शेयरबजारलाई जुवाघर ठान्ने अर्थशास्त्री डा. युवराज खतिवडाको आगमनले किन रोकियो मौद्रिक नीति ?
नेपालबहस संवाददाता
साउन ५, २०८१ शनिबार १७:४२:२
५ साउन, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारमा फेरी डा. युवराज खतिवडाको प्रवेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आर्थिक सल्लाहकारका रुपमा खतिवडालाई नियुक्त गरेपछि बजारमा उनको पक्ष र विपक्षमा बहस हुन थालेको हाे । जबकी नेपाल सरकारको आर्थिक सल्लाहाकारको रुपमा अर्थमन्त्री र गभर्नरलाई मानिन्छ । त्यसैले कतिपय अर्थविदहरुले प्रधानमन्त्रीलाई व्यक्तिगत रुपमा आर्थिक सल्लाहकार किन चाहियो भन्ने बहस छेडेका छन् ।
उनी प्रधानमन्त्रीकाे आर्थिक सल्लाहकारमा नियुक्त भएपछि मौद्रिक नीति अचानक रोकियो, अब उकालो लागेको शेयरबजार के हुने हाे भन्ने संशय पैदा भएकाे छ । शेयरबजार मैत्री विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चासँगै बढेको बजार डा. खतिवडाको आगमनसँगै शेयरबजारकाे गति रोकिने हाे कि भन्ने चर्चा यतिबेला व्याप्त छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साउन ४ गते शुक्रबार मौद्रिक नीति आउने भन्दै सरोकारवालासँग पनि छलफल गरेका थिए । शुक्रबार बिहान ८ बजे राष्ट्र बैंकको वोर्ड वैठक बस्ने र ११ बजे मौद्रिक नीति सार्वजनिक गर्ने सम्पूर्ण तयारी पुरा भइसकेको थियो । लामो समयदेखि मौद्रिक नीतिको प्रतीक्षामा रहेको शेयरबजारका लगानीकर्ता, बैंक सञ्चालक र व्यवसायी सबैलाई उनले खुकुलो मौद्रिक नीति आउने आश्वासन दिएका थिए । उनले शेयरबजारका लगानीकर्तालाई लचिलो हुने संकेत दिएपछि बजार पनि एक्कासि बढेको थियो । तर, एकाएक बिहीबार प्रधानमन्त्री ओलीले डा. युवराज खतिवडालाई आर्थिक सल्लाहकारमा नियुक्त गरेपछि सबैतिर सन्त्रास फैलियो । प्राविधिक कुरा देखाएर राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति नल्याउने जानकारी गरायो ।
आखिर अचानक किन रोकियो त मौद्रिक नीति ? जब युवराज खतिवडा आर्थिक सल्लाहकारमा नियुक्त भएपछि शुक्रबार राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिले बजार सखाप बनाउँछ भन्दै खतिवडाले ओलीलाई पूर्ण रुपले आफूले नहेरी ल्याउन नमिल्ने ब्रिफिङ गरेर रोक्न लगाएका थिए । खतिवडाले यतिकै ल्याउन हुँदैन, रोक्नुपर्छ । मैले दुई दिन अध्ययन गर्छु भनेपछि गभर्नरको पनि केही लागेन । अहिले मौद्रिक नीतिको अध्ययन खतिवडाले गरिरहेका छन् । उनले अध्ययन गरेर ओलीलाई ब्रिफिङ गर्दा उपयुक्त भए आइतबार मौद्रिक नीति आउन सक्छ ।
मौद्रिक नीति रोकिनु मात्र नभइ खतिवडाको आगमनले अन्य धेरै कुरामा प्रभाव पार्ने देखिन्छ । शेयरबजार पनि उनको प्रवेशसँगै प्रभावित हुन थालेको छ । अर्थ मन्त्रालय र राष्ट्र बैंकमाथि पूर्ण निगरानीका लागि उनलाई ओलीले सल्लाहकारका रुपमा भित्र्याएको भन्दै यतिबेला निजी क्षेत्र पनि त्रसित नै छ । अर्थशास्त्री खतिवडा समाजवादी अर्थतन्त्रका हिमायती नै हुन् । आफूलाई अर्थविद् भन्न रुचाउनेहरू उनी नियन्त्रणको सूचक भित्र कारोबार चल्नुपर्छ भन्ने मानसिकताका अर्थशास्त्री हुन भन्ने गर्छन् । राष्ट्रिय योजना आयोगमा रहँदा पनि योजना बनाउने कुरामा उनी कडा नै देखिए । त्यसपछि राष्ट्र बैंकको गभर्नर बने । उनी गभर्नर बनेर राष्ट्र बैंकमा बसुञ्जेल पनि आलोचना भयो । बैंकका सञ्चालक र व्यापारीले सङ्कुचित गभर्नर भने ।
२०७४ को आम निर्वाचनपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले खतिवडालाई एकाएक अर्थमन्त्री बनाए । उनको अर्थमन्त्रीको कार्यकाल पनि राष्ट्रिय अर्थतन्त्रका लागि सकारात्मक बनेन । आर्थिक आँकडाहरू घुमाएर भने पनि आर्थिक बृद्धिदर देखाए । देशको विकासका लागि योजना निर्माण र अर्थतन्त्रलाई चलायमान बनाउने निकाय हुन, योजना आयोग, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालय । यी तीनै निकायको उनले नेतृत्व गरेका छन् । उनको नेतृत्वको समयलाई नराम्रो भन्ने नै धेरै भेटिन्छन् ।
यो पटक उनी आर्थिक सल्लाहकारमा नियुक्त भएको भोलिपल्टै आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरेको राष्ट्र बैंक अचानक रोकियो । शुक्रबार ८ बजे नीति पारित गर्न सञ्चालक समितिको बैठक बोलाइएको थियो । तर, बिहीबार बेलुका आर्थिक सल्लाहकारमा नियुक्त भएका खतिवडाले प्रधानमन्त्रीमार्फत रोक्न लगाए । यसले राष्ट्र बैंक प्रधानमन्त्रीको सचिवालयको छायाँमा परेको प्रष्टै भयो । खुल्ला र सहज मौद्रिक नीति आउने आसमा बसेका बैंकर र व्यवसायी यतिबेला त्रसित बनेका छन् । शेयरबजारलाई जुवाघर ठान्ने र यसप्रति अनुदार खतिवडा कै कारण स्वायत्त निकायका रुपमा रहेको राष्ट्र बैंकको भूमिका माथि प्रश्न उठ्न थालेको छ ।
आर्थिक सल्लाहकार मात्रैको नेपाल राष्ट्र बैंकमा त्यति प्रभाव नपर्नु पर्ने हो । तर, उनी ओलीका विश्वास पात्र हुन् । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक चलाउनकै लागि ओलीले खतिवडालाई आर्थिक सल्लाहकार बनाएका हुन् । अब अर्थ मन्त्रालयमा विष्णु पौडेल पनि छायाँ बन्नसक्ने सम्भावना धेरै छ । खतिवडा देखाएर ओलीले धेरै कुरा खेल्न सक्छन् । अर्को पछिल्लो समय धेरै सर्वसाधारणले लगानी खेलाउने ठाउँ हो शेयरबजार । शेयरबजार र खतिवडाको कुण्डली मिल्दैन ।
उनको अर्थमन्त्री कार्यकालमा शेयरबजार नियन्त्रित नै भयो । खतिवडाको भाषामा शेयरबजार भनेको अनियन्त्रित भीडको जुवा खाल हो । यसैले उनी अर्थमन्त्री भएको समयमा विवाद मात्र नभएर बजार पनि उठेन । तर, उनले पदबाट राजीनामा दिएको भोलिपल्टै २०७६ फागुन ११ गते आइतबार शेयरबजारले नयाँ रेकर्ड कायम गर्यो । नेप्से परिसूचक साढे दुई वर्ष यताकै उच्च विन्दुमा पुग्यो ।
एकताका देशको अर्थतन्त्र बुझका अर्थमन्त्री डा. खतिवडाले शेयरबजारलाई अनुत्पादक क्षेत्र भन्दा शेयरबजारमा धेरै क्षति भएको थियो । यो पटक पनि कांग्रेस र एमालेको सरकार बन्ने भनेपछि शेयरबजारमा झन्डै ३४ महिनापछि सुधारको बाटोमा आएको थियो । यो सातामा परिसूचक ९.९७ प्रतिशतले बढ्यो । यो बीचमा राजनीतिक अस्थिरताका कारण लगानीकर्ता माझ ठुलो अन्योलता थियो । लगानीकर्ताको मनोबल पनि खस्किँदो थियो । तर, कांग्रेस–एमालेको सरकार गठनपछि उनीहरुको आत्मविश्वास बढेको थियो । बजार पनि त्यही हिसाबले बढ्यो ।
अर्थमन्त्री हुँदा शेयरबजारबाट निकै आलोचना खेपेका खतिवडाको आगमनसँग बजार घटेर रोकियो । खतिवडालाई शेयरबजारका लगानीकर्ताहरुले शेयरबजारको खलनायकको रुपमा चित्रण गर्छन् । अहिले पनि यसरी नै गरे । खतिवडाले शेयरबजारलाई अनुत्पादक क्षेत्र मानेका छन् । अब उनी शेयरबजारप्रति नरम र सकारात्मक बन्न सक्लान् वा नसक्लान ? त्यो हेर्न बाँकी छ ।
कम्पनीको उत्पादकत्व क्षमतामा बृद्धिमा कुनै भूमिका नखेल्ने तर दोस्रो बजारमा भने अर्बौ मूल्यमा कम्पनीको सम्पत्ति बिक्री वितरण भइरहने हुँदा पुँजी बजारप्रति समाजवादी अर्थशास्त्रीहरू खुलेर लाग्ने गरेका छैनन् । समाजवादी दृष्टिकोण राख्ने कडा नीतिका खतिवडाको कार्यकालमा शेयरबजारमा उछाल आएको थिएन । अहिले पनि अर्थमन्त्रालय र राष्ट्र बैंकमा उनको प्रभाव पर्यो भने बजार खुम्चन्छ भनेर लगानीकर्ताहरु एक खालको त्रासमा परिसकेका छन् । प्रधानमन्त्रीको आर्थिक सल्लाहकार भएकाले यी निकायमा उनको प्रभाव नपर्ने कुरा पनि भएन ।
उनी सल्लाहकारमा आएपछि राष्ट्र बैंकमा पनि प्रभाव पार्ने छन् । ओलीको नियन्त्रणमा राष्ट्र बैंक पार्न खोजिएको चर्चा सुरु भइसकेको छ । यस्तै अर्थ मन्त्रालयमा अहिले एमालेकै उपाध्यक्ष विष्णु पौडेल छन । तर, अब उनी छायाँको अर्थमन्त्री मात्र बन्न सक्छन् । सबै कुराको जिम्मा ओलीले खतिवडालाई नै दिने पक्का छ । आफू नियन्त्रित भएको महसुस गरेमा अर्थमन्त्रीले काम गर्न पनि सक्दैन । पौडेल यही हालतमा पुग्ने देखिन्छ । यसले निजी क्षेत्र पनि प्रभावित हुनसक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
५ महिनामा १ अर्ब ७६ करोड युनिट बिजुली बिक्री, १३ अर्ब ४ करोड आम्दानी
पुष ११, २०८१ बिहिबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार