतले बढाएर १४ खर्ब २२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य बनाएको सरकारले लक्ष्यको ७२ प्रतिशत अथवा १० खर्ब ३० अर्ब रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । सोही अवधिमा सरकारको कुल खर्च १४ खर्ब ८ अर्ब ९८ करोड छ । यसरी हेर्दा आर्थिक वर्षको अन्त्यसम्म सरकारको आयभन्दा खर्च (व्यय) ३ खर्ब ५२ अर्बले बढी देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
थाइल्यान्डसँग नेदरल्यान्ड्स आठ विकेटले पराजित
माघ १८, २०८१ शुक्रबार
आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश
माघ १८, २०८१ शुक्रबार
प्रधानमन्त्रीका वरिपरिका मानिसहरू भ्रष्टाचारमा संलग्न छन् : राजेन्द्र लिङ्देन
माघ १८, २०८१ शुक्रबार
राष्ट्रियसभामा दुई विधेयक पेश, अर्को बैठक आइतबार
माघ १८, २०८१ शुक्रबार