ओलीको रणनीति: अरुलाई फुटाएर आफू राज गर्ने
अशोक राईको फुटेको जसपाले कसरी पायो दुई मन्त्री ?
नेपालबहस संवाददाता
साउन २, २०८१ बुधबार १५:९:७
२ साउन, काठमाडौं । सोमबार राष्ट्रपति समक्ष प्रधानमन्त्रीको शपथ लिएर २२ सदस्यीय मन्त्रिपरिषद बनाएका केपी ओलीले साना दललाई भाग नपुगिरहेको अवस्थामा ७ जना मात्र सांसद लिएर जसपा फुटाएका अशोक राईलाई कसरी दुई वटा मन्त्रालय दिए भन्ने चर्चा चल्यो । मधेशमा मुख्यमन्त्री लिएको जनमतलाई संघमा नदिए पनि अरूलाई एक एक मन्त्रालय दिने भनिएको थियो ।
मन्त्रालय भागबण्डा गर्ने जिम्मा पाएका दोस्रो तहका नेताले आइतबार कांग्रेसलाई १० र एमालेलाई प्रधानमन्त्रीबाहेक ९ मन्त्रालय मिलाएका थिए । सुरुमा कांग्रेस ११ र एमाले १० मन्त्रालयमा थिए । प्रधानमन्त्रीले गर्दा २२ मन्त्रालय हुन्छ भनिएको ठाउँमा पछि साना दल समर्थनमा मात्र हैन, सरकारमै सहभागी हुने कुरा आयो । दुई जसपा, लोसपा, नाउपा र जनमत गर्दा ५ सीट मिलाउनु पर्ने अवस्था आयो ।
मन्त्रालय विभाजनमा सहभागी एक नेताका अनुसार उपेन्द्र यादव पक्षलाई एक मन्त्रालय दिने कुरामा ओली सकारात्मक भएनन् । सीके राउतको जनमतलाई पनि संघमा नदिने कुरा आयो । २ मन्त्रालय दुई दललाई दिँदा कांग्रेस १० र एमाले ९ मा आए । अझै पनि एमाले प्रधानमन्त्रीसहित १० वटै मन्त्रालय लिने अवस्थामा थियो । तर, राष्ट्रपति कार्यालयमा नाम पठाउने क्रममा एमाले ८ मन्त्रालयमा झर्यो भने अशोक राई नेतृत्वको जसपाले एमालेको भागबाट एक र अघि छुट्याइएको एक गरी दुई मन्त्रालय पायो ।
ओलीको १० सांसद बराबर एक मन्त्रालय सिद्धान्त थियो । तर, ७ जना सांसद भएको सानो पाटी जसपालाई किन दुई सीट भन्दै एमालेका केही नेताले कुरा उठाए । त्यो ठाउँमा एमालेका छविलाल विश्वकर्मा मन्त्री बन्ने थिए । तर, जसपाका नवलकिशोर साह सुड्डीले पाए । १० सांसद बराबर एक मन्त्री बनाउने नीति कांग्रेस एमालेमा पनि लागु भएको थियाे । यसैले अहिले २१ मन्त्रालयमा एमालेका ८ मात्रै मन्त्री छन् । प्रधानमन्त्रीसहित ९ जना हो ।
यो प्रसंग कसका मन्त्री कति भन्दा पनि ओलीले अब कस्तो रणनीति लिँदैछन् भन्ने पक्षबाट उठाइएको हो । ओलीले अशोक राईसँग पार्टी एकता गर्दैछन् । यसै पनि पछि एमाले नै हुने हो भन्दै उनले छविलाल विश्वकर्माको ठाउँ राईलाई दिए । अर्को उपेन्द्र यादवको पार्टी विभाजनमा पनि ओलीको हात थियो भन्ने कुरा यो मन्त्रिपरिषद बनाउँदा थप प्रष्ट भयो । पहिले पनि धोका दिएको र अदालतमा मुद्दा भएको भन्दै उपेन्द्र यादवलाई ओलीले सरकारमा ल्याउन रोके ।
अब तीन जनासम्म राज्यमन्त्री राख्न मिल्छ । संविधान संशोधन अघिसम्म अशोक राईले मधेश मै मिलाउने जिम्मा पाएका राई त्यसपछि मात्र एमालेमा आउनेछन् । ०८४ सम्म पुग्दा एमालेलाई कांग्रेस भन्दा ठूलो पार्टी बनाउने रणनीति ओलीको हो । अशोक राई मात्र भएर कांग्रेस भन्दा अगाडि एमाले पुग्न सक्दैन । यसका लागि ओलीले एकीकृत समाजवादी र माओवादीभित्र खेल्नुपर्छ । जसपासँगै एकीकृत समाजवादीबाट पनि ६ जना सांसद तानिसकेका थिए । तर, त्यो कारण बस रोकियो । ओलीको अभियान भने जारी छ ।
०८४ मा हुने आम निर्वाचनमा कसैसँग सहकार्य नगरी एमाले एक्लैलाई स्पष्ट बहुमतमा पुर्याउने उनको योजना हो । यसका लागि एकीकृत समाजवादीलाई मात्र हैन नेकपा माओवादीमा पनि धक्का दिनुपर्छ । चुनावअघि माओवादी फुटाउनु उनको अर्को रणनीति हो । अन्य कम्युनिष्ट पार्टीमा विभाजन नल्याएसम्म उनको यो उद्देश्य पुरा पनि हुँदैन । कम्युनिष्टहरूलाई एक बनाएर राज गर्ने भन्दा फुटाएर राज गर्ने सोच नेकपा विभाजन भएदेखि नै ओलीमा जागेको हो ।
संविधान चलाउन सक्ने स्थितिमा अहिले नै ओली छन् । १८४ मत उनीसँग छ । संविधानमा थ्रेस होल्ड मात्र बढाएर लाने हो भने आउने निर्वाचनमा माओवादीलाई पनि हम्मे पर्छ । कांग्रेससँग जस्तै मिलेर चुनावमा जाने अवसर अबको निर्वाचनमा माओवादीलाई हुँदैन । ओलीले त्यहाँसम्म पुग्न दिँदैनन् । मधेशको एक ठूलो हिस्सा टुक्राइसके । यो रणनीति बुझेका माओवादी अध्यक्ष प्रचण्ड ओलीलाई रोक्न समाजवादी मोर्चालाई प्रयोग गर्ने तरखरमा देखिन्छन् ।
अहिले माओवादी, एकीकृत समाजवादी, उपेन्द्र यादवको जसपा र नेत्र विक्रम चन्दको नेपाल कम्युनिष्ट पाटी मिलेर मोर्चा बनेको छ । यो मोर्चाले सरकारलाई समेत प्रभाव पार्न सक्दैन भने आउने निर्वाचनमा पनि खास औचित्य देखिँदैन । ओलीलाई रोक्न प्रचण्डले ठूलै कसरत गर्नुपर्ने अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार